प्रेम बाँडौं


भगवती बस्नेत

हामी प्रेमका लागि अनेकतिर भौतारिन्छौं । प्रेम त प्रकृतिमै छ । हाम्रै वरिपरि । माटो, फूल, जून, शीत, हावा, रूखका पातमा प्रेमले हेर्दा हरेक वस्तुमा प्रेम भेटिन्छ । प्रत्येक अनुहारमा प्रेम छ । प्रत्येक मान्छेको मधुर मुस्कानमा प्रेम भेटिन्छ । चाउरी परेका अनुहारमा प्रेम भेटिन्छ । प्रेम बाँडौं । फैलाएरै फैलिने चीज हो– प्रेम । बाँडेरै धेरै हुने चीज हो– प्रेम ।

प्रेम र मानवताका पुजारी भ्यालेन्टाइनले प्रेमनिम्ति मुत्युवरण गरेको दिनको सम्झनामा इटलीको राजधानी रोमबाट भ्यालेन्टाइन डे मनाउन सुरुवात भएको थियो । पश्चिमी मुलुकबाट सुरु भएको यस दिवस नेपालमा पनि संस्कृतिका रूपमा विकास हुँदै गइरहेको छ ।

विशेषगरी युवकयुवतीबीच लोकप्रिय यस दिवसमा विकृति पनि बढ्दै गइरहेको छ । प्रेमलाई भन्दा क्षणिक भावनात्मक आवेग र शारीरिक आकर्षणलाई केन्द्रमा राखेर गरिने गतिविधिलाई नै हामीकहाँ भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस भनेर बुझ्ने र मनाउने गरिँदै आएको छ । जुन गलतमात्र होइन, खतरनाक पनि छ ।

विपरीत लिंगप्रतिको आकर्षण शाश्वत प्राकृतिक नियम हो । यो प्रेम होइन, निश्चित उमेरसँगै सुरुवात हुने यस्तो आकर्षण सृष्टिको निरन्तरतानिम्ति प्रकृति रहेसम्म रहिरहनेछ । प्रकृतिका प्रत्येक प्राणीमा यो नियम चलिरहेको छ । अनन्तसम्म चलिरहनेछ । मान्छेभित्र विपरीत लिंगप्रतिको प्राकृतिक आकर्षणसँगसँगै विशिष्ट प्रेमभाव पनि हुने गर्छ । त्यसैले ऊ चेतनशील मानिन्छ ।

पश्चिमेली समाजमा परिवार विघटनको बढ्दो क्रमसँगै विवाहप्रति मान्छेको आकर्षण घट्दो छ । यौनलाई सामाजिक मर्यादाको विषयभन्दा विशुद्ध प्राकृतिक आवश्यकताका रूपमा प्रयोग गर्ने प्रचलन बढ्दै गरेको देखिन्छ । इजरायलीहरू यौनलाई दैनिक रूपमा खाने भोजनको संज्ञा दिन्छन् । वर्षौंसम्म यहाँ एक्लै बसेर काम गरेका कामदारलाई त्यस्तो जिन्दगी पनि के जिन्दगी भनेर व्यंग्य गर्ने गर्छन् । त्यहाँका युवकयुवती १२ वर्ष पुगेपछि बर्मिच्वा गर्छन् । यसपछि उनीहरू वयस्क भएको मानिन्छ । यदि १२ वर्ष हुँदा पनि केटाकेटी एक–अर्काप्रति आकर्षित भएनन् भने उनीहरूमा केही खराबी छ भन्ने ठानेर डाक्टर जाँच गराउँछन् । यसरी हेर्दा पश्चिमेली समाजमा सबैभन्दा पहिला यौन, त्यसपछि मात्र प्रेम र विवाह गर्ने संस्कार देखिन्छ । हाम्रो समाजमा भने सबैभन्दा पहिला विवाह अनि मात्र प्रेम र यौन भन्ने देखिन्छ ।

मलाई लाग्छ– व्यावहारिक र वैज्ञानिक कुराचाहिँ पहिले प्रेम, त्यसपछि मात्र यौन र विवाह हो । तर, यौन र विवाहविना पनि प्रेम एकल अस्तित्वमा रहन सक्छ । यौन प्राकृतिक आवश्यकता हो भने विवाह सामाजिक आवश्यकता । जब सम्बन्धहरू प्रेमिल हुन्छन्, त्यस्ता सम्बन्ध प्रगाढ र अमर बन्छन् । प्रेमविनाको वैवाहिक र यौन सम्बन्ध केवल सामाजिक र प्राकृतिक आवश्यकता पूरा गर्ने साधनमात्र हो । आजको समाज चाहेर नचाहेर यही बाटो लम्किरहेको देखिन्छ ।

बाहिरी रूप सज्जा र आकर्षक शारीरिक बनावट त आँखाका लागि हुन् । वास्तविक प्रेम आँखाबाट ओर्लेर हृदयसम्म आइपुग्छ । मनले देखेको प्रेम आँखाले देखेजस्तो क्षणभंगुर र विनाशशील हुँदैन । वास्तविक प्रेम त मान्छेले बोली, व्यवहार, विचार आदि माध्यमले अनुभूत गर्ने विषय हो । मनका सारा अँध्यारालाई नाश गरी आन्तरिक आनन्दको उज्यालो सिर्जना गर्ने सूर्यको समकक्षमा स्वेट मार्डेनले प्रेमलाई उभ्याएका छन् । प्रेम सुन्दरताको पर्याय हो । सुन्दर वस्तुको सम्पर्कले कुरूपमा पनि आशाको सञ्चार हुन्छ । त्यसकारण प्रेम सुन्दरताको विकसित रूप हो । यदि प्रेम आन्तरिक अस्तित्व हो भने व्यक्तिका आन्तरिक प्रतिभा, आचरण, स्वभाव र त्यागवृत्ति नै सुन्दरताका साक्षात नमुना हुन् । सबैलाई स्वीकार गर्ने र सबैको अस्तित्वमा रमाउने नै सच्चा प्रेमी हुन् । प्रेमलाई प्रेमीप्रेमिकासँग मात्र जोडेर हेर्दा प्रेम संकुचित बनिदिन्छ ।

प्रेम अथाह, अलौकिक र अनन्त हुन्छ । प्रेम नै धर्म हो, शक्ति हो अनि शान्ति पनि । मानवप्रेम हरेक बन्धन र स्वार्थभन्दा माथि हुन्छ । मुक्त हुन्छ । मानवप्रेम आकाशजस्तै सीमाहीन हुन्छ । जसको कुनै परिधि हुँदैन । यस्तो प्रेमभाव महिला, पुरुष सबैमा व्याप्त हुन्छ । तर, प्राप्ति भने अपवादले मात्रै गर्न सक्छ । यस्तो प्रेमको आस्वादन लोभ, मोह, स्वार्थमुक्त मान्छेले मात्रै गर्न सक्छ । प्रायः मानिसले सोच्छन्, लोग्ने–स्वास्नीबीचको प्रेम नै अन्तिम र अमर प्रेम हो । त्यसैले मान्छे विवाह गर्न आतुर हुन्छन् । पक्कै पनि लोग्ने–स्वास्नीमा प्रेम त हुन्छ; तर बन्धन र स्वार्थभन्दा माथिको प्रेम लोग्ने–स्वास्नीमा पनि अपवादमा मात्रै हुन्छ । लोग्ने–स्वास्नीको प्रेम कतै सम्झौतामा गएर टुंगिन्छ त कतै निजी स्वार्थ र सामाजिक बन्धनमा गएर प्रेम अन्त्य हुने गर्छ । मानवप्रेम निजी स्वार्थ र सामाजिक बन्धनबाट सदैव माथि रहन्छ । मानवप्रेममा कहिल्यै सम्झौता र स्वार्थ हुँदैन; हुन्छ त केवल त्याग र समर्पण । मानवप्रेममा बन्धन नभएर, स्वतन्त्रता हुन्छ; प्राप्ति नभएर, त्याग हुने गर्छ; मृत्यु नभएर मुक्ति हुन्छ; स्वार्थ नभएर, समर्पण हुन्छ !

जब मान्छे प्रेमहीन हुन्छ, तब मान्छे मानवबाट दानवमा रूपान्तरित हुन्छ । हरपल, हरक्षण मुटुको धड्कनसँगै जीवनमा धड्किरहने गति हो– प्रेम । प्रणय दिवस । प्रेमिल मनको उत्सव । दसैं, तिहार, क्रिसमस, इद, ल्होसारजस्तै अझ योभन्दा पनि बढ्तै मानिन्छ । प्रेम आफैंमा प्रेमिल छ । प्रेमिल मनले अझ सुगन्ध थप्दै छन् । प्रेम सबैका लागि सबै प्रेमका लागि हुन् । आँखाको आकर्षण केही समयपछि सकिएला तर चोखो मायामा एकले अर्कोप्रति समर्पण गरेको अनुभूति जुगांैजुग अमर भई बाँचिरहन्छ । संसारका सबै प्राणीबीचमा मायाको शीतल आँचल लहराइरहनुपर्छ ।

आज (फेब्रुअरी १४) प्रेम दिवस । आममानिस मोबाइल, टेलिफोन, इमेल, इन्टरनेट र चिट्ठीपत्रमार्फत आ–आफ्ना प्रेम–सन्देश आदान–प्रदान गरी प्रेम दिवस मनाउनेक्रमले व्यापकता पाइरहेछ । विशेषगरी युवकयुवती आपसमा भेटेरै आत्मीयता साटासाट गरी प्रेम दिवस मनाउन विभिन्न ठाउँमा भेला हुने, रमाइलो गर्ने अनि खानपानमा सहभागी भएर प्रेम दिवस मनाउँदै गरेको पाइन्छ । भावनात्मक शैलीमा आत्मीयता साटासाट गरी सबैको खुसी र आनन्दको कामना गर्ने प्रवृत्ति विकास अझै हुन सकेको छैन । प्रेमलाई हामीले हार्दिक रूपमा अनुभूत गर्न सकेका छैनौं । हामी बाहिरी साजसज्जा, रूप शृंगार र भावभंगीमै झुम्मिएका छौं । सामूहिक वा जोडीका रूपमा कुनै ठाउँमा भेट भयो, खानपान ग¥यो र कामवासना पूर्ति गरेर प्रेम दिवस मनाउने शैली र संस्कारलाई बढावा दिइरहेको पाइन्छ ।

धर्तीको विशालता र व्यापकता प्रेमका विशेषता हुन् । जसरी लाखौं–अर्बाैं मानिसले थुक्दा, कुल्चँदा र अपमानित तुल्याउँदा पनि धर्ती चुपचाप शान्त र स्थिर रहन्छ । प्रेमलाई जीवनमा उतारेका मानिस पनि त्यस्तै हुन्छन् । जहाँ लिन होइन, दिन खोजिन्छ, त्यहाँ सदैव शान्ति र स्थिरता कायम हुन्छ । प्रेममा सबै सम्मानित हुन पाउँछन् । प्रेमको संसारमा कोही ठूलो र कोही सानोको असमानता रहँदैन । त्यसैले प्रेमको स्वभाव भएका मानिसको संसार हार्दिकतापूर्वक सुखमय हुन्छ । प्रेमले छाप्रोलाई पनि स्वर्णमहल तुल्याइदिन्छ । प्रेमले विभेद गर्दैन र हरेकको अस्तित्वलाई समान मूल्य प्रदान गरिदिएकाले नै छाप्रो र महलको मूल्य बराबर भएको हो । जसरी सूर्यको प्रकाश झारपात र वृक्षमा एकै ढंगले छरिन्छ । साँचो प्रेम पनि सबैमा सबैतिर एकनासले विस्तारित हुन्छ । यसप्रकार सन्त भ्यालेन्टाइनको संस्मरणमा प्रेम दिवस मनाइरहँदा त्यसको सार्वभौम अस्तित्व स्मरण गरौं । शरीर, सम्पत्ति र वासनाको सीमाभन्दा माथि उठेर सबैलाई निष्काम प्रेम गरौं । यदि यसो गर्न सकियो भने हामीले प्रेम दिवस मनाइरहँदा प्रेमको याचना गर्दै बेखबर रोइरहेका आँखामा आशाको नवीन सूर्योदय हुन सक्छ ।

प्रेमले कहिल्यै प्रदर्शन गर्दैन । प्रेम त मौनताको नाम हो । यतिखेर हामी जुन व्यक्तिको सम्झनामा प्रेम दिवस मनाइरहेका छौं, उनी अर्थात् सन्त भ्यालेन्टाइन त्यागका विशिष्ट प्रतिमूर्ति थिए । आफ्नी प्रेमिकाका लागि जीवन त्यागसम्मको चुनौती सहर्ष स्वीकार गर्न भ्यालेन्टाइन तत्पर रहे । तर, आज हामी जुन ‘प्रेम’को कुरा गर्छौं, त्यो शरीरमै समाप्त भएर गएको छ । आज हामीकहाँ प्रेमविवाह गर्नेहरू अधिकांश सम्बन्धविच्छेद गरेर बस्ने देखिएका छन् । प्रेमको बहानामा विवाहित बनेकाहरू पनि पश्चातापपूर्ण जीवन बाँचेका थुप्रै भेटिन्छन् । योभन्दा ठूलो ‘प्रेम’को अपमान अर्को के हुन सक्छ ?

प्रेम कहिल्यै समाप्त हुँदैन । हाम्रो शरीर, रूप, आकृति, हाड, छाला, सम्पत्ति सबै सांसारिक वस्तु हुन् । यी बदलिन्छन् बारम्बार र अन्ततः समाप्त भएर जान्छन् । प्रेम यी सबै वस्तुभन्दा पर हुन्छ । वस्तु अभावमा पनि प्रेम बाँचिरहन्छ । त्यसैले प्रेमलाई अलौकिक मानिएको हो । वास्तवमा प्रेममा सबै अटाउँछन् । जसको मनमा एकजनाका लागि भन्दा अर्कोका लागि कुनै स्थान छैन, त्यो प्रेम भएको मन हुन सक्दैन । प्रेम सबैका लागि हो, सबै प्रेमका लागि हुन् ।

श्रीमान्–श्रीमतीहरू हिजोआज सम्बन्धविच्छेद गरी स्वतन्त्र जीवनयापन गर्न उद्दत देखिन्छन् । जीवन रहेसम्म मान्छे एक्लै बाँच्न सक्दैन । उसलाई कहीं न कहीं एक–अर्काको साथ सहयोगको आवश्यक अवश्य पर्छ । जीवनभर साथ र सहयोग चाहिने पति र पत्नी पनि आफ्नो भएको सम्बन्ध बिगारेर एक्लै बाँच्ने निर्णय गर्नु पछाडिका कारण निश्चय नै आपसी प्रेमको अभाव हो ।

आज हामीकहाँ प्रेमको सतही नाटक मञ्चन गर्नेको भीड जताततै देखिन्छ । शरीर सुन्दर भएका र चिटिक्क परेर सजिएका मान्छे प्रेमका लायक हुन्छन् भन्नेको पनि यहाँ कमी छैन । कुनै दिन जब शारीरिक सुन्दरता स्खलित हुँदै जान्छ अनि प्रेम पनि स्खलित हुँदै जानेछ । यो कस्तो प्रेम हो, जुन ओइलाउँदो शारीरिक सुन्दरता र चाउरी परेको छालासँगै ओइलाउँदै र हराउँदै जान्छ अनि ती कस्ता प्रेमी हुन्, जो बेला–बेलामा प्रेमकै नाममा पात्र परिवर्तत गर्दै भौंतारिरहन्छन् ?

प्रेम दिवसका सन्दर्भमा व्यक्त गरिने प्रेमका भावना पनि सतही हुन थाले । प्रेमको मूल्य र अस्तित्व फगत यौनसुखमा बदलियो । यसको व्यापकतालाई अत्यन्तै संकीर्ण र कमजोर बनाउँदै लगिएको छ । प्रेम त्यागको प्रतिफल हो । जसले पाउनका लागि प्रेम गर्छ, उसले कहिल्यै प्रेमको अनुभूति गर्दैन । प्रेम त्यस्तो निर्बल र अल्पायुको हुँदैन, जो कसैको विनाश वा मृत्युसँगै समाप्त भएर जाओस् । प्रेम त अभावमा पनि उत्तिकै जीवन्त हुन्छ ।

जुन दिन प्रेमलाई हामीले हाम्रो आशक्ति, माया र शारीरिक सुन्दरताको दासताबाट मुक्त गर्नेछौं, सम्भवतः त्यतिखेरमात्रै प्रेमले आफ्नो सार्वभौम स्वरूप प्रकट गर्न सक्छ । अन्यथा प्रेमलाई हतियार बनाएर क्षणिक वासना पूर्ति गर्ने र आफ्नो अहम् पुष्टि गर्नुबाहेक हामी केही गर्न सक्दैनौं । सच्चा प्रेमको उपाशकले त्यसको शाश्वत मूल्य कहिल्यै बिर्संदैन । उसले समग्र जगत्लाई आफ्नो ठानेको हुन्छ । सच्चा प्रेमीको हृदय समुद्रजस्तै विशाल र गहिरो हुन्छ, जहाँ सबै नदीरूपी यात्रीले स्थान पाउन सक्छन् । सच्चा प्रेमी वा प्रेमिका आफ्नो प्रेमी वा प्रेमिका अभावमा पनि आत्तिँदैनन् । प्रेम जहिल्यै अपेक्षाहीन हुन्छ । आज प्रेमलाई सापेक्षित बनाइएको छ । आज प्रेम यौनसुख प्राप्तिको एकमात्र विकल्पका रूपमा विकसित भएको देख्न चाहने बढ्दै गइरहेका छन् । जस्तासुकै वियोग, विछोड, अभाव र अड्चनमा पनि प्रेमको दियालो निरन्तर बलिरहेको हुन्छ । नारीभन्दा माथि उठ्न नसक्ने पुरुष र पुरुषभन्दा माथि उठ्न नसक्ने नारी सच्चा प्रेमी हुन सक्दैनन् । प्रेमको प्रशंसा सर्वत्र हुन्छ ।

प्रतिक्रिया दिनुहोस्