संवत् २०७० देखि सक्रिय रूपमा तात्कालिक एमालेबाट राजनीति थालेका निरजमानसिं बस्नेत हलेसी तुवाचुङ नगरपालिकाकै कान्छो वडा सदस्य हुन् । २०४८/०८/२५ मा हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीमा जन्मेका ७ नम्बर वडा सदस्य बस्नेत उमेरले २८ वर्षमात्रै पुगेका छन् ।
गत स्थानीय तह निर्वाचनमा एमालेबाट वडा सदस्यमा निर्वाचित उनी आफूलाई ‘सोसियल फिल्ड’ बाट आएको बताउँछन् । राजनीतिलाई शुद्धीकरण, विकासका योजना र नीति कार्यान्वयन गर्न सकेमात्र देश र राजनीति दुवै समृद्ध बन्न सक्छ भन्ने मान्यता राख्ने निरजमानसिं बस्नेतसँग तुवाचुङ डटकमका प्रबन्ध सम्पादक असल चरित्रले गरेको कुराकानी ।
राजनीतिलाई ‘डर्टिगेम’ भनिन्छ तर तपाईं किन यसमै भविष्य खोज्न लाग्नुभएको ?
मैले राजनीतिमा भविष्य खोज्नभन्दा पनि प्रथमतः हामी जन्मेको गाउँ, समाज, भूगोल वा राष्ट्र सुधारका निमित्त हामीले केही न केही त गर्नैपर्छ । फेरि म ‘सोसियल फिल्ड’ बाट आएका कारण पनि मलाई समाजसेवा गर्न पाउनु गर्व लाग्छ । सायद मैले गरेको कुनै सामाजिक कामको सकारात्मक मूल्यांकनले पनि म राजनीतिमा आएँ ।
अर्काे कुरा– हामी खालि राजनीतिको विषयमा आलोचनामात्रै गर्छाैं । जनप्रतिनिधि वा सरकारलाई दोष दिन्छौं तर आत्ममूल्यांकन कहिल्यै नगर्नु विडम्बना हो । पहिला आफू सुध्रनु जरुरी छ । ज–जसले राजनीतिको आलोचनामात्र गर्छ, उसले न राजनीति नै गर्न सक्छ न देशका निम्ति कुनै उल्लेखनीय कर्म गर्न सक्छ । तसर्थ, राजनीति ‘डर्टिगेम गेम’ होइन, समृद्ध राष्ट्रको खाका हो ।
राजनीतिलाई पेसा वा व्यवसाय बनाउन मिल्छ कि मिल्दैन ?
राजनीतिलाई टिकाउन कुनै उद्यम वा व्यक्तिगत व्यवसायचाहिँ गर्न मिल्ला तर व्यावसायिक तरिकाले नियमित पेसा वा व्यवसाय बनाउनचाहिँ नमिल्ला । गतिशील, परिवर्तनशील, प्रभावकारी, देश, समाज र जनताका निमित्त विशुद्ध ढंगले केही गर्छु भन्ने इच्छाशक्ति हुनेका निमित्त राजनीति ‘प्लेटफर्म’ हो ।
राजनीति उद्योगका रूपमा फस्टाइरहेको छ । यसले के संकेत गर्छ ?
राजनीतिभित्र मुख्यतः पार्टीहरू हुन्छन् । एउटा पार्टीभित्र पार्टीगत आस्थावान् व्यक्तिहरूको संगठन हुन्छ । मिल्दो वैचारिक सिद्धान्त हुन्छ । तर, वर्तमानमा राजनीति किन उद्योग वा पेसाजस्तो बन्दै छ भने कुनै पनि पार्टी, आस्थावान् व्यक्ति, कार्यकर्ता कोही केही पनि शुद्धीकरण नभएर नै हो । अर्को कुरा– प्रमुख जिम्मेवार व्यक्ति र कार्यकर्ता पनि बाहिर विचार र सिद्धान्तको खोल ओढेर भित्री रूपमा नाङ्गै भएपछि राजनीतिले उद्योग वा पेसा, व्यवसायको लय समातेको हो कि ?
यसले के संकेत गर्छ भन्दा राम्रोभन्दा हाम्रो अनि जो–जो सक्षम, शिक्षित, क्षमतावान् छन् उनीहरूले राजनीतिमा स्थान र अवसर नपाउने हुन् कि भन्ने लाग्छ ।
राजनीतिमा युवा पुस्ताको महत्व कति छ । र, किन ?
राजनीतिमा युवा पुस्ताको महत्व अवर्णनीय छ । र, किन छ भन्दा अहिलेका युवाहरू साँच्चिकै गतिशील, शिक्षित र सक्षम छन् । उनीहरूले अरूभन्दा नयाँ र नवीन ‘भिजन’ निर्माण गर्न सक्छन् । जोश–जाँगरका साथै योजना कार्यान्वयन गर्न सक्छन् । त्यसैले राजनीतिमा युवा पुस्ताको महत्व ज्यादात्तर छ । अर्काे कुरा– योजना, नीति र कार्यान्वयन कसरी गर्ने भन्ने कुरामा पनि युवा पुस्ता अलि सजग हुन्छन् कि जस्तो लाग्छ ।
राजनीतिक नेतालाई शैक्षिक योग्यताले कत्तिको असर पुर्याउँछ ?
क्षमताका आधारमा हेर्ने हो भने राजनीतिक नेतालाई अध्ययन र शैक्षिक योग्यता पर्याप्त मात्रामा चाहिन्छ । तर, हाम्रो देशमा कोही अनुभवका आधारमा कोही आफूभन्दा दक्ष सल्लाहकार राखेर पनि राजनीति गरिरहेका पाउँछौं । यसले कुनै न कुनै क्षेत्रमा असर त पु¥याएकै छ । त्यसैले मलाई लाग्छ– त्यो दिगो हुँदैन । प्रत्येक राजनीतिक नेता आफू शिक्षित भएमा आफंैले विविध योजना र नीति बनाउन सक्छन् । जसकारण प्रत्येक राजनीतिक नेताहरू शिक्षित र अध्यनशील हुन जरुरी छ ।
राजनीति गर्ने तपाईंको ल्याकत के हो ?
समाजसेवाप्रतिको मेरो तीव्र इच्छाशक्ति र अध्ययन नै मेरो राजनीतिक ल्याकत हो ।