अमेरिका त्यागेर ‘इन्टर्नसिप’का लागि नेपाल



फ्रान्सेली नागरिक लुसिन र जुलिट सप्तरीको मौलीमा रहेको एक कृषि फार्ममा कार्यरत छन् । ६ महिनादेखि कार्यरत उनीहरूले ‘इन्टर्नसिप’का लागि विकसित देशभन्दा विकासोन्मुख देश रोजे । नयाँ–नयाँ चुनौतीसँग रमाउने उनीहरूले सुदर्शन चौधरीको कृषि फार्ममा कार्यरत छन् । फ्रान्सेली नागरिक लुसिन, जुलिट र फार्म सञ्चालक चौधरीसँग तुवाचुङ साप्ताहिकका लागि राजुविक्रम चाम्लिङले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं दुवैजना फ्रान्सबाट नेपाल आउनुभएको छ । इन्टर्नसिपका लागि नेपाललाई नै किन रोज्नुभयो लुसिन ?

कृषि परियोजनामा जोडिन सोधिखोजी गरिरहेकी थिएँ । नेपाल प्रचुर सम्भावना र अवसरका रूपमा पाएँ । आकर्षकमात्रै होइन, नेपालमा साँस्कृतिक विविधता रहेछ । त्यस अर्थमा फ्रान्सभन्दा फरक पाएँ । नयाँ चुनौती सामना गर्न इन्टर्नसिपका लानि नेपाल रोजेकी हुँ ।

जुलिट तपाईंको उत्तर पनि उस्तै हो कि ?

केही उस्तै । मलाई अमेरिकाको अवसर थियो । तर, त्यागिदिएँ । किनकि विकासोन्मुख देश नेपालमा केही न केही सिक्छु भनेर लोभिएँ । विकसितभन्दा विकासोन्मुख देशमा धेरै सिक्न पाइन्छ भन्नेमा ढुक्क थिएँ । यसअघि विकासोन्मुख देशमा यस्तो अवसर मिलेको थिएन ।

सुदर्शन तपाईं नेपाली । उहाँहरू फ्रान्सेली हुनुहुन्छ । तपाईंको फर्मसम्म ल्याउन समन्वय कसरी गर्नुभयो ?

जलवायु परिवर्तन अन्तर्राष्ट्रिय सम्मेलन फ्रान्सको पेरिसमा भएको थियो । यो सन् २०१६ को कुरा हो । म पनि सम्मेलनमा सहभागी थिएँ । सम्मेलनमा कोप (कन्फेरेन्स अफ पार्टी) पक्ष राष्ट्रको सहभागी २१औं रहेको थियो ।

त्यहाँ कोपेन समूहसँग भेट भयो । कोपेनको संस्थापक जवान सन्हान्थ हुनुहुन्छ । उहाँले स्पाइरल पार्म हाउसको समन्वय गरिरहनुभएको छ । उहाँले सात वर्षअघि अर्गानिक (प्रांगारिक) फार्म हाउस सञ्चालनमा ल्याइसक्नुभएको थियो । मैले यो फार्म सञ्चालनमा ल्याएको छु । यो फार्म हाउस वातावरणमैत्री बनाउन कोपेनले सहयोग गरिरहेको छ । पेन्टियमले स्केल परियोजनाबारे समन्वय गरिरहेको छ । कोपेनले जुलिट र लुसिनसँग समन्वय गरेको हो । यसरी जुलिट र लुसिन यहाँसम्म आइपुग्नुभएको हो ।

लुसिन, फ्रान्सेली अधिकांश युवा शिक्षित र क्रियाशील छन् । नेपाल र फ्रान्सेली युवामा तुलनात्मक रूपमा के फरक पाउनुभयो ?

धेरै गाह्रो प्रश्न । म युवासम्बन्धी विश्लेषक त होइन तर के भन्न सक्छु भने फ्रान्सभन्दा नेपालीलाई विद्यालय जान सजिलो रहेछ । धेरै गएका पनि रहेछन् । तर, गाउँ नै गाउँले भरिएको नेपालका गाउँस्तरको जनजीवन भिन्न रहेछ । सबैले विद्यालय जान पाएका छैनन् । सबैलाई समान अवसर छैन । सबै समस्या एकैखालका रहेनछन् । आयआर्जनमा पनि धेरै भिन्नता रहेछ ।

तर, फ्रान्सको सन्दर्भ अलि फरक छ । फ्रान्समा अध्ययनका लागि माथिल्लो स्तरमा जान सजिलो छ । सस्तो पनि छ । तर, आर्थिक अवस्था कमजोर भएकाका लागि भने केही समस्या नै छ ।

जुलिट, तपाईं ६ महिनादेखि यो फार्ममा हुनुहुन्छ । यस अवधिमा खासगरी के–के सिक्नुभयो ?

यस अवधिमा समग्र नेपाली र थारू संस्कृति, नेपाली संघ–संस्थाबारे जान्ने अवसर पाएँ । गाउँमा बसोवास गर्ने नेपालीका जीविका पद्धति, उनीहरूको दिनचर्या, कृषि प्रणाली, अर्गानिक खेती, पारिवारिक तथा सामूहिक खेती प्रणालीलगायत महत्वपूर्ण ज्ञानगुनका कुरा सिक्ने अवसर पाएँ । जुन फ्रान्सभन्दा नितान्त फरक छ ।

सुदर्शन, फ्रान्सजस्तो विकसित देशका नागरिक नेपालजस्तो विकासोन्मुख देशको पनि सप्तरीको रहनसहनमा कसरी भिजिरनुभएको छ ?

उहाँ (लुसिन र जुलिट) हरू मनोवैज्ञानिक रूपमा पहिल्यै तयारी भएर नेपाल आउनुभएको हो । नेपालको भौगोलिक संरचना, वातावरण, भूमि, जलवायु परिवर्तन, हावापानी, समस्या, बाधा–अड्चनबारे अध्ययन गर्नुभएको छ । त्यस्तो ठाउँमा कसरी घुलमिल हुन सकिन्छ भनेर उहाँहरू नेपाल आउनअघि मानसिक रूपमा तयार हुनुभएकाले समस्या नभएको हो ।

जुलिट, तपाईंले सप्तरीको मौलीमा ६ महिना बिताइसक्नुभयो । यत्तिका समयमा के–के गर्नुभयो ?

हामी दैनिक सुदर्शनसँगै फार्मका काम गर्छौं । बिल्डिङ अर्गानिक फार्म, गाई फार्मको घर, कम्पोस्ट मलसम्बन्धी काम गर्दै छौं । फार्म सञ्चालन परियोजनाबारे लिखित रूपमा दस्तावेजीकरण गर्यौं । तालिम सञ्चालन गर्न ‘कोर्स’ तयार गर्ने प्रयास गर्यौं । यहाँका विभिन्न समुदायसँग कृषिसम्बन्धी काम गर्दै सिक्यौं । उहाँहरूको न्यानो स्वागत शब्दमा व्यक्त गर्न कठिन छ । नेपाली भाषासमेत अलि–अलि सिक्यौं ।

जुलिट, सुविधासम्पन्न देश फ्रान्समा कोठा–कोठामा एयरकन्डिसन जडान गरिएका हुन्छन् । सवारीसाधनमा पनि त्यस्तै हुन्छ । तर, मौलीमा त्यस्तो सुविधा छैन । त्यहाँबाट यहाँ आउनुभएपछि साह्रो–गाह्रो अनुभूति गर्नुभएको छ कि छैन ?

आजसम्म केही समस्या परेको छैन । अलि बढी गर्मी छ । गर्मी त फ्रान्समा पनि हुन्छ । तर, त्यहाँ गर्मीबाट बच्ने व्यवस्था गरिएकोमात्र हो । हामी मौलीमा रहे पनि भाग्यमानी रहेछौं । हाम्रा घरमालिक सुदर्शनले सबै किसिमका हेरविचार गरिरहनुभएको छ ।

इच्छाशक्ति भएमा जहाँ र जस्तोसुकै अवस्थामा घुलमिल भएर बस्न सकिन्छ भनेर तपाईं (जुलिट–लुसिन) हरूले सवक सिकाउनुभयो है ?

जुलिट : जहाँ र जस्तोसुकै अवस्थामा पनि सुरक्षित रहन सकिन्छ । तर, होसियारी अपनाउनुपर्छ । हामी मौलीमा छौं । यहाँ सर्पको समस्या छ । हामी स्थानीयको सल्लाहविना बाहिर निस्कँदैनौ । हामीलाई आवश्यक औषधि जोहो गरेका छौं । हामी आफैं पनि सचेत रहेकाले अहिलेसम्म सकुशल छौं ।

नेपाल संघीय संरचनामा गएको धेरै भएको छैन । संघीय संरचनाको अभ्यास गरिरहेको नेपालका युवा वैदेशिक रोजगारीमा आकर्षित छन् । यो बाध्यता पनि हुन सक्छ । नेपालको शिक्षा प्रणाली व्यावहारिक भएन भन्नेको कमी छैन । सबै नेपालीलाई फ्रान्स, युरोप वा अमेरिकाको शिक्षा प्रणालीबारे थाहा छैन । फ्रान्सको शिक्षा प्रणालीबारे जानकारी गराइदिनुहोस् न ।

लुसिन : फ्रान्स र अमेरिकाको शिक्षा प्रणालीमा धेरै फरक छ । म फ्रान्सको शिक्षा प्रणालीबारे भन्न गइरहेकी छु । फ्रान्सका सबै विद्यालयमा माध्यमिक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था छ । सबैले अनिवार्य विद्यालय जानैपर्छ । माध्यमिक विद्यालय अध्ययनपछि विश्वविद्यालय तह अध्ययनका लागि नेपालका तुलनामा निकै सस्तो छ । फ्रान्समा निजी विद्यालय थोरै छन् । निजी र सरकारी विद्यालयका अध्यापन विधि खासै फरक छैन । तर, नेपालमा सरकारीभन्दा निजी विद्यालयको पठनपाठन राम्रो रहेछ ।

वैदेशिक रोजगारीमा विदेश पुगेका र विभिन्न शीर्षकमा विदेश घुमेकाको अनुसार फ्रान्समात्रै होइन, विकसित देशका नागरिक एउटै काममा विज्ञ हुन्छ्न् । एउटै विषयमा अघि बढ्न चाहन्छन् । धेरै क्षेत्रमा हात हाल्दैनन् । तर, नेपालका युवा एकैपटक धेरै क्षेत्रमा हात हालिरहेका हुन्छन् । गीत गाउनेले राजनीति पनि गरिरहेका हुन्छन् । यस्ता थुप्रै दृष्टान्त छन् ।

तपाईंहरू कृषि क्षेत्रमा लागिरहँदा राजनीतिबारे केही थाहा छ कि ? राजनीतिमा पनि संलग्न हुनुहुन्छ कि ?

जुलिट : म राजनीतिबारे धेरै जान्दिनँ । राजनीति मेरोे रुचिको क्षेत्र परेन । यसमा खासै चासो राख्दिनँ । नेपालको सन्दर्भमा धेरै संस्थामार्फत धेरै कुरा थाहा पाएँ । तर, फ्रान्समा त्यस्तो हुँदैन । फ्रान्सेली प्रत्येक युवाले भविष्यमा के गर्ने, के बन्ने पहिल्यै निर्धारण गरिसकेका हुन्छन् । जस्तो जीवविज्ञान, केमेस्ट्रीलगायत कुन क्षेत्रमा लाग्ने भन्ने उसले पहिल्यै निश्चित गरिसकेको हुन्छ । सोहीअनुरूप सोही विषयको विज्ञका रूपमा अध्ययन सुरु गर्छ । तर, सकिन्छ भने सबै क्षेत्रमा चासो र ज्ञान आर्जन गर्नु त राम्रो हो नि ।

धेरैजसो नेपाली युवा विदेश जान चाहन्छन् । अध्ययन अथवा वैदेशिक रोजगारीका लागि युरोपदेखि अमेरिका जान लालायित हुन्छन् । त्यस्ता नेपाली युवालाई नेपालमै रहन, नेपालकै विकास गर्न कस्तो सुझाव दिनुहुन्छ ?

लुसिन : खासगरी सरकारी विद्यालयस्तरकै शिक्षा प्रणालीमा परिवर्तन आवश्यक छ । गुणात्मक शिक्षा दिन अपरिहार्य छ । भइरहेका विद्यालय शिक्षाको गुणस्तर सुधार्न त्यत्तिकै आवश्यक छ । सरकारी विद्यालयको शिक्षामा गुणात्मक सुधार गर्न सकेमा अरू केही गर्नै पर्दैन ।
जुलिट : नेपाली युवासँग छलफल गर्दा थाहा भयो– धेरैजसो नेपाली युवा विदेश जान चाहन्छन् । उनीहरूले त्यसो भन्दा तीनछक प¥यौं । त्यसमध्ये युवा विद्यार्थी जापान, अस्ट्रेलियालगायतका देश जाँदारहेछन् ।

बेरोजगारीका कारण विदेश जानुको विकल्प नभएको भन्ने बुझ्यौं । अध्ययन पूरा गरेपछि के गर्ने भन्ने निश्चित नभएको, नेपालमा रोजगारीको अवसर नपाएकाले पनि विदेशै ताकेको थाहा पायौं । लगानी गरेर ठुल्ठूला कम्पनी नेपालमै खोल्न सके बिदेसिन चाहने युवालाई स्वदेशमै राख्न सकिन्थ्योजस्तो लाग्छ ।

सुदर्शन फ्रान्सेली नागरिकले तपाईंसँगै फार्मिङमा हुनुहुन्छ । उहाँहरूसँगै काम गर्दा कस्तो अनुभूति गरिरहनुभएको छ ?

अनुभव पनि सिकाइ हो । उहाँहरूसँग धेरै कुरा सिकिरहेको छु । सबैभन्दा पहिले हरेक क्रियाकलाप तथा कामको योजना बनाउनुपर्छ । यो कोपेन समूहसँगको सिकाइ हो ।

धेरैजसो नेपाली जीविकोपार्जनका लागि खेतिपाती गर्छन् । त्यही किसानलाई प्रांगारिक खेतीका लागि तयार गर्ने, खेती गर्दाको लगानी, उत्पादन र नाफा–घाटा के–कति भयोलगायतको लेखाजोखा गर्दै यसैबाट आफ्नो परिवार र समुदाय व्यवस्थापन गर्न सकिँदोरहेछ । त्यसपछि परिवार र समूहभन्दा माथिकालाई व्यवस्थापन गर्न बजार व्यवस्थापन गर्नुपर्दोरहेछ भन्ने सिकाइ अनुभूति गरेको छु ।

सहर–बजार र विकसित देश जान चाहने नेपाली युवा कृषिमा निर्भर हुन चाहँदैनन् । उनीहरूको आयस्रोत केही छैन । तर पनि उनीहरू सुख–सुविधामा बाँच्न चाहन्छन् । त्यस्ताको व्यवस्थापनका लागि अध्ययन गरिएको पाइँदैन । उनीहरूको व्यवस्थित तथ्यांक राख्ने सके उनीहरूको विषयमा अध्ययन गरेर नेपालमै राख्न सम्भाव्यता खोज्न सकिँदोरहेछ भन्ने गुह्य ज्ञान थाहा पाएको छु ।

यसैगरी, सरकारले समेत यसबारे अध्ययन गरिरहेका छैनन् । वास्तविक किसानको समस्या के हो ? उनीहरूबारे अध्ययन र अनुसन्धान भएकै छैन । त्यसो भएपछि किसानलाई कसरी उकास्न सकिन्छ । कृषिका लागि कस्तो शिक्षा चाहिन्छ ? किसानले कस्तो समस्या भोगिरहेका छन् ? वास्तविकता पहिचान नभएपछि किसान मारमा परेका हुन् । तसर्थ, कृषिप्रति चासो राख्न छाडिएको हो । पाँच वर्षपछि कृषि फार्मिङ कस्तो हुने ? कति नाफा गर्ने ? कति फैलाउने ? यस्ता योजना पहिल्यै बनाउनुपर्ने ब्रह्मज्ञान पाएको छु । उद्देश्य प्राप्तिका लागि योजनाबद्ध योजना चाहिँदोरहेछ ।

मिस जुलिट फ्रान्समा कर्मचारी संयन्त्र अथवा राजनीतिक नेतृत्वकर्ताले भ्रष्टाचार गरेमा कस्तो सजाय दिइन्छ ?

जुलिट : सर्वप्रथम त अपवादबाहेक नेपालको तुलनामा फ्रान्समा भ्रष्टाचार हुँदैन भन्दा हुन्छ । भ्रष्टाचार नियन्त्रण गर्ने अधिकारप्राप्त निकायले यसबारे अनुसन्धान गर्छ । सञ्चारमाध्यमले पनि अध्ययन अनुसन्धान गरेका हुन्छन् ।

भ्रष्टाचार गरेको ठहरिएमा जनतामाझ सार्वजनिक गरी सुनुवाइ गरिन्छ । तत्पश्चात् उसले निर्वाह गरिरहेको भूमिकाबाट हटाउन दबाब दिइनेछ । नभए प्रशासनिक कारबाही गरी पदबाट बर्खास्त गरिन्छ ।

६ महिनाको बसाइमा समग्र नेपाली र थारू संस्कृतिबारे जानकारी पाउनुभएछ । फ्रान्सेली र थारू संस्कृतिमा के भिन्नता पाउनुभयो ?

लुसिन : भिन्नता धेरै छन् । थारू समुदायमा महिलाको भूमिका सम्बन्धित परिवारमा शक्तिशाली मानिन्छ । काममा त्यत्तिकै लगनशील हुन्छन् । भान्छामा महिला नै रहन्छन् । अपवादबाहेक घरभित्रका सबै काम महिलाले गर्छन् । महिला र पुरुषबीच काम बाँडफाँड गरिँदोरहेछ । जस्तो खाना बनाउने, धान रोप्ने काम महिलाले गर्छन् भने पुरुषले हलो जोत्छन् ।

यसैगरी, थारू समुदायका गाम्रीण महिलालाई बार तथा रेष्टुरेन्ट जान प्रतिबन्ध लगाइएको पाएँ । फ्रान्समा महिला र पुरुषले गर्ने काम छुट्ट्याइँदैन । सबै काम बराबर गरिन्छ । काम गर्ने सीमा छैनन् । खाना पकाउने काम पुरुषले पनि गर्छन् । बार वा रेष्टुरेन्ट जहाँ जान पनि महिलालाई छुट छ ।

नेपालको सन्दर्भमा पुरुष युवाले चाहे जुनसुकै अवस्थामा जहाँसुकै जान सक्छन् । तर, महिलाका लागि सीमा तोकिएको छ । महिलालाई त्यो छुट छैन । फ्रान्समा कस्तो छ ?

जुलिट : ५० वर्षपहिले फ्रान्समा पनि त्यस्तै थियो । तर, फ्रान्सेली महिलाले स्वतन्त्रता र आत्मनिर्भरका लागि आन्दोलन गरेपछि समान सहभागिता र अधिकार स्थापित भयो । फ्रान्समा वैवाहिक सम्बन्धमा पनि धेरै फरक छ । हुन त नेपालसँग तुलना गर्न नै सम्भव छैन । नेपालमा पनि बिस्तारै समावेशी, समता र सहभागिता हुँदै जान्छ । केही समय लाग्ला ।

अध्ययन भ्रमणक्रममा अहिलेसम्म कुन–कुन देश घुमिसक्नुभयो ?

लुसिन : अमेरिका, बेलायत, इटाली, जर्मनीलगायत धेरै देश घुमेकी छु । तर, नेपालमा जस्तो धेरै समय बसेकी थिइनँ ।

अन्तर्राष्ट्रिय ज्ञान, अनुभव शिक्षाप्रद हुने भएकाले नेपाली युवालाई तपाईंहरू के–कस्तो सल्लाह सुझाव दिनुहुन्छ ?

लुसिन : अध्ययन गर्न विदेश जानु नराम्रो होइन । विदेशमा फरक संस्कृतिबाट धेरै सिकाइन्छ । सिक्ने अवसर मिल्छ । विदेशीले काम कसरी गरिरहेका हुन्छन्, बुझ्न पाइन्छ । देख्न पाइन्छ । तर, अध्ययन पूरा गरेपछि नेपालमै फर्केर भविष्य खोज्नुपर्छ ।

नेपाली युवालाई अगाडि बढाउँदै नेपाललाई विकसित देश बनाउन के–के गर्न सकिन्छ ।

जुलिट : मुलुकको विकासमा सहभागी गराउन नेपाली युवालाई सञ्चारमाध्यमसँग नजिक राख्नुपर्छ । गाउँगाउँका युवालाई ती माध्यमसँग परिचित गराउनुपर्छ । उनीहरूलाई उत्प्रेरणा जगाउँदै महत्वाकांक्षी बनाउन आवश्यक छ । सरकारी लगानी त्यत्तिकै अपरिहार्य मानिन्छ ।

(तुवाचुङ साप्ताहिक वर्ष २, अंक ७ बाट ।)

प्रतिक्रिया दिनुहोस्