गाउँले दुःख तिम्रैसामु बसी धुन्थें हुँला



कस्तो होला तिम्रो सिक्किम हेर्न पा’को छैन
गाउँले ठिटो गाउँले धन्दा फेर्न पा’को छैन ।

फेर्न पाए गाउँले धन्दा सिक्किम पुग्थें हुँला
बाटो मिले ‘दोर्जेलिङ’मा थोरै रुक्थें हुँला,
‘भोटाङ’ पनि छुन्थें हुँला, खुसी हुन्थें हुँला
गाउँले दुःख तिम्रैसामु बसी धुन्थें हुँला ।

तिमी भन्छौ– सिक्किम आउनु स्वर्ग छुने भए
जे छन् दुःख मनभित्र त्यसलाई धुने भए
सङ्लो मन छ, सङ्लै बोल्छ तिम्रो मनको मान्छे
आफू परें गाउँले ठिटो आफ्नैपनको मान्छे ।

द्रष्टव्य :

‘दोर्जेलिङ’ : माझकिरातका बासिन्दाले ‘दार्जिलिङ’लाई चलनचल्तीको भाषामा ‘दोर्जेलिङ’ भनी उच्चारण गर्छन् ।

‘भोटाङ’ : माझकिरातकै बासिन्दाले ‘भुटान’लाई ‘भोटाङ’ शब्दोचारण गर्छन् ।

प्रतिक्रिया दिनुहोस्