सिकाइ केन्द्रमार्फत शैक्षिक गतिविधि गर्दा प्रभावकारी


विद्यालय कहिलेबाट खुल्छ ? निश्चित छैन । तसर्थ, हलेसी तुवाचुङ नगरपालिकाका ८६ वटा विद्यालयमा अध्ययनरत विद्यार्थी अन्योलमा छन् । सरकारले आगामी असार १ बाट एफएम रेडियो, टेलिभिजन र ‘अनलाइन क्लास’लगायतबाट पठनपाठन गर्न/गराउन अनुमति दिइसकेको छ ।

अमेरिकामा समेत ‘अनलाइन क्लास’ निष्प्रभावी भइरहेको समयमा नेपालका त्यो पनि ग्रामीण भेगका विद्यार्थीलाई यस विधिबाट अध्यापन गर्न/गराउन कठिनाइ रहेको दुर्छिम माध्यमिक विद्यालयमा अध्यापनरत अंग्रेजी शिक्षक नवीन चाम्लिङको बुझाइ छ । ‘तर पनि अनेक विकल्प छन्,’ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा रहेको दुर्छिम माविका शिक्षक चाम्लिङ भन्छन्, ‘वैकल्पिक माध्यमबाट पठनपाठनका साथै विद्यार्थीलाई रैथाने सीप सिकाउन सकिन्छ ।’

लोकसेवा आयोगबाट शिक्षा प्रशासन, छैटौं तह, शिक्षा अधिकृत पदमा खुला प्रतिस्पर्धामार्फत गत माघमा सिफारिस हुन सफल उनी उक्त पदको नियुक्ति नलिई शिक्षण पेसिामा रमाइरहेका छन् । दुर्छिम माविको माध्यमिक तहमा अध्यापनरत नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङ जिल्ला कार्यसमिति सदस्य ततथा प्रविधिमैत्री शिक्षक समाज खोटाङका कोषाध्यक्ष नवीन चाम्लिङसँग तुवाचुङ डटकमले गरेको अन्तर्वार्ताको सम्पादित अंश :

विद्यालय कहिलेबाट खुल्छ एकिन छैन । शिक्षामन्त्रीले असार १ बाट एफएम रेडियो, टेलिभिजन र ‘अनलाइन क्लास’लगायतबाट पठनपाठन गर्न/गराउन अनुमति दिएको छ । हलेसी तुवाचुङ नगरपालिकाका विद्यालयमा उल्लिखित माध्यमबाट पठनपाठन गराउन कत्तिको सम्भव छ ?

हाम्रो नगरपालिकाको हकमा टेलिभिजन र अनलाइन माध्यमबाट शिक्षण गर्न भोलि सम्भव होला । तर, आजको दिनमा कल्पनाबाहिरको कुरा हो । किनकि नगरका लक्षित वर्ग इन्टरनेट र टेलिभिजनको पहुँचमा छैनन् भन्दा पनि हुन्छ । यदि छन् भने पनि अत्यन्तै न्यूनमात्रै । त्यसैले यो असम्भव छ । यदि स्थानीय तहले व्यवस्थापन गर्न चाहेको खण्डमा रेडियो माध्यमबाट शिक्षण गर्न सकिएला । केही पालिकाले रेडियो माध्यमबाट शिक्षण सञ्चालन गरेको पनि हेरियो । रेडियो माध्यमद्वारा गरिने शिक्षण खासै प्रभावकारी भएको देखिएन । अब हाम्रो पालिकाको कुरा गरौं । हाम्रो पालिकामा ८६ वटा विद्यालय छन् । ती विद्यालयमा अध्ययनरत अधिकांश बलबालिकासँग रेडियो वा सेलफोन नहुन सक्छ । त्यसैले रेडियोद्वारा प्रसारण गरिने शिक्षणको प्रभावकारिता कति भन्ने प्रश्न पनि छ ।

कतिपय स्थानीय तहका विद्यालयमा अनलाइन र एफएम रेडियोबाट पठनपाठन सुरु भइसकेका छन् । हाम्रा पालिकावासी सबैको घरमा स्मार्ट फोन, ल्यापटप, रेडियो र टीभी नहुन सक्न् । त्यसो भए यो प्रविधिबाट पठनपाठन पूर्ण रूपमा सम्भव छैन होइन ?

हो । पूर्ण रूपमा सम्भव छैन ।

अमेरिकामा समेत ‘अनलाइन क्लास’ प्रभावकारी हुन सकेको छैन भन्ने सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भइरहेका छन् भने हाम्रोमा सहज हुने कुरै भएन । त्यसो भए विकल्प के हुन सक्ला ?

विकल्प नम्बर १

यदि नगरले रेडियो नभएका घरपरिवारलाई रेडियो वितरण गर्ने र अन्य व्यस्थापकीय प्रबन्ध मिलाउने हो भने एफएम रेडियो माध्यमबाट पनि पठनपाठन सञ्चालन गर्न सकिन्छ । तर, यो विधिमा शिक्षक र विद्यार्थीको अन्तरक्रिया नहुने भएकाले यसको प्रभाकारिता कम देखिएको छ । तसर्थ, रेडियोद्वारा एकोहोरो दूरशिक्षा प्रसारण गरेरमात्रै सिकाइ अर्थपूर्ण नहुने भएकाले ‘मोटिभेसन’ र ‘इभ्यालुसन’का लागि निश्चित दिन तोकेर निश्चित केन्द्रमा ‘कन्ट्याक्ट क्लास’ समेतको व्यवस्था गनुपर्छ ।

विकल्प नम्बर २

टोल–टोल वा एकभन्दा बढी टोल मिलाई छुट्टाछुट्टै इकाइ वा सिकाइ केन्द्र निर्माण गर्ने । उक्त सिकाइ केन्द्रमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालनका लागि निश्चित दिन, समय र कार्यतालिका निर्धारण गरी त्यसका आधारमा सम्बन्धित विषय शिक्षकलाई पठाउने । जस्तै : दुर्छिम माध्यमिक विद्यालयको अंग्रेजी शिक्षक म स्वयम् आइतबार दिनको ११ देखि ३ बजेसम्म रातमाते (सिकाइ केन्द्र नम्बर १) मा अंग्रेजी शिक्षण गर्न जान्छु । त्यसैअनुरूप सोमबारका दिन वानाम्ला, गणेशटार र चुमाखुसमेत मिलाई निर्धारण गरिएको अर्को सिकाइ केन्द्र (सिकाइ केन्द्र नम्बर २) मा पुग्छु ।

यसैगरी, अन्य निर्धारित सिकाइ केन्द्रमा क्रमशः जान्छु । र, त्यस सिकाइ केन्द्रअन्तर्गतका सबै तहरकक्षाका विद्यार्थीलाई अंग्रेजी विषय शिक्षण गर्छु । सबै केन्द्र पुग्न निर्धारित कार्यतालिका अनुसार एक हप्ता समय लाग्ने भएकाले पुनः सोही केन्द्र पुग्न एक हप्ता लाग्छ । त्यसैले प्रत्येक केन्द्रका विद्यार्थीलाई एक हप्ताभरिको गृहकार्य (प्रोजेक्ट वर्क) दिने । त्यसैका आधारमा मूल्यांकन पनि गर्दै जाने । तर, यो विकल्प कार्यान्वयन गर्दैगर्दा भौगोलिक विकटताका कारण पुग्न कठिन हुने सम्बन्धित बस्ती, टोलमा निश्चित मापदण्डका आधारमा निश्चित समय अवधिका लागि स्वयम्सेवक शिक्षक व्यवस्था गर्ने । कार्यान्वयन सहजताका हिसाबले माध्यमिक तह सञ्चालन भएको विद्यालयको तुलनामा आधारभूत तह सञ्चालन भएको विद्यालयको कार्यक्षेत्र सानो र सीमित हुनुका अतिरिक्त ‘कोर्स’ पनि एकीकृत पाठ्यक्रममा आधारित हुने भएकाले यो विधि आधारभूत तह सञ्चालित विद्यालयलाई कार्यान्वयन गर्न अलि सहज हुन्छ । यो विकल्प प्रयोग गर्दा शिक्षक–विद्यार्थी दुवै पक्षले कोभिड–१९ बाट बच्न अपनाउनुपर्ने सुरक्षासम्बन्धी आचारसंहिता कडाइसाथ पालना गर्नुपर्ने हुन्छ ।

विकल्प नम्बर ३

आरडीटीमा विश्वास भएन । त्यसैले स्थानीय तह सरकारको पहलमा प्रत्येक शिक्षक तथा विद्यार्थीको पीसीआर माध्यमबाट स्वास्थ्य परीक्षण गरी भौतिक दूरी कायम राख्दै पालिकाभरि न कोभिड–१९ को संक्रमणको सम्भावित अवस्थालाई दृष्टिगत गर्दै विद्यालय सञ्चालनमा ल्याउन सकिन्छ । यो विधि अवलम्बन गर्दा विद्यालय प्रवेश गर्नुअघि दैनिक प्रत्येक शिक्षक तथा विद्यार्थीको विद्यालय गेटमा ज्वरोलगायत सामान्य स्वास्थ्य चेक–जाँच गर्ने व्यवस्था मिलाउने । क्रमशः साबुनपानी र सेनिटाइजरले हात धुने व्यवस्था मिलाउने । मास्क र ग्लोब्स अनिवार्य प्रयोग गर्ने । कक्षाकोठा, शौचालय तथा विद्यालय परिसरमा प्रत्येक दिन सेनिटाइजिङको प्रबन्ध मिलाउने । प्रत्येक विद्यालयमा अनिवार्य हेल्थ डेस्क खडा गर्ने । विद्यालयमा सञ्चालन हुने हरेक क्रियाकलापमा भौतिक दूरी कायम राख्ने । उल्लिखित बुँदाको सही व्यवस्थापन र पूर्ण कार्यान्वयन गर्न सकेमा विद्यालय बिस्तारै सञ्चालनमा ल्याउन सकिन्छ ।

जस्तै : चीनले यस्तो विधिमार्फत विद्यालय सञ्चालनमा ल्याएको उदाहरण छ । अझै त्यहाँ त शिक्षक तथा विद्यार्थीलाई पर्सनल प्रोटेक्टिभ एक्वीपमेन्ट (पीपीई) समेतको व्यवस्था गरिएको छ । आजका बालबालिका भोलिका भविष्य हुन् । यसकारण बन्दाबन्दीका कारण हुने फुर्सदले उनीहरू नबिग्रिऊन् भन्ने हो । यद्यपि, जब हामी सुरक्षित अनुभूति गर्छौं तबमात्रै विद्यालय सञ्चालनमा ल्याउनु उपयुक्त हुन्छ ।

नगरले नहुने परिवारलाई रेडियो उपलब्ध गराए पनि विज्ञान र गणित विषय एफएम रेडियोबाट पढाउन अप्ठ्यारो पर्ला नि, होइन र ?
त्यो त अवश्य पनि अप्ठ्यारो पर्छ । विज्ञान र गणितमात्रै होइन, भाषा विषय शिक्षणमा समेत असजिलो पर्छ ।

नेपालमा २८ हजार ५०० सामुदायिक र ६ हजार ५०० निजी विद्यालय छन् । ग्रामीण भेगका सामुदायिक हुन् कि निजी सबैलाई पठनपाठनमा समस्या छ । त्यसो भए उनीहरूका शैक्षिक सत्र कसरी जोगाउन सकिएला ?

मैले माथि सुझाएको विकल्प कार्यान्वयन गर्न सक्दा र कोरोना महामारीले भयावह रूप नलिएको खण्डमा यसपटकको शैक्षिक सत्र अघि बढाउन सकिएला । अन्यथा शैक्षिक सत्र परिमार्जन गर्नुपर्ने देखिन्छ ।

हलेसी तुवाचुङ नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीलाई घरमै बसीबसी सक्रिय बनाउने उपाय के–के हुन सक्छन् ?

मैले सुझाएका विकल्प नम्बर १ र २ को माध्यमबाट पनि बालबालिकालाई घरमै बसेर पढाइप्रति सक्रिय बनाउन सकिन्छ । यसका अतिरिक्त अभिभावक स्वयम्ले आफ्ना बालबच्चालाई रैथाने सीप सिकाउन सक्छन् ।

जस्तै : डोको बुन्ने, हलो ताछ्ने, पिरा बुन्ने, तान बुन्ने आदि–आदि । अहिले गाउँ–गाउँ/टोल–टोलमा पढेलेखेका युवा जनशक्ति घर फर्केका छन् । ती जनशक्तिलाई पनि आफ्नै परिवार वा टोलमा सिकाइ सहजकर्ताका रूपमा उपयोग गर्न सकिन्छ । त्यस्तै भान्सामा विभिन्न परिकार बनाउने, घरायसी कामकाज, वातावरवणीय सरसफाइजस्ता काममा सहभागिताको अवसर प्रदान गर्ने गराउने ।

अहिले खेतिपातीको मौसम छ । स्थानविशेषमा अर्मपर्म गर्ने चलन छ । त्यसमा सहभागी गराउने । जसले गर्दा बालबालिकामा सहयोग, सद्भाव र थप सामाजिक भावना विकास गराउन सकिन्छ । ‘खाली दिमाग सैतानको बास’ भन्ने भनाइ प्रचलित छ । बन्दाबन्दी लम्बिँदै गएकाले फुर्सदमा रहेका भोलिको भविष्य बालबालिकालाई बर्बाद नबनाओस् । उनीहरूलाई हामीले कुनै न कुनै सकारात्मक कामकाजमा क्रियाशील बनाउन सकियो भने नै बिग्रनबाट जोगाउन सकिन्छ । वर्तमान सपार्न सकियो भनेमात्रै भविष्य ढुक्कले सप्रिन्छ ।

 

नेपालमा २ लाख शिक्षक–शिक्षिका छन् भनिन्छ । त्यसमध्ये तपाईं पनि एकजना पर्नुभयो । बन्दाबन्दी (लकडाउन)मा समय सदुपयोग कसरी गरिरहनुभएको छ ?

म एलएलबी दोस्रो वर्षको विद्यार्थी पनि हुँ । दोस्रो वर्षमा अभ्यास अदालत लेख्नुपर्छ । यही बन्दाबन्दीको अवसर पारेर उक्त कार्य भर्खरै लेखिसकें । अनि अनलाइन टिचिङ एप जस्तै स् जुम, टिम्स आदिबारे ज्ञान हासिल गरेको छु । म दिनहुँजसो शिक्षण पेसामा आबद्ध अनुभवी विज्ञ शिक्षकसँग त्यही जुम एपमार्फत पेसागत अनुभव साटासाट गर्ने गरेको छु । प्रविधिमैत्री शिक्षणबारे थप सिक्ने सुवर्ण अवसर बन्दाबन्दीलाई मानेको छु । अनि बचेको समय घरपरिवारलाई र सानोतिनो सामाजिक कार्यमा दिने गरेको छु ।

(नोट : शिक्षासम्बन्धी केही जानकारी तथा सुझाव लिन चाहनेका लागि शिक्षक नवीन चाम्लिङलाई [email protected] मा सम्पर्क गर्न सक्नुहुनेछ ।)

प्रतिक्रिया दिनुहोस्