सडकमा कराउँदै तरकारी बेच्ने कलाकारको काठमाडौंमा घर



एउटा सुन्दर घर बनाउने सपना जोकोहीको हुन्छ । धेरै मान्छे यो सपना पूरा गर्न संघर्षरत छन् । घरविनाको जिन्दगी के जिन्दगी भनेर तर्क गर्नेहरू पनि छन् । घरविना पनि हुन्छ भन्नेहरू पनि नभएका होइनन् । तर, बाहिर जसले जे भने पनि ‘आफ्नै एउटा सुन्दर घर होस्’ भन्ने रंगीन सपनाचाहिँ प्रायः सबैले देख्छन् । यद्यपि, सपना कसले कुन स्तरमा देख्छन् भन्नेचाहिँ फरक हुन सक्ला ।

रंगीन क्षेत्र अर्थात् कलाकारिता क्षेत्रमा लाग्नेहरू धेरैले घर बनाएका छन् । कसरी बनाए त उनीहरूले घर ? घरप्रतिको बुझाइ कस्तो छ ? ‘घर केही हो तर सबथोक होइन,’ नायक भुवन केसी भन्छन्, ‘घर बनाउने सपना सबैको हुन्छ । तर, घरविनाको जिन्दगीचाहिँ ‘ब्ल्याक एन्ड ह्वाइट’ हुन्छ भन्नु गलत हुन्छ ।’ घर बनाउने सपना देख्नुचाहिँ सकारात्मक भएको केसीको भनाइ छ । ‘सपनाधारीले सफलता प्राप्त गर्छन्,’ उनले भने, ‘कलाक्षेत्रमा लाग्नेहरू पनि स्वप्नधारी हुन् । उनीहरूको धेरै सपनामध्ये घर पनि एउटा सपना हो । र, धेरैले यो सपना पूरा पनि गरेका छन् ।’ भुवन केसी काठमाडौं सिनामंगलवासी हुन् । केसी कस्तो घरमा बसिरहेका छन् ? उनी त्यति धेरै खुल्न चाहेनन् । ‘मलाई चिन्ने मेरो घरभन्दा पनि कलाले हो । घरबारे किन धेरै बोल्ने ?’ उनले प्रतिप्रश्न गर्दै भने, ‘म मेरो बाउबाजेले बनाएको घरमा बसिरहेको छु ।’

नेपालका धेरै कलाकारले कलाकारिता नै गरेर काठमाडौंमा भव्य महल बनाएका छन् । तीमध्येका एक हुन्– हास्यकलाकार मनोज गजुरेल । उनले दलका शीर्षनेताहरूको क्यारिकेचर गरेरै काठमाडौंको कौशलटारमा घर बनाएका छन् । उनका लागि घर कति अनिवार्य हो ? ‘अनिवार्य भएर त यत्रो लामो संघर्षपछि बनाएको,’ उनी भन्छन्, ‘डेरामा बस्नु र घरमा बस्नु धेरै फरक हुन्छ । ‘फ्रिडम’ मान्छेका लागि आवश्यक हुन्छ । व्यक्तिगत जीवन बाँच्ने सन्दर्भमा डेरामा भन्दा आफ्नै घरमा स्वतन्त्रता बढी हुन्छ ।’ उनले कलाकारिताबाट घर बनाएका हुन् । ‘आज कहा“ गएर मोज गर्नेभन्दा आज कति बचत गर्ने भन्नेतिर लाग्नुहोस् ।’ घर बनाउने सपना भएका तर घर नहुनेलाई उनको टिप्स छ, ‘सपना देख्नुपर्छ । त्यसपछि योजना बन्छ । त्यो योजनाअनुसार प्रत्येक सेकेन्ड काम गर्नुपर्छ । घर बनिहाल्छ ।’

हास्य क्षेत्रकै अर्का कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ पनि हँसाएकै पैसाले काठमाडौंको धापाखेलमा घर बनाएका छन् । झापादेखि गाडीभाडा लिएर काठमाडौं छिरेका उनले हँसाएरै घर बनाउने पैसा बटुलेका हुन् । कुनै बेला काठमाडौंको सडकपेटीमा भोकले छटपटिएर हिँड्ने धुर्मुस अहिले करोडका मालिक बनेका छन् । यति छोटो समयमै कसरी सम्भव भयो त ? ‘मिहिनेत र समपर्णले,’ धुमुर्सले भने, ‘मान्छे दुःख भयो भने आत्तिनुहुँदैन । सुख भयो भनेर मात्तिनु पनि हुँदैन । दुःख–सुख दुवै अवस्थामा आफ्नो बाटोमा समर्पित भएर एकनासले हिँडिरह्यो भने एक दिन सफलता प्राप्त हुन्छ ।’

कुनै बेला काठमाडौंको सडकमा कराउँदै तरकारी बेचेर हिँड्ने जितु नेपालले पनि काठमाडौंमा भव्य महल बनाएका छन् ।

कुनै बेलाका टेम्पो ड्राइभर केदार घिमिरे ‘माग्नेबूढा’ले अहिले ललितपुरको इमाडोलमा घर जोडेका छन् । रित्तोहात बोकेर काठमाडौं छिर्ने कलाकार दीपाश्री निरौला, राजेशपायल राई, धीरज राई, विराज भट्टलगायत धेरैले काठमाडौंमा घर बनाएका छन् । कसरी सम्भव भयो त ? ‘मिहिनेत, समर्पण र अनुशासनले,’ अभिनेत्री दीपाश्री निरौलाको भनाइ छ, ‘मिहिनेतले कमाइ हुन्छ । कमाइ र कामप्रति समर्पित भएर लाग्नुपर्छ । आर्थिक रूपमा अनुशासित हुने हो भने घरमात्रै होइन, धेरै बन्छ ।’

कलाकारिता क्षेत्रमा लाग्ने अधिकांश कलाकारले घर बनाएका छन् । घर नहुनेहरू पनि बनाउने तर्खरमा छन् । स्थापित कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, रेखा थापा, दीपकराज गिरी, भुवन केसी, करिश्मा मानन्धर, राजेशपायल राई, दयाहाङ राईलगायत धेरैले आफ्नै मिहिनेतबाट काठमाडौंमा भव्य महल बनाएका छन् । उनीहरू सबैको एउटै भनाइ छ, ‘घर सबैका लागि अनिवार्य हो ।’

काठमाडौंमा घर हुने चर्चित कलाकार

मदनकृष्ण श्रेष्ठ

हरिवंश आचार्य

राजेश हमाल

भुवन केसी

करिश्मा मानन्धर

रेखा थापा

अरुणिमा लम्साल

मनोज गजुरेल

दीपकराज गिरी

दीपाश्री निरौला

राजेशपायल राई

धीरज राई

दयाहाङ राई

श्रीकृष्ण श्रेष्ठ

आनी छोइङ डोल्मा

जितु नेपाल

जल शाह

प्रतिक्रिया दिनुहोस्