राति अबेरसम्म नसुत्ने थाइल्यान्ड



नेपाली समयअनुसार नौ बजिसकेको थियो । थाइल्यान्डको समय एक घन्टा चलाख रहेछ नेपालको भन्दा । विमानबाट बाहिरिँदा रातको आठ (थाइल्यान्डको समयअनुसार) बजिसकेको थियो । यात्रुहरू आ–आफ्नो बाटो लागे । म भने २० मिनेट अलमलमा परें । इमेलबाटै तालिम आयोजकले सम्पूर्ण जानकारी तथा लोकेसन जानकारी गराएको थियो । खाने, बस्ने व्यवस्था पहिले नै गरिएको थियो स्टुडेन्ट क्रिस्चियन सेन्टरमा । सो ठाउँसम्म आफैं जानुपर्ने भएकाले टुरिस्ट इन्फरमेसन डेस्कको सल्लाहअनुसार ८ः४५ बजे म सुवर्णभूमि विमानस्थलबाट गन्तव्यतिर लागें । स्टुडेन्ट क्रिस्चियन सेन्टर पुग्दा ९ः१५ बजिसकेको थियो ।

नाम होस्टलमा दर्ता गरें । मेरो नाममा १२ नम्बरको कोठा पहिल्यै बुक गरिएको रहेछ । बुक भएको कोठाको चाबी लिएर त्यतातिर लागें । त्यो रात खाना नखाई सुतें । उठ्दा बिहानको पाँच बजिसकेको थियो । बिहानको नित्यकर्म गरेर कोठाबाहिर निस्कें । ११ नम्बरबाट नेपाली अनुहारझैं लाग्ने साथी मतिर आए । आर यु पार्टीसिपेन्ट्स अफ एटीएसएस ? उसको प्रश्नको उत्तरमा मैले हो भने । सुरु भयो परिचयक्रम । नाम थियो उसको एगाई । फिलिपिन्सबाट आएका । परिचयपछि खाजा खान निक्लियौं । खानेकुराबारे केही थाहा थिएन मलाई । साथीले जे–जे मागे, म ‘सेम टु योर च्वाइस’ भन्थें । पछि बुझ्दा हामीले खाएको खानेकुरा समुद्री माछा र झारपात रहेछ ।

मङ्गोलिया, सिङ्गापुर, ताइवान, इन्डोनेसिया, म्यानमार, कोरिया, टिमोरलेस्टेबाट आइसकेका थिए तालिममा सहभागीहरू । १६ देशबाट ३२ वटा संस्थाका सहभागीहरू आउनेक्रम जारी थियो । सबैको सम्पर्क भाषा अङ्ग्रेजी । सहजकर्ताका रूपमा थिइन् कोरियाली म्याम जियोङ् । खेल खेलाउँदै परिचयात्मक कार्यक्रम सुरु भयो । पहिलो रात डिनरको व्यवस्था होस्टलबाहिर खाने योजना बनाइएको रहेछ । डिनर खाँदा रातको नौ बजिसकेको थियो । त्यसपछि घुम्नका लागि बाहिरियौं । रातिको १२ बजिसकेको छ । हामी घुमफिरमै अल्मलिँदै छौं । मैले भनें– इट ह्याज बिन लेट टु रिटर्न ब्याक रुम । मङ्गोलियाबाट आएका साथीले– ह्वाई ? भने । ‘इट इज टुवेल्भ हाफ पास्ट’ मैले जवाफ दिएँ । उनले अचम्म मान्दै फेरि भने– ह्वाई इट इज नेसेसरी टु स्लीप इन नाइट अर विदिन टुवेल्भ अ क्लक ? ‘अफकोर्स नेप्लिज पिपुलस स्लीप्स विदिन नाइन टु टेन पिएम । द्याट इज आवर कलचर,’ मैले भनें । उनले भने, ‘बट इट इज नट नेसेसरी टु स्लीप इन नाइट इन द मङ्गोलिया, मङ्गोलिया पिपुल स्लीप्स आफ्टर टु अर थ्री एएम । दिस इज मङ्गोलिया कल्चर ।’ थाइल्यान्डमा पनि राति चाँडै सुत्दैन रहेछ । घुमफिरका लागि निस्केका हामी होस्टल आइपुग्दा रातको दुई बजिसकेको थियो । सुत्दा तीन बज्यो ।

लेखक

बिहानको खाना होस्टलमै खान्थ्यौं । डिनर भने बाहिरै । डिनरका लागि भने फरकफरक होटलमा जान्थ्यौं । होटलका वेटर, वेट्रेस नेपालीजस्तै देखिन्थे । त्यसैले होला उनीहरूले हामीलाई थाई भनी ‘स्वास्दी’ नमस्कार भन्दै स्वागत गरे । परिकारको नाम थाई र अङ्ग्रेजी भाषामा लेखिएको हुन्थ्यो । खानाको नाम प्रायः थाइ भएकाले हामी सबैलाई बुझ्न गाह्रो पर्यो । त्यसैले खानाको चित्र हेरेर अर्डर गथ्र्याैं । प्रायः होटलहरूमा खानाको परिकार सचित्र राखिएको हुन्थ्यो । चित्रमा देखिएको परिकारको स्वाद यस्तो होला भनेर जुन कल्पना गरिएको हुन्थ्यो तर खाँदा कल्पना गरिएकोभन्दा ठीक उल्टो । खाना खाईसके पछि “थ्यांक यूूूू” भन्दै निस्कन्थयौं । यस्तै फन्दामा परेका थिए– इन्डोनेसियाका दुईजना साथी । उनीहरू डिनरका लागि एउटा होटलमा पसेछन् । चित्र हेरेर खाना अर्डर गरे । खाना आयो । अगाडि आएको खाना उनीहरू खान थाले । त्यत्तिकैमा वैटरले नो–नो भन्दै खाना खान रोके । अङ्ग्रेजी भाषा बोल्न नजान्ने ती वैटर हातको इसाराले भने, ‘त्यो खाना काँचो हो ।’ उनीहरूको अगाडि आगोमा तताइराखेको फलाममाथि खाना तताउँदै खानुपर्ने वैटरले सुझाए । डिनर खाएर होस्टलमा जम्मा भएका हामीलाई इन्डोनेसियाका ती साथीहरूले भोगेको अप्ठ्यारो सुनाए । हामी सबै हास्यौं ।

तालिम बिहान ८ः३० बजे सुरु हुन्थ्यो । बीचबीचमा खाजा र खाना खाने समय हुन्थ्यो । मस्तिष्क सक्रिय राख्नका लागि चुटकिला भनिन्थ्यो । गीत सुनाइन्थ्यो । नाचिन्थ्यो । विभिन्न खेल पनि खेलाइन्थ्यो । बेलुकी ६ः०० बजे तालिमबाट बाहिरिन्थ्यौं । आइतबार बिदाको दिन । बिदाको दिन साथीहरूसँग घुमघाममा समय सदुपयोग गथ्र्याैं । बिदाको दिन पारेर साथीहरूसँग चताचकु घुम्न जाने योजना बन्यो । टाढा होला भनेर म नजाने भएँ । साथीहरू बिहानै खाजा खाएर चताचकु लागे । म भने लुम्पिनी पार्क जाने विचार गरें । नक्सामा नजिकै देखिएकाले हिँडेर नै जाने निर्णय गरें । नक्सा हेर्दै अगाडि बढें । नक्सा हेर्दै, सोध्दै गएँ । चार घण्टाको पैदल हिँड्दा पनि त्यहाँ पुग्न सकिन । हिँड्दा हिँड्दै थाकें । नजिकैको होटलमा हातको इसाराले खाजा मागेर खाएँ । अनि सोधें– यहाँबाट लुम्पिनी पार्क कति टाढा छ भनेर । नजिकै छ भनेर उनीहरूले बताए । उनीहरूले त्यसो भने पनि मैले रेलमा जाने निर्णय गरें । भाडा १५ ब्याट (थाई पैसा) को कार्ड लिएर रेल चढें । लुम्पिनी पार्क एक स्टेसन पर रहेछ । तीन मिनेटको रेल यात्रापछि लुम्पिनी पार्क पुगें । पार्क ठूलो थियो । युरोपियनहरू घुम्न आउँदारहेछन् यहाँ । म भने त्यहाँ एक्लै एक घण्टासम्म घुमे । बेलुकीपख कोठा फर्कें । बेलुकी साथीहरूसँग गफगाफ भयो ।

साथीहरूले भने, ‘ह्वाई आर यु एब्सेन्ट टुडे विथ अस ? मैले ढाटेर जवाफ दिएं ‘आई वेन्ट भिजिट विथ नेपाली फ्रेन्ड इन द लुम्पिनीपार्क,’ मैले झुटो उत्तर दिएँ । ‘ओ ! रिअल्ली,’ उनीहरूले भने ।

दोस्रो हप्ता बितेको पत्तै भएन । नेटवर्किङ प्रणालीबाट मानवअधिकार तालिम दिइयो हामीलाई । त्यो पनि त्यही वेबसाइटबाट प्रशिक्षित भयौं । मानवअधिकार भन्नाले प्रत्येक देशको वस्तुस्थितिअनुरूप फरक हुँदोरहेछ । तालिममा सहभागीले सोउदाहरण प्रस्ट पारे । तालिमकै समयमा कमार नामक एक पाकिस्तानी प्रतिनिधिले भने, ‘मुस्लिम समुदायका पुरुषले चारजनासम्म विवाह गर्न सक्छ । यदि मुस्लिम समुदायका जोकोही पाँचौं विवाह गर्ने निश्चित भएमा चारमध्ये एकजनालाई कि छाड्नुपर्ने कि त हत्या गरेर अर्को श्रीमती विवाह गर्न पाउने चलन छ,’ कमारले भने । मुस्लिम समुदायका ९० प्रतिशत महिलाले यस किसिमको परम्परा चाहेको उनको तर्क थियो ।

कमार त्यतिबेला ४८ वर्षका भए । उनले अझै दुईवटी श्रीमती भित्र्याउने बताए । ‘जसमध्ये १७ वर्षीया गर्लफ्रेन्ड चाँडै भित्र्याउँछु,’ उनले भने । पटक–पटक विवाह गर्न पाउनु मुस्लिम समुदायको मानवअधिकार हो भन्ने तर्क थियो कमारको । पहिलोपटक विवाह गरेको तीनदेखि पाँच वर्षभित्रमा दोस्रो विवाह नगरे सो समुदायले कुरा काट्ने वा दोस्रो विवाह नगर्ने पुरुषमा मेडिकल समस्या रहेको भन्ने उनीहरूले सहजै अनुमान गर्छन् रे ।

आदिवासीहरूको भूमिमा अन्य समुदायले हस्तक्षेप गरी मलेसियाका आदिवासीहरू विस्थापित भएका छन् । आºनो गुमेका भूमि फिर्ता पाउनुपर्ने मलेसियाका आदिवासीहरू आन्दोलनरत छन् । विदेशीहरू रोजगारका लागि सिङ्गापुर आएका छन् । तिनीहरूले आवासका लागि सिङ्गापुर सरकारसँग माग गर्दै आएका छन् । त्यो माग नै उनीहरूले मावनअधिकार हो भनेका छन् । तालिममा सहभागीहरूबाट भिन्नभिन्न प्रकृतिका मानवअधिकारबारे जान्न पाइयो ।

ह्युमन राइट्स डिफेन्डर्सको तालिम सकिन दुई दिन मात्रै बाँकी थियो । थाई सञ्चार (प्रकाशन/प्रसारण) माध्यमले आन्दोलनका बारेमा समाचार सम्प्रेषण गर्न थाले । नेपाल र थाइल्यान्डको आन्दोलनको प्रकृति फरक देखें । सडकको रेलिङ भत्काइँदो रहेनछ यहाँ । इँटा हान्ने काम पनि नहुँदो रहेछ । जवाफी कारबाहीस्वरूप सुरक्षाकर्मीले आन्दोलनकारीलाई अश्रुग्यास प्रहार पनि गर्दारहेनछन् ।

राज्य सञ्चालनमा प्रधानमन्त्रीको मनोमालिन्य बढेको भन्दै पिपल्स एलायन्स फर डेमोक्र्याटिकले आन्दोलन सुरु गर्यो । आन्दोलनकारीले पहेंलो टी–सर्ट लगाएर विमानस्थलमा सुतेर विरोध गर्न थाल्यो । विरोधको क्रम जारी रह्यो । दिन रात सुतेर उनीहरूले आन्दोलित भए । आन्दोलनकारीलाई खानेकुरा विरोधस्थलमै आउँथ्यो । सुरक्षाकर्मीले आन्दोलनकारीलाई नेपालमा जस्तो व्यवहार नगर्दारहेछन् । हवाई सेवा नै बन्द हुने तरिकाले गरिएको आन्दोलन शान्तिपूर्ण थियो । न आन्दोलकारी घाइते भए न त सुरक्षाकर्मी नै ।

फोरम एसियाद्वारा आयोजित तालिम डिसेम्बर १ मा सकियो । आन्दोलनकारीको आन्दोलन रोकिएन । तालिम आयोजकले डिसेम्बर २ तारिखसम्मका लागि मात्र होस्टलमा बस्ने सम्झौता गरेका रहेछन् । विमानस्थल नखुलुन्जेलसम्म थाई एयरवेजले एसिया होटलमा बस्ने व्यवस्था मिलाइदियो । डिसेम्बर ४ तारिख बेलुका निवर्तमान प्रधानमन्त्री समकले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा सञ्चारमाध्यमले प्रसारण गरे । र पनि नेपालको उडान भने निश्चित हुुन सकेन ।

त्यसैले थाई एयरबाट नयाँदिल्ली हुँदै नेपाल फर्कने विचार गरें । डिसेम्बर ४ तारिख बेलुकी नयाँदिल्ली प्रस्थान गरें । भारतीय समयअनुसार राति ११ः३० बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइयो । हिन्दी भाषा बुझे पनि स्पष्ट बोल्न सक्दिनथें । पाँच घण्टा एयररपोर्टमै बसियो । त्यसपछि टुरिस्ट इन्फरमेसन डेस्कमा नेपालको उडानबारे बुझें । टिकटका लागि पाँच दिनसम्म कुर्नुुपर्ने जानकारी पाएपछि रेलबाट नेपाल पर्किनका लागि लोकेसन मागें । नयाँदिल्ली रेलवे स्टेसनबाट गोरखपुर जाने सल्लाह दिए टुरिस्ट इन्फरमेसनका पदाधिकारीले । उनको सल्लाहअनुसार नयाँदिल्ली रेलवे स्टेसन जानका लागि ट्याक्सी कुर्न थालें । ५५ वर्ष हिँड्दै गरेकोजस्तो देखिने ट्याक्सी ड्राइभरलाई तीन सय ५० भारतीय रुपियाँमा कुरा मिलाएर गन्तव्यतिर हुइँकियौं । सय मिटरजति अगाडि बढेको ट्याक्सी फेरि पछाडि फर्कायो चालकले । ह्वाई आर यु डुइङ ब्याक ट्याक्सी सर ? उसले भन्यो, ‘मे अङ्ग्रेजी नही जान्ता ।’

‘किउ ट्याक्सी ब्याक कर्ते गुरुजी, मेको रेलके स्टेसन पुग्नेके समय ढिला होते,’ मैले कनिकुथी हिन्दी भाषामा प्रश्न गरें । उसले पुनः भन्यो, ‘सर आप्का क्या बात हे, गोरखपुरके रेलके समय ८ः०० बजे छुटेगा ।’ यति भनेर ट्याक्सी चालकले अर्काे ग्राहक खोज्न एयरपोर्ट गेटतिर लाग्यो । त्यही चालकले आधा घण्टापछि अर्को ग्राहक लिएर आयो । पछि बुझेंं– मैलेजस्तै उसले पनि पूरै भाडा तिरेको रहेछ । दुवैलाई पूरै–पूरै भाडा तिराएर एउटै ट्याक्सीमा चढाएर लग्यो हामीलाई । बाटोमा अरू ग्राहक पनि हाल्न खोज्दै थिए चालकले ।

बिहान ६ः०० बजेतिर नयाँदिल्ली रेलवे स्टेसन पुगियो । चालकले नै एउटा होटेलमा पुर्यायो । त्यहाँ केही नबुझीकन सीधै रेलवे स्टेसन इन्क्वाइरीमा गएँ । इन्क्वारी बन्द थियो । गोरखपुरको रेल कति बजे छुट्छ भनेर हिन्दीमै सोधें नजिकै उभिरहेका प्रहरीलाई । प्रहरी चुपचाप बस्यो । त्यसपछि आफैं बुझ्ने कोसिस गरें । यताउता टहलिँदै थिएँ । भारतीय नागरिकले सोध्यो– तुम् कहाँ जाते । मैले अङ्ग्रेजीमा भने, ‘आई वान्ट टु टेक गोरखपुर रेल टिकेट ।’

‘ओ ! इफ सो आई मेनेज टु यु,’ उसले पनि अङ्ग्रेजीमै भन्यो । उसले हतारमा अर्को साथीलाई बोलाउँदै सोध्यो, ‘गोरखपुरके रेले क्या ट्याम हे ।’ साथीले भन्यो किउ ? उसले भन्यो, ‘एक नेपाली आद्मी हे, ऊ गोरखपुर जान चाहते ।’ ‘उसके पासमे टक्का नही उसको छोड्दो,’ भन्दै ऊ अर्को ग्राहक खोज्नतिर लाग्यो । त्यसपछि ‘यु वान्ट टु गो डाइरेक्ट काठमाडौं ?’ मलाई सहयोग गर्न खोज्ने ती नागरिकले भने । अफकोर्स मैले जवाफ भनें । उसले भन्यो, ‘इफ सो यु क्यान गो डाइरेक्ट बाई बस ?’

मैले भने– ओके आई वान्ट टु गो बाई बस । त्यसपछि उसले मलाई टुरिस्ट इन्फरमेसन डेस्क अफिसमा लग्यो । अफिसमा भएको व्यक्तिलाई देखाउँदै भन्यो, यु क्यान टेक टिकेट हियर ।’ टिकेटका बारेमा बुझ्दा नयाँदिल्ली–काठमाडौंका लागि भाडा तीन हजार दुई सय भारतीय रुपियाँ लाग्ने काउन्टरमा बस्नेले बतायो । मैले घटाउने प्रयास गरें । बल्लतल्ल दुई हजार आठ सयमा टिकट मिलाएँ । काउन्टरमा पैसा बुझाउँदै गरेको पन्जाबी प्रहरीले देख्यो । मैले पैसा बुझाइसकेपछि प्रहरीले हिन्दी भाषामा टिकट बेच्नेलाई धम्क्यायो । मैले पैसा बुझाएको पाँच मिनेटपछि उसले एक हजार तीन सय भारतीय रुपियाँ प्रहरीलाई दियो । त्यसपछि थाहा भो म गज्जबले ठगिएछु ।

प्रतिक्रिया दिनुहोस्