हातमा परेको लगभग एक सातापछि लेखक सपना आचार्यको ‘मलिलो माटो’ उपन्यास पढें । पढ्न सुरु गरेपछि किताब पढेर कतिखेर सकियो पत्तै भएन । प्रकृति र नारीका पीडालाई अति मार्मिक तरिकाले पस्किएको यो उपन्यासले समग्र नारीका पीडालाई प्रस्ट्याएको छ । समसामयिक घटनाको प्रतिनिधित्व गरेको ‘मलिलो माटो’मा हाम्रो समाजमा घटिरहेका महिला हिंसाका घटनालाई म पात्र मञ्जुका माध्यमबाट राम्रोसँग चित्रित गरिएको छ ।
बोल्नमात्रै नसक्ने म पात्रले समाजमा बोल्न सक्ने तर बोल्न नसकेका सबै नारीका प्रतिनिधित्व गरेकी छन् । लेखक आचार्यको ‘मलिलो माटो’ उपन्यास पढदै गर्दा म पात्र बोल्नमात्रै नसक्ने आवाजविहीन मञ्जुको भूमिकाले मलाई धेरै कुरा सोच्न बाध्य बनायो । नारी र प्रकृतिलाई दाँजेर समग्र नारीका पीडालाई छर्लंग उतारिएको यस उपन्यास पढ्दै गर्दा मैले पनि भोगेका कुरा सम्झिन मन लाग्यो ।
पहिलोपटक महिनावारी भएकी म लाज र खुसीको समय थियो । कति रमाइलो लाग्थ्यो मौसम पनि । अरुलाई कस्तो लाग्थ्यो, खै थाहा भएन । तर, म आफूलाई आफू साह्रै राम्री लाग्थ्यो । म आफूले आफैंलाई हेरेर कहिले नअघाउने । मलाई आफू सबैभन्दा राम्री लाग्थ्यो । रहर पनि कति आएको हो । कपाल कोर्न त ठ्याक्कै एक घन्टा लाग्ने । एकातिर मिले अर्कोतिर मिल्दैन । खै के हो, के हो । बुझ्नै गाह्रो । जसरी पनि आफू राम्री देखिनुपर्यो ।
खाना खाने समय बरु नहोस् । सिँगारपटारमा कुनै कमी हुनुभएन । बाहिर हिँडडुल गर्दा पनि सबैले आफैंलाई मात्रै हेरेजस्तो लाग्ने । कसैले राम्री भन्दा मन फुरुंग हुने । म कसैले नराम्री भनेको त सुन्ने हिम्मत कहाँ हुनु । कहिलेकाहीं विरक्त लाग्ने । परिवारका सदस्यले पनि यसो गर, यसो नगर भन्दा साह्रै रिस उठ्ने । मलाई कसैले पनि सिकाएको अझ भनौं अर्ती बुद्धि दिएको त मनै नपर्ने । कहिले खुसीले आकाशमै उडुँजस्तो हुने । अब म ठूली भएँ । मलाई सबै कुरा आउँछ । म आफ्नो जीवनको फैसला आफैं गर्न सक्छु । ममा कुनै कमजोरी छन्जस्तो त कहिल्यै लागेन ।
यसैबीच कति मान्छे ठोक्किन आउँथे । कोही क्वारक्वार्ती हेर्ने मान्छे नै देख्न नपाएजस्तो गरी, कोही छुने बहाना गर्ने । यस्तै–यस्तै मान्छे । गुनासो कसलाई गरूँ । आफूलाई मन नपर्ने व्यवहार गर्नेविरुद्ध बोल्ने हिम्मत ममा हुन्नथ्यो । बोले पनि अप्ठ्यारो आफैंलाई पर्ने । यस्तो कुरा न कसैसँग खुलेर गर्न सकिन्थ्यो, न त त्यसको कुनै प्रतिकार नै । यसैबीचमा कोही यस्तो मान्छे भेटियो, जो मभन्दा उमेरमा धेरै ठूलो । तर, उसको बोल्ने शैली राम्रो थियो । पढेलेखेको । हेर्दा आकर्षक व्यक्तित्व । म उसप्रती कसरी आकर्षित भएँ, ऊबाहेक मैले अरू देख्नै छाडें । यो के भइरहेको छ, मलाई नै थाहा थिएन । भन्ने हिम्मत थिएन ।
आत्मसम्मानको कुरा थियो । मलाई पो यस्तो भो, उसलाई त मलाईजस्तो भएको छैन होला । मैले उसलाई आफ्नो मनमा भएको कुरा भनेपछि फेरि आफ्नै नजरमा गिरिने हो कि भन्ने भो । यसरी कहिलेकाहीं झुलुक्क देख्नेबाहेक अरु कुरा सम्भवै भएन । हिजोआजजस्तो बेला थिएन । पर्खाइक्रममा कतिखेर २० वर्ष कट्यो पत्तै भएन । जब २० कट्यो पहिलाजस्तो भएन । सबै उसका राम्रामात्रै कुरा देख्ने आँखाले उसका नराम्रा कुरा पनि देख्न थाले । त्यो पागलपन त हटिसकेछ ।
अहिले आएर जति सोच्छु, उति विरक्त लागेर आउँछ । कस्तो अप्ठ्यारो थियो । त्यो मेरो १३ देखि १९ को उमेर । कसैलाई थाहै भएन ममा के बितिरहेको थियो भन्ने कुरा । सबैका साथमा हुँदा पनि त्यो गाह्रो समय मैले कसैलाई नभनी काटें । अहिलेका नाबालिक किशोरी देख्दा साह्रै माया लागेर आउँछ । कति असुरक्षित छन् छोरीहरू । दिनप्रतिदिन घटिरहेको बलात्कार र हिंसाका घटना । हामीले देख्ने सुन्ने भनेको त समाचारमा आएका कुरा त हुन् ।
नदेखिएका बाहिर आउन नसकेका घटनाले कति पीडित छन् होला, किशोरीहरु एकछिन सोच्यौ त ! आफूले भोगेको कुरामात्र सम्झेर छोरी, चेलीबेटीलाई साथ दिऊँ । सही गलत सिकाऊ । आफूलाई परेको कुरा उनीहरुलाई भन्न सक्ने वातावरण मिलाऊ । कसैले पनि म हिंसामा परेकी छु भन्यो भने साथ सहयोग दिने कि ? उल्टै उसको चरित्रहत्या गर्ने ?
महिलाका दबिएका पीडा छन् । उनीहरू घरेलु हिंसाका सिकार भएका छन् । त्यसमध्ये पनि दिनप्रतिदिन घटेका बलात्कारका घटनाले चेलीबेटी सुरक्षित छैनन् भन्ने दर्शाउँछ । नबोले मरिने, बोले समाजले तेरै बेहोरा त्यस्तै भएर हो भनी झन् सताउने । न्याय माग्न जाऊँ इज्जत जाने केटीको नै । केटाले यो समाजमा जे गरे पनि इज्जत नै इज्जत छ ।
समाचारको हेडलाइन पढ्नै नसक्नेगरी लेखिएको हुन्छ । समाज कतातिर जाँदै छ ? बलात्कार भनेको शरीर लुछ्नुमात्रै हो र ? १५ वर्षको उमेरमा कसैको प्रेममा अन्धो भएको मान्छेबाट कुनै गल्ती भयो भन्दैमा तथानाम गाली गर्न पाइन्छ र ? न्याय माग्नु गल्ती हो र ? म अन्यायमा परें भन्नु गल्ती हो ? के हुनुपथ्र्याे ? ऊ इज्जतको डरले जिउँदै मर्नुपथ्र्याे ? १३ देखि १९ वर्षको समय भनेको संकटकालीन उमेर हो ।
यो उमेरमा म हिंसामा परें भनेर अदालतको ढोकासम्म धाउनु भनेको कम हिम्मतको कुरा होइन । यसले समाजमा महिला हिंसा गर्न हुँदोरहेनछ भन्ने सन्देश समाजमा जान्छ । हाम्रा छोरी, चेलीबेटीलाई पनि सुरक्षित राख्न सक्छौं । उनीहरु पनि बोल्न सकून् । हिंसा बलात्कारका कारण कैयौं किशोरी मरिसके । कति जिउँदै मरेका छन् । न्याय माग्न अदालतको ढोकासम्म पुगेकालाई समाजले मारेको छ । हामीले पनि जुन जटिल अवस्था भोगेका थियौं । पार गरेका थियौं । यो अवस्था नबिर्सी, जो जहाँ छौं, त्यहींबाटै छोरी, चेलीबेटीलाई संरक्षण गरौं । गलतलाई गलत हो भनी भन्न सिकाऊ । विरोध गर्न सिकाऊ । महिला भएर महिलाको मर्म र पीडा बुझी बोलौ ।
१५ वर्षकी किशोरीलाई गाली गर्दै ३४ वर्षको पुरुषको वकालत गर्ने समाज यही हो । जतिसुकै ठूलो पद प्रतिष्ठामा पुगेका व्यक्तिबाटै महिला हिंसा भइरहेको छ । यो कस्तो तरिका हो ? एउटी नारीको आत्मसम्मान नै धरापमा राखेर पुरुष खुलेआम आरामले कसरी हिंड्न् सक्छ ? के उसलाई केही कुराको डर नै नहुने हो कि ? मलाई लाग्छ– यो किताब एकपटक सबैले पढ्नैपर्छ । ‘मलिलो माटो’ले सुसंस्कृत समाज निर्माणमा भूमिका पक्कै खेल्नेछ ।