पत्यारिला पावल


मैले यो जीवन जित्न सकिनँ
हारेर मृत्यु वरण गर्दै छु
यही अन्तिम सङ्घार हो, काट्न सकिनँ
म मुर्दा भएर शरण पर्दै छु ।

उल्लिखित पंक्ति पावल चाम्लिङ राईका हुन् । जुन गीतमा आफ्नै संगीत, स्वर रहेको छ । धेरैभन्दा धेरै यस्ता गीतमा संगीत तथा स्वर दिएर कालजयी गीत बनाउन सक्ने चाम्लिङ बहुमुखी प्रतिभाका खानी हुन् । रचना, संगीत र स्वरका मात्र धनी नभएर, धेरै गीतको म्युजिक भिडियो निर्देशनसमेत उनको उपस्थिति बाक्लै देखिन्छ ।

लोभलाग्दो खोटाङे प्रतिभाका रूपमा उनी चिनिन्छ । अन्य प्रतिभाभन्दा उनको अलग पहिचान छ । केही नयाँ पनि गरौं भन्ने सोचसाथ काममा लागिपरेका हुन्छन् ।

गायन र संगीत सिर्जनाकै लागि जन्मेका हुन् भन्न सकिने उनी सानैदेखि सांगीतिक क्षेत्रमा अनुहारिएका थिए । रेडियो नेपालको अधिराज्यव्यापी बालगीत प्रतियोगिता २०५१ मा प्रथम भएर आफ्नो क्षमता देखाएका थिए । त्यसपछि बढेको प्रयास ०५६ मा नेपाल कमर्स क्याम्पस मीनभवनमा स्ववियुको कार्यक्रम ‘पर्फम’ गर्न पाएपछि उनको सांगीतिक उचाइ हिमालसरी अग्लिँदै गयो ।

‘कोही छैन सानो दुनियाँको माझ, सबैभन्दा सानो भएछु म आज’ बोलको टुवेल अधिकारीको रचना र संगीतमा उनले सर्वप्रथम गीत रेकर्ड गराएका थिए । आफ्नो सोलो गीतिएल्बमका रूपमा आएकाहरूमा ‘आत्मा (२०६०)’, मेरो मन
(२०६२), डिसाइड (२०६४) लगायत बजारमा आएका छन् । गायिका इन्दिरा जोशीसँग गाएको रिमिक्स गीत ‘माछी मारन हो दाइ हो… आजलाई चटनी’ सर्वाधिक चर्चित बन्न सफल गीत हो ।

संगीततर्फ पनि उनको सिर्जनशीलता बढेपछि टीका चाम्लिङको रचनामा रहेको ‘वर्षौं भयो सहर आको, गाउँघरलाई छोडी, गर्दै होलान् मेरो कुरा गाउँले जोरीपारी’ शीर्षाकृत गीतको संगीत भरेका थिए । त्यसपछि समृद्धि (२०६६), सहकार्य (२०६८) र सरगम (२०६९) लगायत उनको सोलो संगीतको एल्बम सार्वजनिक भइसकेका छन् ।

डेढ/दुई सयभन्दा बढी उनले संगीत भरेका गीतमा दीप श्रेष्ठ, राजेशपायल राई, स्वरूपराज आचार्य, अन्जु पन्त, शिव परियार, दीपक लिम्बूलगायतले स्वर दिएका छन् । उनको संगीतमा रहेको कला राईको गीत ‘पान्धारे चौकी’, अन्जु पन्तको ‘आफ्ना सारा खुसीले’ आफैंलाई मन परेको संगीत हो । कला राईले यसै गीतबाट प्रसिद्धि कमाएको उनी गर्वसाथ सुनाउँछन् ।

स्वर र संगीतले मात्र उनलाई आफ्नो कर्मको धित मरेन । म्युजिक भिडियोतर्फ पनि उनको आकर्षण बढ्यो । सर्वप्रथम चोक गुरुङको स्वर र आफ्नै संगीत रहेको ‘कान्छी रे’ शीर्षाकृत गीतलाई म्युजिक भिडियोमा उतारे । म्युजिक भिडियोको सूची ४३ भन्दा माथि पुगिसकेको छ । जसमा राजेशपायल राई र अन्जु पन्तले गाएको ‘जीवनसाथी नाता यस्तो’, अन्जु पन्तले गाएको ‘गुराँसको थुँगाजस्तै’ उनलाई असाध्यै मन परेको गीत हो ।

यत्तिका संख्यामा काम गरिसकेका उनले धेरै मानसम्मान र अवार्ड हात पारिसकेका छन् । रेडियो नेपालले ०५५ मा आयोजना गरेको अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगितामा दोस्रो, ०५६ मा भएको रेडियो नेपालको अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगितामा दोस्रो, नारायणगोपाल संगीत कोषले ०५७ मा गरेको अधिराज्यव्यापी प्रतियोगितामा सान्त्वना र रेडियो नेपालले ०५७ मा गरेको अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगितामा तेस्रो भएका थिए ।

प्रतिक्रिया दिनुहोस्