निमोनिया पत्ता लगाउने ‘ज्याकेट’



निमोनिया प्राणघातक रोग होइन । तर, समयमा थाहा पाउन र उपचार गर्न सकिएन भने बिरामीको ज्यान जान सक्छ ।

नेपालका ग्रामीणमात्रै होइन, सहरका बालबालिका सालिन्दा निमोनियाबाट बिरामी हुन्छन् । कतिपयले त ज्यान गुमाउँछन् ।

निमोनियाबाट बालबालिका र बूढाबूढी धेरै प्रभावित हुन्छन् । यसकै कारण अफ्रिकी मुलुक युगान्डामा सालिन्दा २७ हजार बालबालिकाको ज्यान जान्छ । त्यहाँ निमोनियालाई मलेरिया भनेर गलत उपचार गरिने भएकाले बाल मृत्युदर धेरै हुने बताइन्छ ।

रोगको सही पहिचान र औषधोपचार हुन सकोस् भने युगान्डाका इन्जिनियर ब्रायन तुर्याबाग्याले बायोमेडिकल ‘स्मार्ट ज्याकेट’ निर्माण गरेका छन् । ज्याकेटले तत्कालै निमोनिया भए नभएको पत्ता लगाउँछ । मामाओपे नामको सो ज्याकेटले बिरामीको तापक्रम र श्वासप्रश्वासको गति नाप्छ ।

यो ज्याकेटले डाक्टरभन्दा तीनदेखि चारगुणा छिटो निमोनिया पत्ता लगाउँछ । ज्याकेटले निमोनियालाई मलेरिया भनेर गल्ती पनि गर्दैन । यो ज्याकेटमा विशेषखालको स्टेथेस्कोप राखिएको हुन्छ । स्टेथेस्कोप र मोबाइल फोनको एप्सबीच कनेक्सन गरिएको हुन्छ ।

ज्याकेटले बिरामीको तापक्रम र श्वासप्रश्वासको अडियो रेकर्ड गर्छ । अडियो सुनेर विश्लेषण गर्न सकिन्छ । निमोनिया पत्ता लगाउने ज्याकेट सन् २०१७ मा रोयल एकेडेमी अफ इन्जिनियरिङ अफ्रिका प्राइजमा सूचीकृत भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्