धर्मात्मा र पापिष्ट छुट्ट्याउने धर्मधारेश्वर



हलेसी (खोटाङ) । हलेसी गुफाबाट ४५ मिनेट पैदल हिँडेपछि धर्मधारेश्वर महादेव मन्दिर पुगिन्छ । हलेसी तुवाचुङ नगरपालिका–७ सल्लेनीमा धर्मधारेश्वर महादेव मन्दिर रहेको छ ।

हलेसी तुवाचुङ नगरपालिका–८ धितुङनिवासी तारा राई (सन्तोषी माताभक्त)ले नाताको घर सल्लेनीमा बस्दा सपनामा थुप्रै देवीदेवता देखिन् । सल्लेनीमा थुप्रै देवीदेवता देखेको माताले स्थानीयलाई सुनाइन् । माता र स्थानीय त्यहाँ पुग्दा हात्तीको टाउकोजस्तो ढुंगाका शिला भेटियो । खन्दै जा“दा शिला भेटिएको केही तल धर्मधारेश्वर महादेव पनि भेटिए । खन्नेक्रम जारी रह्यो । खन्दै जाँदा नाग, महारुद्र, शिवनारायण, तीन कन्यादेवी, नवराज, गोमा, गौलक्षी देवी, भूतघण्ट, छिनेश्वर महादेवका मूर्ति र शिला फेलापरे ।

शिला र मूर्ति भेटिएपछि संवत् २०७१ मंसिर १४ गते धर्मधारेश्वर महादेव मन्दिर स्थापना गरिएको थियो । मन्दिर स्थापनापछि भक्तजन आउनेक्रम बढेको छ । यहाँ आउनु तीन दिन पहिलेदेखि माछा, मासु, लसुन, प्याज र जाँडरक्सी खान नहुने मान्यता छ । विधि पु¥याएर यहाँ पूजाआजा गरेपछि धर्म र पापको लेखाजोखा गर्दै सपनामा लक्षण देखाउने स्थानीय कुमारसेर राई बताउँछन् । विधिविपरीत पूजाआजा गरे सजाय पाइने स्थानीय राईको भनाइ छ ।

यहाँ शुक्ल पक्ष र कृष्ण पक्षको पञ्चमी, एकादशी, पूर्णिमा, बोलबम, विजयादशमीको नवदुर्गा र स्वस्थानीको पूजाआजा गरिन्छ । पूजाविधि सकेर देब्रे हातमा दाहिने हात पछाडि राखेर घुँडा टेक्दै धर्तीमा शिर निहुर्याएर ढोग्दा सारा पापबाट मुक्त भई पुण्य कमाइने विश्वास छ ।
मानवनिर्मित मन्दिरमा सन्तोषी माताको मूर्ति, प्राकृतिक जलविष्णु, प्रकाशेश्वर र वज्रेश्वर महादेवलगायत सर्वकोटी देवता रहेका छन् । यहाँ पूजाआजा गर्दा मनमा शान्ति, खुसियाली र मेलमिलाप हुने विश्वास गरिन्छ ।

टाढाबाट हेर्दा भीरको बीचमा सानो तर सुन्दर बस्ती देखिन्छ । चिउरी र सल्लेनी जंगलबीचमा रहेको बस्तीलाई सल्लेनी भनिन्छ । यहाँ मन्दिरको अलावा गुफा पनि रहेको छ । गुफाको बाहिरी र भित्री आकार शंखजस्तै देखिन्छ ।

मन्दिर र गुफा अवलोकन गरेपछि उकालो लाग्दा खार्चुङको रमाइलो फाँट पुगिन्छ । जहाँ घंघरु र काँसघारीभित्र ढुंगाले बनेको कोक्रो देख्न सकिन्छ । यहाँबाट उकालिए तुवाचुङ पुगिन्छ ।

प्रतिक्रिया दिनुहोस्