अनुहार खोजिरहेछ रामभरोस


एक्काइसौं शताब्दीको एक दिन
लोकतन्त्रको सादा ऐनाअगाडि उभिएको
रामभरोस
अचानक आहत भयो र

चाल्र्स डार्बिनको चौथो अनुहार खोई ?
खोई एउटा मानिस पृथ्वीको ?
समयको यति लामो, क्रूर र छली यात्रामा
कतै खसेछ आफ्नो अनुहार
रामभरोस आहत भयो र
क्रोधाग्निले बलेका उसका दुई आँखा
अहिले
हिँडिरहेछ आफ्नो अनुहार खोज्न ।

पहाडको कुनै प्राथमिक विद्यालयमा पढ्ने
बालिकाले हराएको किलिप
सम्भवतः भेट्न सकिन्छ घरदेखि स्कुलसम्मको गोरेटोमा
सहरमा हराएका कुनै प्रौढ मानिस
भेटिन सक्छ– पाटीमा, प्रहरीमा, अस्पतालमा
अथवा मृत, कुनै छिँडीमा
शीतलहरले निलेको यो देहातमा
कता खोज्नु आफ्नो अनुहार ?
तर व्यग्र रामभरोस
हिँडिरहेछ आफ्नो अनुहार खोज्न ।

मधेसको यो भावरमा उसका कैयौं गतिशील पाइला
उसकै प्रचण्ड रापले पग्लिरहेछ
उसले खेलाएको माटो, खेत र पानीमा जमेको–
उसकै बाक्लो रगतले
उसको आँसुको इनार
र दुःखका आहालहरूलाई सिमसार बनाइरहेको छ
यी रूखहरूमा बारम्बार काँपिरहने हृदय
उसको हो
यो अनन्तसम्म फैलिएको सपनाको क्षितिज
र सभ्यताको मैदान उसको हो
तर अहँ कहीं छैन उसको अनुहार
यौटा श्रापित भूमिझैं यस उष्णप्रदेशमा
धानको लहलाउँदो बाला नयाँ चौधरी भएर
मुस्कुराइरहेको छ
तोरीको लर्किएको फूल नयाँ जमिनदार भएर
मुस्कुराइरहेको छ
उसलाई थाहा छ– त्यो अनुहार उसको होइन
पर…
गइरहेको बयलगाडामा को छ ?
को छ त्यहाँ ?
हे¥यो उसले, तर छैन अनुहार
प्रत्येक सूर्योदयदेखि सूर्यास्तसम्म
मात्रै बयलगाडा
गइरहेछ–गइरहेछ ।

एक्काइसौं शताब्दीको एक दिन
लोकतन्त्रको सादा ऐनाअगाडि उभिएको
रामभरोस
अचानक स्तब्ध भयो !
कहाँ खस्यो मेरो अनुहार ?
औलोसित जुझ्दाजुझ्दै खस्न सक्छ अनुहार
ऊ इतिहासको घना जंगलहरूमा पस्न खोजिरहेछ
बाढीसित जुझ्दाजुझ्दै खस्न सक्छ अनुहार
ऊ वर्तमानका नदी र खोलाका मुहानहरूलाई सोध्न खोजिरहेछ
मालिस गर्दागर्दै
मालिकका पिठ्यूँहरूमा खस्न सक्छ अनुहार
उसलाई मानिससित बात गर्नु छ
लोकतन्त्रको सादा ऐनाअघि उभिएर रामभरोस
अहिले,
खोज्दै छ आफ्नो अनुहार ।

अचम्म !
जन्मौंजन्म कमैया बस्नेहरूसँग छैन आफ्नो अनुहार
अचम्म !
जन्मौंजन्म कमलरी बस्नेहरूसँग छैन आफ्नो अनुहार
अचम्म !
जन्मौंजन्म बदिनी हुनेहरूसँग छैन आफ्नो अनुहार
लौ यो के भयो ?
कहाँ हराए यहाँका यी मेरा प्रियजनहरूले आफ्नो अनुहार
रामभरोस हैरान भयो !

यो सगरमाथाको फेदीमा
उसले छिचोलेका दुःखका बाक्ला डोबहरू
जहींकहीं छन्
हलिया, कुल्ली वा कामदार भएर गुजारेका
अत्यासलाग्दा युगका जिउँदा विम्बहरू
जहींकहीं छन्
तर छैन उसको अनुहार
र ऊ खोजिरहेछ त्यो अनुहार

एक्काइसौं शताब्दीको एक दिन
लोकतन्त्रको सादा ऐनाअगाडि उभिएको
रामभरोसले
अचानक ऐनाभरि देख्यो–
आफूजस्तै अनुहार हराएका लाखौंलाख
रामभरोसहरू
रामभरोस उत्तेजित भयो र

उसले छाम्यो रङ फागुको
तर देखिएन कुनै रङमा उसको अनुहार
उसले पियो रङ माघीको
तर भेटिएन कुनै गीतमा उसको अनुहार
नजिकै
आकाश छोएर उभिएका पहाडका
अहम्हरूलाई कुल्चिँदै
क्रोधाग्निले बलेका दुई आँखा लिएर
लोकतन्त्रको सादा ऐनाअगाडि उत्तेजित
रामभरोस
मेरासामु उभियो र भन्यो मलाई–

‘ए, कवि !
मैले फालें तिम्रो प्रिय कविलाई
मैले टुक्र्याएँ तिम्रो प्रिय कविको सालिकलाई
बुख्याँचाझैं मेरासामु कसले उभ्यायो तिम्रो कविलाई ?
ए कवि !
जुन दिन उभियो तिम्रो कवि
त्यही दिन हराएँछु मेरो अनुहार !
ए कवि ! ए नयाँ कवि !
खोज मेरो अनुहार तिमी तिम्रो कवितामा
आजै खोज र अहिल्यै खोज !
अनि राखूँला तिम्रो सालिक मेरो ह्दयमा ।’

एक्काइसौं शताब्दीको एक दिन
लोकतन्त्रको सादा ऐनाअगाडि उभिएको
रामभरोस
अचानक मानिस भयो !
लोकतन्त्रको सादा ऐनापछाडि उभिएको नयाँ
कवि म
अचानक सालिक भएँ !

प्रतिक्रिया दिनुहोस्