१६ वर्षदेखि विनातलब सम्पादकको भूमिकामा



बुङ्वाखा । अर्थात् फूलबारी ।

बुङ्वाखा बान्तावा राई भाषामा प्रकाशित मासिक पत्रिका हो । यसका सम्पादक पदम राई हुन् । प्रकाशनकालदेखि राईकै व्यवस्थापन र सम्पादनमा पत्रिका प्रकाशित हुँदै आएको छ ।

पत्रिका प्रकाशनमा आएपछि बान्तवा भाषाको लगभग सुन्नेबाट लेख्यपरम्परा सुरुवात गर्दै साहित्यलेखनको प्रारम्भ भएको हो । यस पत्रिकाले भाषाको मानक लेखन र साहित्यका लागि बामे सर्ने कोसिस गर्दै छ ।

संवत् २०६१ मंसिर २४ गते दर्ताप्राप्त यो पत्रिकाको पहिलो अङ्क पुस १ गते प्रकाशनमा आएको थियो । यो आलेख तयार पार्दासम्म १ सय ५७ पूर्णांक प्रकाशन भइसकेको छ । ‘बुङ्वाखा प्रकाशन सुरु भएपछि बान्तवा भाषाका दर्जनजति कवितासङ्ग्रह प्रकाशनमा आएका छन्,’ किरात राई पत्रकार संघ पूर्वअध्यक्षसमेत रहेका पदम राईले जानकारी गराए, ‘ती सबै कवितासंग्रहमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा मेरै संलग्नता छ ।’

बुङ्वाखा प्रकाशनका लागि आधुनिक कार्यालय छैन । पहिलो अंक प्रकाशनदेखि अहिलेसम्म सम्पादक स्वयम्ले समाचार लेख्छन् । लेख लेख्छन् । विज्ञापन संकलन गर्छन् । कम्प्युटर टाइप, डिजाइन, प्रेसदेखि कार्यालयसम्म पत्रिका आफैंले पुर्याउँछन् । त्यतिमात्रै होइन, ग्राहकको घर–घरमा पत्रिका पुर्याउने काम उनी आफैंले गर्दै आएका छन् ।

‘सम्पादकदेखि वितरकसम्मको काम आफैंले गर्दा कत्ति पनि ग्लानि छैन,’ उनले गर्व गरे, ‘यो कामलाई मातृभाषा उत्थानका लागि गरेको सेवा ठानेको छु ।’ उनी मातृभाषा पत्रकारितामै कसरी आकर्षित भए होलान् ? ‘पत्रकार बन्नुपहिले म राई बान्तवा भाषाको काम गर्थें । भाषाको काम गर्दै जाँदा एक ठाउँबाट अर्को ठाउँसम्म सूचना लैजाने काम गरेको रहेछु,’ उनले सुनाए, ‘त्यो पत्रकारिता विधाअन्तर्गत पर्दोरहेछ । त्यसपछि बुझेर मातृभाषा पत्रकारितामा लागेको हुँ । अहिले पनि मातृभाषा पत्रकारितामै सक्रिय छु ।’

‘भाषा संरक्षण र विकासमा काम गर्दा लामो योजना र ठुलो पुँजीबाट सुरु गरेको होइन,’ मातृभाषा पत्रकारिता नै किन रोज्नुभयो भन्ने प्रश्नमा उनले थपे, ‘निरन्तरता दिँदै जाँदा मातृभाषा पत्रकारितातिर आबद्ध हुन पुगें ।’

मातृभाषा पत्रकारिता एक्लैले गर्ने, हुने हुँदै होइन भन्ने उनको बुझाइ छ । सबैको साथ, सहयोग चाहिन्छ । यसलाई सम्बन्धित मातृभाषीले अनुशरण गर्न सक्नुपर्छ । त्यसो भयो भनेमात्रै भाषा संरक्षणका साथै समृद्ध बन्दै जान्छ । ‘म त खालिहात, विनातलब, विनाभत्ता भाषा संरक्षणमा लागिपरेको छु,’ उनले सुझाए, ‘अरूले पनि आफ्नो मातृभाषाका लागि समय दिनुपर्छ । अनि मात्रै भाषाको विकास हुन्छ ।’
मातृभाषा पत्रकारिता गर्नु भनेको ढुंगा चपाउनुसरह हो । सेवा सुविधा छैन । मातृभाषा जगेर्ना किन गर्नुपर्ने सम्बन्धित मातृभाषीले नै बुझेका छैनन् । अरूले कसरी बुझ्ने ? तर, बुझाउन सकिन्छ । बुझाउन त्यत्तिकै चुनौती छ ।

बुङ्वाखाका सम्पादक पदम राई मातृभाषा पत्रकारिताको सम्भावना त्यत्तिकै देख्छन् । सँगै चुनौती पनि छ । भन्छन्, ‘सम्भावना छ । तर, चुनौपूर्ण छ । यसका पाठक तथा लेखक सीमित छन् । र पनि, सम्भावना हुँदै नभएको होइन ।’

मुलुक संघीय संरचनामा गइसकेको छ । मातृभाषा संरक्षण, सम्बद्र्धन गर्नु राज्यको दायित्व हुनुपर्ने हो । ‘तर, सरकार उत्तरदायी देखिँदैन,’ उनको ठम्याइ छ, ‘प्रदेशको हिसाबमा जुन ठाउँमा जुन भाषाको प्रभाव छ, त्यहाँ सरकारी निकायदेखि सञ्चार, शिक्षा र कार्यालय प्रयोजनमा लागू भएदेखि भाषाको संरक्षण र विकास हुन सजिलो हुनेछ । राज्यले यस्ता कुरालाई बेवास्ता गर्दै आइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्