भोजपुरे किसान जडीबुटी खेतीमा आकर्षित



भोजपुर । पछिल्लो समयमा जिल्लाका स्थानीय जडीबुटीखेतीतर्फ आकर्षित भएका छन् । डिभिजन वन कार्यालयले किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएसँगै यसतर्फ किसानको आकर्षण बढेको हो ।

कार्यालयले विभिन्न कार्यक्रममार्फत आर्थिक तथा प्राविधिक सहयोग गरेपछि किसानले जडीबुटी खेतीलाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याएका हुन् । कार्यालयले यस वर्ष मात्र टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा, आमचोक गाउँपालिकालगायत ठाउँमा जडीबुटी विस्तार कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यालयले कृषकलाई आयआर्जनमा जोड्न तथा सतुवा, लोठ सल्ला, चिराइतोलगायत खेती विस्तार गर्न किसानलाई प्रोत्साहन गरिरहेको कार्यालयको भनाइ छ । यस वर्ष कार्यालयले गरेको कामको समीक्षा कार्यक्रममार्फत दिइएको जानकारीअनुसार थप दुई जडीबुटी नर्सरी विस्तार गरिएको छ । जिल्लामा ६ नर्सरीबाट एक लाख, ६४ हजार बिरुवा उत्पादन गरिएको कार्यालयको भनाइ छ ।

किसानलाई पाँच हजार कागती, एभोकाडोलगायतका बिरुवा वितरण भएको कार्यालयले जनाएको छ । कार्यक्रमका सहभागीले बर्सेनि बिरुवा वितरण गरिए पनि त्यसको उपलब्धि आउन नसकेकाले त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राखे । त्यस्तै किसानले उत्पादन गरेको जडीबुटी बजारीकरणमा सरकारले भूमिका खेल्नुपर्ने व्यवसायीले बताएका छन् ।

कार्यालयले सतुवा, चिराइतो, टिमुरलगायत विभिन्न जडीबुटीको पकेट क्षेत्र निर्धारण गरेर काम गरिरहेको छ । त्यस्तै किसानलाई थप प्रोत्साहन गर्नका लागि लाहाखेती विस्तारका लागि समेत काम भइरहेको कार्यालयले जनाएको छ । त्यस्तै, जडीबुटीखेती विस्तार तथा वन क्षेत्रको विकासका लागि पञ्चवर्षीय योजना भइरहेकाले त्यसमा छुटेका विषयवस्तुबारे राय सुझाव संकलन लिइएको छ ।

सहभागीले जडीबुटी उत्पादन राम्रो भए पनि भण्डारण समस्या रहेकाले त्यसतर्फ ध्यान दिनु सुझाए । यस वर्ष कार्यालयले सञ्चालनमा ल्याएका कार्यक्रमबाट छिटपुटबाहेक अपेक्षित उपलब्धि हासिल भएको जिकिर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्