घोमपाल



ए, घोमपाल
कहाँ गयो त्यो सरस बचपनको
स्वप्नमय सुन्दर संसार
अचेल कुन दुःखको गाउँमा छौ ?
माछालाई माझीको नयाँ जालजस्तै
प्रत्येक साल माघीमा नयाँ जिम्दार फेर्दै
बुढान पुग्यौ कि
अझै दाङमा छौ ?
अथवा पुस्ता दरपुस्ता
तिम्रा पितापुर्खाहरूझैं बँधुवा भएर
आजीवन एउटै मालिकका घर
कुन उत्पीडनको खुला कारागारमा छौ ?
घोमपाल,
कसरी बित्यो पल क्षणमै
बालपनको त्यो सजीव संसार
अचेल कुन सास्तीको ठाउँमा छौ ?

एकझर घामपानी ओत्ने घर
एकहल जोत्ने बहर गोरुको रहर
र, एकपेट खान पुग्ने खेतिपातीको मृगतृष्णालाई
मन्दविषजस्तै भ्रमका आशाहरूले
मलजल गरेर
असंख्य दुःखी मनहरूभित्र
एक्लाएक्लै हुर्किरहेका सुखका एकांकी सपनाजस्तै
तिम्रो एक्लो र असंगठित सपना पनि
तासको हावामहलझैं
भत्किसक्यो कि अझै बाँकी छ, घोमपाल ?

जमाना बदलिसक्यो
जमानासँगसँगै
पुराना जिम्दारहरू पनि बदलिए
अचेल नयाँ जिम्दारहरूले लिएका छन्
कमैया–मुक्तिको नयाँ जिम्मा
र, बाँडिरहेछन् तिमीलाई
मुक्ति र समानताका राता लालपुर्जाहरू
र, बाँधिरहेछन् फेरि
दासताका नयाँ साङ्लाहरूले
तिनकै प्रायोजित सभा र जुलुसहरूमा
मुठ्ठीहरू कसेर
मुक्ति र समानताका नाराहरू लाउँदा
मुक्तिको अर्थ
मालिकहरूसँग जुलुसमा हिँड्ने
एकदिनको छुट्टी बुझ्यौ कि
समानताको अर्थ
कमैयाको छोराले जिम्दारहरूसित
एउटै मञ्चमा भाषण गर्न पाउने सौभाग्य बुझ्यौ, घोमपाल ?

यतिखेर
चिसो हिउँ पनि पगालेर
फुलिरहेछन् आगोका राता फिलिङ्गाहरू
वसन्तको मेघ गर्जनसँगै
दगुरिरहेछन् सन्देशवाहकहरूझैं
लेकमाथि भुइँकुहिरो र
गामबेंसीमा ताता हुरी र बतासहरू
आकाश सफा छ
तर धर्तीमा विजुली चम्किरहेछ
र, गाइरहेछ आँधीले
हिमालको काखमुन्तिर
एउटा नयाँ झन्झावात्को मीठो गीत
घोमपाल, कहिले भर्छौ
त्यस गीतमा जागृतिको झन् मीठो संगीत भर
अँध्यारो फाटिसक्यो
तर तिम्रो भने उस्तै अँध्यारै छ
घोमपाल कहिले लाग्छ
भ्रमको बाक्लो तुँवालो फाटेर
तिम्रो आङमा चेतनाको उज्यालो घाम, भन ?
अझै पनि दास र उदास तिमी
युगीन दासताको नयाँ साङ्लोलाई चुँडालेर
घोमपाल, कहिले बन्छौ
अब आफ्नो जिन्दगीको आफैं हकदार, भन ?

प्रतिक्रिया दिनुहोस्