जंगलका रूखहरू
जंगलछेउ आगोको झिल्कालाई देखेर
अँध्यारोलाई आगोभन्दा भयानक भनिरहे
उभिएका पहाडहरू
बगिरहेको एकान्त खोलालाई हेरेर
बगरको मुहान आँखाबाट झरेको भनिरहे
माटोका किराहरू
भुइँमा खसेको फूललाई छोएर
फूलको मुटु हावाको स्पर्शभन्दा हल्का भनिरहे
एक दिन हुरी चल्यो
सुतेको आगो उठाएर जंगलमा हिँड्यो
रूखका हाँगाहाँगामा दगुर्दै आगो हिँड्यो
एक दिन उमेरको बैँस चढ्यो
पानीको ओंठमा धकमक्क लालीगुराँस फुल्यो
खोलाको गीतले पहाडलाई बाँसुरीको धुन फुक्यो
एक दिन फूलको गर्भबाट सूर्य उदायो
र, पृथ्वीको भ्रमणमा हिँड्यो
हिँड्दै जाँदा बाटोहरूमा
रूख, पहाड र माटोहरूमा
यथावत् अभिमान,
अहंकार र भ्रम देख्यो
सबै–सबै भ्रमित
अनि सूर्य फिस्स हाँस्यो ।
(कवि मगर कुशल र सफल चित्रकार पनि हुन् ।)