यथार्थताको कसीमा ‘टुहुरो कुण्डली’



युवा उपन्यासकार भीष्मराज फुलाराको नयाँ कृति ‘टुहुरो कुण्डली’को पाण्डुलिपि हातमा परेपछि धेरै दिनसम्म मैले पढिरहें । कैयौं दिनसम्म ममा त्यसको प्रभाव परिरह्यो । उपन्यासले उठाएका सामाजिक यथार्थवादी घटना, परिघटनाले मन भावुक बनायो । यस्तो गहन उपन्यासमाथि भूमिका लेख्नु पनि कम चुनौती होइन । मनमा कताकता अलिक पृथक ढंगले भूमिका लेखिनुपर्छ भन्ने लागिरह्यो ।

साहित्यशास्त्रका अनुसार कविता, आख्यान (कथा र उपन्यास), नाटक र निबन्ध साहित्यका चार प्रमुख विधामा उपन्यास साहित्यको नवीनतम अनि वर्तमानमा साहित्यको सबैभन्दा लोकप्रिय विधा मानिन्छ । महाकाव्यको स्थान र महत्व अहिले उपन्यासले लिएको देखिन्छ । त्यसैले पनि उपन्यासलाई गद्यमा लेखिएको महाकाव्य पनि भनिन्छ । उपन्यास शब्दको व्युत्पत्ति उप+नि+अस्+घञ् बाट भएको हो । उपको अर्थ नजिक र न्यास (नि+अस्+घञ्)को अर्थ राखिएको वस्तु भन्ने हो । यी दुई भाषिक एकाइको संयोजनबाट उपन्यास शब्दले मानिसका नजिक राखिएको वस्तु भन्ने बुझाउँछ । यसको अर्थ उपन्यास मानिसका जीवनको धेरै समीप रहेको सिर्जना हो ।
नेपाली उपन्यासको विकासक्रमको कालविभाजन यसप्रकार प्रस्तुत गरिन्छ :

१. पूर्वकाल (१८२७ देखि १९९० सम्म) :

यो कालमा वास्तविक उपन्यासको रचना भएको पाइँदैन । विविध संरचना भएका केही आख्यानात्मक कृति लेखिएका पाइएकाले यिनै कृतिहरूलाई नेपाली उपन्यासको पूर्वरूप मानी विकासक्रम देखाउने चलन छ । यसकाललाई दुई चरणमा विभाजन गरिएको छ :
१.१ पहिलो चरण : यो चरण १८२७ देखि १९४५ सम्मको समयलाई मानिन्छ । यस चरणको प्रारम्भ रचनाकार शक्तिबल्लभ अज्र्यालको ‘महाभारत विराटतर्फ (१८२७)’बाट भएको पाइन्छ । यस कालखण्डका कृति उपन्यास होइनन्, आख्यानात्मक रचनामात्र हुन् । साथै सबै रचना उल्था गरिएका हुन्, मौलिक होइनन् । सबै रचना संस्कृतबाट अनूदित छन् तर नेपाली बाइबल भने अनूदित होइन ।

१.२ दोस्रो चरण : यो चरण १९४६ देखि १९९० सम्मको अवधिलाई मानिन्छ । यस चरणको प्रारम्भ हरिकृष्ण रचित शिवदत्त शर्मा अनुवादिन वीरसिक्का हो । जसको अनुमानित प्रकाशन काल (१९४६) हो । यसको विस्तार रुपमतीको प्रकाशनपूर्व (१९९०) सम्म भएको छ । यस कालखण्डमा केही कृति रूप र आकारमा उपन्यासछेउछाउ आइपुगेका छन् । उल्थाबाहेक महेन्द्रप्रभा, वीरचरित्रजस्ता मौलिक कृतिको पनि रचना भएको छ । कृतिहरू जासुसी, तिलस्मी प्रकारका छन् । यमपञ्चक प्रपञ्चजस्ता सामाजिक विषयवस्तुमा आधारित केही कृतिको पनि रचना भएको पाइन्छ । वीरचरित्र नामक कृतिले नेपाली परिवेश र नेपाली चरित्रको पनि समावेश भएको छ ।

२. वर्तमान काल (१९९१ देखि यता) :

यो कालमा उपन्यास निकै उर्वर हुँदै गएको पाइन्छ । उपन्यासका आवश्यक तत्वको भरपूर प्रयोग गरिँदै आएको देख्न सकिन्छ । यस काललाई पनि दुई चरणमा विभाजन गरिएको छ :

२.१ पहिलो चरण ः यो चरणको आरम्भ उपन्यासकार रुद्रराज पाण्डेको रुपमती (१९९१)को प्रकाशनदेखि भएको मानिन्छ । यसको विस्तार ०१७ को पञ्चायती व्यवस्था सुरु नहुँदासम्म भएको छ । यसै अवधिमा उपन्यासमा आधुनिकताको आरम्भ भएको मानिन्छ ।

२.२ दोस्रो चरण : यो चरणको प्रारम्भ २०१७ को राजनीतिक परिवर्तपछि भएको मानिन्छ । यसपछि अभिव्यक्तिको स्वतन्त्रता क्रमशः घट्दै गएको हुँदा उपन्यासकारले विविध प्रयोग घुमाउरो शैली अपनाउनुपरेको देखिन्छ । यस चरणको नेतृत्व विजय मल्लले लिएको देखिन्छ, जसले ०१८ मा अनुराधा उपन्यास प्रकाशन गरेका थिए । अतः वर्तमान कालमा नेपाली उपन्यासका विभिन्न धारा र मोड यसप्रकार छन् :

१. आदर्शाेन्मुख यथार्थवादी धारा

२. स्वच्छन्दवादी धारा

३. सामाजिक यथार्थवादी धारा

४. प्रगतिवादी धारा

५. मनोविश्लेषणवादी धारा

६. प्रयोगवादी धारा ।

वर्तमानकालका विभिन्न धारा र मोडका कसीमा राखेर हेर्दा उपन्यासकारको उपन्यास ‘टुहुरो कुण्डली’ले सामाजिक यथार्थवादी धारा अँगालेको देखिन्छ । सुदूरपश्चिमाञ्चल क्षेत्रमा जन्मेर त्यहीं हुर्केका उनले केही वर्षपछि आफैंले देखेका, भोगेका घटना परिघटनालाई शब्दमा उनेर उपन्यास तयार पारेका छन् । उपन्यास यथार्थवादी धारामा अगाडि बढ्छ । जसले गर्दा दृश्य र पात्र जीवन्त अनि प्रभावशाली लाग्छन् । यसको अर्थ पाठकले यथार्थ कथानकसित अघि बढिरहेको अनुभूत गर्न सक्छन् । ‘टुहुरो कुण्डली’ शीर्षक मूर्त लागे पनि यसले प्रचुरमात्रामा अमूर्तता धारण गरेको थाहा हुन्छ । अभिभावक गुमाउँदामात्र छोराछोरी टुहुरो हुने कुरा छैन यहाँ । लेखकले हरेक क्षेत्र र पक्षसँग ‘टुहुरो कुण्डली’लाई जोडेर हेरेको देखिन्छ । तसर्थ, उपन्यासकार यस अर्थमा सफल देखिन्छन् ।

वास्तवमा उपन्यासकारमा सामाजिक संवेदनशीलता देखिन्छन् । यो उपन्यासलाई नेपाली जनजीवनमा घटित सामाजिक घटना, परिघटनाको प्रतिनिधि उपन्यास हो भन्दा हुन्छ । सुदूरपश्चिमको ठेट स्थानीय भाषा प्रयोगले उपन्यास झनै जीवन्त अनि यथार्थ प्रतीत हुन्छ । कथानक, चरित्र, परिवेश, उद्देश्य, भाषा र शैलीको यथोचित प्रयोगले उपन्यास अघि बढ्दै पाठकलाई तार्किक दृष्टिकोणले बाँध्न सफल भएको देखिन्छ । उपन्यासका पात्र जीवन्त छन् भने सुदूरपश्चिमा विद्यमान रीतिथिति, संस्कार र संस्कृतिको पनि प्रचुरमात्रामा विधिवत् जानकारी पाउन सकिन्छ ।

पहिलो प्रयासमै गहन र ओजनदार सामाजिक विषयवस्तु उठान गरेर उपन्यासकारले अवश्य पनि पाठकको ताली र प्रशंसा बटुल्नेछन् । नेपाली उपन्यासको वर्तमान काललाई थप उर्वर बनाउन उपन्यासले ऐतिहासिक योगदान दिने कुरामा कुनै शंका छैन । सामाजिक संवेदना स्खलित हुँदै गइरहेको आजको विश्वपरिवेशमा उपन्यासकारले उपन्यासमार्फत करुणा, दयामाया, सद्भाव र सहानुभूतिजस्ता मानवीय संवेदना उठान गरेर विश्वलाई यसप्रति सोच्न आह्वान गरेको प्रतीत हुन्छ । उपन्यासकारले उठाएको मानवीय संवेदनाका विषयवस्तु विश्वव्यापी विषयवस्तु नै हो । नेपाली समाजको दर्पण भएकाले यो उपन्यास विश्वका कुनाकाप्चासम्म जनजनका हातमा पुग्नुपर्छ । विषयवस्तुका हिसाबले यसले कुनै पनि पाठकलाई निराश गर्दैन । बरु समाजप्रति संवेदनशील बनाउने पक्का छ । अतः हरेक पक्षबाट उपन्यासकार सफल देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्