दोस्रो विश्वयुद्धका जीवित साक्षी


लालबहादुर लोहरूङ राई

खोजी गर्दै जाने हो भने दोस्रो विश्वयुद्ध लडेका योद्धा भेटिँदारहेछन् । रुद्रबहादुर दुमी राई र लालबहादुर लोहरूङ राई दोस्रो विश्वयुद्ध लडेका जीवित साक्षी हुन् ।

सुङ्देल, खोटाङ स्थायी घर भई झापाको तोपगाछी झरेका रुद्रबहादुर पल्टनमा रहँदा जापान र पाकिस्तानबीच घमासान युद्ध भएको थियो । उनले सम्झे, ‘जापानसँग भएको लडाइँ दोस्रो विश्वयुद्ध रहेछ, मैले त धेरै पछि मात्र थाहा पाएँ ।’ पल्टनमै रहँदा पनि उनले दोस्रो विश्वयुद्ध भएको कसरी थाहा पाएनन् त ? बुझ्दै जाँदा थाहा भयो गोराको प्यारो उनलाई युद्धमा जान साह्रै रहर थियो । तर, रहर रहरमै सीमिति रह्यो । युद्धमा जाने रहर व्यक्त गर्दा गोरा सापले उनलाई झपारेको सम्झँदै भने, ‘मर्नका लागि युद्धमा जाने ?’ १३ वर्ष पल्टनमा रहँदा उनी सधैँ ‘अफिसर’ को कार्यालयीय काममा मात्रै सीमित रहे । युद्धमा जान नपरे पनि उनले गोर्खालीको ज्यान गएको थाहा पाउँथे । युद्धमा ज्यान गुमाउने गोर्खालीलाई जङ्गलमै पुरेकोसम्म थाहा पाएका उनले गोरा सेनाले ज्यान गुमाएको कहिल्यै सुनेनन् ।

उनी तात्कालिक इस्ट इन्डिया कम्पनीअन्तर्गत बेलायती गोर्खा सेनामा दुईपटक भर्ती भए । ३/११ गोर्खा राइफल उनको आर्मी नम्बर ८०४६७ हो । दुईपटक भर्ती हुनुका कारण खुलाउँदै उनले प्रस्ट्याए, ‘नायकसम्म भए पनि पेन्सन नपकाई घर फर्कें । पहिलोपटक भर्ती हुँदा ६ र दोस्रोपटक सात वर्ष सेवा गरी दुवैपटक राजीनामा दिएर नेपाल फर्कें ।’

दोस्रोपटकसमेत राजीनामा दिएर घर फर्कंदा उनको हातमा एक सय ५० भारतीय रुपैयाँ हात परेको थियो । अहिले पनि उनलाई बेलायती गोर्खा वेल्फेयरले केही आर्थिक सहयोग र स्वास्थ्य खर्च दिएर गुन लगाएको छ ।

सङ्खुवासभानिवासी लालबहादुरले भने दोस्रो विश्वयुद्ध लडेका थिए । उनले इस्ट इन्डिया कम्पनीको तर्फबाट जापानविरुद्ध बर्मामा दोस्रो विश्वयुद्ध लडेका हुन् । युद्ध लड्दै जाँदा उनी बर्माको पेगुमा जापानी सेनाद्वारा समातिए । यो सन् १९४२ को कुरा हो । जापानी सेनाले उनलाई युद्धबन्दी बनायो । उनले भने, ‘चार महिनासम्म युद्धबन्दी बनेर बस्दा कम्ती न्यास्रो लागेन । तर, चार महिनापछि जापानी सेनालाई झुक्याएर भागेँ ।’

रुद्रबहादुर राई

फस्र्ट टेन जीआरका लालबहादुरलाई सन् १९३९ मा काबुलमा भएको गुरिल्ला युद्ध नियन्त्रण गर्न पठाइएको थियो । पल्टनमा इचिरो भनेर चिनिने उनी दोस्रो विश्वयुद्ध चर्केको बेला आफूसम्बद्ध प्लाटुनको गनवान् भएर बर्माको रङ्गुन, पेगु र फूलबारीमा लडे । लालबहादुर कसरी युद्धबन्दी बने ? इतिहास भइसकेको घटना सुनाए, ‘बर्मामा जापानी सेनासँग आमनेसामने भइयो । फाइरिङ खोलियो । हाम्रा सेनासँग रहेको हतियारको गोली सकियो । के गर्ने भनेर उपाय सोच्दासोच्दै जापानी सेनाले मलाई समातिहाले । तर, बजियाहरूले कहिल्यै दुव्र्यवहारचाहिँ गरेनन् ।’

जापानी सेना जताजता जान्थे, उनलाई पनि त्यतैत्यतै लगिन्थ्यो । जापानी सेनाले उनलाई बारम्बार एउटै प्रश्न गर्थे– गोर्खाली भएर पनि तिमीहरू किन हामीसँग युद्ध लडेको ? त्यतिमात्रै होइन, उहाँलाई जापानी सेनाले आफ्नो पक्षमा युद्ध लड्नसमेत आग्रह गर्थे । तर, उनले त्यसो गर्न चाहेनन् । चार महिनासम्म जापानी सेनासँग जङ्गल–जङ्गल हिँडेका उनले एक दिन सुने– ब्रिटिस पक्षले जापानी युद्धबन्दी मारेर फाल्दै छ । त्यो अपुष्ट खबर सुनेपछि उनलाई भतभती पोल्न थाल्यो । तत्काल उपाय सुझाए– भाग्नुको विकल्प छैन । बर्माको जङ्गलबाट जापानी सेनालाई झुक्याएर भागेको सात दिनपछि उनी आफूसम्बद्ध पल्टनको सम्पर्कमा पुगे ।

सन् १९४७ मा उनी फस्र्ट टेन जीआरका हवल्दार मेजरको फुली भिर्ने भइसकेका थिए । इस्ट इन्डिया कम्पनी बेलायत फर्कने भएपछि उनी त्यता जान मानेनन् । बुवाआमा बितिसकेकाले घरव्यवहार हेर्न नेपाल फर्के । सन् १९३४ मा दार्जिलिङको गुमपहाडबाट भर्ती लागेका उनले १२ वर्ष पल्टनमा बिताए । जापानले दोस्रो विश्वयुद्ध लड्दा युद्धबन्दी भएकालाई क्षतिपूर्ति दिँदा उनले पनि १० हजार पाउन्ड पाए । ‘६ महिनापछि लेप्टेन बनाइदिन्छौं बेलायत जाउँ भनेका थिए,’ गोरा सापले लोभ देखाएको सम्झँदै लालबहादुरले भने, ‘मैले मानिनँ ।’

रुद्रबहादुर राई

रुद्रबहादुर राई यो उमेरमा उस्तै हँसिलो देखिन्छन् । उनी घरवरिपरि घुमफिर गर्छन् । घरमा आएका पाहुनापाछासँग खुलेर गफगाफ गर्न सक्ने उनी हात बाँधेर बस्न मन पराउँँदैनन् । उनलाई केही न केही नगरी बस्न मन लाग्दैन । भने, ‘बाँसबाट बनाइने डोको, महला, खुँगी र फुर्लुङ बनाएर समय सदुपयोग गरिरहेको छु ।’

खाँदबारी नगरपालिका–४ लोकेपाङ सङ्खुवासभानिवासी लालबहादुर यो उमेरमा पनि निरोगी छन् । उकाली–ओह्राली गर्छन् । जिल्लाको लोकेपाङमादेखि खाँदबारी बजारसम्म चार किलोमिटर दूरी ठमठम हिँडेर ओहोरदोहोर गर्छन् ।

ज्यानलाई तन्दुरुस्त राख्ने लालबहादुर दैनिक प्रातकालीन (मर्निङवाक) र सन्ध्याकालीन (इभिनिङवाक) नियमितजसो गर्छन् । बिहान खाना, बेलुका रोटी र चिया खाने उनले दूध, घ्यु र मह नियमित खाने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्