टुहुरो कुण्डलीको शल्यक्रिया



नेपाली उपन्यास जगत्मा एउटा नयाँ तारा उदाएको छ । उपन्यासकार भीष्मराज फुलाराको कारुणिक उपन्यास ‘टुहुरो कुण्डली’ पाठकको हातमा आएको छ । यो उपन्यास नयाँ सम्प्रेषण हो, उपन्यास क्षेत्रमा । आजको युवामा संवेदनाको अनुभूति हुनु नै उज्यालोको क्षितिज उघ्रनु हो । करुणा र अरुणमा सायद तादात्म्य छ । युवा मन र मस्तिष्कको संवेदनाले उज्यालो इंगित गर्छ । नेपालको सूर्य अस्ताउने क्षेत्रबाट नयाँ किरण उदाएको छ, साहित्यमा । सुदूरपश्चिमको पहिचान झल्किने, संस्कृतिको ज्ञान र सामाजिक चालचलनको चित्र ढल्किने यो उपन्यासभित्र भएका दार्शनिक एवम् व्यावहारिक चित्रणले अन्वेषणमा पनि सघाउन सक्छन् ।

नेपाली उपन्यासमा प्रायः सहरी र खानदानी समाजको चित्रांकन गर्ने परम्परालाई तोडेर बाहिर ग्रामीण परिवेशको यथार्थ चित्र खिचेर उपन्यासकार फुलाराले सत्यको खोजीमा यथार्थवादी बाटो लिएका छन् । उपन्यास कारुणिक भए पनि रोमाञ्चक छ । नयाँ शैलीको प्रस्तुतिले आधुनिक युगका पाठकलाई नयाँ स्वाद दिन्छ । नेपाली परिवेश एकपटक आँखामा ल्याएर मुटुसम्म छिचोल्न सफल छ । युवा उपन्यासकारमा हुनुपर्ने गुण राम्रै ज्ञान भएकैले होला स–साना परिघटना, उपघटनाले जीवन्तता दिएको देखिन्छ । समाजलाई, मानवतालाई र सौन्दर्यचेतनालाई झकझकाउने वातावरणले केही सोच्न बाध्य गराउँछ । नियति र मानवनियतको अभिव्यक्तिमै घुमेको यो उपन्यास एकपटक पढेर पुग्दैन । अनेकौं पहलमा चिन्तन गर्न पटक–पटक उपन्यासका पाना पल्टाउनु जरुरी छ । यस अर्थमा उपन्यासकारको कारुणिक उपन्यास टुहुरो कुण्डली सफल कृति हो । पश्चिमी नेपालको चित्र शब्दचित्रमा दुरुस्त छ । शब्दचित्रले अवस्थाको अनुभूति नजिकबाट गराउँछन् ।

पात्रअनुसार भाषा पनि यथार्थ नै छ । आञ्चलिक तथा अलौकिक भाषाशैलीको छनक देखिन्छ । सरल भाषाले उपन्यास अगाडि बढ्छ कौतूहलसाथ । पढ्दा भावभित्र लैजान्छन् र पढेजस्तो हैन आफैं प्रवाहित हुन थाल्छ । दृश्यमा अवस्थामा पुगिन्छ र नजिकबाट करुणाले आँखा रसाउँछन् । करुणामय रसले ओतप्रोत भई गरिएको यो उपन्यास कारुणिक उपन्यास हो ।

यो उपन्यासले पश्चिमी नेपालको संस्कृति, समाज र वातावरणको राम्रो चित्रण गरेको छ । उपन्यासकार भावुक भई भावगंगामा पौडिरहेका देखिन्छन् । मानवीय संवेदनालाई राम्ररी नियालेर पाठकलाई मन छुँदै जीवन सोच्न बाध्य गराउँछन् । भावनाको लहर हिजोआज धेरै सहरिया युवकयुवतीले गुमाइसकेका छन् । नकरात्मक सोच र विस्फोटकमै ती पछि दगुरिरहेका छन् । तर, यी उपन्यासकार भने बुझक्कड र समाजलाई केही दिन खोज्ने चिन्तनमा व्यस्त देखिन्छन् । दुःख, पीडामा अभ्यस्त छन् । आफ्नै दुःखद, पीडादायी परिस्थितिबाट उन्मुक्ति लिँदै जीवनमा जुन चेतना लिनुपथ्र्याे, त्यसलाई आत्मसात् गरेको प्रस्ट बुझिन्छ । कथा आफ्नै घरपरिवार, समाज, संस्कृति, चालचलन, भेषभूषा र मूल्यमान्यताभित्रै घुमेको छ । प्रशवास्थादेखि अन्तिम संस्कार र शोक शौक झेलिएको व्यथाको कथा आँखामा झलझली दृश्य खिचिएको छ । यसको साथै पश्चिमी नेपालको रुढीवादी, विकट गाउँले परिवेश, संस्कृति, समाज र भौगोलिक वातावरणको पर्दाफास गरेको देखिन्छ । आजको युगमा आएर पनि युगीन चेतना गुमाएका सहरी युवकयुवतीको तुलनामा उपन्यासकार शब्दचित्रमा उनको बुनाइ दुश्यले करुणा उत्पन्न गर्दै मानिसलाई मानिस हुने भित्री दिशानिर्देश गर्न सफल छन् ।

पुराना नेपाली उपन्यासको इतिहास बीसौं शताब्दीको मध्यदेखि शिर देखाउन थाले पनि आधुनिक उपन्यासको अनुहार रुद्रराज पाण्डेको रुपमती (१९९१) नै हो । यथार्थवादीमा नायक भए लैनसिंह वाङ्देल २००४ देखि नै र उनी लंगडाको साथी २००६ सम्म पुगे । पश्चिमबाटै सूर्य उदाए सडक बहादुर सिंहको विद्रोह । लीला धवजको लहर मन, लीलबहादुर क्षेत्रीको बसाइँले, तुलसीराम कुँवरको रने, दौलतविक्रमको चपाइएका अनुहार उल्लेख्य रहे । अलि नयाँपारामा यौनमनोविज्ञानमा आधारित उपन्यास आए । विजय मल्लको अनुराधा (२०१८), पछि त विश्वेश्वरप्रसाद कोइरालाका एक से एक उपन्यास आए । तीन घुम्ती, नरेन्द्र दाइ र सुम्मिनाजस्ता कृतिहरू साहित्यमा उदाए । पारिजातको बेजोड उपन्यास शिरीषको फूल (२०२२)ले उच्चता प्राप्त ग¥यो । धु्रवचन्द्र अलि अघि नै ऐतिहासिकमा डायमनशमशेर राणा आए पनि सेतो बाघ (२०३०)ले नेपाली उपन्यासमा तहल्का मच्याएका हुन् ।

आजको युगमा उपन्यासको लहर बढेको छ । नेपाली उपन्यास क्षेत्रमा नीलो चोली, सुली र रक्तकुण्डजस्ता उपन्यास पनि देखिए र हराए । केशवराज पिँडालीको एकादेशकी महारानी, डोरबहादुर विष्टको सोताला निकै अगाडि आए । महिला उपन्यासकारमा शोभा भट्टराईको अन्त्यहीन अन्त्य (अनुभवन्यास २०५७) उत्तर आधुनिकतावादी प्रवृत्तिमा उत्कृष्ट छ । अर्काे राधा पौडेलको खलंगामा हमला डायरीका प्रवृत्तिमा उत्कृष्ट छ । पौडेलको खलंगामा हमला दायरीका रूपमा सन् २०१३ मा सर्वथा नवीन ढाँचामा छ । शाश्वत चिन्तन र मानवका उत्कण्ठा, पीडा, जासदिया नारीकै उद्वोधन पठनीय छ । तर, आधुनिक नयाँ थुप्रै उपन्यासमा यो शाश्वत रूप कमै भएकाले ती सानो परिवेशमा नै घुमेको देखिन्छ । नेपाली कतिपय उपन्यास उल्था भएमा विश्वबजारमा जान सक्ने भए पनि यही धरातलमा घुमिरहेका छन् । विदेशी उपन्यास नेपाली अनुवाद भएको तुलनामा नेपाली उपन्यास कमै मात्रामा छन् । उपन्यासकारको टुहुरो कुण्डली पनि उल्था हुनुपर्छ, यसले नेपाली समाज संस्कृति र प्रवृत्तिको केही झल्को विश्वबजारलाई दिनेछ ।

आजको युगमा उपन्यासको लहर बढेको बेला सस्तो प्रचारमुखी उपन्यासले बजार ढाकेको बेला उनको उपन्यासले फूलको ठूलो माला नै पाउला म भन्दिनँ तर पनि यो उपन्यासले पक्कै पनि अस्तित्व कायम गर्नेछ । यथार्थवादी धारको यो उपन्यास पूर्णतया नयाँ देख्दै छु । युवा लेखकमा यो भाव आत्मसात् गरेर लिपिबद्ध हुनु आफैंमा महत्व राख्छ । आतंककारीको ताण्डव नृत्य जनक्रान्तिमा परिणत हुँदै संवेदना हराएको बेला हामी बाँचेका आजका मान्छेमा यसले कति दुखाउला र चेतना भर्ला, त्यो आफ्नो ठाउँमा छ । तर, मान्छेकै मुटु बोक्नेले जीवनलाई नजिकबाट नियालेर सुन्दर जीवन जिउन समय परिमार्जन र उत्थानकार्य मानवमात्रको हृदयमा कोमलता फर्काउन सके ठूलो उपलब्धि हुनेछ र उपन्यासको सार्थकता रहनेछ । करुणबाट करुणा जागेर सत्मार्गमा लागेर समाज सङ्लियो भने साँच्चै यो उपन्यासलाई फूलको माला फुलारालाई पहिराए हुन्छ ।

करुणा भन्नु नै प्रेतपीडा देख्दै छु । यो उपन्यासमा जतासुकै यही पीडाले प्रेत जन्माएको छ र मान्छे यसबाट मुक्ति चाहन्छ टुहुरो कुण्डली उपन्यासको भित्री भाव पीडाबाट मुक्ति हुनु नै हो । पीडा नै प्रेत हो । त्यसैले यसको मूलसार पनि प्रेतमुक्ति नै देख्छ । हीराले हीरा लाहाले लाहा काट्छ भनेझैं करुणाले करुणा जन्माउँछ । यो नै प्रेतमुक्तिको उपदेयता हो । मान्छेको मन मस्तिष्क यही पीडाको प्रोत वा प्रेतको पीडा छ जताततै, यसले नै सबैलाई टुहुरो पारेको छ । मरण हुनुमात्र होइन, हरण हुनु, शोकमात्र होइन भोक सन्तुष्टि नहुनु यी सबै टुहुरोपनको आभास हो । प्रेमको कुण्ड नै कसरी जीवनमा पापमा परिणत हुन्छ । प्रकृतिको आफ्नो लय छ, धुन छ र परिवर्तनको नियमित आकस्मिकतामा रुमल्लिएको छ । सवाल आउँछ, मान्छे किन टुहुरो बन्छ ? के कुण्डली नै जाली छ ? अथवा यसको जागृतिले सहस्र प्रवाहमा उडाएको छ ?

उपन्यासकारको टुहुरो कुण्डलीले जीवनका अनेकौं पीडाका प्रेतलाई मुक्ति दिन खोजेको छ । आपत्ति एक्लै आउन्न भनेझैं एकपछि अर्काे करुणावशले मन क्षतविक्षत पार्छन् र मानिसलाई उज्यालो बाटोमा हिँड्न सिकाउँछन् । उपन्यासमा कालको दर्शन छ, जीवन सचेत गराउँछन् । मान्छेलाई कस्तोसम्म पर्छ ? पीडाभित्रको स्नेह, वात्सल्यको उत्कृष्ट प्रस्तुति छ । यस उपन्यासमा शीर्षकसहितका भाग छन् । सबै आफैंमा र समष्टिमा पनि पूर्ण छन् । उनले आफ्नो उपन्यासमा सामाजिक चित्र घटना उपघटनाका रूपमा उद्घाटन गरेका छन् । अन्धविश्वास र यसभित्रको विश्वास, विश्वासभित्रका वैज्ञानिक विश्वासका नेपाली परम्परा र संस्कृतिका पारा पुराना र नयाँको संक्रमणमा द्वन्द्व आक्रमण धैर्यतापूर्वक चित्रण गर्दै सुसम्य ढंगमा उपन्यास प्रवाहित छ ।

पिछडिएको समाजमा पीडाका चित्र दृश्य जस्ताको त्यस्तै रूपमा धैर्यसाथ उधिनिएका छन् । पीडा यहाँ बढी शिक्षित यो उपन्यास शोक काव्यजस्तो भए पनि दार्शनिक पक्षले आकर्षक लाग्छन् । प्रारम्भदेखि धेरै पछिसम्म शोकावस्था आँखामा नाच्दै भित्री रूपमा उपन्यासकार कौतूहल पस्कँदै पात्रको विचित्र चित्र पण्डितदेखि ज्योतिषीसम्म उतारेर नेपाली नारीको पीडा एवम् गरिबीका गथासा पोख्दै उपन्यासलाई यथार्थको पराकाष्टामा पुर्याएका छन् । उपन्यासकारको उपन्यास जन्मदै तीनपाते भनेझंै लक्ष्य पूरा गर्न सफल छन् । यति राम्रो प्रतिभा यस उपन्यासको प्रमाणसहित उनी नेपाली साहित्यमा फुलेका छन् ।

प्रतिक्रिया दिनुहोस्