मुटु स्वस्थ राख्न अम्बा


‘अम्बा’ अर्थात् ‘बेलौती’ सर्वसुलभ फल हो । सहजै उपलब्ध हुने भएकाले यसलाई त्यति महत्व दिने गरिँदैन तर यो अत्यन्त गुणकारी एवम् औषधीय गुणले युक्त हुन्छ । गरिब तथा धनी सबैको पहुँचमा हुने यो फल मूलतः पेटको विकारलगायत विभिन्न शारीरिक समस्या हटाउनका लागि सर्वाधिक उपयोगी हुन्छ । अम्बाको यही गुणलाई हेरेर यसलाई ‘अमृत फल’ समेत भन्ने गरिन्छ ।

अम्बाको उत्पत्ति पेरुमा भएको मानिन्छ । आधुनिककालमा युरोपेलीको आगमनसँगै भारतमा यसको प्रवेश भएको थियो । अहिले भारतका धेरै ठाउँमा यसको व्यावसायिक खेती हुने गरेको छ । अम्बामा भिटामिन ‘सी’को मात्रा अधिक हुन्छ तर यसमा अरू भिटामिन पनि पाइन्छन् । फस्फोरस, कार्बोहाइड्रेड, आइरन, क्याल्सियम, प्रोटिन आदि तत्व पनि अम्बामा पाइन्छन् । यसको बियाँमा फलाम तत्वको मात्रा निकै बढी हुन्छ ।

अम्बा विभिन्न किसिमका हुन्छन् । स्थानीय र उन्नत जातका धेरै बीज हुने, धेरै गुदी हुने, रातो गुदी हुने र सेतो गुदी हुने पनि अम्बा पाइन्छन् । कुनै–कुनै अम्बा त बेदाना अर्थात् बियाँ नै नहुने पनि हुन्छन् । धेरै बियाँ हुनेभन्दा धेरै गुदी हुने अम्बा राम्रो हुन्छ । अम्बा रगतको सफाइ गर्न र पेटको शुद्धताका लागि अत्यन्त उपयोगी हुन्छ । यो शीतल प्रकृतिको हुन्छ । यो बातपित्त नाशक हुन्छ । यसले वीर्य उत्पादनमा सहयोग गर्छ । खानापछि अम्बा खानाले कब्जियत, अपच आदिको सिकायत हुँदैन । यसलाई बिहानै पनि खान सकिन्छ । खानाको साथमा अम्बा खाँदा पाचन क्रिया सुचारु हुन्छ ।

बच्चाहरूका लागि यो अत्यन्त पौष्टिक हुन्छ । यो मुटु, मस्तिष्क र पाचन प्रणाली सबैलाई बलियो बनाउन सहयोगी हुन्छ । पाक्दा यो गुलियो र कमलो हुन्छ भने काँचोमा साह्रो र कम गुलियो हुन्छ । यसको बीउ, पात, जरा र फल सबै औषधिका रूपमा उपयोगमा आउँछ ।
केही प्रयोग

  • पाकेको दुईवटा अम्बा पिँधेर दूधसँग मिलाएर छान्ने, बीज भएमा फाली स्वादअनुसार गुलियो राखेर नियमित सेवन गरेमा बल, वीर्यमा पर्याप्त वृद्धि हुन्छ र शारीरिक दुर्बलता हराउँछ ।
  • अम्बाको पात चपाउने वा पातलाई उमालेर बनाएको काँडामा फिटकिरी मिलाएर कुल्ला गर्दा दाँतको दुखाइ ठीक हुन्छ ।
  • अम्बाका स–साना टुक्रा बनाएर पानीमा भिजाइ केही समयपछि पानी छानेर पिउने हो भने मधुमेह वा पिसाब रोगका कारण बारम्बार लाग्ने प्यास मेटिन्छ ।
  • अम्बाको हरियो पातको १०/१५ ग्राम रसमा मिश्री मिलाएर बिहान पिउने गरेमा अजीर्णका कारण हराउने भोक जाग्छ ।
  • खोकी लाग्दा एक दाना अम्बालाई तातो खरानीमा केहीबेर सेकी खाने गरेमा दुई/तीन दिनमा खोकी ठीक हुन्छ । अम्बाको सुकाएको बियाँ पिसेर महसँग मिलाइ साँझ–बिहान खाने हो भने पनि खोकी ठीक हुन्छ ।

यसबाहेक पनि अम्बाको धेरै औषधीय प्रयोग हुन्छ भने ताजा अम्बाको जेली, जाम, चट्नी, अचार आदि समेत बन्छ ।

प्रतिक्रिया दिनुहोस्