राजनीतिक अवसर र नीति निर्माणतहमा युवाको अर्थपूर्ण सहभागिता अपरिहार्य



‘राजनीतिक अवसर र नीति निर्माण तहमा युवाको अर्थपूर्ण सहभागिता अपरिहार्य हुन्छ,’ नेपाल कम्युनिस्ट पार्टी, हलेसी तुवाचुङ नगर कमिटी सचिवालय सदस्य सर्वधन बस्नेतको बुझाइ छ, ‘राज्यले युवा पुस्तालाई आर्थिक रूपमा आत्मनिर्भर र जिम्मेवार नागरिकका रूपमा विकसित हुने अवसर प्रदान गर्नुपर्छ ।’

राष्ट्रिय युवा संघ, हलेसी तुवाचुङ नगरपालिका इन्चार्जसमेत रहेका उनी छँदाखाँदाको लोभलाग्दो व्यवसाय छाडेर राजनीतिमा ‘होलटाइमर’ बनेका छन् । उनकै दामलकाहरू व्यक्तिगत जीवन सार्थक बनाउन विभिन्न विधामा लागिपरेका छन् । तर, उनी राजनीतिमा हाम्फालेका हुन् । राजनीति गर्न खोज्ने मैले देश र जनताका सेवा गर्नेबाहेक अर्को इन्द्रेणी सपना देखेको छैन भन्ने युवानेता सर्वधन बस्नेतसँग तुवाचुङ डटकमले गरेको कुराकानीको सम्पादित अंश :

छँदाखाँदाको लोभलाग्दो व्यवसाय छाडेर राजनीतिमा ‘होलटाइमर’ बन्नुभयो । यतातिर कसरी आकर्षित हुनुभयो ?

राजनीतिसँग स्वाभाविक रूपमा देश र जनताको भविष्य जोडिएको हुन्छ । मानिसको प्रत्येक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीति जोडिने नै भयो । तर, गलत प्रवृत्तिका मानिस राजनीतिमा हाबी हुँदा सम्बन्धित समाजले दुःख पाइरहेको हुन्छ । मेरो व्यक्तिगत फाइदाका लागि मलाई व्यवसाय नै ठीक थियो तर समाज परिवर्तनको मुख्य आधार राजनीति भएकाले म यतातिर आकर्षित भएँ ।

त्यतिमात्र होइन, राजनीतिका नाममा हुने समाजको बेथिति आफ्नै आँखाले टुलुटुलु हेर्न चेतनशील मानिसले सक्दैनन् । तसर्थ, समाजका विविध विकृति, विद्यमान विसंगति अन्त्य गर्न राजनीतिलाई अँगालें । म आफूलाई पार्टीको ‘होलटाइमर’ हो भन्नचाहिँ सक्दिनँ । किनभने पार्टी संगठन र समाज परिवर्तनभन्दा अन्य सोच्नै नसक्ने व्यक्तित्वहरूका अगाडि मैले आफूलाई ‘होलटाइमर’ हुँ भन्दा उहाँहरूको अपमान गरेको अनुभूति हुन्छ । मैले मेरो संगठनको जिम्मेवारी पूरामात्रै गरेको हुँ ।

राजनीतिलाई ‘डर्टी गेम’ भन्नेको बाहुल्य छ । तपाईं भने ‘डर्टी गेम’मै रमाउन खोज्नुभयो होइन ?

राजनीति फोहोरी खेल हो भन्नेमा म सहमत छैन । तर, विभिन्न दलसम्बद्ध नेताले पार्टी सञ्चालन गर्ने तौरतरिका देख्दा राजनीतिक व्यवहार र निर्णयमा निष्पक्षता हुन नसक्दा त्यस्तो आमधारणा बन्न पुगेको हुन सक्छ ।

विश्व राजनीति हेर्ने हो भने अहिलेसम्म जति पनि चामत्कारिक विकास भएका छन्, ती सबै राजनीतिक नेतृत्वका कारणले भएका हुन् । त्यसो त आममानिसले सकारात्मक सोच्न जरुरी छ । बागमती आफंै फोहोर भएको होइन, फोहोर बनाइएको हो । सफा राख्न बागमतीभित्रै पसेर फोहोर फाल्नुपर्छ । अनि मात्र सफा रहन सक्छ । फोहोर छ भन्दैमा सफा गर्नेतिर नलाग्ने हो भने बागमती सधैं फोहोर रहिरहन्छ । राजनीति पनि त्यस्तै हो । सबैले सकारात्मक सोचसाथ राजनीतिमा लाग्ने हो भने मुहानको पानी जस्तै स्वच्छ राख्न सकिन्छ । त्यही आत्मविश्वाससाथ राजनीतिमा हाम्फालेको हुँ ।

राजनीतिलाई विशाल वरको रूखसँग तुलना गरिन्छ । जसले सुरक्षामात्रै होइन, शीतलता पनि दिन्छ । राजनीति भनेको विशाल वरको रूखै हो त ?

हो । तपाईंले भनेजस्तै जसरी वरले सुरक्षासँगसँगै शीतलता दिन्छ, त्यसरी नै राजनीतिले देश र देशवासीलाई सुरक्षा दिन्छ । तर, राजनीतिलाई वरको रूखसँगै तुलना गर्न भने मिल्दैन । किनभने वरको रूखछेउछाउ अन्य बिरुवा उम्रेको सायदै देख्नुभएको होला । तर, राजनीति त धर्तीका लागि खुला आकाशजस्तै हो । जहाँ सबैको आशा र भरोसा जोडिएको हुन्छ ।

राजनीति उद्योगका रूपमा फस्टाउनुका साथै अपराधीकरण पनि त्यत्तिकै बढेर गएको छ । यसले के संकेत गर्छ ?

देशमा जसरी उद्योग तथा कलकारखाना खुल्नुपर्ने हो, त्यसको ठाउँमा राजनीतिक दल दर्ता हुनुलाई विडम्बना मान्नुपर्छ । तर, लामो समय अधिकार प्राप्तिका निम्ति संघर्ष गर्नुपर्यो । मुलुक अस्थिर रह्यो । त्यहीबीचमा नाङ्लो पसलजस्तै राजनीति दल खुले । कार्यकर्ता संरक्षणका नाममा राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण बढे पनि लामो समयपछि मुलुकले स्थायित्व पाएको छ । तसर्थ, राजनीतिका नाममा फस्टाएको अपराधीकरण हट्दै गएको बुझ्न सकिन्छ ।

राजनीतिलाई पेसा तथा व्यवसाय बनाउन मिल्छ कि मिल्दैन ?

राजनीतिलाई पेसा तथा व्यवसाय बनाउन मिल्दै मिल्दैन । यदि कसैले त्यस्तो चाहना राखेर राजनीतिमा प्रवेश गरेको छ भने ऊ असफल हुन्छ । राजनीति गर्नेले पेसा तथा व्यवसाय नै गर्नुहुँदैन भन्नेचाहिँ हुँदैन । तर, राजनीति विशुद्ध सेवा हो ।

राजनीति गर्ने तपाईंको योग्यता के हो ?

म सामान्य किसानको छोरा हुँ । मसँग राजनीति गर्ने प्रमाणपत्र छैन तर राजनीतिमा इमानदारी, पारदर्शी र जवाफदेही हुनुपर्छ भन्ने लाग्छ । त्यसैले राजनीति गर्नेले देशको अवस्था, जनताको समस्या बुझ्न सक्नुपर्छ । त्यो नै राजनीति गर्ने योग्यता हो भन्ने लाग्छ ।

निजामती कर्मचारी बन्न युवा पुस्ता जति आकर्षित छन्, राजनीतिमा आउन त्यति आकर्षित छैनन् । किन होला ?

नेपाली राजनीतिमा अहिले पनि कपाल फुलेका, सक्रिय जीवन पार गरेका, बन्दुक बोकेका, जेलनेल खेपेका र विभिन्न आन्दोलनमा सहभागी भएकालाई राजनीतिमा परिपक्व भएको ठानिन्छ । त्यतिमात्रै होइन, खर्चिलो र भड्किलो निर्वाचन प्रणालीका कारण युवा पुस्ता राजनीतिप्रति आकर्षण घट्दै गयो भने निजामती कर्मचारी बन्ने बढ्दै गए ।

त्यसो भए राजनीतिक चेतना अभिवृद्धिका लागि चेतना थेरापी गर्नैपर्ने हो त ?

राजनीतिक अवसर र नीति निर्माण तहमा युवाको अर्थपूर्ण सहभागिता, आर्थिक रूपमा आत्मनिर्भर र जिम्मेवार नागरिकका रूपमा विकसित हुने अवसर राज्यले प्रदान गर्नुपर्छ भन्ने मेरो बुझाइ छ ।

नेपाली राजनीतिमा युवा पुस्ताको आवश्यकता र महत्व कत्तिको देख्नुहुन्छ ?

नेपालका सबै आन्दोलन र परिवर्तनको इतिहासलाई हेर्ने हो भने युवा पुस्ता अग्रपंक्तिमा देखिए । देखिन्छन् । उनीहरूको भूमिका सर्वाधिक सक्रिय, ऊर्जावान र गतिशील थियो । त्यसकारण अल्पविकसित मुलुकबाट विकसित मुलुकमा फड्को मार्न र सरकारले अघिसारेको ‘सुखी नेपाली : समृद्ध नेपाल’ सपना सार्थक बनाउन नेपाली राजनीतिमा युवाको सहभागिता त्यत्तिकै महत्वपूर्ण छ ।

नेपाली राजनीतिमा युवा पुस्ताको खास–खास काम के–के हुन् ?

जनताका जीवनस्तर उकास्न र देशको आर्थिक, सामाजिक विकासमा युवा पुस्ताको भूमिका महत्वपूर्ण हुनुपर्छ । कुल जनसंख्याको ४० प्रतिशत युवा पलायन हुनबाट रोक्ने मुख्य जिम्मेवारी राजनीतिक सुझबुझ भएका युवा पुस्ताको काँधमा आइपरेको छ । त्योसँगै केपी ओली नेतृत्व सरकारले अघिसारेको ‘सुखी नेपाली : समृद्ध नेपाल’को महाअभियान सार्थक बनाउन युवा पुस्ताको भूमिका त्यत्तिकै महत्व रहन्छ ।

तपाईंलाई लागेका पाँचजना आदर्श युवा नेताको नाम लिनुहोस् न ।

मलाई आदर्श लाग्ने युवा नेताहरू औंलामा गन्न सक्दिनँ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ज–जसलाई बुझ्ने मौका पाएको छु, जसले देशको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नुुभएको छ, उहाँहरू सबै मेरा आदर्श युवा नेता हुन् ।

राजनीतिक जीवनमा प्रवेश गर्नुभएको छ । तपाईंले देखेको सपना बताउन मिल्छ ?

राजनीतिक जीवनमा मात्रै नभनौं, मानिसले जन्मेपछि बुझ्न सक्ने हुँदादेखि नै सपना देख्न सुरु गर्छन् । कुनै पनि शीर्षकमा उसले सपना देखेन भने ऊ गतिशील बन्नै सक्दैन । सपना देख्नु भनेको उद्देश्य राख्नु हो । ममा पनि सपना छन् । राजनीति गर्न खोज्ने मैले देश र जनताका सेवा गर्नेबाहेक अर्को इन्द्रेणी सपना देखेको छैन ।

ठूला नेताको आशिर्वाद पाइएन भने राजनीतिक ‘करिअर’ उँभो लाग्छ कि लाग्दैन ?

नेपाली राजनीतिमा आशिर्वादको असाध्यै चर्चा चले पनि योगदान र क्षमतावानका लागि आशिर्वादको खासै आवश्यक पर्छजस्तो लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्