‘नुन बोक्न जाँदा भर्ती भएँ’



तिलक गुरुङ, फोर्थ आसाम राइफलमा आजभन्दा बीस वर्षअघि भर्ती भए । १४ वर्ष नोकरी गरी हवल्दार कम्पाउन्डर पदमा रिटायर्ड भए । उनी विदेशमा आर्जन गरेको ज्ञान र अनुभव उपयोग गरी समाजसेवा गर्ने उद्देश्यले बीचमै नोकरी छाडी स्वदेश फर्के । र, गाउँमै औषधि पसल खोली ३५ वर्ष स्थानीयको सेवामा जुटे । त्यसपछि राजनीतिमा संलग्न हुँदै आएका छन् । प्रस्तुत छ, बाबा कासीनाथ र आमा सन्तमाया गुरुङको माहिला सुपुत्रको रूपमा १९९१ भदौमा ओखलढुंगाको रुम्जाटारमा जन्मिएका गुरुङको रोचक कुरा उनकै शब्दमा :

सिधै लाहुर

२०१० (सन् १९५५ जनवरी) मा भर्ती भएँ । भर्ती कसरी भएँ भने, त्यो समय गाडी थिएन । नुन बोक्न आम्टाई बजार गएको । कटारीदेखि अलि पर तावा र ककरु खोलको दोभानमा रहेको आम्टाई बजार हरेक शुक्रबार लाग्दथ्यो । गाउँका केही साथीहरूसँग बेलुकी बजार पुग्यौं । त्यही बेलुका गल्लाहरू पनि त्यहाँ आएका रहेछन् । गल्लाले ‘भर्ती जाने हो ?’ भनेर सोधे । ‘हुन्छ नि’ भनेर कटारीबाट फूलबारी, जयनगर हुँदै दरभङ्गातिर लागियो । दरभङ्गामा केही स्वस्थ्य जाँच भयो । त्यसपछि घुम पुगियो । त्यहाँ पूरा स्वस्थ्य जाँच भयो । भर्ती नै हुने सोचाइ त थिएन । तर, गाउँमा मात्रै कति बस्नु, केही गर्न पाए हुन्थ्यो, बाहिरी संसार कस्तो होला ? भन्ने खुल्दुली भने भइरहन्थ्यो । हेर्ने, घुमफिर गर्ने र नुन पनि ल्याउने भनेर बजार(मधेस) गएको । तर, लाहुरे भइयो ।

बन्दुक छाडी प्राविधिकतिर

म फोर्थ आसाम राइफलमा भर्ती भएँ । यो इन्डियाको अर्धसैनिक संगठन हो । मनिपुरमा एक वर्षको तालिमपछि एक वर्ष जति नै फिल्डमा खटाइयो । मलाई बन्दुक समात्ने भन्दा कुनै प्राविधिक काम गरे भविष्यमा फाइदा हुन्छ भन्ने सोचाइ आयो । त्यसपछि करिब पाँच वर्ष अस्पतालमा बेड मिलाउने, रोगीहरूको सामान्य औषधि उपचार गर्ने कामहरू गरेँ । यसबीचमा मेडिकलसम्बन्धी धेरै कुराहरू जानिसकेको थिएँ । त्यसपछि सन् १९६२ मा स्पेशल मेडिकल परिक्षा दिन आसाम पठाइयो । त्यो परिक्षा पास गरी कम्पाउन्डर भएँ । कम्पाउन्डरको परिक्षा पास गरेपछि सिपाहीबाट हवल्दार कम्पाउन्डरमा प्रमोसन गरियो । कम्पाउन्डर पास गर्नेलाई हवल्दार प्रमोसन गर्नु पर्ने नियम रहेछ ।

कम्पाउन्डर भएपछि हेडक्वार्टर भन्दा बाहिर ड्यूटी खटाइयो । एउटा कम्पनीअन्तर्गतको एमआई रुम थियो । त्यहाँ साधरण औषधि उपचार मात्र गरिन्थ्यो । जस्तै– रुगाखोकी, ज्वरो, साधरण चोटपटक लागेका विरामीहरू मात्र आउदथे । धेरै रोगीहरू आउदैन थिए । जानेको कामहरू पनि भुल्ने खतरा हुन्थ्यो । त्यसकारण पनि नोकरी छाडेर स्वदेश फर्केर समाजसेवा गर्ने इच्छा जाग्यो ।

हेडक्वार्टरमा भएको भए डाक्टरसँग रहेर काम गर्दा धेरै कुरा सिकिने सम्भावना थियो । धेरै बिरामीहरू आउँथे । कामै गफ गर्ने कम्पाउन्डर, सिग्नल, सिग्नलर, धोबी, हजामको खासै काम हुँदैनथ्यो । कामै रेडियो सुन्ने, गफ गर्ने र बस्ने हुन्थ्यो । सिग्नलका एकजना मद्रासी साथी थिए । मैले उनलाई मलाई काम गर्न मन लागेन, नाम काटेर जानुप¥यो भने । उनले भने तपाईले नोकरी गरेको १४ वर्ष पुग्न लागेको छ । १४ वर्ष पूरा गरेर इन्भ्यालिड पेन्सन जानु । फाइदा हुन्छ भन्ने सुझाव दिए । १४ वर्ष पूरा भएपछि इन्भ्यालिड पेन्सनमा निस्कन पाइन्थ्यो । मैले त्यसै गरे । इन्भ्यालिड पेन्सन भनेको सर्भिसमा अनफिड हुनु, अर्थात् काम गर्न नसक्ने हुनु हो । रोगी भएको निहुँ बनाएर १४ वर्ष नोकरी पश्चात् इन्भ्यालिड पेन्सन निस्किएँ ।

हवल्दारमा सिपाहीकै पेन्सन

हवल्दारको पेन्सन पकाउन १८ देखि २२ वर्ष नोकरी गर्नुपर्छ । तर, म १४ वर्षमा इन्भ्यालिड पेन्सन निस्किएँ । फिड फर अर्थात् कम्पलसरी पेन्सन भए हवल्दारको पेन्सन पाइन्थ्यो । तर अनफिड अर्थात् इन्भ्यालिड पेन्सन आएको कारण सिपाहीको पेन्सन दिइएको हो । गर्दै गएको भए हवल्दार कम्पाउन्डर, जम्दार कम्पाउन्डर हुँदै सुबेदार कम्पाउन्डरसम्मको पोष्टमा पुगी सक्थेँ होला ।

छुट्टै राज्यको लागि विद्रोह

आसाम राइफल अर्धसैनिक संगठन हो । तर, तालिम सैनिकको जस्तै गर्नुपर्छ । सन् १९४७ मा भारत स्वतन्त्र भएपश्चात् छुट्टै नागाल्यान्ड राज्यको माग गर्दै नागाहरूले सशस्त्र विद्रोह सुरु गरे । यो ब्रिटिसकै योजनाअनुरुप भएको थियो । जतिजति नागाहरूको विद्रोह चर्कदैं गयो उतिउति विद्रोह दबाउन आसाम राइफलको संख्या बढाउँदै लगियो । पछि नागाविरुद्ध आसाम राइफलले मात्र नसकेर आसाम रेजिमेन्ट, मद्रास रेजिमेन्ट र बिहार रेजिमेन्ट जस्ता आर्मी फोर्स नै परिचालन हुनु परेको थियो ।

नागाल्यान्डको मात्र होइन अन्य राज्यले पनि छुट्टै राज्याको माग राखी राष्ट्र टुक्रिने खतरा देखेर आसाम राइफलको गठन गरिएको हो । अहिलेसम्म आसाम राइफलको संख्या ३५/३६ पुगिसकेको छ ।

पेन्सन आएर समाजसेवा

स्वास्थ्यसम्बन्धी केही जान्ने, बुझ्ने र स्वदेश फर्किएपछि समाजसेवा गर्ने उद्देश्यले कम्पाउन्डर भएको हुँ । त्यसकै लागि १४ वर्षमै नोकरी छोडेर स्वदेश फर्किएँ । त्यसबेला औषधि विभाग थिएन । उद्योग वाणिज्य संघबाट स्वीकृति लिई ०२६ मा ओखलढुंगाको रुम्जाटारमा ‘ज्वएसन फार्मेसी’ खोलेँ । छोरोको नामबाट स्थापना गरिएको सो फार्मेसी करिब १५ वर्ष सञ्चालन गरेँ । औषधि विभागको स्थापना भएपश्चात् फेरेर ‘सावित्रा फर्मा’ (श्रीमतीको नाम)बाट ०६२ सम्म सञ्चालन गरें ।

कहिले विराटनगर त कहिले जनकपुरबाट औषधि ल्याइन्थ्यो । मिर्चैयासम्म बस चल्थ्यो । त्यहाँबाट कटारीसम्म घोडामा र त्यसपछि भरियालाई बोकाएर औषधि रुम्जाटारसम्म ल्याइन्थ्यो । यसरी करिब ३५ वर्ष विदेशमा हासिल गरेका ज्ञान स्वदेशमा उपयोग गरियो । त्यो क्रम अहिलेसम्म जारी नै छ ।

झुटा मुद्दाको उजुरी

औषधि पसल गर्दा औषधिको बढी मूल्य लिएको, डेढ एक्सपायर औषधि बेचेकोजस्ता झुटा मुद्दा लगाइयो । तर, मैले त्यसो कहिल्यै गरेको थिइनँ । त्यसो गर्नुको खास राजनीतिक कारण थियो । म सानैदेखि कम्युनिस्ट विचारमा प्रभावित थिएँ । पञ्चायती ब्यवस्था थियो । गाउँमा कसैले जालझेल र अत्याचार गरेको देख्न सक्दिनथेँ ।

गाउँमा एकजना यस्तो व्यक्ति थिए, जसले युवाहरूलाई भेला गरी मासु, रक्सी खुवाउने र जुवा खेलाउने गर्थे । तिनले ३ जना बाहिरी र १ जना आफ्नो मान्छे राखेर जुवा खेलाउथे । तीन जनालाई रक्सी सेवन गराउँथे भने आफ्नो मान्छेलाई नगराई खेलाउथे । त्यसो गर्दा स्वभाविक रूपमा सक्सी सेवन गर्ने हार्ने भए । जसका कारण १२ जना युवाहरू घरबारी सिरिखुरी गई विदेश जान बाध्य बनाइए ।

अर्का एकजना हेडमास्टर थिए । स्कूलमा उनले धेरै भ्रष्टाचार गरे । उनको र मेरो धेरै टक्कर पथ्र्याे । म कम्युनिष्ट भएकै कारण उनैले मेराविरुद्धमा सीडीओ कार्यालयमा झुटा मुद्धाको उजुरी गरे । वास्तवमा मैले त्यसो गरेको थिइनँ । मैले भने, प्रमाण पुग्छ भने मलाई जे दण्ड सजाय दिए पनि भोग्न तयार छु । तर, प्रमाण थिएन । २/४ पटक दुःख दिएर मिलाइयो ।

समाजसेवापछि राजनीति

०४४ मा चौमको दरभंगामा अधिवेशन भयो । त्यसमा म ओखलढुंगाबाट प्रतिनिधि भएर गएको थिएँ । त्यसपछि ०५९ सम्म जनमोर्चा नेपालको जिल्ला कमिटी अध्यक्ष भएँ । तत्कालीन् नेकपा(माओवादी) सँग पार्टी एकीकरण भयो । हाल एकीकृत नेकपा(माओवादी) किरात राज्य समिति सचिवालय सदस्य रहेको छु ।

पश्चिमबाट पूर्व

हामी पूर्बेली भए पनि पुर्खा पश्चिमेली हुन् । पृथ्वीनारायण शाहको राज्य एकीकरणको क्रममा हाम्रो पुर्खा पूर्बको ओखलढुंगामा आएर रहेका हुन् । पृथ्वीनारायणले पश्चिमका गुरुङ, मगरको फौज पूर्बका राई लिम्बूविरुद्ध जुधाउने रणनीति लिएका थिए । त्यही क्रममा हाम्रो पुर्खा पनि ओखलढुंगा आएका हुन् रे ।

हाम्रो पुर्खा हुनेखाने नै हुन् । जरी, च्यूबा भन्ने प्रचलित नाम छ । च्यूबा काका र जरी भतिज हुन् । जरीको भोजपुर छिनामखु बसोबास रहेछ । च्यूबाको बहिनीको सन्तानको रूपमा एकजना मात्र छोरी रहिछ । बहिनीको सम्पति खेर जान नदिन भतिज जरीलाई काका च्यूबाले ओखलढुंगा झिकाएर भान्जी विवाह गरिदिएका हुन् रे । उनैका सन्तान हौं हामी ।

त्योबेला युद्ध गर्न बन्दुक थिएन । खुँडा, ढाल र खुकुरीले युद्ध गर्नु पर्दथ्यो । अहिले पनि रुम्जाटारका प्रत्येक घरमा ती हतियारहरू छन् । दुःखको कुरा पूर्वका गुरुङहरूको कुनै मौलिक भाषा, संस्कार, संस्कृति छैन । हिन्दू परम्परा अनुसार नैै रीतिथिति हुन्छ ।
राष्ट्रका लागि केही गरौँ

हामी भूपूहरूसँग प्रश्वस्त ज्ञान, सीप र अनुभव हुन्छ । त्यसलाई खेर जान दिनुहुँदैन । हामीले हासिल गरेको ज्ञान, सीप र अनुभव राष्ट्रका लागि उपयोग गरौँ । राष्ट्रको परिवर्तनका लागि योगदान गरौँ ।

प्रतिक्रिया दिनुहोस्