म्युजिक भिडियोमा ‘जोडी चिन्डो’



गीतकार अगम ‘विकराल’को ‘जोडी चिन्डो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोको गीत साकेला भाकामा रहेको गीतकार विकरालले जानकारी गराए । भिडियोमा अविवाहित युवकले भर्खरै परिचित युवतीलाई आफ्नो समुदायको रीतिथिति र संस्कृतिबारे विस्तृत वर्णन गरेका छन् ।

युवकले युवतीलाई आफ्नो संस्कारअनुसार बिहे गर्ने प्रस्ताव राखेका छन् । उनले जोडी चिन्डो (वाबु)सहित किराती संस्कृतिअनुसार माग्न आउने प्रस्ताव गर्छन् । जुन संस्कार राई समुदायमा विद्यमान छ । जोडी चिन्डो र तीन चुलाको सांस्कृतिक महत्व झल्काउन म्युजिक भिडियो तयार पारिएको बताइन्छ ।

दिनेश बान्तवाको संगीत र फणीन्द्र राईको एरेन्ज रहेको जोडी चिन्डो गीतमा अशोक थुलुङको आवाज रहेको छन् । म्युजिक भिडियोमा एलिसा राई र एलिस राईले जीवन्त अभिनय गरेका छन् । सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोको छायांकन भूपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् भने निर्देशन किरण चाम्लिङको रहेको छ ।

गत वैशाखमा मात्रै गीतकार विकरालको ‘एकान्तमा’ नामक म्युजिक भिडियो सार्वजनिक भएको थियो । खोटाङको रतन्छामा जन्मेका गीतकार विकरालका यसअघि एक दर्जन गीत रेकर्ड भइसकेका छन् । ‘नसम्झिने वाचासँगै’ शीर्षाकृत गीतबाट सुगम संगीतको यात्रामा यात्रारत अगम ‘विकराल’ले सशक्त र अर्थपूर्ण उपस्थिति खोजिरहेका छन् ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्