अप्पर सोलुको आईपीओ सर्वसाधारणलाई आउँदै



काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी असार २० गतेदेखि प्रतिकित्ता १०० अंकित १९ करोड ५७ लाख ५० हजार मूल्यबराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले कुल निष्कासनको २ प्रतिशतले हुने ३९ हजार १५० कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी १८ लाख २० हजार ४७५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सर्वसाधारणले आगामी असार २३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् । जसमा मागबमोजिम आवेदन नपरे आगामी साउन २ गतेसम्म बिक्री खुला हुने पत्रमा उल्लेख छ । हाल आईपीओमा आवेदन दिनेको संख्यामा उल्लेख्य वृद्धि भएकाले निष्कासन बन्द छिट्टै हुने देखिन्छ ।

कम्पनीले सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका हुँदै बग्ने सोलुखोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो सेयरको मोबाइल एप तथा वेबसाइटमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आइआर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्