मोटाउनुभयो नो टेन्सन, ग्रीन टी छँदै छ नि



काठमाडौं । दुब्लाउनका लागि अचेल ग्रीन टी पिउने ह्वात्तै बढेको छ । देशभित्रै ग्रीन टी बर्सेनि १० लाख मेट्रिक टनजति उत्पादन हुन्छ । साथै यो बाहिरबाट समेत आयात गर्ने गरिन्छ ।

पछिल्लो समय ग्रीन टी खरिदमा लाखौं रकम बाहिरिने गरेको छ । व्यस्त जीवनका कारण मानिस अचेल व्यायाम गर्ने फुर्सदसमेत पाउन छाडेका छन् । व्यायाम गर्ने समय नपाउनेहरू अहिले विभिन्न औषधि वा चियाको सहारा लिएर दुब्लाउने प्रयास गरिरहेका छन् ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्ष २०७१/०७२ मा भने देशबाट १० लाख रुपैयाँबराबरको रकम ग्रीन टी आयातका लागि बाहिरिएको थियो । गत वर्ष नेपालमा १ हजार २ सय ४० किलोग्राम ग्रीन टी आयात गरिएको थियो । यसरी हेर्दा देशमा प्रत्येक वर्ष ग्रीन टी खरिदका लागि बाहिरिने रकम बढ्दै गएको छ । व्यस्त जीवनमा व्यायाम गर्ने समय र जाँगरको अभावले देशको ठूलो मात्रामा रकम भने बाहिरिन थालेको हो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार ग्रीन टी खरिदका कारण गत आर्थिक वर्ष ०७२/०७३ मात्रै देशबाट ३५ लाख ७८ हजार रुपैयाँ बाहिरिएको छ । आर्थिक वर्ष ०७२÷०७३ मा १ हजार ४ सय ७७ किलोग्राम ग्रीन टी विदेशबाट आयात भएको छ । नेपालमा ग्रीन टी चीन, भारत, ताइवान, थाइल्यान्ड, भियतनाम र बेलायतबाट आयात हुने गरेको छ ।

धेरैजसो मानिस अहिले दुब्लाउने आसमा ग्रीन टी खाने गर्छन् । उच्च रक्तचाप, मुटुरोग र अन्य रोगको लाभदायक भनिए पनि मानिसले विशेषगरी यो खाएपछि दुब्लाइन्छ रे भन्ने आसमा ग्रीन टी किन्ने गरेका छन् ।

देशमै पनि यसको खपतमा मात्रै होइन, उत्पादनमा समेत वृद्धि भएको छ । नेपालमा यसको माग बढ्दै गएपछि उत्पादनमा पनि वृद्धि हुन थालेको हो । ग्रीन टीको मूल्य भने हरियो पत्तीको मूल्यसँगै सम्बन्धित हुन्छ । चियाको हरियो मुनाको मूल्य बढेसँगै ग्रीन टीको मूल्य पनि बढ्ने गरेको छ । केही वर्षयतादेखि यसको मूल्य बढे पनि माग घटेको छैन बरु बढेकै छ । सरकारसँग भने ग्रीन टी उत्पादनबारे कुनै आँकडा नै छैन । उत्पादनको आँकडा अभावका कारण देशमा यो के कति रकमबराबरको खपत हुन्छ भन्ने पनि आधिकारिक तथ्यांक पाउन सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्