संस्कृति र पर्यटनसँग जोडिँदै साम्फेलुङ


तस्बिर : शुभ मुकारुङ ।

बाँसपानी (खोटाङ) । ढुंगामा पनि मानिसको पैतालाको छाप बस्न सक्छ र ? तर, सक्दोरहेछ नि ! केपिलासगढी गाउँपालिका–३, बाँसपानीमा रहेको साम्फेलुङ (पाइला ढुंगा) यसको प्रत्यक्ष उदाहरण हो । यो ढुंगामा ठ्याक्कै मानिसको पाइलाजस्तै छाप देखिन्छ ।

यो कसरी सम्भव भयो होला ? ‘उहिले–उहिले रेप्सुना नामक किरात साम्पाङ राई समुदायका पुर्खा बसोबासयोग्य ठाउँ खोज्दै–खोज्दै हिँडे । उपयुक्त ठाउँ खोज्नेक्रममा खोटाङको रावाखोला र तापखोला क्षेत्रअन्तर्गतको बाँसपानी (तस्बिरको चप्लेटी ढुंगा) मा पहिलोपटक पाइला टेके,’ किरात साम्पाङ राई जुम्लेखा खोटाङ अध्यक्ष प्रताप राई भन्छन्, ‘उनै पुर्खाले पहिलोपटक टेकेको ढुंगामा पाइलाको छाप बसेको थियो । त्यो ढुंगामा रहेको पाइला हिजोआज पनि छँदै छ । तिनै पुर्खाको पाइलाको छाप बसेको ढुंगालाई साम्फेलुङ अर्थात् ‘पाइला ढुंगा’ भनियो ।’ रेप्सुना खिलुङ्मी लामलुमीका सन्तान हुुन् ।

पुर्खासँग जोडिएको यस्ता ढुंगा खास हुन्छन् । अनि इतिहास बनेका छन् । यस्ता खास र इतिहासलाई संरक्षण गर्नैपर्छ । पालिकाले साम्फेलुङको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटकीय स्थल बनाउने प्रयत्न गर्नेछ ।

–समीर राई, अध्यक्ष, केपिलासगढी गाउँपालिका खोटाङ

‘जहाँ ढुंगा–ढुंगामा देवताको बास छ, त्यो देश मेरो हो’ भन्ने नेपाली गीत प्रसिद्धमात्रै होइन, त्यत्तिकै श्रवणीय छ । सन्देशमूलक पनि त छँदै छ । उल्लिखित गीतजस्तै दाबीसाथ भन्न सकिन्छ, ‘जहाँ ढुंगा–ढुंगामा किराती पुर्खाको पाइला छ, त्यो देश मेरो हो ।’ किरात राई समुदाय बाहुल्य गाउँ–बस्तीमा रहेको ढुंगा–ढुंगामा उनीहरूको कथा छ । अनि गाथा पनि ।

 

समीर राई, अध्यक्ष, केपिलासगढी गाउँपालिका खोटाङ ।

‘पुर्खासँग जोडिएको यस्ता ढुंगा खास हुन्छन् । अनि इतिहास बनेका छन् । यस्ता खास र इतिहासलाई संरक्षण गर्नैपर्छ,’ केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले सुनाए, ‘पालिकाले साम्फेलुङको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटकीय स्थल बनाउने प्रयत्न गर्नेछ ।’

साम्फेलुङसँगै कुवासमेत रहेको छ । कुवासँगै साम्फेलुङ टाँसिएको छ । कुवाको इतिहाससमेत किरात साम्पाङ राई समुदायसँग जोडिएको छ । केपिलासगढी गाउँपालिका पूर्वअध्यक्ष कृष्णकुमार राईले साम्फेलुङ संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनका लागि तीन लाख रुपैयाँ विनियोजन गरेका थिए । विनियोजित रुपैयाँले ऐतिहासिक कुवाको मर्मतसम्भार तथा घेराबारा र फलैंचा निर्माण गरिएको किरात साम्पाङ राई जुम्लेखा खोटाङ अध्यक्ष राईले जानकारी गराए ।

साम्फेलुङसँग साम्पाङ राई समुदायको सम्बन्ध घनिष्ठ रहेको छ । बाँसपानीका स्थानीय पुर्खाहरू भन्छन्, ‘साम्फेलुङलाई संस्कृति र पर्यटनसँग जोड्न हामी स्थानीय प्रयासरत छौं ।

तस्बिर : शुभ मुकारुङ ।

साम्फेलुङ, साम्फेलुङ भन्दाभन्दै अपभ्रंश भएर साम्पाङ भएको स्थानीयको भनाइ छ । साम्फेलुङ (खोटाङ) बाटै साम्पाङ राईहरू फैलँदै विदेशसम्म पुगेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्