डर हटाउने सजिलो उपाय



‘डर’ मानसिक रोग हो । नेपाली समाजमा यसलाई त्यति धेरै ध्यान दिइँदैन । मानसिक रोगको कुरा गर्नेबित्तिकै हामीलाई बाटोमा हिँड्न डरलाग्दो, ‘पागल’ व्यक्ति सम्झना आउँछ । तर, योमात्र मानसिक रोग होइन । मानसिक रोगलाई अंग्रेजीमा ‘फोयिबा’ भनिन्छ । कुनै पनि कुराको फोयिबा भएको व्यक्तिलाई त्यसप्रति यति धेरै डर हुन्छ कि यसले उनको दैनिक जीवनमै असर पार्छ । यद्यपि, वास्तवमा यो त्यति डरलाग्दो मानसिक रोग भने होइन । धेरैजसो फोबिया बाल्यावस्थादेखि नै विकसित सुरु हुन्छन् । तर, केही फोबिया भने वयस्क भइसक्दामात्रै विकसित हुन्छन् ।

डरबारे थाहा पाउनु र आफूमा भएको डर पहिचान गर्नु भनेको डरको उपचारको प्रथम पाइला हो । कुनै–कुनै डर साधारण हुन्छन् । सबै मानिसमा कुनै न कुनै चीजप्रति डर हुन्छ । जब त्यसले व्यक्ति, पारिवारिक, सामाजिक र व्यावसायिक जीवन तथा अध्ययनमा असर गर्छ, त्यसले मानसिक रोगको रूप लिन्छ । यस्तो बेला जतिसक्दो चाँडो यसको उपचार गर्न जरुरी हुन्छ ।

धेरैखाले डर (फोबिया)मध्ये हाम्रो समाजमा व्याप्त ‘सामाजिक डर’ प्रमुख समस्या हो । यसलाई ‘सोसल एन्जाइटी डिसअर्डर’ पनि भनिन्छ । यो समस्याबाट पीडित मानिस अरूको अगाडि गएर बोल्न र प्रस्तुत हुन डराउँछन् । उनीहरू आफूलाई अरूले सधैं मूल्यांकन गरिरहेको छ कि भन्ने अनुभूति गरिरहन्छन् । यही कारण कहीं, कतै गल्ती होला कि भन्ने भयका कारण अगाडि प्रस्तुत हुन डराउँछन् । यो समस्याले बाल्यावस्थादेखि कुनै पनि कुरामा नेतृत्व लिने क्षमतामा असर गर्छ । यो समस्या बच्चामा मात्र नभईकन वयस्कमा पनि पर्याप्त मात्रामा पाइन्छ ।

डरका कारणले मानसिकमात्र होइन, शारीरिक लक्षण पनि देखाउन सक्छ । उदाहरणका लागि सास फेर्न गाह्रो हुने, छाती दुख्ने, चिटचिट पसिना आउने, जिउ काम्ने, झन्झनाहट अनुभूति हुने आदि डरका कारण देखिने असर हुन् । तर, खुसीको कुरा के छ भने फोबियाबाट ग्रसित व्यक्ति स्वयम्ले अथवा कोही अनुभवी प्रशिक्षकको मद्दत मात्रले पनि डर भगाउन सकिन्छ । डरबाट मुक्त हुने केही विधि यस्ता छन् ।
बिस्तारै डरको सामना गर्दै जाने

सुन्दा पुरानै विधिजस्तो लागे पनि यसको पालना सही ढंगबाट गर्नाले डरबाट प्रभावकारी रूपमा छुट्कारा पाउन सकिन्छ । कहिलेकाहीं मात्र सामना गर्नुपर्ने कुराको अलि–अलि मात्र डर छ भने यसले त्यति ठूलो असर गर्दैन । तर, जीवनमा सधैं सामना गरिरहनुपर्ने कुराप्रति डर पैदा भयो भने काम, परिवार, पढाइ र प्रगतिमा असर पुर्याउन सक्छ । जुन कुरासँग डर लाग्छ, थोरै–थोरै गरेर त्यसको सामना गर्नु नै त्यसविरुद्ध लड्ने सबैभन्दा उत्तम उपाय हो । जस्तै : उचाइदेखि डर लाग्छ भने सुरुमा अलि कम उचाइ भएको ठाउँमा जाने । पहिलोपटक कोही साथीसँग पनि जान सकिन्छ । बिस्तारै उचाइ बढाउँदै लैजान सकिन्छ । जति–जति डर लाग्ने कुराको साथी बन्नुहुन्छ, त्यति आत्मबल बढेको अनुभूति हुन्छ । ‘जे भए पनि ज्यान त जाँदैन रहेछ’ भन्ने अनुभूति हुन थाल्छ । यसलाई दैनिकजस्तो व्यवहारमा प्रयोग गरियो भने डरबाट छुट्कारा पाउन सकिन्छ । डरबाट छुट्कारा पाउने भन्दैमा आफ्नो जीवनलाई खतरामा पार्नु मूर्खतामात्र हुनेछ । सर्पसँग डर हटाउन सोझै सर्प समाउन नलाग्नुहोला ।

शरीरलाई आराम दिनुहोस्

फोबियाविरुद्ध सामना गर्ने समयमा लामो तथा गहिरो सास फेर्ने । शान्त रहने प्रयास गर्नुहोस् । यसको असर तपाईंको डर हराएर जान्छ । निरन्तर ध्यान गर्ने बानी बसाल्दा फोबियाका लागि राम्रो हुन्छ ।

नकारात्मक विचार बदल्नुहोस्

हामीमा कुनै कुराको डर छ भने त्यसको सामना गर्नुपर्दा त्यो कति भयानक हुन्छ भन्ने कुरामात्र सोच्छौं । यस्तो मानसिकता बाल्यकालमा झन् बढी हुन्छ । यस्तो स्थितिमा उनीहरूले आफ्नो भयविरुद्ध सामना गर्न सक्ने क्षमता कम ठानिरहेका हुन्छन् । यस्तो स्थितिमा आफूलाई डर लाग्ने कुरा क्रमशः कापीमा टिप्दै जानुहोस् । त्यसबारे नकारात्मक सोच त्यागेर सकारात्क सोच्नतिर आफैंलाई घच्घच्याउनुहोस् । जस्तै : तपाईंलाई ‘अँध्यारोमा कुनै भूतले लखेट्ला’ भन्ने भय छ भने सोच्नुहोस् कि दिनहुँ अँध्यारोमा मान्छे हिँडिरहेका छन् र कसैलाई भूतले लखेटेको प्रत्यक्ष प्रमाण छैन ।

यस्ता विधिबाट आफूमा लागेको डर र भय बिस्तारै कम गर्दै लैजान सकिन्छ । कालान्तरमा फोबियाबाट पूर्ण रूपमा मुक्त हुन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्