मिडिया र आदिवासीको साँघु



आदिवासी कुलमा जन्मेर पत्रकारितालाई आफ्नो पेसा बनाएका हामी आदिवासी जनजाति पत्रकारको संस्था आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं महाधिवेशनका लागि जुटेका छौं । सुरुमा संघ र केही दर्जनबाट हामीहरू फैलँदै गएर महासंघमा परिणत हुँदै हजारौंको संख्यामा परिणत भएका छौं ।

संस्थाको आवश्यकता महसुस गरेर स्थापना गर्नुहुने हाम्रा अग्रज संस्थापकलाई यो बाटो देखाएकोमा हामीले अभार व्यक्त गर्नैपर्छ । यो संस्थागत जीवनको झन्डै २१ वर्षको अवधिमा हामीले पार गरेका आरोह–अवरोहबाट पाठ सिक्दै संस्थालाई अझ अघि बढाउन सक्ने सक्षम र गतिशील नेतृत्व यस महाधिवेशनले ल्याउने कुरामा विश्वस्त छौं । यद्यपि, संस्थाको आकारको वृद्धिसँगै त्यसको विचारधारात्मक पक्ष पनि भुत्ते हुने डर रहन्छ, सानो समूह वा सानो संख्यामा हुँदा जुन खालको विचारधारात्मक स्पष्टता हुन्छ, आकारमा ठूलो, संख्यामा बढोत्तरी हुँदै गएपछि त्यसको तीखोपनमा ह्रास आउने सम्भावना रहन्छ ।

यस अवधिमा हामीले संस्थागत रूपमा धेरै उपलब्धि हासिल गरेका छौं । सञ्चार क्षेत्रका संगठनमा आदिवासी जनजातिको सहभागितादेखि गन्न सकिने नै सही विभिन्न संस्थाको नेतृत्वमा समेत आदिवासी जनजाति पत्रकारहरू देखिन थालेका छन् । यसलाई पनि हामीले उपलब्धिका रूपमा नै लिनुपर्छ । यद्यपि, गन्तव्यमा पुग्ने बाटो लामो छ । हामीले कल्पना गरेको जातीय समतामूलक समाज, त्यहीअनुरूपको सञ्चार नीति तथा संरचनाका लागि हामीले लामो बाटो तग गर्नुपर्ने नै हुन्छ । यसका लागि दृढ र आत्मविश्वासी साथीहरूको जुन पंक्ति तयार छ, त्यो हामी सबैका लागि उत्साहको स्रोत हो । यही सेरोफेरोमा यहाँ केही कुराहरू लेख्ने जमर्को गरेको छु ।

तेस्रो ‘माइलस्टोन’

यो महाधिवेशन मेरो विचारमा एउटा महत्वपूर्ण घडीका रूपमा आएको छ । यो संस्थागत जीवनको तेस्रो महत्वपूर्ण मोड हो । अझ म यसलाई संस्थागत जीवनको ‘माइलस्टोन’ भन्न रुचाउँछु । मैले यसो किन भनेको भने, जुन बेला आदिवासी जनजातिबारे अनेकखालमा भ्रम थिए । कुरा गर्नेबित्तिकै जातिवादीको आरोप खेप्नुपथ्र्यो, त्यसबेला हाम्रा अग्रजले जुन आँट र साहस गरेर नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज)को स्थापना गर्नुभयो, त्यो पहिलो ‘माइलस्टोन’ थियो । सायद उहाँहरूमध्ये धेरैका लागि पत्रकारिता पहिलो पेसा नभएर वा रहरको काम भएर पनि हुन सक्छ अनिजले भनेजस्तो गति भने लिन सकेन ।

दोस्रो ‘माइलस्टोन’

अनिजमा मूलधारे पत्रकारितामा रहेका पत्रकारको सहभागितालाई लिन सकिन्छ । त्यसबेला आदिवासी कुलमा जन्मेर पत्रकारितालाई मूल पेसाका रूपमा अँगाल्ने औंलामा गन्न सकिने संख्यामा थिए । हामीले त्यो नितान्त पराईजस्तो समाचार कक्षमा भोगेका तथा आफ्ना अनुभवहरूको अदान–प्रदानका लागि भेटघाट गर्नेक्रम बढाएका थियौं । हामी आठ/दसजना साथीले त्यसरी साप्ताहिक भेट गर्ने ठाउँ नयाँबानेश्वरको काठमाडौं फास्टफुड थियो । त्यहीबेला भेटघाटलाई निरन्तरता दिने उद्देश्यले क्लबजस्तो केही संस्थाको अवधारणा आएकोमा त्यसअघि नै अनिजको स्थापना भएको थाहा पाएपछि त्यसैमा सहभागी हुने अनौपचारिक निर्णय गर्यौं । त्यहीअनुरूप संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङसँग सल्लाह गरेर हामीले अनिजको काठमाडौं जिल्ला कार्यसमिति गठन गरी केन्द्रीय महाधिवेशनको माग गरेर त्यसमा सहभागी भएका थियौं ।

दोस्रो महाधिवेशनबाट संस्थापक अध्यक्ष कुलुङको अध्यक्षतामा पहिलोपटक मूलधारे पत्रकारितामा सहभागी साथीहरू अनिजको केन्द्रीय नेतृत्वमा आएका हुन् । त्यसैलाई मैले दोस्रो ‘माइलस्टोन’ भन्ने गरेको छु । म महासचिवको भूमिकामा थिएँ भने केन्द्रीय पदाधिकारीदेखि सदस्यमा लालकुमारी रोका, बाला थुलुङ, नवीन विभास, उजिर मगर, डण्ड गुरुङ, आङछिरिङ शेर्पा, उदय जीएम, मोहनसिं लामा, उजिर राना, राजकुमार दिक्पाल, भैरव आङ्ला, वसन्त महर्जनलगायतका साथीहरू हुनुहुन्थ्यो । त्यही कार्यसमितिले अनिजलाई पुनर्जीवन दियो र अहिलेको फोनिजको प्रारूप कोर्यो । म त्यस कार्यसमितिमा रहेका चन्द्रजीबाहेक बाँकी साथीहरू ‘दोस्रो पुस्ता’ भन्न रुचाउँछु ।

संस्थागत जीवनको यो सातौं महाधिवेशन ‘तेस्रो माइलस्टोन’ किन पनि भन्दै छु भने अब दोस्रो पुस्ताका साथीहरू फोनिजको नेतृत्वमा रहने छैनन् । अब फोनिजको नेतृत्व ‘तेस्रो पुस्ता’को हातमा जाँदै छ । पेसागत वा उमेरगत ढंगले को अघि र को पछिको कुरा अर्को होला, यहाँ मैले संस्थागत जीवनमा सहभागिताको कुरा गर्दै छु । अनिजका संस्थापकहरू मात्र होइन, पुनर्जीवनमा संलग्न साथीहरू अब फोनिजको नेतृत्वमा रहने छैनन् । अब फोनिजले नयाँ पुस्ताको नेतृत्व प्राप्त गर्नेछ र उक्त नेतृत्वले अझ सशक्त र गतिशील बनाउनेछ भन्ने विश्वास छ ।

संस्थाको विचारधारा

म यहाँ राजनीतिक विचारको कुरा गर्न गइरहेको छैन । तर, हरेक संस्थाको आफ्नो विचारधारात्मक अडान रहन्छ । फोनिजको विचारधारात्मक अडान भनेको आदिवासी जनजातिको मुद्दामा पैरवी गर्ने हो । त्यसका रणनीतिक तथा कार्यनीतिक पक्षहरू धेरै हुन सक्छन् । तर, आदिवासीवादलाई फोनिजले अँगालेको छ, समतामूलक समाजमा विश्वास राख्छ । तसर्थ हरेक क्षेत्र, तह र तप्कामा फोनिज आदिवासी जनजातिको उपस्थिति र सहभागिताको वकालत गर्छ । पत्रकारहरूको संस्था भएका कारण त्यस क्षेत्रमा र आदिवासी कुलमा जन्मेका कारण राज्य र समाजका सबै क्षेत्रमा ।

यसलाई अंगीकार गर्दै फोनिजले बेला बेलामा आफ्नो नाराहरू पनि तय गर्ने गरेको छ । त्यसलाई फोनिजको हरेक सदस्यसम्म पुर्याउनुपर्ने हुन्छ । यसैले संस्थालाई जीवन्त र गतिशील बनाउँछ । विचारले नै संस्थालाई अघि बढाउने हो । तसर्थ विचारको निर्माण, व्याख्या र त्यसको कार्यान्वयन नै प्रमुख कुरा हो ।

यसका लागि संस्थाभित्र, संस्थाबीच र विविध विषयमा अन्तक्र्रिया तथा छलफल गर्नुपर्छ । फोनिज पेसाकर्मीको संस्था हुँदाहुँदै पनि मुलुकको आदिवासी आन्दोलनलाई दिशा दिन सक्ने त्यो ऊर्जाशील युवाको संस्था पनि हो, जसले समुदायलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका खेलेको छ भने हुन लागेको गलत कार्यको सिधा विरोध पनि गर्न सक्छ ।

विगतका आदिवासी आन्दोलनमा अनिजले सहयोगीको भूमिकामात्र खेलेको थिएन, वैचारिक रूपमा नेतृत्वदायी भूमिका नै खेलेको थियो । सामाजिक, सांस्कृतिक आन्दोलनमा रहेका आदिवासी जनजाति अगुवा र राजनीतिक दलसम्बद्ध आदिवासी जनजाति संगठनलाई एकठाउँमा ल्याउने काम पनि अनिजले नै गरेको थियो । त्यसलाई सुरुवाती बैठकहरू अनिजले उपलब्ध गराउने कालो चिया खाएर अनिजको कार्यालयमा हुने गरेबाट प्रमाणित हुन्छ । अझ आदिवासी जनजातिले २०६२/०६३ सालको आन्दोलनको बेला तत्कालीन राज्यको प्रतिबन्ध तोड्दै पहिलो र स्मरणयोग्य विरोध ¥याली नै अनिजको कार्यालयबाट सुरु गरेको थियो ।

साँघुको भूमिका

सुरुदेखि नै भन्दै आएको र गर्दै आएको फोनिजको काम भनेको मिडिया र आदिवासी समुदायबीचको साँघु (ब्रिजिङ)को काम हो । हामी आदिवासी हौं, हामी पत्रकार पनि हौं । त्यसैले फोनिजसँग समुदायको अपेक्षा रहन्छ, रहनुपर्छ । जुन दिन फोनिजप्रति समुदायको केही अपेक्षा हुँदैन, त्यस दिन फोनिजको औचित्य सकिन्छ ।

फोनिजसँगको समुदायको अपेक्षा पूरा गर्ने दुई पाटा छन् । एउटा देखिने र हाम्रो पेसासँग सिधा सम्बन्धित कुरा समाचार प्रकाशन÷प्रसारण हो । जुन कुरामा हामी संस्थागतभन्दा पनि व्यक्तिगत रूपमा बढी सक्रिय रहन्छौं । यसको पूर्ति पनि संस्थागतभन्दा व्यक्तिगत रूपमा बढी हुन्छ । यद्यपि, संस्थागत लबिइङले काम गरेको हुन्छ । अर्को पाटो छ, मञ्च दिने काम वा कन्टेन्टको उत्पादन । फोनिजले आदिवासी जनजातिका विविध विषयमा छलफल, अन्तक्र्रियालगायतका काम गर्दै आएको छ र गर्नुपर्ने हुन्छ । यसले समुदायमा रहेका उकुसमुकुसलाई ‘भेन्टिलेट’ गर्ने मौका दिन्छ । पत्रकारको संस्थाले गरेको कार्यक्रमको धेर–थोर प्रकाशन/प्रसारण त हुन्छ नै । यसबाहेक पनि समुदायले गरेका विभिन्न अभियान तथा संघर्षमा फोनिजले आफ्नो क्षेत्रबाट सघाउन सक्छ र सघाउँदै आएको पनि छ । यो कार्य समुदायसँगको सम्बन्धलाई जीवन्त राख्नका लागि अनिवार्य छ ।

क्षमता अभिवृद्धि

फोनिजको अर्को महत्वपूर्ण पाटो भनेको आफ्ना सदस्यको दक्षता वृद्धि पनि हो । पत्रकारिता विश्वमै एकदमै छिटो परिवर्तन भइरहेको क्षेत्र हो भने दक्षताको आवश्यकता हुने क्षेत्र पनि हो । दैनिक रूपमा भइरहेको प्रविधि विकाससँग एकाकार हुनु एकातिर चुनौतीका रूपमा रहेको छ भने अर्कोतिर आफ्नो मौलिकतासहितको सीप यसको आवश्यकता हो । यिनै कारणले पत्रकारितालाई थप प्रतिस्पर्धी बनाएको छ । धेरै पत्रकार साथीहरूको पलायन र नयाँ साथीहरूको आगमन यिनै चीजसँग सम्बन्धित छन् । उत्साही नयाँ साथीहरूको प्रवेश देखिन्छ भने लामो समयदेखि पत्रकारितामा रहेका साथीहरूको पलायन पनि सँगसँगै देखिएका छन् । आदिवासी जनजाति पत्रकारले आदिवासी जनजाति भएकै कारण बजारमा हिस्सा पाउने होइन, हामीप्रति हुने र हुन सक्ने अन्यायविरुद्ध आवाज उठाउन सक्छौं तर दक्षता र क्षमताविनै कर्म क्षेत्रमा स्थापित हुन सक्दैनौं । त्यसका लागि हामीसँग हुनुपर्ने भनेको अरूसँग भन्दा अब्बल दक्षता नै हो । यसका लागि पनि हामीले संस्थागत रूपमा कदम चाल्नुपर्ने हुन्छ ।

यसै सन्दर्भमा आजभन्दा झन्डै १५ वर्षअघि तत्कालीन अनिजले चलाएको पत्रकारिता अभिमुखीकरण तालिमको सम्झना आउँछ । अहिलेजस्तो जिल्ला–जिल्लामा मिडिया र पत्रकारको उल्लेख्य संख्या नभएको त्यसबेला देशभरमा झन्डै पाँच सय आदिवासी युवालाई दिइएको पत्रकारिता अभिमुखीकरण तालिम आदिवासी युवालाई मिडियाप्रति आकर्षित गर्न सहयोगी बन्यो भन्ने लाग्छ ।

स्रोतको परिचालन

फोनिज गहन जिम्मेवारी भएको पेसागत संस्था हो । हामीलाई थाहा छ, आदिवासी समुदाय अधिकार बहालीको सन्दर्भमा पिँधमा छ । आदिवासी जनजातिको मानवअधिकार तथा सांस्कृतिक अधिकारलाई राज्यले सधैं नजरअन्दाज गर्दै आएको छ । त्यसैले गर्दा पत्रकारको संस्थाको नाताले फोनिजले सञ्चार क्षेत्रमा आफ्नो हिस्सेदारी खोज्ने र आफ्ना सदस्यलाई अब्बल बनाउनुका साथसाथै समुदायको अधिकार पुनर्बहालीको सवालमा पनि सघाउनुपर्छ ।

सोचिएको, छलफल हुँदै आएको हुन नसकेको एउटा समस्या भनेको संस्थाको गतिविधिलाई अगाडि बढाउनका लागि दिगो स्रोत अभाव हो । यसका लागि हामीले पहल गर्न सकिएको पनि छैन, अझ यसो भनौ स्रोत खोज्ने र परिचालन गर्नका लागि फोजिनमा हामीले बलियो सचिवालय बनाउन सकेका छैनौं । स्रोतको सही सदुपयोगबाटै उपलब्धि प्राप्त हुने हो । क्षमता अभिवृद्धिको कुरा गरौं या अन्य अभियानको कुरा स्रोतको पहिचान, प्राप्ति र त्यसको सही सदुपयोग जरुरी हुन्छ ।

यसका लागि संस्थामा एउटा बलियो सचिवालयको आवश्यकता पर्छ, जसले संस्थाको मूल्य र मान्यता तथा नेतृत्वले गरेको निर्णयको अधिनमा स्रोतको खोजी, प्राप्तिको प्रक्रिया र परिचालनको काम गर्छ । अहिलेसम्म हुन नसकेको उक्त सचिवालयको अवधारणाले अगामी दिनमा मूर्त रूप पाउनेछ भन्ने विश्वास लिन सकिन्छ ।

अन्त्यमा,

फोनिजसंँगको यो लामो आबद्धताबाट सिकेको कुरा निरन्तर लागिरह्यो भने सम्भव छ भन्ने नै हो । एक दर्जनभन्दा कम साथीले चिया खाजा खर्च कटाएर संस्थाको काममा खर्च गर्दै बामे सरेको संस्थाले अहिले हजारौं साथीलाई भरोसा दिलाएको अवस्था छ । मानिसको जीवन भनेको गर्दै जाने र सिक्दै जाने नै हो । त्यसैले अग्रजले स्थापना गर्नुभयो, हामी सबैले यसलाई मलजल गर्ने कोसिस गरिरहेका छौं । किशोर अवस्थाबाट युवा अवस्थामा प्रवेश गर्दै जाँदा फोनिजको बागडोर ‘तेस्रो पुस्ता’का साथीहरूको हातमा जाँदै छ । यो खुसीको क्षणमा फोनिजले अझ उचाइ प्राप्त गर्ने विश्वाससाथ सबैलाई ‘जय फोनिज’ ।

प्रतिक्रिया दिनुहोस्