लोकतान्त्रिक राज्य व्यवस्थामा सञ्चारको सशक्त माध्यम पत्रकारितालाई राज्यको चौथो अंगका रूपमा लिइन्छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले राम्रा कामप्रति जनसमर्थन जुटाउन सहयोग गर्ने र गलत क्रियाकलापप्रति व्यापक जनमत सिर्जना गरेर त्यस्ता गलत क्रियाकलाप सच्याउन दबाब दिने भएकाले नै यसो भनिएको हो । त्यसो त व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई गलत काम गर्न नदिने पहेरदारीको काम पनि पत्रकारिताले गर्छ भन्ने मान्यता विकसित भएको हो ।
पत्रकारिताको एक अभिन्न अंग जसको सम्बन्ध परापूर्वकालसँग छ । सञ्चारको सबैभन्दा शक्तिशाली माध्यम भाषा हो । त्यसकारण सञ्चारको प्रारम्भको इतिहास मानव–जीवनजत्तिकै पुरानो रहेको छ । मानिसले सुरु–सुरुमा वाणी र पछि लिपि संकेतको प्रयोग गरेर सञ्चारको सुरुवात गरेको मानिन्छ ।
वाणीको पहिलो प्रयोग संसारको सर्वप्राचीन साहित्य वेदमा भएको मानिन्छ । आजभन्दा झन्डै एक÷डेढ लाख वर्षअगाडि मानवले अ, ओ, म आदि वाणीको उच्चारण गर्यो, जुन पछि गएर ॐ मा परिणत भयो भनिन्छ । वाणीको माध्यमबाट सञ्चार गर्ने प्रचलन संसारमा लामो समयसम्म कायम रह्यो । ३०/३५ हजार वर्षपहिले इजिप्टमा आदिम मानिसले गुफाका भित्तामा, रूखका बोक्रामा अस्पष्ट चित्र कोरी अर्थपूर्ण सन्देश दिनेगरी लेखनकलाको विकास गरेका थिए भन्ने मानिन्छ । झन्डै पाँच हजार वर्ष पुरानो मानिने सैन्धव सभ्यतामा पनि लिपि चित्रका माटोका छाप प्रयोग भएको पाइन्छ । सैन्धव क्षेत्रका व्यापारीले त्यस्ता छापको प्रयोग पश्चिमका सेठहरूसँग गर्ने व्यापारिक आदान–प्रदानमा आफ्ना सामानको स्वामित्व छुट्याउन गर्थे ।
चीनमा भाषाका लागि लिपिको प्रयोग गर्ने पद्धति विकास आजभन्दा दुई हजार दुई सय वर्षअगाडि भएको हो । काठका फल्याकमा लिपि लेख्ने र त्यो फल्याकलाई कागजमा छाप्ने मुद्रण पद्धति संसारमै पहिलो प्रयोग चीनमा भएको हो । वैदिक साहित्यलाई शंकराचार्यको पालामा आएर मात्र लिपिबद्ध गरियो ।
सभ्यताको आरम्भिक दिनमा साझा जाति, भाषा र समुदायका मानिसले आपसमा युद्ध तथा वीरतासम्बन्धी आफ्ना क्षमतालाई गाउँ तथा नगरका ढुंगा, घरका भित्ता, धार्मिक स्थल आदिमा लेखेर सम्प्रेषित गर्थे । यही लेखाइलाई पत्रकारिताको पहिलो लिखित स्वरूप मानिन्छ । यसभन्दा पहिला मानिसले यात्रीका माध्यमबाट मौखिक रूपमा सूचना आदान–प्रदान गर्थे ।
टाढा–टाढासम्मको सञ्चारका लागि भाषाबाहेकको माध्यमका रूपमा परेवाको प्रयोग वैदिक साहित्यमा भएको पाइन्छ । ऋग्वेदका अनुसार परेवाले सुख र दुःखका घटना ल्याउने गर्थे । त्यसकारण तिनलाई शुभलक्षण र कुलक्षणका रूपमा हेर्ने गरिन्थ्यो । सञ्चारका निम्ति परेवा प्रयोग वैदिक समयदेखि भारतमा अंग्रेजको आउँदासम्म नै कायम थियो । त्यतिमात्र होइन, अहिलेको प्रख्यात फ्रान्सेली समाचार एजेन्सी एएफपीले पनि समाचार आदान–प्रदानको सुरुवाती दिनमा परेवा प्रयोग गरेको थियो ।
सूचनाको सार्वजनिक प्रकाशन भने संसारमा सबैभन्दा पहिला रोम साम्राज्यमा भयो । रोम सम्राट जुलियस सिजरले कपडाको ठूलो पर्दामा सर्वसाधारणका निम्ति राज्यबाट जारी भएका महत्वपूर्ण सूचना सार्वजनिक स्थलमा राखेर पढ्ने व्यवस्था मिलाएका थिए । तत्कालीन समयमा रोम साम्राज्य युद्धमा होमिएकाले सिपाही तथा सर्वसाधारणलाई युद्धलगायत अन्य कुराको जानकारी दिन सार्वजनिक स्थान तथा चोकमा त्यस्ता सूचना राख्ने गरिन्थ्यो । इशापूर्व ५९ मा सिजरले ‘एक्टा डिउर्ना’ नामको हस्तलिखित समाचार बुलेटिन नै प्रकाशन गरी सार्वजनिक स्थानमा टाँस्न लगाए । ‘एक्टा’ र ‘डिउर्ना’ शब्दको शाब्दिक व्युत्पत्ति खोज्दै जाँदा क्रमशः ‘एजेन्डा’ र ‘डेली’ भन्ने लाग्छ । यसर्थ, जुलियस सिजरले दैनिक एजेन्डाको सार्वजनिक प्रकाशन ‘एक्टा डिउर्ना’मा गरेको अनुमान लगाउन सकिन्छ । त्यसो त कतिपय विद्वान्ले विश्वको पहिलो अखबार चीनको पेकिङबाट प्रकाशित ‘त्सिङपाओ’लाई मानेका छन् । यसको प्रकाशन छैटौं शताब्दीतिर भएको मानिन्छ । यो अखबार पछि गएर ‘पेकिङ गजेट’मा परिणत भयो र सन् ६१८ देखि ९०५ सम्म प्रकाशित भयो । यसले अदालती सूचना र खबर प्रकाशित गर्ने गथ्र्याे भनिन्छ । संसारमा छापिएर आएको पहिलो अखबार पाओलाई नै मानिन्छ ।
आठौं शताब्दीमै जापानीले काठका साँचामा कुँदेर, त्यसमा मसी राखी कागजमाथि राखेर छाप्ने कला विकसित गरे । चिनियाँले पहिलोपटक स्थानान्तरण गर्न सकिने प्रत्येक अक्षरका स–साना साँचा विकास गरे । पि सेङ भन्ने चिनियाँ लेखकले १०४१ देखि १०४९ सम्म यही विधिको प्रयोग गरी विभिन्न अभिलेख तयार पारेका मानिन्छ । मुद्रण यन्त्रको पहिलो आविष्कार जर्मनीका जोहानेस गुटेनवर्गले सन् १४५४/५५ तिर गरे । यस प्रविधि प्रयोग गरी सन् १४५६ मा गुटेनवर्गले ३०० थान बाइबल छापे । आफ्नो आविष्कारबारे अरूले थाहा नपाऊन् भनेर उनले हरेक पाताको शुरु खाली राखेर त्यसमा हातले कलात्मक अक्षर लेख्ने गर्थे । उनको प्रविधि पेरिस र भेनिसका कालिगढहरूले थाहा पाए र संसारमा अन्य क्षेत्रमा फैलियो । मुद्रण यन्त्रको आविष्कार गरेका कारणले गुटेनवर्गलाई आधुनिक छापायन्त्रका पिता मानिन्छ । विलियम क्याक्सटनले गुटेनवर्गद्वारा निर्मित प्रेसमा सुधार गरी बेलायतको प्रसिद्ध सहर वेस्टमिनस्टरमा सन् १४७६ मा स्थापित गरी मुद्रण कार्य सुरुवात गरे ।
आधुनिक प्रकृतिको समाचारपत्रको प्रकाशन भने नेदरल्यान्डबाट भएको मानिन्छ । त्यहाँबाट सन् १५२६ मा ‘न्युजाइटुङ’ प्रकाशन भयो । पन्ध्रौं शताब्दीमा मुद्रण यन्त्रको विकास भए पनि भेनिस सरकारले सन् १५५६ मा आएर मात्र ‘नाटिजी स्कुते’ नामको पत्रिका प्रकाशित ग¥यो । नियमित पत्रिकाको प्रकाशन आरम्भ जर्मनीबाट १६०९ मा भएको मानिन्छ । त्यसपछि प्रजातन्त्र र अभिव्यक्ति स्वतन्त्रताको जननी मानिने बेलायतमा सन् १६२२ मा टम्स आर्कर न्याथेनियल बटरद्वारा ‘विक्ली न्युज’ प्रकाशन गरियो । बेलायतमा सन् १७०२ मार्च ११ मा ‘दी लन्डन डेली कुरान्ट’ प्रकाशित भयो । यसलाई संसारको पहिलो दैनिक पत्रिका मानिन्छ । सन् १८२१ मा बेलायतको क्षेत्रीय प्रकाशनमध्ये प्रख्यात पत्रिका ‘म्यानेचेस्टर गार्जियन’को प्रकाशन भयो ।
रूसमा सन् १७०२ डिसेम्बर १६ मा ‘गजेट अफ मस्को’ प्रकाशन भयो । अमेरिकामा सन् १६९० मा बोस्टनबाट ‘पब्लिक आकरेन्सेस’ प्रकाशित भयो र सन् १७९३ मा ‘मिनर्वा’ दैनिक प्रकाशित भयो । भारतमा पहिलोपटक सन् १७८० जनवरी १९ तारिखका दिन अंग्रेजी भाषामा ‘बंगाल गजेट’ प्रकाशित भयो तर हिन्दी भाषाको पहिलो साप्ताहिक भने सन् १८२६ मे ३ का दिन प्रकाशित ‘उदन्त मार्तन्ड’ हो । पहिलो हिन्दी दैनिक पत्रिका १८५४ मा श्यामसुन्दर सेनको सम्पादनमा प्रकाशित ‘समाचार सुधावर्षण’ हो ।
नेपालमा पहिलो समाचारपत्र ‘गोरखापत्र’को प्रकाशन १९५८ वैशाख २४ गते भयो ।
संसारमा टेलिगाफ्रको आविष्कार सन् १८३० मा स्यामुअल मोर्सले गरेको मानिन्छ । टेलिग्राफको आविष्कारपश्चात् सञ्चार क्षेत्रमा सूचना आदान–प्रदानको काम निकै सहज भयो । फोटोग्राफी अवधारणाको विकास १४औं शताब्दीमा भए पनि फोटोग्राफीको विकास सन् १८१३ मा फ्रान्सका जोसेफ निप्सेले गरेको मानिन्छ तर पत्रपत्रिकामा फोटो छाप्ने चलन सन् १८९० मा बेलायतको ‘टेलिग्राफिक’ पत्रिकाले ग¥यो । सन् १८८४ मा विलियम ग्राह्मवेलले टेलिफोन आविष्कार गरे । यो आविष्कार सूचना प्रविधि क्षेत्रमा क्रान्तिकारी उपलब्धि साबित भयो । सन् १८९५ मा मार्कोनीले ताररहित रेडियो आविष्कार गरे । उनले आविष्कार गरेको प्रविधिमा अनेकौं सुधार र प्रयोग गरेर रेडियोबाट मानिसको बोली र संगीत प्रसारण गर्ने सफलता सन् १६०९ मा प्राप्त भयो ।
अमेरिकामा सञ्चारमाध्यमका रूपमा रेडियो प्रसारण सन् १९२० मा भयो । बेलायतमा सन् १९२२ मा ब्रिटिस ब्रोडकास्टिङ कम्पनीमार्फत रेडियो प्रसारण सुरु भयो । चार वर्षपछि त्यो कम्पनी कर्पोेरेसनमा परिणत भयो । ब्रिटिस ब्रोडकास्टिङ कर्पोेरेसनले नियमित रेडियो प्रसारणको आरम्भ सन् १९२७ जनवरी १ देखि आरम्भ गर्यो । भारतमा सन् १९२१ मा प्रसारण हुन थालेको रेडियो नेपालमा भने संवत् २००७ चैत २० (अप्रिल १९५१) गतेदेखि नियमित प्रसारण हुन थाल्यो ।
संसारमा रेडियोको आविष्कार भएको ३० वर्षपछि वायुतरंगमा ध्वनिमात्र नभई, तस्बिर पनि सम्प्रेषण गर्ने सम्भावना देखियो । स्कटल्यान्डका वैज्ञानिक जेएल वेयर्डले सन् १९२६ टेलिभिजन प्रविधि प्रयोगमा ल्याए । सन् १९३६ नोभेम्बर २ का दिन बेलायतमा टेलिभिजन प्रसारण सुरु भयो र यसको जिम्मा पनि बीबीसीले प्राप्त गर्यो । अमेरिकामा नियमित टेलिभिजन प्रसारण सुरुवात १९३९ अप्रिल ३० का दिन भयो । अमेरिकामा सन् १९५४ मा रंगीन टेलिभिजन प्रसारण सुरु भयो भने सन् १९५६ मा भिडियो रेकर्डिङ टेपको आविष्कार भएपछि कार्यक्रम उत्पादनमा सहजता आयो ।
नेपालमा २०४१ बाट परियोजनाका रूपमा टेलिभिजन प्रसारण आरम्भ भयो । यसरी गुफाबाट प्रारम्भ भएको सञ्चार ‘बेडरुम’सम्म पुगेको छ ।
यसैगरी, इन्टरनेटले त सञ्चार क्रान्ति नै गरेको छ । यसरी विकसित सञ्चारमाध्यम मानिसको जीवनसँग अभिन्न रूपले गाँसिएको छ । भूउपग्रह र इन्टरनेटको प्रसारणले गर्दा सारा संसार एउटा सानो गाउँमा परिणत भएको छ । भूमण्डलीकरणका सकारात्मकमात्र होइन, नकारात्मक परिणामले नेपालीलाई नराम्ररी गाँजेको छ । तर, नेपाली सञ्चारले नकारात्मक परिणामलाई निरुत्साहित गर्ने र सकारात्मक परिणामलाई आमजनमानसमा पुर्याएर मानिसको जीवनलाई परिस्कृत र परिमार्जित तथा सहज गराउने काममा भने अझै सफलता पाएको छैन । विश्लेषणात्मक समाचार सम्प्रेषण गर्ने काममा राजनीतिक, शैक्षिक र आर्थिक कारणले अवरोध सिर्जना हुँदा एकातिर नेपाली सञ्चारले जनविश्वास आर्जन गर्न सकेको छैन भने अर्कोतिर यसले अनपेक्षित रूपमा आइलाग्ने चुनौती सामना गर्न नसक्ने देखिन्छ ।