लिम्बू दम्पतीको आँसुले बनेको मेवाखोला


उहिले–उहिले पल्लो किरात–लिम्बुवान (हाल : ताप्लेजुङ) पापुङको तोप्केगोलोमा लिम्बूहरू बस्थे । तोप्केगोलाको सिरानमा एउटा पोखरी छ । त्यसलाई भूतपोखरी भनिन्छ । तोप्केगोलावासी लिम्बूहरूले तोप्केगोला शिरमा बाख्रापालन गरी बस्न थाले ।

त्यस ठाउँमा सोदोपोखरीबाट निकास भएको पानी खोला भएर गाउँमा आउने भएकाले बाख्रा चरणमा बाधा पुर्याउँथ्यो । उनीहरूले खोलामा बाख्रा तार्न मेन्दातरङ (बाख्रा तार्ने साँघु) बनाए । तर, भूतपोखरीले साह्रै दुःख दिन थालेपछि लिम्बूहरू त्यहाँबाट आफ्ना सामलतुमल केटाकेटीहरूसाथ ताङ्खु भन्ने गाउँमा बसाइँ सर्न लागे ।

 

जति सम्झाउँदा पनि दुईजना बूढाबूढी भने अरूको साथमा जान मानेनन् । उनीहरू हिँड्न पनि सक्दैनथे । छरछिमेकी सप्पै ताँती लागेर गाउँ छोडी बसाइँ सरेको देख्दा बूढाबूढी भावनात्मक रूपमा रुन थाले । ती दुई बूढाबूढीको रुवाइबाट झरेको (बगेको) आँसु जम्मा भई खोला उत्पन्न भयो । यो खोलालाई मिक्वा वहङ (आँसुको खोला) भन्न थालियो ।

समय बित्दै गयो । युग–युग बित्यो । मिक्वा वहङमा थुप्रै पानी बग्यो । कालान्तरमा त्यही मिक्वा अपभ्रंश भई मेवाखोला बन्यो । विछोडको वेदनामा ती दुई लिम्बू बूढाबूढीले बगाएको आँसुको कथा बोकेर मेवाखोला अविरल बगिरहेछ बूढापाका बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्