ठूला नेताको आशिर्वादभन्दा राजनीतिक कर्म अपरिहार्य



 नेपाली काँग्रेस दिप्रुङ–चुइचुम्मा गाउँपालिका सचिवमात्रै नभएर, तपाईं नेविसंघ खोटाङ संगठन विभाग प्रमुख हुनुहुन्छ । विद्यार्थी नेताका खास–खास काम के–के हुन् ?

मुख्यतः विद्यार्थी नेताले गर्नुपर्ने काम भनेको विद्यार्थीको सैद्धान्तिक, व्यावहारिक, शैक्षिक हकहितका लागि आवाज उठाउने त हुँदै हो भने विद्यालय, क्याम्पसलगायतका माध्यम हुँदै विद्यार्थीको माध्यमबाट सामाजि, बौद्धिक विकास हो । सामाजिक, बौद्धिक विकासको ज्ञान हासिल गरेका विद्यार्थीले कुनै पनि समाज, निजी संस्था वा सार्वजनिक संस्थामा हुने कुसंस्कार, विकृतिविरुद्ध आवाज उठाउने साहस गर्न सक्छ । यसरी कुनै पनि समाज, संघ संस्थाले गर्ने विकृत सोचको खिलापमा आवाज उठाउन सक्ने सामाजिक व्यक्तित्व विकास गर्नु नै विद्यार्थी नेताको काम हो ।

तर, पार्टीको आदेशमा पार्टीनिकटका विद्यार्थीलाई स्थानविशेषअनुसार आमसभामा मानिस जुटाउने, र्याली निकाल्ने, टायर बाल्ने, विरोध प्रदर्शन गर्नेलगायत काममात्रै देखिएका छन् हगि ?

परिवारसँग रोहित राई

सामान्यतया देख्दा पार्टीको आदेशभन्दा पनि बेथिति र विकृतिविरुद्ध आवाज उठाउने कुरा हो । तर, केचाहिँ हो भने आफूले आस्था राखेको पार्टीको सरकार हुँदा सत्तासीन दलसम्बद्ध विद्यार्थी भ्रातृ संस्थाले सरकारविरुद्ध खुलेर आवाज निकाल्न सक्दैनन् । योचाहिँ गलत भएको छ । यहीँबाट विद्यार्थी आन्दोलन थोर–बहुत दबेको अनुभूति हुन्छ ।

ठूला नेताको आशिर्वाद पाइएन भने राजनीतिक ‘करिअर’ उँभो लाग्छ कि लाग्दैन ?

विद्यार्थी राजनीतिबाट राजनीति सुरु गर्दै गर्दा ठूलो नेताको आशिर्वाद आवश्यक छ छैन भन्दा पनि आफ्नो क्षमता कति छ ? त्यसमा भर पर्छ । राजनीतिलाई कमाइ खाने भाँडा (पेसा) बनाउने हो भने आशिर्वाद जरुरी छ । तर, समाजमा सामाजिक परिवर्तन ल्याउँछु भनेर राजनीतिक कर्म गर्नेका लागि आशिर्वाद भन्दा कर्म ठूलो हुन्छ । निःस्वार्थ राजनीतिक कर्म गर्ने वास्तविक राजनीतिज्ञलाई ठूलो नेताले मद्दत गर्न बाध्य उसको कर्मले बनाउँछ ।

राजनीतिलाई भनेको विशाल वरको रूख भनिन्छ । जसले सुरक्षामात्रै होइन शीतलता पनि दिन्छ । राजनीति भनेको विशाल वरको रूखै हो त ?

राजनीतिलाई पेसा होइन कर्म ठान्नेका लागि यो भनाइ उचित साबित हुन्छ । राजनीति सेवाका लागि भनेर भित्री हृदयदेखि जसले सुरुवात गरेको छ, उसले सुरक्षा तथा शीतल दुवै दिन सक्छ ।

राजनीति उद्योगका रूपमा परिणत भएको छ भन्नेको कमी छैन । तपाईं के भन्नुहुन्छ ?

राजनीति उद्योगका रूपमा परिणत भएको छ भन्दा पनि राजनीति गर्छु भन्ने अहिलेको युवाले आर्थिक हैसियत पनि निर्माण गर्नुपर्ने रहेछ भन्ने कुरा बुझेर राजनीतिसँगै व्यापार पनि सुरु गर्नुभएको छ । कतिपय अवस्थामा सुरु गरेको व्यापार, व्यवसाय अवैज्ञानिक भएर या विविध कारण डुब्न या घाटा पर्ने अवस्थामा कतिपय साथीहरूले राजनीतिक आड लिएर व्यवसाय जोगाउने मनस्थिति बनाउने भएकाले यस्तो आरोप लागेको हुन सक्छ । तर, राजनीति उद्योगका रूपमा परिणत भइसकेको छैन ।

भन्नेले राजनीतिलाई ‘डर्टी गेम’ भन्छन् । भन्नेले भनेको सही मान्ने हो भने ‘डर्टी गेम’लाई पेसा बनाउनुहुन्छ कि हुँदैन ?

राजनीतिको व्याख्या, विश्लेषण फरक–फरक भए पनि यसलाई विशेषतः ‘डर्टी गेम’ र राज गर्ने नीति भनेर विश्लेषण गरिन्छ । तर, न त यो डर्टी गेम हो न त यो राज गर्ने नीति हो । यसको सही विश्लेषणचाहिँ नीतिलाई चलायमान बनाउने हो । जसले सबैलाई समान देखोस्, समान व्यवहार गरोस् । र, राजनीति पेसा हैन कर्म होस् ।

युवा पुस्ता राजनीतिप्रति जति आकर्षित हुनुपथ्र्यो तर छैनन् । राजनीतिक चेतना अभिवृद्धिका लागि चेतना थेरापी गर्नैपर्ने हो त ?

युवा पुस्तामा राजनीति गर्नुपर्छ भन्ने चासोभन्दा पनि अबको युवाले राजनीति बुझ्नैपर्छ भन्ने जिज्ञासाचाहिँ निकै बढेको पाइन्छ । अहिलेका युवामा केही शैक्षिक विकास भएको छ, जसले राजनीतिलाई हेर्ने दृष्टि सकारात्मक छ भने राजनीतिकर्मीलाई सहयोग, सम्मान र उनीहरूको विचार, दृष्टिकोण आत्मसात् गरेर सहयोग गर्न हिच्किचाउँदैनन् । यो सकारात्मक पक्ष हो ।

प्रतिक्रिया दिनुहोस्