नेपालीले धेरै पिउने पेय पदार्थ चिया हो । जसलाई स्वस्थकर बनाएर पिउन सकिन्छ । दूध र चिनी हालेको चिया धेरै खाने बानी छ भने कम गर्नु उपयुक्त हुन्छ । तर, बिहान उठ्नेबित्तिकै एक कप दूध हालेको चिया नखाई मनै ‘उदास’ हुनेले एक कप चिया खाँदा समस्या हुँदैन ।
कसैको घर जाँदा ‘चिया खाऊँ है’ भन्ने चलनै छ । अथवा ‘चिया खाँदै कुरा गरौं न’ भनिन्छ । अझ दूध र चिनी नहालेको, कागती हालेको चियाले धेरै फाइदा गर्छ ।
म बिहानदेखि बेलुकासम्म ६/७ कप कागती हालेको, चिनी नहाली मरिच र दालचिनी हालेर चिया पिउँछु । जसले दिनभरिको पानी आपूर्ति गर्न मद्दत गर्छ । चियाको तलतलसमेत मेट्छ ।
अहिले विभिन्न किसिमका चिया पाइन्छन् । कहिले फलफूल काटेर, त्यसलाई उमालेर वा विभिन्न फूल चमेली चिया (ज्यास्मिन टी), सुपारी, गुलाफको फूलको चिया आदि पनि उत्तम पेय पदार्थ हुन् ।
गुलाफको सौन्दर्य हेरेर खुसी भइन्छ । यसको चियाको स्वाद लिएर स्वास्थ्य राम्रो पार्न सकिन्छ । गुलाफको फूल उमालेर वा उम्लेको पानीमा केही समय भिजाएर, त्यसमा स्वादअनुसार कागती र मह हालेर खान सकिन्छ । भिजेको गुलाफलाई चपाउन हुन्छ । यसमा केही सूक्ष्म पोषण र रेशादार तत्व हुन्छ । गुलाफ हेर्नेमात्र होइन, चिया बनाएर पिउने गरियो भने लाभदायक हुन्छ ।
तराईतिर पाहुनालाई घरभित्र पस्नेबित्तिकै एक गिलास पानी र एक टुक्रा गुँडले स्वागत गर्ने चलन पुरानै हो । हिजोआजचाहिँ त्यसमा परिवर्तन भएर चियाले स्वागत गरिन्छ । चिया खाँदा धेरै उमालेको र कडा दूध हालेको चिया प्रयोग कम गरेकै बेस हुन्छ ।
गर्मीको बेला आँपलाई घोलेर बनाइएको रसले मन र शरीर दुवैलाई आनन्द दिन्छ । पाकेको र काँचो दुवै आँपबाट सर्बत बनाएर खान सकिन्छ । पर्याप्त मात्रामा ऊर्जा, भिटामिन, सूक्ष्म पोषक तत्व भएको यस्तो सर्बतले शरीरमा ऊर्जा दिन्छ । पेट पनि भरिन्छ । यस्तो रस घरबाहिर किनेर खाँदा भने विचार गर्नुपर्छ ।
जाडोको समय नेपालको तराई भेगमा उखुको रस खाइन्छ । पिइन्छ । यसमा वीरेनुन, मरिच हालेर खाँदा स्वादिलो हुन्छ । ऊर्जा पनि छिट्टै दिन्छ । तर मधुमेह भएका व्यक्तिले यस्ता फलफूलको रस पिउँदा निकै विचार गर्नुपर्छ ।
घरमा बनाएको सुन्तलाको रस स्वस्थकर मानिन्छ । तर, रस बनाएर निस्केपछि छोक्राचाहिँ फालिदिने चलन छ । यस्तो छोक्रामा पनि पर्याप्त सूक्ष्म पोषण तत्व हुने भएकाले त्यसलाई प्रयोग गर्नुपर्छ ।
विदेशतिर ‘सुनौला दूध’ (गोल्डेन मिल्क) भनेर महँगोमा दूध र बेसारको मिश्रण बेचिन्छ । नेपाल र भारतका गाउँघरमा हजुरआमाहरूले रुघाखोकी लाग्दा, ज्वरो आउँदा औषधिका रूपमा दिने यो पेय पदार्थ जहिल्यै प्रयोग गर्न सकिन्छ ।
त्यसैगरी जाडोमा पुदिनाकै चिया र गर्मीमा शीतल गराउने पुदिनाको सर्बत प्रयोग गर्न उत्तम मानिन्छ । हरियो र सुकेको दुवै पुदिना प्रयोग गर्न सकिन्छ । यसमा रेशादार तत्व र केही मात्रामा सूक्ष्म पोषक पाइन्छन् । पेट स्वस्थ राख्न पुदिनाको सर्बत प्रयोग गर्न सकिन्छ ।
त्यसैगरी तुलसी, अदुवा आदिको पनि सर्बत, चिया बनाउन सकिन्छ । गर्मीमा वाकवाकी आउने, मुख सुक्ने, टाउको दुख्ने समस्या हुँदा पुदिनाको सर्बत प्रयोगले शारीरिक समस्या कम हुन सक्छ । जाडोमा खाँदा रुघाखोकी कम गर्छ ।
ठुल्ठूला होटलमा महँगो पेय पदार्थ कागती, अदुवा र महको पानी घरमै सजिलैसँग थोरै पैसामा बनाउन सकिन्छ । अदुवालाई स–साना टुक्रा पारेर, केही समय उमालेर झिकेपछि कागती र अलिकति मह मिसाउँदा स्वस्थकर पदार्थ बन्छ । गर्मी र जाडोमा सहजै खान–पिउन सकिने यो पेय पदार्थले अदुवा र कागती मिसिएको हुनाले रोगसँग लड्ने शक्ति दिन्छ । शरीरमा स्वादिलो तरिकाले पानी आपूर्ति गर्छ ।
अलिकति विचार गर्ने हो भने हाम्रावरिपरि उपयोगी एवं स्वास्थ्यवद्र्धक पेयपदार्थ बनाउन सकिने धेरै उपयोगी वस्तु छन् । अलिकति जाँगर भए स्वस्थकर पेयपदार्थ घरमै बनाउन सकिन्छ । शरीरलाई समेत हानि गर्ने महँगा अस्वस्थकर पेय पदार्थ किन्नै पर्दैन ।