स्वस्थकर किनामा


किनिमा अर्थात् किनामा कुनै पनि अन्न वा गेडागुडीलाई गलाएर तयार पारिएको बास्नादार तरकारी हो । किनामा विश्वभरिका आदिवासी जनजातिको परम्परागत खानेकुरा मानिन्छ । यो परम्परागत खानेकुरा नेपाल, भारत, भुटान, इन्डोनेसिया, थाइल्यान्ड, बर्मा, जापान, कोरिया, युरोप, अमेरिका आदि मुलुकमा बसोवास गर्ने आदिवासीले खाने गर्छन् । किनामा विभिन्न देशमा फरक–फरक सामग्रीले बनाउने र फरक–फरक तरिकाले खाने गरिन्छ । नेपालमा विशेषतः भटमासद्वारा किनामा बनाइन्छ भने अन्य मुलुकतिर उपलब्धता र प्रचलनअनुसार मकै, भटमास, जौ, गहुँ वा सिमी, बोडी आदिबाट बनाउने प्रचलन छ ।

नेपालमा भने किनामा लगभग किराती जातिमा मात्र प्रचलित देखिन्छ । पूर्वी नेपालमा बसोवास गर्ने किराती (राई, लिम्बू, सुनुवार, याक्खा, जिरेल, हायू, थामी)ले किनामा बनाउने गर्छन् । हिजोआज भने किरातीसँग घुलमिल गर्ने अन्य गैरकिरातीले समेत किनामा बनाएर खान थालेको देखिन्छ । किनामालाई किरातीले आ–आफ्ना भाषाअनुसार विभिन्न नामले सम्बोधन गर्छन् । लिम्बूले किनामालाई आफ्नो भाषामा ‘च्याम्बिघिक’ भन्छन् । लिम्बू भाषामा भटमासलाई ‘च्याम्बी’ भनिन्छ भने कुनै पनि खानेकुराको बास्नालाई ’घिक’ भनिन्छ । यही च्याम्बी र ‘घिक’ मिलाएर किनामालाई च्याम्बिघिक भनिएको हो । यसरी नै चाम्लिङ भाषामा किनामालाई खुइनह्मा भनिन्छ । यसको अर्थ बास्नादार तिहुन वा तरकारी हो । बान्तवा भाषामा भटमासलाई ‘केक्पासी’ र बास्नालाई ‘नामा’ भनिन्छ । यसरी यही ‘केक्पासी’ र ‘नामा’ मिलेर किनामा बनेको हो भन्ने भनाइ बान्तवा समुदायमा पाइन्छ । यसरी नै अन्य किराती समुदायमा पनि आ–आफ्ना भाषाअनुसार किनामालाई चिन्ने गरिन्छ ।

किनामा बनाउने तरिका

किनामालाई मुख्य तीन तरिकाले बनाइन्छ । पहिलो तरिका भटमासलाई सफा गरेर केलाउने अनि भाँडामा सफासँग उसिन्ने । यसरी राम्ररी पाकेको फुको भटमासलाई ओख्ली, ढिकी वा भाँडामै हल्का कुटेर भटमासको दानालाई टुक्राटुक्रा बनाउने । यसरी टुक्र्याएको भटमासलाई सफासँग छोपेर केही दिन गुम्साएर राख्ने । केही दिनपछि बास्नादार किनामा तयार हुन्छ । यसरी किनामालाई सुममा राख्नुपूर्व कतै–कतै थोरै खरानी त कतै–कतै मर्चाको धूलो राख्ने गरेको देखिन्छ भने कतै भने केही नराखी भटमासमात्र सुममा राख्ने गरिन्छ । अर्को तरिकाले बनाउँदा भने पहिले भटमासलाई भुटिन्छ । भुटेको भटमासलाई हल्का पिसेर टुक्राटुक्रा पारेर उसिनेर सुममा राखिन्छ । यसरी नै कतै–कतै भने भटमासलाई उसिनेर टुक्रा नपारी त्यत्तिकै सुममा राखिन्छ । र, किनामा तयार पारिन्छ ।

किनामाको फाइदा

किनामा स्वास्थ्यका हिसाबले अत्यन्त महत्वपूर्ण खाद्यसामग्री हो । सागबाट गुन्द्रुक, मुलाबाट सिन्की, अन्न वा फलफूलबाट जाँड, दूधबाट दही बनेजस्तै कुनै पनि खाद्यवस्तुको रूप, स्वरूप र स्वाद ब्याक्टेरियाबाट परिवर्तित हुने प्रक्रियाबाटै भटमासद्वारा किनामा बन्ने हो । किनामामा प्रचुर मात्रमा प्रोटिन, खनिज, भिटामिन प्राप्त गर्न सकिन्छ । यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइने हुनाले स्वास्थ्यका लागि अत्यन्तै उपयोगी खाद्यसामग्री हो । त्यसैले विश्वबजारमा किनामाको माग दिनानुदिन बढ्दो छ । कहिले किनामा नदेखेको र न खाएको मान्छेका लागि भने सुरुमा यसको बास्ना मन नपर्न सक्छ । तर, यसको महत्व बुझेका र स्वादमा पल्केकाका लागि भने किनामाको नाम सुन्नसाथ खान आतुर हुन्छन् ।

खाने तरिका

किनामालाई सुक्खा वा फुको रूपमा र च्यापच्याप र्यालका रूपमा तयार पारिन्छ । यसरी तयार भएको किनामालाई आफ्नो रुचि र स्वादअनुसार विभिन्न तरिकाले खान सकिन्छ । किनामालाई मुख्यतः तरकारी र अचारका रूपमा खाने गरिन्छ । तरकारीका रूपमा लिँदा इस्कुस, साग, गुन्द्रुक आदिसँग मिसाएर सुप, ग्रेभी वा फ्राई गरेर पनि खाने गरिन्छ भने किनामालाई मात्र पहिले फ्राई गर्ने अनि त्यसैमा झोल हालेर दाल वा ग्रेभी बनाएर खान सकिन्छ । अचारका रूपमा खाँदा पनि गोलभेंडा, अदुवा, लसुन आदिसँग मिसाएर पनि खान सकिन्छ । यसलाई मात्र पकाएर, पोलेर, पिरो अचारका रूपमा खान सकिन्छ । यसको अतिरिक्त किनामालाई आफ्नो स्वादअनुसार अनेकौं प्रकारका खानेकुरासँग मिसाएरसमेत खान सकिन्छ ।

बजारीकरण

किनामा विश्वबजारमा जताततै पाइन्छ । हङकङ, युरोप, अमेरिकाका डिपार्मेन्टल स्टोरमा यत्रतत्र किनामा किन्न पाइन्छ । विकसित देशमा किनामाको करोडौं डलरको कारोबार हुने गरेको देखिन्छ । तर, दुर्भाग्य नेपालमा भने किनामाजस्तो स्वस्थकर परम्परागत खानेकुरा लोप हुने स्थितिमा पुगिसकेको छ । यसलाई व्यस्थित तरिकाले उत्पादन र प्याकिङ गरेर विश्वबजारमा लैजान सके सालिन्दा करोडौं डलर आम्दानी गर्न सकिन्छ । अर्गानिक नेपाली भटमास र नेपाली परम्परागत खानेकुरा किनामालाई स्वयं यसका प्रयोगकर्ता र सरकारले यसलाई विश्वबजारमा पुर्याउन पहल गर्नुपर्ने देखिन्छ । यो परम्परागत नेपाली खानेकुरा हो । त्यसकारण परम्परागत मौलिक संस्कृति पनि हो । प्याज, किसमिस, काजु, ओखर, अदुवा, स्याउ, च्याउ, जाँड, रक्सी, माछा, मासु, बदाम, छोकडा आदि सुनदेखि नुनसम्म किनेर खाने नेपाल सरकार र नेपाली जनताले हङकङबाट मात्र बर्सेनि लाखौंको मर्चासमेत किनेर ल्याउने गरेको छ । नेपाली जनता र नेपाल सरकारले ती देशमा आफ्नो सामग्री बेच्न र योबारे सोच्न कहिलेदेखि थाल्ने हो ?

प्रतिक्रिया दिनुहोस्