पवन चाम्लिङ मेरो कलाकारिताको प्रेरणा


‘एक्टिङ’ र ‘मोडलिङ’मा विशेष कुन कुरामा बढी रुचि छ ? एक्टिङ के हो ? मोडलिङ के हो ?

एक्टिङ भनेको अभिनय हो । कला हो । सिर्जना हो । जुन नाटक, चलचित्र, टेलिभिजनमा पात्र बनेर देखाइन्छ । र, मोडलिङ भनेको कुनै पनि वस्तुको ‘फ्रन्टलाइन’ बनेर त्यो वस्तुको प्रवद्र्धन गर्नु हो । मलाई दुवैमा उत्तिकै रुचि छ ।

कला यात्रामा के कुराले प्रेरित गरेको थियो ? यहाँलाई पहिलो ब्रेक कसले दिएको थियो ?

म सानै उमेरदेखि नै नृत्य गर्न रुचाउँथे । विभिन्न नृत्य प्रतिस्पर्धामा भाग लिएर पुरस्कार जितेकी थिएँ । यही अन्तरालमा मेरो पहिलो चलचित्र ‘सम्बन्ध’को निर्देशक श्री रवीनश्री दाइसँग भेट भएको थियो । उहाँले मेरा क्षमता देखेर पहिलो ब्रेक दिनुभयो । पहिलेदेखि नै घरबाट साथ सहयोग पनि थियो । विशेषगरी मेरी मम्मीले सानैदेखि नृत्य गर्न सिकाउनुहुन्थ्यो । विभिन्न प्रतिस्पर्धामा मलाई अघि सार्नुहुन्थ्यो । अनि मैले पहिलो ब्रेक पाउँदा सबैभन्दा खुसी मेरी मम्मी नै हुनुहुन्थ्यो । उहाँकै प्रेरणा र सहयोगले गर्दा आज म यो स्थानसम्म आइपुग्न सफल भएकी हुँ । पछिल्लो चरणमा मेरो कलाकारिताको प्रेरक व्यक्ति पवन चाम्लिङ हुनुभएको छ ।

नेपालमा अभिनय कलाको भविष्य कस्तो देख्नुभएको छ ? नेपाली कलाकारले सम्मानित जीवन बाँच्न सम्भव छ त ?

अवश्य पनि भविष्य राम्रो देखेकी छु । तर, यसका लागि उत्तिकै मिहिनेत, दृढता, त्याग र तपस्या आवश्यक पर्छ । यी चीज आफूसँग छैन भने अभिनय क्षेत्र त के, कुनै पनि क्षेत्रमा भविष्य हुँदैन । पहिलेको तुलनामा नेपाली चलचित्र दिनानुदिन आधुनिकीकरण भइरहेको छ । र, समाजमा चलचित्र कलाकारलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन भइरहेको छ । यसरी नै हरेक मानिसको कलाकारप्रति हेर्ने दृष्टिकोण राम्रो भयो भने कलाकारले सम्मानित जीवन बाँच्न सम्भव छ । साथै कलाकारप्रति पनि उत्तरदायित्व हुन्छ । समाजमा आफूलाई कसरी सम्मानित हुने त्यसका लागि सही काम गर्नुपर्यो । सही ढंगले प्रस्तुत हुनुपर्यो ।

पहिलो कला यात्रा (चलचित्रमा) प्रारम्भ गर्दा कस्तो अनुभव भएको थियो ?

एकदमै राम्रो अनुभव भएको थियो । त्यो क्षण मेरा लागि सबैभन्दा खुसीको क्षण पनि थियो । त्यो समयमा भन्नैपर्दा अभिनय भनेको के हो ? भन्ने कुरा नै मलाई थाहा थिएन । सायद म सानै पनि थिएँ । कक्षा ८ मा पढ्दै थिएँ । अहिले त्यो क्षण सम्झँदा एककिसिमको रमाइलो अनुभूति हुन्छ ।

उपासना नेम्वाङलाई अभिनयबाटै करिअर बनाउने विचार छ कि ?

अवश्य पनि कलाकारितामै लागेर करिअर बनाउने सोच बनाएकी छु । त्यसका लागि निरन्तर मिहिनेत गर्नेछु । ‘कर्म गर फलको आशा नगर’ भनेझैं राम्रो काम गरी अगाडि बढ्नेछु । मिहिनेतसाथ कर्म गरियो भने अवश्य पनि सफलता हासिल हुन्छ भन्ने मलाई विश्वास छ । मैले कलाकारितामा लागेर अहिलेसम्म सिकेको पाठ पनि यही हो ।

जीवनको आदर्श के हो ? कस्तो जीवन बाँच्न मन पर्छ ?

जीवनको आदर्श भनेको कर्म हो । आफूप्रतिको दायित्व हो । राम्रो कर्म र दायित्वबोधले जीवन आदर्श बन्छ । मलाई सामान्य, सरल र खुसीले भरिपूर्ण भएर परिवार, समाज र राष्ट्रहितमा रमाउँदै जीवनको अन्त्यसम्मै अभिनयमै रमाउने मन छ ।

नेपाली फिल्म इन्डस्ट्रीले के–कस्तो विकास गरेको लाग्छ ?

प्राविधिक रूपमा नेपाली फिल्म इन्डस्ट्री विकास भइरहेको त सर्वविदितै छ । सबल व्यक्तिहरूको प्रवेश पनि विकासकै पाटो मान्न सकिन्छ । आज अभिनयकै शिक्षा लिएर यस क्षेत्रमा प्रवेश गर्नेहरूको लहर पनि बढ्दो छ । पुरानो ढाँचाभन्दा फरक शैलीका चलचित्र बनिरहेका छन् । जुन हिजोआज हामीले हेर्दै र देख्दै पनि आएका छौं । कलाकार कलाकारिताबाट बाँच्न सक्ने आधारसमेत तय भइसकेको अवस्थालाई मनन गर्ने हो भने नेपाली चलचित्र क्षेत्रमा निकै विकास भएको पाइन्छ । पहिलेको तुलनामा अहिले आकाश–पातालको अन्तर छ ।

रियल लाइफ र एक्टिङ लाइफबीच रहने अन्तरलाई कसरी हेर्न उचित हुन्छ ? आखिर यो अन्तरचाहिँ के हो त ?

एक्टिङ लाइफमा मैले अरू कसैको जीवन जिएको हुन्छु । मेरो व्यक्तित्व नै फरक हुन्छ । जुन कुराको अभिनय गर्नु छ, त्यसैमा विलीन हुनुपर्छ । त्यसैले म मेरो पेसागत जीवनलाई एक्टिङको लाइफ भन्छु । रियल लाइफ त छँदै छ छ नि यस्तै त हो । अभिनयजस्तो यसमा पनि उतारचढाव, हाँसो, खुसी सबैको सम्मिश्रण भए पनि रियल लाइफ जिन्दगी हो । र, अर्को कुरा यी दुईबीचको अन्तर फरक नै हुन्छ । अभिनयमा अरूको जीवन अर्थात् कथावस्तुले मागेको देखाउन सक्नुपर्छ भने रियल लाइफ जिन्दगीको यथार्थ भोगाइ हो भन्दा उपयुक्त हुन्छ ।

कला यात्रामा आइपुग्दा फ्यानहरूको वृद्धि निकै भइसकेको हुनुपर्छ । फ्यानहरूले के–कसरी रेस्पोन्स गरेका छन् ? विदेशी र स्वदेशी फ्यानमा त्यस्तो केही भिन्नता पाउनुभएको छ ?

मैले अहिलेसम्म कमाएका भनेकै फ्यानमात्रै हो । उहाँहरूकै सल्लाह, सुझाव, माया–ममता, हौसला र मार्गदर्शनले गर्दा यस क्षेत्रमा मैले अहिलेसम्म निरन्तरता दिएकी छु । आगामी दिनमा पनि दिने नै छु । उनीहरूका प्रेरणादायी सुझावले गर्दा मेरो आगामी यात्रा झन् सहज बनेको पनि महसुस गरेकी छु । यसबाट आफूमा रहेको कमीकमजोरी सुधार्ने मौकासमेत पाएकी छु । उनीहरूको प्रशंसाभन्दा पनि कमेन्टमा म बढी आभारी हुन्छु ।

प्रशंसामा प्रफुल्लित हुनुभन्दा कमेन्टलाई मनन गर्दै अघि बढेमा फ्यानहरू पनि खुसी हुने र आफ्नो भविष्य पनि उज्ज्वल हुने कुरामा म विश्वस्त छु । त्यसैले मैले फ्यानहरूबाट सधैं मेरा काममा कमेन्ट गरिदिन आग्रह गरिरहेकी हुन्छु । अर्को कुरा विदेशी र स्वदेशी फ्यानमा त्यस्तो अन्तर केही पाएकी छैन । फ्यानलाई मैले क्याटागोरीमा राख्ने गरेकी छैन । उहाँहरूको माया मेरा लागि ठूलो सम्पत्ति हो ।

नाटकमा अभिनय गर्ने अवसर प्राप्त भयो कि भएन ?

नाटकमा पनि मलाई एकदमै रुचि छ । समय–समयमा नाटक हेर्न थियटर पनि पुग्ने गरेकी छु । तर, मैले अहिलेसम्म नाटकमा अभिनय गर्ने अवसर भने पाएकी छैन । त्यस्तो राम्रो अवसर, मैले सोचेको चरित्र पाएँ भने अवश्य पनि नाटकमा अभिनय गर्ने इच्छा छ ।

तपाईंको पिता नवीन सुब्बा एक शीर्षस्थ राजनीतिक व्यक्तित्व हुनुहुन्छ । तपाईंचाहिँ रंगमञ्चतिर आकर्षित हुनुपर्ने केही खास कारण थिए कि ?

मेरा लागि उहाँ शीर्षस्थ राजनीतिक व्यक्तित्व नभई, कुशल अभिभावक हुनुहुन्छ । राजनीतिक व्यक्तित्व भए पनि उहाँले हामीलाई कहिले पनि यो क्षेत्रमा लाग्नुपर्छ भनेर बन्देज लगाउनुभएन । र, अर्को कुरा उहाँ आफै पनि एक कुशल गीतकार, संगीतकार हुनुहुन्छ । यो क्षेत्रमा लाग्नका लागि उहाँकै प्रेरणा पनि हो, त्यही प्रेरणा र साथ सहयोगका कारण म कलाकारितामा लागेकी हुँ ।

कस्तो फिल्ममा अभिनय गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ? आफ्नो विशिष्ट प्रतिभा प्रदर्शन गर्ने माध्यम फिल्म पनि एक हो, यहाँलाई कस्तो लाग्छ ?

मलाई महिला हकहित, सशक्तीकरण र हिंसाविरुद्धको कथा बोकेको चलचित्रमा अभिनय गर्ने रुचि छ । जसकारण समाजमा पनि यो कुराको छाप बसोस् । जसले चेतना सँगसँगै समाजमा महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सकियोस् । त्यस्तो चलचित्रमा म आफूलाई विशिष्ट प्रतिभा दिन सक्छु जस्तो पनि लाग्छ ।

आफू सेलिब्रेटी भएर हिँड्दा सर्वसाधारणबीचमा पाउने आतिथ्य सत्कारबाट कस्तो अनुभव हुन्छ ?

मलाई खुसी लाग्छ । उहाँहरू मेरोबारेमा जिज्ञासा राख्नुहुन्छ । नजिकबाट बुझ्न चाहनुहुन्छ । मेरो खुुसी बेखुसी सोध्नुहुन्छ । सम्मान दिनुहुन्छ । उहाँहरूले सेलिब्रेटी स्टाटस दिनु नै मेरा लागि सम्मानको कुरा हो ।

आखिर कलाकार भनेको के हो ?

कलाकार भनेको समाजको ऐना हो । समाजमा रहेका विकृति विसंगतिलाई चित्रण गरेर समाजलाई राम्रो सन्देश दिने सन्देशवाहक चरित्रपात्र नै कलाकार हो ।

कलिउडबाट बाहिर बलिउडतिर निस्कने विचार छ कि छैन ?

मैले कलिउडमै आफ्नो स्थान बनाउन बाँकी छ । बलिउड त अहिले मेरो सोचमा पनि छैन । अहिले आफ्नै कलिउडमा केही गरेर देखाउने इच्छा छ । यो पूरा भयो भने आगामी दिनमा सोचौंला, अहिले नै बलिउड र हलिउडको सपना नदेखौं होला ।

विदेशी दर्शकले नेपाली कला र कलाकारलाई कसरी हेर्ने गरेका छन् ?

विदेशी दर्शकले नेपाली कला र कलाकारलाई माया गर्छन् । राम्रो कामलाई उहाँहरूले सराहना गर्नुहुन्छ । हाम्रो कलामा विविधता छ, सांस्कृतिक पहिचान छ, सहिष्णुता छ र अरूभन्दा भिन्न छौं । जसकारण विदेशी दर्शक लोभिने गरेका छन् ।

उपासनाको आदर्श परिवार छ । यसैगरी उपासनाले टेकेको धर्ती पनि उत्तिकै आदर्शमय छ । त्यसो भए आदर्श परिवार र आदर्शमय धर्तीकी छोरी ‘परी’ उपासनाको परिवार र देशप्रति रहेको दायित्वलाई कसरी वर्णन गर्नुपर्ने हो ?

परिवारमा त दायित्व छ नै । एक नेपालकी छोरी भएका कारणले नेपालप्रति पनि मेरो उत्तिकै दायित्व रहेको छ । एक उदाहरण भएर, निःस्वार्थ भावनाले यो समाज, परिवार र देशको शिर उँचा बनाउने मन छ । आफ्नो काममा मिहिनेत र दृढता दिई अगाडि बढी यो देशको सेवा गर्ने मन छ । विश्वसामु नेपाललाई चिनाउने मन छ ।

तपाईंले प्राप्त गरेका सम्मान र पुरस्कारबारेमा केही बताइदिनुहुन्छ कि ?

म कक्षा ८ मा पढ्दा पूर्वाञ्चल डान्सिङ क्वीन हुन सफल भएकी थिएँ । थुप्रै डान्स कम्पिटिसनमा प्रथम स्थान हासिल गर्न सफल भएकी छु । जिल्लास्तरीय नृत्य प्रतियोगितामा पनि प्रथम भएकी थिएँ । साथै मैले थुप्रै संघ संस्थाबाट सम्मान पाएकी छु । मैले सिक्किम सरकारबाट समेत सम्मान पाएकी छु । किरात याक्थुङ, चुम्लुङ, नेपाल र हङकङ संघीय लिम्बुवान पार्टी हङकङ र नेपाल, भूपू गोर्खा सैनिक संघ लगायत अरू विभिन्न नेपाल, भारत र हङकङ संघ–संस्थाबाट सम्मानित भएकी छु ।

मैले सोध्नैपर्ने प्रश्न, तर मैले सोध्नै नसकेको प्रश्नमाथि तपाईं स्वयम्ले त्यसमाथि आफ्नो विचार प्रकट गरिदिनुहुन्थ्यो कि ?

मलाई अहिलेसम्म माया, स्नेह दिनुभएकोमा सम्पूर्ण दर्शक, फ्यानलाई धन्यवाद दिन्छु । भविष्यमा पनि यही माया र स्नेहको मैले अपेक्षा राखेकी छु ।

सन् २००९ मा सिक्किमको नाम्चीमा नाम्ची महोत्सव सम्पन्न भएको थियो । त्यहाँ तपाईंले भाग लिनुभएको थियो । सम्मानित पनि हुनुभयो । त्यो अनुभवमाथि टिप्पणी गरिदिनुहुन्थ्यो कि ?

एकदमै रमाइलो भएको थियो । त्यतिखेर म भर्खर कला क्षेत्रमा प्रवेश गर्दै थिएँ । आयोजकले मजस्तो नयाँ मान्छेलाई निम्ता दिनुभयो । कार्यक्रममा भाग लिएँ । सिक्किमका सम्माननीय मुख्यमन्त्री आदरणीय पवन चाम्लिङबाट सम्मानित भएँ । त्यसका लागि म उहाँहरूलाई अहिले पनि हार्दिक कृतज्ञता प्रकट गर्छु । त्यो क्षेत्र मेरालागि नौलो पनि थियो । किनकि मैले विदेशमा पहिलोपटक गरेको ‘पर्फमेन्स’ पनि यही थियो ।

तपाईंको राजनीतिप्रति कस्तो झुकाव रहेको छ ? राजनीति भनेको के हो ?

राजनीति भनेको देशलाई सुमार्गमा लैजाने नीति हो । परिवारमा राजनीतिक माहोल भएका कारण मलाई धेर–थोर ज्ञान छ । एउटा देशको नागरिक भएको नाताले सबैले देशको राजनीतिक माहोल बुझ्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्