‘अदुवा खाई सभा बस्नू, मुला खाई वन पस्नू’ भन्ने नेपाली उखान प्रचलित छ । प्रचलित उखानले अदुवाजति मुलाको महत्व नभएको प्रस्ट पारेको छ । तर, मुलाको महत्व अदुवाभन्दा कमको छैन ।
प्राचीनकालदेखि खेती गरिने मुला खाँदा स्वास्थ्यलाई फाइदैै फाइदा छ । यो भिटामिन ‘सी’को खानी हो । मुलाको टाउकोपट्टि सबैभन्दा धेरै भिटामिन पाइने बताइन्छ । ९० प्रतिशत पानीको मात्रा हुने मुलामा पौष्टिक तत्व पाइन्छ । मुलामा कार्बोहाएड्रेट र खनिजसमेत पाइन्छन् ।
ग्रीस र मिश्रबाट मुलाको खेती गर्न थालिएको कृषिविद्हरूले सुनाउँदै आएका छन् । नेपालमा पनि मुला खेती गर्ने बढ्दै गएका छन् । यसको खेती गरेर मनग्गे अर्थोपार्जन गर्नेको सफलताको कथा सञ्चारमाध्यममा पढ्न र सुन्न पाइएकै छ । नेपालमा विशेषतः राता र सेता मुला उत्पादन गरिन्छन् । सेताभन्दा रातो मुलामा कार्बोहाएड्रेट र खनिज धेरै पाइन्छ ।
मुला काँचै पनि खान सकिन्छ । यसको पातको त्यत्तिकै स्वास्थ्यवद्र्धक मानिन्छ । मुलाको पातलाई पकाएर खाँदा पायल्स रोगी लाभान्वित हुने चिकित्सकको भनाइ छ । मधुमेहपीडितले मुला नियमित खाँदा फाइदा गर्छ । ‘मिर्गौलामा खराबी देखिएपछि पिसाब बन्न बन्द भएमा मुलाको रस सेवन गर्नुपर्छ,’ नेपाली विकिपेडिया डट ओआरजीमा उल्लेख गरिएको छ, ‘प्रतिमात्रा दुई औंस मुलाको रस सेवन गरेमा पुनः पिसाब बन्न थाल्छ ।’
बिहान उठ्नेबित्तिकै मुला खाने गरेमा जन्डिस चाँडै निको हुन्छ भने यो मोटोपन, ग्यास्ट्रिक, एसिडिटीपीडितको भरपर्दो स्वास्थ्यवद्र्धक साथी मानिन्छ । मुलाको जुस नियमित सेवन गरेमा छाला स्वस्थ रहन्छ ।
पाचन प्रणाली मजबुत बनाउने मुला खानेको राता रक्तकोष मर्नबाट जोगाउँछ । यसैगरी, रगतमा अक्सिजनको मात्रा जोगाइराख्न सघाउ पुर्याउँछ । त्यतिमात्रै होइन, यसले रगतमा पोटासियम सप्लाइ गर्ने भएकाले रक्तचाप सन्तुलित राख्छ ।
संसारभरि मुलाको खेती गरिन्छन् । मुला बेचेरै लखपति बनेकाहरू नेपाली समाजमा जीवितै छन् । मुलाको अचार र सिन्की बनाएर पनि बेच्न सकिन्छ । गाउँठाउँमा पाइने मसला हालेर बनाइएको अचार सहर–बजारमा हारालुछ हुन्छ ।