वडावासीका माग तथा मुद्दा हिजो र आज आकाश–पाताल फरक


आईएदेखि एमएसम्मको अध्ययन ललितपुरको पाटन क्याम्पसबाट पूरा गरेका रमेश राउतले स्थानीय तह निर्वाचनको उम्मेदवारी दिँदा कानुन व्यवसायीका रूपमा काम थालिसकेका थिए । राउतलाई अधिवक्ताको भूमिकाभन्दा वडाध्यक्षको उम्मेदवारी आकर्षक लाग्यो । सनकमात्रै नभएर उनले विवेकसम्मत निर्णय गरेका थिए ।

हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार वडाध्यक्ष रमेश राउत विद्रोही स्वभावका छन् भन्दा पाठकवृन्दलाई आश्चर्य लाग्ला । वडाध्यक्ष राउतको विद्रोही स्वभाव पाटन क्याम्पसमा पोखिएको थियो ।

त्यतिबेला नेविसंघ अध्यक्ष प्रदीप पौडेल थिए । पाटन क्याम्पस नेविसंघ इकाइ समिति सदस्य र सहसचिवको भूमिका निर्वाह गरिसकेका उनलाई पौडेलले आफूनिकटका विद्यार्थी समेटेर नेविसंघ पाटन इकाइ समिति बनाए । सो समितिमा उनलाई सदस्यमा राखे । त्यसपछि क्याम्पसका बहुमत विद्यार्थीले दीपेन बान्तवाको अध्यक्षतामा विद्रोही इकाइ समिति बनायो । रन्जित कर्ण नेतृत्वको नेविसंघ केन्द्रीय समितिले विद्रोही समितिलाई मान्यता दियो । ११औं महाधिवेशको पूर्वसन्ध्यामा पाटन इकइ समिति अधिवेशन गर्यो । अधिवेशनले राई नेतृत्व समितिलाई पुनः निर्वाचित गर्यो । उनी सो समितिका सचिव बने ।

राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी अहिले पनि सचिवकै भूमिकामा छन् । ‘त्यहाँदेखि अहिलेसम्म क्याम्पसको अधिवेशन भएको छैन,’ उनले भने, ‘नयाँ इकाइ समिति पनि गठन भएको छैन । हिजोआज पनि मलाई साथीभाइले सचिवज्यू भनेर सम्बोधन गर्छन् ।’ सचिव भए पनि लामो समय अध्यक्षकै जस्तो मूल भूमिकामा रहे । थुप्रै मिहिनेत गरे पनि स्ववियु निर्वाचन भएन । स्ववियु निर्वाचनभन्दा पहिले स्थानीय तह निर्वाचन भयो । उनले वडाध्यक्षको उम्मेदवारी दिए । विजयी भए । विद्यार्थी राजनीतिदेखि सुरु राजनीतिक यात्रामा यात्रारत दुई विषयमा स्नातकोत्तर गरेका र अधिवक्तासमेत रहेका वडाध्यक्ष पाउँदा वडावासी गौरवान्वित छन् । उनै गौरवान्वित वडाध्यक्ष रमेश राउतसँग तुवाचुङ डटकमले गरेको कुराकानीको सम्पादित अंश :

हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको वडाध्यक्षमा निर्वाचित हुनुभएको तीन वर्ष पूरा भइसकेको छ । स्थानीय तह निर्वाचनताका वडावासी मतदातालाई व्यक्त गर्नुभएको प्रतिबद्धता कति प्रतिशत पूरा गर्नुभयो ?

स्थानीय तह निर्वाचनमा हामीले वडाको उम्मेदवारी दिनेक्रममा लिखित प्रतिबद्धता  (घोषणापत्र) वडावासीमाझ जारी गरेका थियौं । निर्वाचनमा हामीले जारी गरेको घोषणापत्र अहिलेसम्म सुरक्षित राखेका छौं । हामीले घोषणापत्रमार्फत जारी गरेका प्रतिबद्धतामध्ये ७० प्रतिशत काम सम्पन्न गरिसकेका छौं भने त्यसबाहेक अन्य महत्वपूर्ण कामसमेत सम्पन्न गरेका छौं । जुन काम हाम्रो घोषणापत्रमा समेटिएका थिएनन् ।

अहिलेसम्म भए–गरेका कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

निर्वाचनताका हामीले व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन प्रतिशत हेर्दा हामी सन्तुष्ट छौं । तथापि, यत्तिमै सन्तुष्ट हुनुभन्दा पनि प्राप्त उपलब्धिको जगमा वडालाई अझ विकसित र नगरकै नमुना वडा बनाउनेतर्फ हामी अग्रसर छौं ।

मंगलटारका विकास निर्माणलाई प्राथमिकता निर्धारण कसरी गर्नुभएको छ ?

हामी निर्वाचित भएपछि वडाका प्रत्येक टोलमा सडक, प्रत्येक घरमा बिजुली, प्रत्येक टोलमा खानेपानी पुर्याउन सफल भयौं । घरनजिकै सरकारी सेवा, प्रत्येकको पहुँचमा गुणस्तरीय शिक्षा र स्वास्थ्यसेवा पुर्यायौं ।

प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदासहितको पर्यटन प्रवद्र्धन, दलितको सीपलाई प्रविधिसँग जोड्नुका साथै महिला सशक्तीकरणमा जोड दिँदै वडालाई दिगो आम्दानी दिने, रोजगारी सिर्जना गर्ने काम मुख्य प्राथमिकतामा राखेका छौं ।

वडावासीको जीवनस्तर उकास्ने अल्पकालीन र दीर्घकालीन योजना के–के होलान् ?

वडावासीको जीवनस्तर उकास्ने अल्पकालीन योजनाअन्तर्गत दैनिक रोजीरोटी तथा जनजीविकालाई सहज बनाउन गृहिणीको आयवृद्धि बढाउन ‘एक आमा, एक बाख्रा’ कार्यक्रम कार्यान्वयनमा ल्याएका छौं ।

युवालाई उद्यमशील बनाउन चालक (ड्राइभर) तालिम, प्रधानमन्त्री रोजगार कार्यक्रम तथा नगर रोजगार कार्यक्रम प्रभावकारी बनाउन वडाका योजनासमेत सोही ‘मोडल’मा समावेश गरी वडावासीलाई आम्दानी र विकाससँग जोड्ने कार्यक्रम अघि सार्यौं। वडावासीलाई कृषिमा आकर्षित गर्न बीउ, विषादी, टनेल, प्लास्टिक पोखरी व्यवस्थापन गरेका छौं ।

यसैगरी, दीर्घकालीन योजनाअन्तर्गत सत्यश्वर गुफा, झाँक्रीओडार, भालेश्वर, लक्षिमादेवी, सहनकला–महनकला देवी, रत्नकालिका देवीलगायत ५० बढी शक्तिपीठको मर्मत–सम्भार गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्दै आम्दानी र रोजगारीसँग जोड्ने प्रयत्न थालिसकेका छौं ।
दूधकोसी क्षेत्रकै सबैभन्दा फराकिलो र रमणीय पहरेबेंसी बगरमा बहुआयामिक प्राकृतिक पार्क निर्माण गरी एग्रो पर्यटन केन्द्र स्थापनापछि वडावासीको आम्दानीमात्रै होइन, आकर्षक रोजगारीसमेत सिर्जना हुनेछ ।

किसानलाई कृषिकर्ममा प्रोत्साहित गर्दै वडाभरिको कृषिजन्य वस्तु संकलन केन्द्र (हाट) व्यवस्थापन गरिनेछ । घुर्चुको डाँडागाउँ र गैरीगाउँमा सुन्तला तथा कागती उत्पादन र देविटार–भदौरे बस्नेत गाउँका किसानलाई सुर्ती उत्पादनमा प्रोत्साहित गरिएको छ । यसले वडाको आम्दानीजन्य नगदेबालीलाई आम्दानीको मुख्य स्रोतका रूपमा विकास गरिनेछ । त्यतिमात्रै होइन, वडाका प्राकृतिक, सांस्कृतिक सम्पदा पहिचान गरी पर्यटन प्रवद्र्धनसँग जोडिनेछ ।

मंगलटारका युवकयुवती वैदेशिक रोजगारीमा गएका छन् । अपवादबाहेक बन्दाबन्दीले स्वदेश फर्कंदै छन् । उनीहरूलाई गाउँठाउँमै अल्मलाउन के–कस्तो पहल गर्दै हुनुहुन्छ ?

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा गएका वडावासी बाध्यतावश फर्कंदै छन् । उनीहरूलाई दृष्टिगत गर्दै नगरपालिकाले प्रधानमन्त्री रोजगारसँगै नगर रोजगार कार्यक्रमसमेत अघि सारेको छ ।

हामीले पनि वडाबाट निर्माण हुने पूर्वाधारलाई सोही ‘मोडल’अन्तर्गत अघि बढाउने तयारी थालेका छौं । तसर्थ, काम गर्न योग्य र इच्छुक वडावासीले बेरोजारी बन्नुपर्दैन । हामी उहाँहरूलाई काम दिन्छौं । रोजगारी र विकासलाई सँगसँगै अघि बढाउँछौं ।

निर्वाचनताका र निर्वाचनपछि वडाका गाउँगाउँ पुग्नुभयो होला । वडावासीका साँच्चिकै मागचाहिँ के–के रहेछन् ? वडावासी सबैका माग एउटै छन् कि फरक–फरक ?

निश्चय पनि निर्वाचनताकाभन्दा पनि हिजोआज मंगलटारका गाउँ, टोल र बस्तीसम्म पुगिरहेका हुन्छौं । हिजोभन्दा आज वडावासीका माग र मुद्दा बदलिएका छन् । हिजो सडक, बिजुलीबत्ती, खानेपानी, झोलुंगेपुल, सार्वजनिक स्थल मर्मत–सम्भार, कुटानी पिसानीका लागि मिल प्रधान हुन्थ्यो । तर, आज एक कदम अघि बढेर पक्की सडक, मोटरेबल पुल, ठूला पक्की संरचना निर्माण, सुरक्षित आवास निर्माण र बढीभन्दा बढी रोजगारी र आयआर्जनका विषय माग हुन थालेका छन् ।

वडाबाट प्रवाहित सेवा प्रवाहलाई प्रभावकारी बनाउन के गर्दै हुनुहुन्छ ?

वडाबाट प्रवाहित सेवा प्रवाहलाई प्रभावकारी बनाउन थुप्रै काम भएका छन् । त्यसमध्ये स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्याउने उद्देश्यले वडाबाहेक थप तीन ठाउँमा सेवा केन्द्र स्थापना गर्ने अभियानअन्तर्गत घुर्चु र भदौरेमा भवन निर्माण सम्पन्न भइसकेको छ भने गैरीगाउँमा चालु आर्थिक वर्षभित्रै बन्दै छ ।

यसर्थ वडामा जनता होइन, जनतामा वडा र स्वास्थ्यको एकीकृत सेवा सेवाकेन्द्रका माध्यमबाट सेवा प्रवाह गर्दै छौं ।

वडाका गौरवका पाँच योजना ?

(क) उज्यालो वडा घोषणा ।

(ख) प्रत्येक टोलमा सडक ।

(ग) एक घर एक जस्तापाताको छानो कार्यक्रम ।

(ग) तीन सेवा केन्द्र भवन निर्माण ।

(ङ) राबुखोला खानेपानी तथा पहरेबेंसी एग्रो पर्यटन केन्द्र ।

वडाका मुख्य–मुख्य पाँच समस्या ?

(क) मुख्य राजमार्गबाट टाढा ।

(ख) बजारीकरण अभाव ।

(ग) कृषिका लागि सिँचाइ मुहान अभाव ।

(घ) पशुपालनका लागि घाँसेजमिन अभाव ।

(ङ) आत्मनिर्भर कृषि कर्म ।

प्रतिक्रिया दिनुहोस्