५ वर्षमुनिका बच्चालाई जाडोबाट यसरी जोगाउन सकिन्छ



काठमाडौं उपत्यकालगायत देशभरि बिस्तारै चिसो बढिरहेको छ । तराईमा शीतलहरसमेत सुरु भइसकेको छ । चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या पनि देखिने गर्छन् । जाडो मौसममा विशेषगरी रुघाखोकी, श्वासप्रश्वासका बिरामी उल्लेखनीय बढेको पाइन्छ । चिसोले विशेषगरी बालबालिका र वृद्धवृद्धामा धेरै असर पार्छ । तर, आज हामी बालबालिकाको विषयमा चर्चा गर्दै छौं ।

जाडो मौसममा बालबालिकालाई विशेषगरी श्वासप्रश्वासको समस्या देखिने हुँदा सचेत हुनुपर्छ । चिसोका कारण बालबालिकामा श्वासप्रश्वाससम्बन्धी समस्या रुघाखोकी, निमोनियाजस्ता समस्या बढी देखिन्छ । जाडोमा बालबालिकामा रोगसँग लड्ने क्षमता कमजोर हुने हुँदा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

दुई महिनाभन्दा कमका बच्चालाई नवजात शिशुको वर्गमा राखिन्छ । उनीहरूलाई जाडोमा शितांगपना हुने सम्भावना अत्यधिक रहेको हुन्छ । जसलाई मेडिकल भाषामा हाइपोथर्मिया भनिन्छ । जाडो मौसममा नवजात शिशुमा मृत्युका कारक तत्वका रूपमा समेत रहेको हुन्छ । नवजात शिशुका लागि यो समय संवेदनशील भएको हुँदा दुई महिनाभन्दा कम उमेरका बच्चालाई चिसोबाट बचाउन विशेष ध्यान दिनुपर्छ ।

दुई महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा श्वासप्रश्वासको समस्या धेरै रहेको पाइन्छ । जसलाई अक्युट ब्रोङकोलाइटिस भनिन्छ । यो आरएसभी (रेस्पेटरी सिन्साइडियर भाइरस) नामक भाइरसका कारण देखिन्छ । जसले गर्दा श्वासप्रश्वासमा समस्या देखिन्छ ।

रुघाखोकीबाट सुरु भई बिस्तारै बच्चामा स्वाँस्वाँ गर्दै सास फेर्न समस्या हुन्छ । यसको साथै ज्वरो पनि आउने हुन्छ । ज्वरो आएर ब्रोङको निमोनिया हुन्छ । यो बच्चामा देखिने कडाखालको निमोनिया हो । यस्तो समस्या देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । यसबाहेक जाडो मौसमको सुरुवातदेखि बालबालिकामा रोटा भाइरलका कारण संक्रमण हुन सक्छ । यसबाट बचाउने सरसफाइमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

डा. सुनीलराजा मानन्धर

झाडापखाला भई पानीजस्तो पातलो दिसा हुन्छ । जसकारण बालबालिकामा जलवियोजनको समस्यासमेत देखापर्न सक्छ । यदि जलवियोजन भएमा बच्चाको आँखा धसिने, जिब्रो सुख्खा हुने, तालु धसिने, पिसाब कम गर्नेजस्ता लक्षण देखापर्छ । यस्तो अवस्थामा एक प्याकेट जीवनजल एक लिटर पानीमा घोलेर खुवाउनुपर्छ । उक्त जीवनजल २४ घन्टाभित्र बच्चालाई दिइसक्नुपर्छ ।

बालबालिकालाई जाडोबाट कसरी बचाउने ?

जाडो मौसममा बालबालिकालाई ध्यान नदिँदा धेरै स्वास्थ्य समस्या देखापर्न सक्छ । केही साधारण कुरामा मात्र ध्यान दिने हो भने पनि बालबालिकालाई धेरै रोगबाट सहजै बचाउन सकिन्छ । तर, तिनै हामीले साधारण कुरा भनेर ध्यान दिएका हुँदैनौ । जसकारण बालबलिकालाई चिसोबाट बचाउन प्रयास गर्दा पनि विभिन्न स्वास्थ्य समस्या देखापरिरहेको हुन्छ ।

बच्चालाई न्यानो पार्ने तर नगुम्साउने

जाडो मौसममा विशेषगरी चिसोबाट बचाउन बालबालिकालाई गुम्साउनेगरी कपडा लगाइदिने गरिन्छ । यसो गर्नु बालबालिकाका लागि त्यति फाइदाजनक मानिदैन । यसरी कपडा गुम्साएर राख्दा पसिना आउने र सोही पसिना चिसो भएर स्वास्थ्य समस्या देखापर्न सक्छ । यदि बालकालिकामा पसिना आएमा भित्री कपडा परिवर्तन गरिदिनुपर्छ ।

कोठाको तापक्रममा ध्यान दिने

रातिको समयमा कोठाको तापक्रममा ध्यान दिनुपर्छ । सकभर कोठाको तापक्रम १५ देखि २० डिग्रीसम्म राख्नुपर्छ । कोठामा बाक्लो पर्दा लगाउने, हिटर बाल्ने गर्नुपर्छ । विद्युत्को हिटर राम्रो मानिन्छ तर यदि केरोसिनको हिटर बालेमा भेन्टिलेसन राख्नुपर्ने हुन्छ ।
नवजात शिशुका लागि आमाको छातीमा टाँसेर राख्ने । जसलाई कङ्गारु मदर केयर भनिन्छ ।

झोलिलो खानेकुरा खान दिने

जाडो मौसममा बालबालिकालाई तातो झोलिलो खानेकुरामा जोड दिनुपर्छ । जाडो मौसममा फलफूलले चिसो हुन्छ भन्ने भ्रममात्र हो । तर, चिसो समयमा भने फलफूललाई तातो पानीले धोएर वा तातो पानीमा डुबाएर खुवाउन सकिन्छ ।

घाममा राख्ने

चिसोबाट बचाउन बालबालिकालाई घाममा राख्नुपर्छ । घाममा राख्ने भन्दैमा बिहानको चिसो समयमा भने राख्नुहुँदैन । घाममा पारिलो घाम लाग्ने समय बिहान १० बजेदेखि १ बजेसम्मको अवधिमा राख्नुपर्छ । साथै घाममा राख्दा तेल लगाइदिनु बालबालिकाका लागि धेरै लाभदायक मानिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्