हलेसीलाई नगरकै ‘नम्बर वान्’ वडा बनाउने प्रतिज्ञा


‘स्थानीय निर्वाचनताका हामीले वडावासी मतदातालाई इन्द्रेणी सपना देखाएका थिएनौं,’ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान अध्यक्ष चइन्द्र राईले भने, ‘हामीले पूरा गर्न सक्ने कामबारे आश्वासन दिएका थियौं । त्यतिबेला हामीले जाहेर गरेको प्रतिबद्धतामध्ये ७० प्रतिशत पूरा गरिसकेका छौं ।’

७ नम्बरबाट निर्वाचित जनप्रतिनिधिले गरेको कामप्रति आफूहरू सन्तुष्ट भएको वडाध्यक्ष राईको भनाइ छ । आफ्नो कार्यकालमा हलेसी तुवाचुङ नगरपालिकाका ११ वटै वडामध्ये नगरकै ‘नम्बर वान’ वडा बनाउन लागिपरेको बताउने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी खोटाङ सचिवालय सदस्यसमेत रहेका चइन्द्र राईसँग तुवाचुङ डटकमले गरेको कुराकानीको सम्पादित अंश :

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको वडाध्यक्षमा निर्वाचित हुनुभएको तीन वर्ष पूरा भइसकेको छ । स्थानीय तह निर्वाचनताका वडावासी मतदातालाई व्यक्त गर्नुभएको प्रतिबद्धता कति प्रतिशत पूरा गर्नुभयो ?

स्थानीय तहको निर्वाचनताका निर्वाचित भएपछि गरिने कामबारे जाहेर गरेको प्रतिबद्धतामध्ये ७० प्रतिशत काम सम्पन्न गरेको सगर्व अवगत गराउँछौं । निर्वाचनताका जाहेर गरेको प्रतिबद्धताबाहेक केही महत्वपूर्ण कामसमेत सम्पन्न गरेका छौं ।

ती महत्वपूर्ण के–के थिए ?

हामीले निर्वाचनताका बुङालुङ (रक गार्डेन) बनाउने ठाउँमा भ्युटावर बनाउँछौं भनेका थियौं । तर, त्यहाँ भ्युटावर नभएर रक गार्डेन बन्ने भएको छ । रक गार्डेन बनाउने क्षेत्रफलमा घेराबाराको काम हुँदै छ ।

हलेसीको माल्कुमा रहेको ककनी जाने सिँढी निर्माण सम्पन्न भएको । हलेसीकै गुराँसेडाँडामा अत्याधुनिक धर्मशाला निर्माण र वृहत् हलेसी गुरुयोजना निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

अहिलेसम्म भए–गरेका कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

निर्वाचनताका जाहेर गरेको प्रतिबद्धताका आधारमा हामीले गरेको कामप्रति सन्तुष्ट छौं । त्यही कामको आधार बनाएर हामीले अन्य काम पनि गर्दै छौं । हाम्रो कार्यकालमा नगरकै ‘नम्बर वान’ वडा बनाउन लागिपरेका छौं ।

महादेवस्थानका विकास निर्माणलाई प्राथमिकता निर्धारण कसरी गर्नुभएको छ ?

हामी निर्वाचित भएपछि वडाका गाउँ–गाउँ र टोल–टोलमा सडक पुर्याएका छौं । खानेपानी समस्या रहेका ठाउँमा खानेपानी व्यवस्थापन गरेका छौं । महेन्द्रोदय माध्यमिक विद्यालयमा ९–१२ को सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन अनुमति प्राप्त गरी सञ्चालनमा ल्याएका छौं । वडाको स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तरोन्नतिमा पहल गरेका छौं ।

वडावासीको जीवनस्तर उकास्ने अल्पकालीन र दीर्घकालीन योजना के–के होलान् ।

अल्पकालीन योजनाअन्तर्गत वडावासीको जीवनस्तर उकास्न किसानलाई उन्नत जातका बीउविजन, विषादी, पीपीआर मेसिन, प्लास्टिक टनेल, खाँडी तथा ढाका बुनाई, अपांगता भएकालाई आयआर्जन बढाउन बाख्रा र बंगुर वितरण गरिसकेका छौं ।

दीर्घकालीन योजनाअन्तर्गत वडावासी महिलाका लागि हलेसी महिला कृषि सहकारी दर्ता गरी दिगो लगानी गरिदिने व्यवस्था मिलाएका छौं । सहकारीले महिलालाई आत्मनिर्भर बनाउँदै लैजानेछ ।

धार्मिक र पर्यटकीय स्थल भएकाले हलेसी आएका आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउन हलेसी महादेव मन्दिर, तुवाचुङ, मारातिका गुम्बा, ककनी, बुवालुङ (रक गार्डेन), हलेसीगढी, होलेसुङ पार्कको एकीकृत विकास योजना अगाडि बढाउनुका साथै नगरका अन्य पर्यटकीय र धार्मिक स्थललाई समेत जोडी दीर्घकालीन आयआर्जन बढाउने योजना अघि सारेका छौं ।

महादेवस्थानका युवकयुवती वैदेशिक रोजगारीमा गएका छन् । अपवादवाहेक बन्दाबन्दीले स्वेदश फर्कंदै छन् । उनीहरूलाई गाउँठाउँमै अलमलाउन के–कस्तो पहल गर्दै हुनुहुन्छ ?

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ ले वैदेशिक रोजगारीमा गएका वडावासी युवकयुवती घर फर्कनु स्वाभाविकै हो । उनीहरूलाई गाउँघरमै अलमलाउने थुप्रै शीर्षक छन् । उपाय छन् । त्यसमध्ये प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि परियोजना र नगर रोजगार कार्यक्रममा वडाले बनाएको भौतिक पूर्वाधार विकास योजनासँग जोड्न सकिन्छ । काम गर्ने इच्छुक, दक्ष र सीप भएका व्यक्तिले बेरोजगार बस्नुपर्दैन ।

निर्वाचनताका र निर्वाचनपछि वडाका गाउँ–गाउँ पुग्नुभयो होला । वडावासीका साँच्चिकै मागचाहिँ के–के रहेछन् ? वडावासी सबैका माग एउटै कि फरक–फरक छन् ?

निर्वाचनअघि र पछि वडावासीका घरदैलोमा निरन्तर पुगिरहेका छौं । वडावासीको माग आवश्यकताका आधारमा बढ्दै जानु स्वाभाविकै हो । हिजो सडक, खानेपानी, सरसफाइ सार्वजनिक महत्वको स्थान संरक्षण, पाटीपौवा निर्माणको माग गरिन्थ्यो भने आज सडक कालोपत्र, चौडा सडक, पुलपुलेसा, खानेपानी ट्यांकी, ढल निर्माण, सार्वजनिक स्थल विकास प्रवद्र्धन, सार्वजनिक सभाहल, सार्वजनिक अतिथि गृह निर्माणजस्ता ठूला संरचना र योजना माग आउने गरेका छन् ।

वडाबाट प्रवाहित सेवा प्रवाहलाई प्रभावकारी बनाउन के गर्दै हुनुहुन्छ ?

वडाबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउन धेरै काम भएका छन् । कामको प्रकृति हेरी छिटो र जनतालाई मर्का नपर्नेगरी इमेल सेवामार्फत समेत काम गरेका छौं । टोल–टोल पुगेर सामाजिक सुरक्षा सेवा प्रवाह गरेका छौं ।

वडाका गौरवका पाँच योजना ?

(१) महेन्द्रोदय माध्यमिक विद्यायमा ९–१२ सिभिल इन्जिनियरिङतर्फ कक्षा सञ्चालन

(२) हलेसी महादेवस्थान स्वास्थ्य चौकी १५ शय्या स्तरोन्नति पहल

(३) वडाका टोल–टोलमा सडक निर्माण/निर्माणाधीन बसपार्क

(४) महादेवस्थान मन्दिरभित्र जीर्णोद्धार

(५) बुङालुङ (रक गार्डेन) निर्माण सुरु

वडाका मुख्य–मुख्य पाँच समस्या ?

(१) हलेसी बजारको फोहोरमैला व्यवस्थापन गर्न नसक्नु

(२) कृषिका लागि सिँचाइ अभाव

(३) कृषि उपज भण्डारण व्यवस्था नहुनु

(४) व्यावसयिक कृषि तथा पशुपालन फार्म स्थापनामा कमी

(५) हलेसी बजारमा ढल निकासको चुनौती

प्रतिक्रिया दिनुहोस्