तुलसीपुर (दाङ) । कुँदिएजस्ता ढुंगा । बेहुली लिएर फर्केका जन्तीजस्ता हजारौं ढुंगा । जति हेर्यो उत्ति हेरौं लाग्ने । हिजोआज जन्तीढुंगा हेर्ने र टिकटक बनाउनेको घुइँचो ।
तुलसीपुर उपमहानगरपालिका–१३ स्थित झाँक्रीढुंगा सामुदायिक वनमा कलात्मक ढुंगालाई स्थानीयले ‘जन्तीढुंगा’ नाम दिएका छन् । यहाँ ‘जन्ती बिलाएको’ किंवदन्ती छ ।
कुँदिएजस्ता देखिने ती ढुंगा जन्ती, दुलहा–दुलही रहेको स्थानीयवासी बताउँछन् । जन्ती बिलाएपछि त्यहाँ पुगेको झाँक्रीसमेत बिलाएको भन्ने किंवदन्ती छ । “हामी सानै छँदा यो बाटो हिँड्नुहुँदैन, त्यहाँ जन्ती बिलाएको ठाउँ हो । त्यो बाटो हिँड्दा हामी पनि बिलाउँछौं भनेर बूढापाकाले भन्थे,” ८० वर्षीय लीलाधर भट्टराईले भने, “त्यही भएर हामी यो बाटो हिँड्दैनथ्यौं ।”
दुलही ल्याउन गएका जन्ती त्यहाँ विश्राम गरेका थिए । त्यहीक्रममा बिहान भएपछि जन्तीलाई कहाँ जाऊँ र के गरूँ भएपछि त्यहीं बिलाए भन्ने गरिन्छ । यो कुरा अहिलेसम्म कहीं पनि खुलेको छैन । यो ठाउँ पर्यटकीयस्थल बन्न सक्ने भएकाले यसको प्रचार आवश्यक रहेको भन्दै त्यहाँ सालिन्दा मेला लाग्छ । प्रत्येक वर्ष शिवरात्रिमा मेला लाग्ने गरेको स्थानीय जागेश्वर वलीले बताए । “यहाँको प्रचार–प्रसार गर्न सकियो भने पर्यटकीय हिसाबले ठूलो क्षेत्र बन्न सक्छ,” वलीले भने, “सोहीअनुसार हामीले प्रत्येक वर्ष शिवरात्रिमा मेला लगाउँछौं ।”
तुलसीपुरको १३ र १४ को सिमानाअन्तर्गत झाँक्रीढुंगा सामुदायिक वनको डाँडामा त्यस्ता ढुंगा छन् । त्यहाँबाट रिहार जोड्ने सडक छ । यसले गर्दा पनि सहजै पर्यटक आउन सक्ने स्थानीय मोहन पौडेलको भनाइ छ । “सडक लगभग बनेको छ । अब यो सडकलाई अलिकति व्यवस्थित बनाउनुपर्ने देखिन्छ,” पौडेलले भन्नुभयो, “त्यति गर्न सकिएमा यहाँ पर्यटकको घुइँचो लाग्छ ।” भ्युटावर निर्माण गर्न सके दाङसहित छिमेकी जिल्लाका भू–भाग अवलोकन गर्न सकिन्छ ।
त्यस क्षेत्रमा पानीको समस्या छ । हुमबहादुर वलीको अध्यक्षतामा जन्तीढुंगा संंंरक्षण समिति गठन गरिएको छ । समितिले जन्ती ढुंगाको संरक्षण गर्छ । अहिले सो स्थानमा दुई साधु बस्दै आएका छन् ।