महोत्तरीमा १ हजार बोट आँप खङरङ्गै



महोत्तरी । फलफूल खेतीमा भविष्य खोज्दै बगैंचा बढाउँदै लगेका स्थानीय किसान निराश भएका छन् । तराईमा फलफूलको राजा मानिने आँपका बोट धमाधम सुक्दै गएपछि किसानमा निरासा छाएको हो ।

धेरैजसो यस वर्ष नफलेका रूखका पात छपक्कै छोपेर जालो लाग्ने र केही दिनपछि नै आँपका बोट सुक्ने गरेका छन् । गत जेठताका नै यो समस्या देखिएको भए पनि असार अन्त्यसम्म त हजारौं रूख सुकेर मरेका स्थानीय किसानको दुःखेसो छ ।

‘अन्नबाली लगाउन श्रमिक पाउन छाडेपछि फलफूल खेतीगर्ने निर्णय गरेर आँप बगैंंचा लगाइयो,’ पछिल्ला पाँच वर्षयता बर्सेनि बगैंंचामा आँपका रूख थप्दै आएका बर्दिवास नगरपालिका–९ पशुपतिनगरका फलफूल किसान ब्रह्मदेव महतोले भने, ‘अहिले धमाधम आँपका रूख एकपछि अर्को सुक्दै गएपछि मन अड्याउने ठाउँ छैन ।’ आफूले रूखमा जालो बसेको देखेपछि सुरुमा वास्ता नगरे पनि क्रमशः जालो बढ्दै गएपछि उपचार गर्दा ठीक नभएको महतोको भनाइ छ ।

पशुपनिगरकै विनोद महतो, सुरजसिंह कुशवाह, महेन्द्र महतो, अमृत महतो र विजयकुमार महतोसहितका किसानको बगैंंचामा पनि एकपछि अर्को गर्दै १०० भन्दा बढी रूख सुकिसकेका छन् । ‘समस्या सुन्ने र सल्लाह दिने कोही आउँदैनन्,’ सुरजसिंह कुशवाहले भने, ‘पहिले त जिल्ला कृषि विकास कार्यालय छउञ्जेल वागबानी विज्ञ हुन्थे, अहिले ती सबै कहाँ पुगे होलान् ?’ आँपमा देखिएको यो महामारीबीच कुनै निकाय फर्केर आफूहरूलाई सान्त्वना दिन आएका सुरजको गुनासो छ ।

जिल्लाका सबैजसो भेग र छिमेकका धनुषा र सर्लाहीमा पनि आँपका रूखका पातमा जालोले रूख सुक्ने समस्या निकै बढेको छ । जालोले रूख छपक्कै छोप्ने र केही दिनपछि रूख खङ्रङ्ग सुकेर मर्ने गरेको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान सत्यनारायण यादव बताउँछन् । ‘उपचार गरियो, केही सिपचलेन,’ यादवले विरक्तिँदै भने, ‘एकपछि अर्को गर्दै १० वटा रूख त मेरै सुकिसके ।’

जिल्लामा आँपको रूखमा जालो लाग्ने र सुक्ने समस्याले महामारीकै रुप लिएको किसानको भनाइ छ । महोत्तरीमा मात्रै पछिल्ला दुई महिनाको अवधिभित्र एक हजार भन्दा बढी बोट यो समस्याले सुकेका सरदर अनुमान गरिएको छ ।

यसैबीच कृषि ज्ञान केन्द्र मलङ्वा, सर्लाही (कार्यक्षेत्र–महोत्तरी, सर्लाही) का विज्ञहरूले जालो देखिनासाथ गरिने देखभाल र उपचारले यो समस्या ठीक हुने बताएका छन् । किसानले उपचार गर्दा रूखमा नोक्सान पु¥याउने कीरा जालोको भित्रीपत्रमा लुकेर बसेको हुँदा विषादी उपचारले नमरेको विज्ञको भनाइ छ । पहिले जालो काँडादार भाटाले उधिनेर विषादी उपचार गरे जालो बनाएर आँप सुकाउने कीरा नियन्त्रण हुन सक्ने केन्द्रका निमित्त प्रमुख देवानन्द रायले बताए । जालो बनाइसकेपछि मात्र कीराले आँपका पात खान थाल्ने हुँदा देख्नासाथ त्यसलाई उधिन्नुपर्ने विज्ञको सल्लाह छ ।

किसान भने कुनै क्षेत्रको काममा लाग्दा पनि सुख सन्तोष नपाएको भन्दै विरक्तिएका छन् । आफ्नो छटपटी र पीडामा आफ्नै पालिकाका प्रतिनिधिको पनि साथ नपाइएको किसानको गुनासो छ । खासमा जिल्ला कृषि विकास कार्यालय विघटन भएदेखि नै परामर्श र प्राविधिक सरसल्लाह पाउन छाडिएको किसानले बताएका छन् । अब सबै स्थानीयतहमा कृषिशाखा व्यवस्थित गरेर आवश्यक सेवा प्रवाह गरिनुपर्ने किसानले माग गरेका छन् ।

यसैगरी, भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले कृषि र वागबानीसम्बद्ध कार्यालयसँग समन्वय गरी यो समस्याको निराकरण गरिने बताए । त्यसैगरी जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले जिल्लाका १५ वटै स्थानीय तहलाई आफ्नो कार्यालयमा कृषि शाखा सञ्चालनमा ल्याई तत्काल सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्