आदिवासी विद्रोहको इतिहास : हारेकाहरूको इतिहास



‘जित्नेले आफ्नोबारे इतिहास लेख्छन्,’ इतिहाससम्बन्धी आमप्रचलित भनाइ खण्डन गर्न थालिएको छ । हार्नेको इतिहास लेख्न थालिएको छ । बीसौं शताब्दीका जर्मन दार्शनिक वाल्टर बेन्जामिन भन्छन्, ‘आफूले नखोजेसम्म इतिहास भेटिँदैन ।’ पत्रकार राजकुमार दिक्पाल आफ्नो इतिहास आफैं खोज्ने र भेट्टाउने लेखक हुन् । उनले लेखेको किताब आदिवासी विद्रोहको इतिहास पृथ्वीनारायाण शाहले थालेको गोरखा राज्य विस्तारक्रममा आफ्नो भूमि गुमाउँदा र गुमाइसकेपछि पनि पटक–पटक हार्दै आएका भूमिपुत्रको बलिदानको इतिहास हो । यो इतिहास विद्रोहको मात्रै होइन, दमनको इतिहास पनि हो ।

राज्य विस्तारमा पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीले अन्य राज्यमाथि सिधा आक्रमण, कुटुमेरी, मितेरी, दौत्यसम्बन्ध राख्दै घात, आघात र अन्तर्घातका साम, दाम, दण्ड, भेद सबै नीति अपनाएको कुरालाई शाह वंशको सौर्य र चलाखीको इतिकासका रूपमा पढ्दै आएको पुस्तालाई त्यसभित्रको भौतिक, शारीरिक, मनोवैज्ञानिक तथा सांस्कृतिक क्रूरताको पराकाष्ठाबारे जान्ने अवसर कहिल्यै दिइएन । ‘कीर्तिपुरेको १७ धार्नी नाक, कान काटिएको’ कुरा होस् वा नुवाकोटका विभिन्न गाउँमा एकै वर्ष हजारौंको हत्यालाई ‘जित्नेले गर्ने स्वाभाविक क्रिया’ भनेर पर्दाभित्रै राखिएको थियो । आदिवासी विद्रोहको इतिहासले पर्दा उघार्ने काम गरेको छ ।

मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको आदिवासी विद्रोहको इतिहासको पहिलो संस्करणमा सात परिच्छेद थिए, जसमा लिम्बू व्द्रिोह (१८४८), तामाङ विद्रोह (१८५०), माझकिरात विद्रोह (१८६४), भोटे विद्रोह (१९०७), मगर विद्रोह (१९३३), गुरुङ विद्रोह (१९३३) र आठपहरिया राई विद्रोह (१९३३) थिए । नेवार विद्रोह (१८२७) थपका साथै परिमार्जनसहित दोस्रो संस्करण प्रकाशन भएको छ । किताबमा संवत् १७९७ मा पर्वतका तुले रोहानीमगरले आफैंले आफैंलाई राजा घोषणा गरेर गरेको विद्रोहदेखि ०५१ फागुनमा तत्कालीन स्वस्थ्यमन्त्री पद्मरत्न तुलाधरले कलैयाको भाषणमा ‘गाई खाने परम्परा भएका मुसलमान र मंगोलले गाईको मासु खान पाउने कि नपाउने ?’ भनेपछि हिन्दु अतिवादीले तुलाधरलाई मार्नुपर्ने माग गरेसम्मका प्रसंग समाविष्ट छन् । वंशावली, लालमोहर, स्यामोहर, रुक्का, चिठी, ताम्रपत्र र शिलालेखजस्ता आधिकारिक दस्तावेज र जनश्रुतिजस्ता पर्याप्त प्रमाणका आधारमा घटना, पात्र, स्थान र तिथिमिति उल्लेख गरिएको हुनाले किताब प्रामाणिक बनेको छ । ती प्रमाणले गोरखा राज्य विस्तारसँगै विद्रोह सुरुवात भएको देखाउँछन् ।

विद्रोहको उद्देश्य

किताबका अनुसार पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका घेर्न थालेपछि आफ्नो राज्य बचाउन कान्तिपुरका राजा जयप्रकाश मल्लले त्यस जमानामा बहादुर लडाकु भनेर कहलिएका नगरकोटीहरूलाई काँगडाबाट ल्याएर उपत्यकाका तीनै राज्यका युवालाई सैनिक तालिम दिएर स्थायी सेना निर्माण सुरु गरेको, तिनै सेनाले गोरखालीको प्रतिकार गरेको घटना निकै मार्मिक छ । भक्तपुरमा गोरखाली कब्जापछि १८२७ मा काशी लखेटिएका राजा रणजित मल्लका छोरा राजकुमार अबधुत सिंहले गुमेको राज्य फिर्ता गर्ने उद्देश्यले विद्रोह गरेका थिए । उनलाई त्यहाँका नेवाःहरूले साथ दिएका थिए ।
आफू लिम्बुवानवासी लिम्बू भएर हुन सक्छ वा लिम्बुवानमा ऐतिहासिक प्रमाण धेरै प्राप्त भएर लेखकले लिम्बुवान विद्रोह (१८४८) मा सबैभन्दा धेरै ४१ पृष्ठ (पृष्ठ १५ देखि ५५ सम्म) भरेका छन् । शीर्षकमा मिति १८४८ उल्लेख भए पनि १८३१ मा गोरखाली सेना अरुण नदी तरेर लिम्बुवान प्रवेश गर्दाको प्रतिकारदेखि २०२१ म भूमिसुधार लागू भएपछि खोसिएको किपट फिर्ता लिन गरिएका विभिन्न चरणका आन्दोलनसमेत समेटिएका छन् । तामाङले केन्द्रका शासकविरुद्धमात्रै होइन, स्थानीय सामन्तविरुद्ध पनि विद्रोह गरेका रहेछन् । १८३० मा गोरखाली अधिनमा आएको माझकिरात क्षेत्रमा ३४ वर्षपछि १८६४ मा विद्रोह भएको रहेछ । बाहुन, क्षेत्री, खम्बू राई र घर्ती एकजुट भएर गरेको त्यो विद्रोह दबाउन दुई क्षेत्री, पाँच घर्ती र ६ खम्बू राई गरी १३ जनालाई काटी मारिएको तर उही कसुर लागेका ६ जना बाहुनलाई चारपाटा मुडी जात पतीत गरी सर्वस्वहरणमात्रै गरिएको रहेछ । वर्तमानमा कोसी नामविरुद्ध प्रदेश १ मा उठ्दो विद्रोहलाई जातिवादी भन्नेका लागि माझकिरात विद्रोह अध्ययनको विषय हो । जंगबहादुरको पालामा उत्तरी गोर्खाका भोटेले १९०७, दक्षिणी गोरखामा लखन थापाको नेतृत्वमा मगरले १९३३ र सोही वर्ष लमजुङ र गोरखाका गुरुङले पहिला शुकदेव गुरुङपछि सपति गुरुङको अगुवाइमा र धनकुटाका आठपहरिया राईले विद्रोह गरेका थिए ।

नेपाली बृहत् शब्दकोशमा ‘विद्रोह’ शब्दलाई यसरी अथ्र्याइएको छ– १. सरकारको कार्यसञ्चालनमा बाधा पु¥याउने वा राज्यलाई विफल पार्न गरिएको ठूलो उपद्रव, विप्लव, क्रान्ति । २. शासन सत्ता वा सरकारलाई पल्टाउने काम । ३. ठूलो विरोध, कडा शत्रुता । यस आधारमा विद्रोहका तीन उद्देश्य हुन्छन्– एक, स्वतन्त्रता वा स्वायत्तता, दुई, सत्तापलट, र तीन, खास विषयमा सरकारप्रति असन्तुष्टि ।

किताबमा आफ्नो राज्य गुमाएका आदिवासीले तीनैखाले विद्रोह गरेको देखिन्छ । जस्तो कि लिम्बू विद्रोह उद्देश्य आफ्नो भूमि फिर्ता गर्नु थियो । तर, किपट खोसिएपछि लिम्बू विद्रोहको क्षेत्र स्वशासनबाट किपट फिर्तामा खुम्चियो । माझकिरात विद्रोह र भोटे विद्रोहको उद्देश्य भूमि तथा प्राकृतिक स्रोतमाथि स्थानीयको विशेषाधिकार सुनिश्चित गर्नु थियो । लखन थापा र शुकदेव गुरुङको विद्रोहको उद्देश्य सत्तापलट थियो, जंगबहादुरबाट शक्ति खोस्ने ।

पूर्ण पी राई

कति विद्रोह राजनीतिक थिए भने कतिपय सांस्कृतिक थिए । नुवाकोटको भैरवी जात्राको खट तान्न बहिष्कार गर्नु सांस्कृतिक विद्रोह थियो । लच्याङ विद्रोह (१८५०) राजनीतिक सांस्कृतिक दुवै थियो भने खनियाबास विद्रोह (०१६) राजनीतिकि विद्रोह हो । लामाको साटो बाहुनबाट कर्मकाण्ड गराउने आदेशविरुद्ध गुरुङ विद्रोह, तामाङ सट्टा मुर्मी लेख्नुपर्ने आदेशविरुद्ध तामाङ विद्रोह, गोरु काटेर खान प्रतिबन्धविरुद्ध लिम्बू विद्रोह र दसैं अनिवार्य मनाउनुपर्ने आदेशविरुद्ध आठपहरिया राई विद्रोह सांस्कृतिक विद्रोह थिए । अधिकांश विद्रोहका अगुवाले धर्म र तन्त्रमन्त्रलाई हतिहार बनाए थिए । हरेक विद्रोहलाई दमन गरेर सिध्याइएयो । विद्रोहमा संलग्नका परिवार र सन्तानलाई पनि सिध्याइएको थुप्रै उदाहरण छन् । संख्यात्मक हिसाबले सबैभन्दा बढी तामाङमाथि दमन भएको देखिन्छ ।

शब्दकोशको अर्थको सार शासनविरुद्धको क्रिया विद्रोह हो । बाह्यशक्तिको आक्रमण वा अतिक्रमणबाट बच्ने क्रिया प्रतिरक्षा वा प्रतिकार हो । लेखकले धेरै सन्दर्भमा गोरखा राज्यको विस्तारमा भएका प्रतिरक्षाका क्रियालाई पनि विद्रोहकै रूपमा व्याख्या गरेका छन् । जस्तो कि १८०१ मा नुवाकोट कब्जापछि तिमाल क्षेत्रमा भएका लडाइँ गोरखालीलाई आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने प्रयत्न थिए । माझकिरात विद्रोह शीर्षकमा धेरै विवरण गोरखाली सेनाको प्रतिकारका कुरा छन् । १८६२ मा विर्ता उन्मूलनविरुद्ध १८६४ विद्रोहमा बाहुन, क्षेत्री, घर्ती, राई संलग्न विद्रोहका अगुवा र राज्यबाट सजाय पाउनेको विवरणसमेत उल्लेख गरे पनि त्यो विद्रोह कहाँ भएको थियो प्रस्ट छैन । माझकिरात ठूलो क्षेत्र हो । खार्पाका हरिनन्द पोखरेलले नुवाकोट दरबारमा चौदन्डीको एक डल्लो माटो भेटी चढाएर पृथ्वीनाराण शाहलाई निम्तो दिएको प्रमाणित इतिहास भए पनि पृष्ठ १०२ मा त्रिलोचन पोखरेल उल्लेख हुनुलाई टंकन त्रुटिमात्रै मान्न सकिँदैन ।

पहिचान र विद्रोह

गोरखा राज्यको विस्तारबाट नेपाल राज्य बन्यो, साना राज्य बिलाए । पञ्चायतकालमा पाँच विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला र नगर गाउँ पञ्चायत बने । खास खास सांस्कृतिक विशेषता भएका ऐतिहासिक भौगालिक क्षेत्र पञ्चायतकालको लामो अवधिसम्म सरकारी लिखतमै उल्लेख गरिन्थ्यो । ती क्षेत्रको स्वायत्त प्राप्तिका लागि देशैभरि साना, ठूला विद्रोह भए । सकिए । यिनै क्षेत्र र त्यस क्षेत्रका बासिन्दाको भावनात्मक पहिचान सम्बोधन गरी राष्ट्रिय एकताको भावना अझ मजबुत बनाई दीर्घकालीन शान्तिको यात्रामा अगाडि बढाउने उद्देश्यले मुलुकलाई एकात्मकबाट संघात्मक बनाइयो । तर, संघीयतामा प्रदेशको सीमांकनक्रममा त्यस्ता क्षेत्र भत्काइयो । नामकरण विरोधमय बने । सबैभन्दा पेचिलो प्रदेश नम्बर १ बनेको छ । प्रदेशको नाम कोसी बनेपछि त्यसविरुद्ध आन्दोलन उठेको छ । आन्दोलनलाई बेलैमा सम्बोधन नगरे क्रमशः विद्रोहमा परिणत हुने सम्भावना बढेको छ । यसको प्रभावस्वरूप मधेसबाहेक अन्य प्रदेशमा पनि असन्तुष्टिका आवाज बढ्दै गएका छन् । यस्तो राजनीतिक अवस्थामा त्यस क्षेत्रको इतिहास र मुख्य पहिचान बुझ्न पनि पत्रकार राजकुमार दिक्पालको यो किताब आधिकारिक सन्दर्भ सामग्री बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्