खोटाङ । ‘दैनिक चार लिटरजति पानी पिउनु स्वास्थ्यका लागि लाभदायी हुन्छ,’ डाक्टर भन्छन्, ‘यति पानी नपिउने हो भने शरीरमा पानीको मात्रा कमी हुन्छ । जसले अनेकथरी रोग लाग्न सक्छ ।’
पानीको मात्रा कम हुने अवस्थालाई डिहाइड्रेसन भनिन्छ । तर, शरीरमा पानीको मात्रा कति छ ? कति आवश्यक छ ? अथवा पानीको मात्रा कम भएर डिहाइड्रेसनै पो भइसक्यो कि भन्ने कुरा हामीलाई सामान्यतया थाहा हुँदैन ।
तिर्खा लागेको बेला पानी पिइन्छ । नत्र पानीको वास्ता त्यति धेरै गरिदैन । खासगरीकन खेलाडीलाई चर्को डिहाइड्रेसन समस्या हुन्छ भनिन्छ । हाम्रो शरीरको डिहाइड्रेसन नाप्न बीएसएक्स कम्पनीले ‘एल्भिएल डिहाइड्रेसन मोनिटर’ यन्त्र निर्माण गरेको छ ।
यसलाई घडीजस्तै नाडीमा बाँध्न सकिन्छ । यसले इन्फ्रारेड प्रकाश छोड्छ, जसले रगतको रङमा परिवर्तन भएको छ कि छैन भन्ने आधारमा डिहाइड्रेसन भएको छ कि छैन अथवा कति भएको छ भन्ने बताउँछ । यदि पानीको मात्रा कम भएको छ भने यो यन्त्रको स्क्रिनमा ‘पानी खाऊ’ भनेर म्यासेज देखाउँछ ।