सकेसम्म वैदेशिक रोजगारीमा नगएकै जाती



शिक्षण पेसामा १७ महिना बिताएका पृथ्वी राउतले त्यसपछि केही समय अतिरिक्त हुलाकमा काम गरे । छँदाखाँदाको जागिर छाडेर कैलालीतिर पुगे । त्यहाँबाटै वैदेशिक रोजगारीका लागि साउदी अरब हान्निए । त्यतिबेला ४५ हजार रुपैयाँ बुझाएर साउदी पुगेका उनले आर्थिक उन्नति गरे । कमाइ राम्रै थियो । काम पनि अप्ठ्यरो थिएन । तर, एउटा हात गुमाए । हात गुमाएपछि राउत घर फर्के । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम छापडाँडानिवासी पृथ्वी राउतसँग तुवाचुङ साप्ताहिकले गरेको कुराकानीको सम्पादित अंश :

पहिलोपटक वैदेशिक यात्रामा कहिले जानुभएको थियो ?

सन् १९९४ मा पहिलोपटक वैदेशिक यात्रामा निस्केको थिएँ ।

कुन देशको कुन कम्पनी थियो त्यो ?

साउदी अरबको थ्रीसीसी कम्पनी हो । त्यहाँ पाँच वर्ष बसेर घर आएँ । फेरि साउदीकै एसीटी कम्पनी पुगें । त्यहीं मैले हात गुमाएँ ।

कसरी त्यस्तो भयो ?

एसीटी कम्पनीको जेबीबी सेक्सनमा कार्यरत थिएँ । त्यहाँ ‘डे’ र ‘नाइट’ काम गर्नुपथ्र्यो । त्यतिबेला मेरो ‘नाइट ड्युटी’ थियो । ‘डे’ मा फोरमेन र इन्जिनियर पनि हुन्थे । नाइटमा थिएनन् । मैले नै हेर्नुपथ्र्यो । तीन महिनामा एकपटक ‘नाइट’ ड्युटी गर्नैपथ्र्याे । त्यस दिन ‘फ्राइडे होलिडे’ थियो । हामी ड्युटी नजाने भन्दै थियौं । तर, इन्जिनियरले अत्यावश्यक सामान दिनैपर्ने भयो भनेपछि बेलुका ७ बजे ४१ जना ड्युटी गयौं। म कामदार नै भए पनि एक महिना इन्चार्ज भएर काम लगाउनुपथ्र्याे ।

चाहिएजति सामान तयार गर्नैपर्ने भएकाले फटाफट काम गरेर बिसायौं । कोही सुते । कसैले हिटरमा चिया पकाएर खाए । मचाहिँ काटुन ओछ्याएर बसें । मलेसियाबाट आएको काठ चिर्नुपथ्र्याे । अपुग सामान तयार गर्यौं । त्यसपछि म शौचालय गएँ । फर्केर खैनी खाएपछि सुतें । उठ्दा मेसिन चलिरहेको थियो । मेसिन बन्द गर्न बिर्सेछु । मेसिनको ब्लेडमा काठ घुमिराखेको थियो । काठ तानेर निकाल्दा मेरो हात ब्लेडमा पर्यो ।

त्यसपछि ?

हात गुमेपछि मलाई साउदीकै ठूलो अल्मना अस्पताल पुर्याएछन् । ६ दिनमा मेरो होश खुल्यो । तीन महिना अस्पताल बसें । अस्पतालबाट बाहिरिएपछि कम्पनी मालिकले हेडक्वार्टर बोलाए ।

के भने त मालिकले ?

तिमीले गर्न सक्ने काम दिन्छु, गर भने । मैले घर फर्कन्छु भनें । संवत् २०६१ मा काठमाडौं ओर्लें । ललितपुरको बी एन्ड बी अस्पतालमा उपचारका लागि पुनः भर्ना भएँ । काठमाडौं बसेर तीन महिना उपचार गरें । त्यसपछि पनि ‘चेकअप’का लागि काठमाडौं धाइरहें ।

६ दिनमा होश आउँदा तपाईंलाई कस्तो अनुभूति भयो ?

मेरो जिन्दगी सकियोजस्तो लागेको थियो । बाँच्नुको अर्थ छैन भन्ने चिन्तामा डुबें । शिक्षण पेसा गरिरहेको भए यस्तो हुँदनथ्यो होला भनेर सोचें ।

शिक्षकजस्तो मान्छे, विदेश जाने सोच कसरी भयो ?

अहिलेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको दाम्ली, झापामा पढाउँथें । घरपायक सरुवा खोजिरहेको थिएँ । त्यसबेला खोटाङ जिल्ला उपसभापति नयनकुमार राई हुनुहुन्थ्यो । उहाँलाई सहयोग माग्दा मंगलटार जाऊ भन्नुभयो । सरुवा मिलाउन दिक्तेल पुगें । कागजपत्र भिडाएको भोलिपल्ट बहुदल घोषणा भयो । बहुदल घोषणा हुँदा म दिक्तेलमै थिएँ । सरुवा मिलाउने हुँदा छँदाखाँदाको जागिर गयो ।

अनि ?

एक/दुई महिना अतिरिक्त हुलाकमा काम गरें । त्यसपछि कैलालीतिर घुम्न निस्कें । उतैबाट विदेश गएको हुँ । जागिरका लागि नेताको झोला बोकेर चाकरी गर्नुभन्दा विदेश जान स्वाभिमानजस्तो लाग्यो ।

घर फर्कंदा कम्पनीबाट के–के पाउनुभयो ?

मेरो उपचारका लागि कम्पनीले ८० हजार साउदी रियाल खर्च ग¥यो । नेपाल फर्कंदा चार लाख नेपाली रुपैयाँ दिएको थियो ।

वैदेशिक रोजगारीका उपलब्धि ?

जग्गा–जमिन जोडेको छु । त्यहाँ कमाएको धेर–थोर रुपैयाँ बैंकमा छ । शारीरिक हिसाबले पहिलेजस्तो नभए पनि बाँच्नका लागि साह्रै समस्याचाहिँ छैन ।

एउटा हातले के–के काम गर्न सक्नुहुन्छ ?

दुवै हातले गर्नुपर्ने काम गर्न नसके पनि सानोतिनो रूख चढेर घाँस काट्छु । हलो जोत्छु । गाई–भैंसी दुहुन्छु । बालीनाली गोडमेल गर्न सक्छु । तरकारीमा पानी हाल्न अरूको सहयोग चाहिँदैन ।

जीविकोपार्जन र आर्थिक उन्नतिका लागि वैदेशिक रोजगारीमा जानैपर्छ र ?

म वैदेशिक रोजगारीमा जाँदा विकल्प थिएन । अहिलेको हकमा विदेश जानैपर्छ भन्ने पक्षमा छैन । गाउँठाउँमा अवसरै अवसर देख्छु । तर पनि विदेश जाने बढेको बढ्यै छन् । हिजोआज त देखासिकीमा वैदेशिक रोजगारीमा गएको देख्छु । तल्लो घरकाले विदेश गएर पैसा पठाइसक्यो, म किन नजाने भन्ने सोचले घर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्