तोस् पूजा : पिल्मोको मौलिकता झल्काउने महाचाड



किरात पिल्मो राई समाजले भूमि अर्थात् प्रकृति र पितृ दुवैलाई एकै समयमा सामूहिक रूपमा पुजिने आराध्य देवको नाम तोस् हो । पिल्मो समाजले विधिविधानसाथ विशेष महत्व दिएर तोस् पूजाअर्चना, वन्दना अथवा पुज्ने गर्छन् । जुन विधि–विधानसाथ पुजिने तोस् पूजाले पिल्मो समुदायको सांस्कृतिक र धार्मिक मूल्य र मान्यतालाई उच्च स्थानमा राख्ने गर्छ । प्रकृति र पितृको पूजालाई पिल्मो राई समाजले आफ्नो मौलिक भाषामा तोस् भन्ने गर्छन् । नेपाली भाषामा तोस् शब्दको मिल्दोजुल्दो अर्थ भन्ने हो भने भूमेपूजा भन्न सकिन्छ । किरात पिल्मो जातिमा प्रकृति र पितृको पूजाअर्चना नै एक ठूलो धार्मिक र अध्यात्मिक अनुष्ठान हो । धर्ती र पितृसँग बल अर्थात् शक्ति र यश माग्न तोस् पूजा गर्ने आदिमकालदेखि चलिआएको पिल्मो जातिको सांस्कृतिक र धार्मिक परम्परा हो ।

विशेषगरी मानिसले प्रकृति र पितृको पूजा–आराधना गर्नाले सबै प्रकारको सुख समृद्धि, यश, शक्ति, अन्नबाली साथै पालुवा वस्तुको सह, रोगब्याधि नलाग्ने र दीर्घायु हुने साथै सबै प्रकारका भौतिक अनि मानसिक समृद्धि प्राप्त हुन्छ भन्ने पिल्मो राई समाजको पारम्परिक विश्वास रहेको छ । तोस् पूजा–अर्चनामा मकै उसिनेको बिड़ौंला (वाक्पुम), अदुवा (बिछु), सुकाएको सिकार (छोर्सा) र बलि (छिदाम) अनिवार्य चढाउनुपर्छ । पिल्मो राई समाजले प्रकृति अनि पितृसँग सबै प्रकारको शक्ति माग्ने मूल माध्यममध्येको तोस् पूजा–आराधना पनि एक हो । तोस् पूजा पिल्मो जातिको सबैभन्दा मुख्य र भव्य रूपमा मनाइने सामाजिक चाड एवं सांस्कृतिक र धार्मिक अनुष्ठान हो । आदिमकालदेखि तोस् पूजाको दिन समस्त गाउँले पूर्ण रूपले सहभागी हुने र सामाजिकस्तरमा मान्ने परम्परा जीवन्त रूपमा पिल्मो जातिमा चलिआएको छ । तोस्खम् (भूमेथान)भित्र वयस्क स्त्रीलाई पस्न वर्जित गरिन्छ । यो पूजामा अनिवार्य रूपमा भैंसीको सिङ (पुङ) र झ्याम्टा (हर्गेल) बजाएर सबै गाउँले तोस्खम्वरिपरि सांस्कृतिक नृत्य गर्छन्, जुन नाचलाई तोस् सिल भन्छन् ।

तोस् पूजा किरात पिल्मो जातिको महान् चाड हो, जसले इतिहास, सभ्यता, संस्कृति, आस्था र मौलिकता बोकेको छ । तोस् पूजा पिल्मोको मौलिकता स्पस्ट झल्काउने एक महाचाड हो । पूजाको दिन र भोलिपल्ट सामाजिक रूपमा सारा गाउँमा बारीभित्रको सबै कामका साथै मेलापात अनिवार्य रूपमा वर्जित हुन्छ । तोस् पूजा गर्न उनीहरूले चोखो स्थानमा स्थायी रूपमा प्रयोग गरिने तोस्खम् (तोस् स्थान अथवा भूमेथान) स्थापना गर्छन् । उनीहरूले एक वर्षमा तीनपटक विधिवत् रूपले तोस् पूजा गर्छन् । १. असोजमा (खान्दिरी ला)– थोतोस्जा/बुङ्तोस्, २. चैतमा (हाल्स् ला)– फुर्त तोस्या/उतोस्/बान्छर्, ३. जेठमा (लिल् ला) चाप्बेइ तोस् । तोस् पूजा पूर्णे छेका पारेर सोमबार अथवा बिहीबारमात्र गरिन्छ । अन्य दिन र औंसी छेका भने तोस् पुज्नु अशुभ मानिन्छ । तोस्लाई पिल्मो भाषामा चारितोस् पनि भनिन्छ । तीनै तोस् पूजाका आफ्नै विषेशता छन् । यसले उनीहरूको प्रकृतिसँगको घनिष्ठ आपसी सम्बन्धको संकेत गर्छ । साथै पितृप्रतिको असीम श्रद्धा पनि जनाउँछ । आदिमकालमा तोस्खम् खप्दुलुले स्थापना गरेको विश्वास गरिएको छ । त्यसलाई पूजा गर्न सबैभन्दा पहिले तोस्खम् (तोस् स्थान) प्रतिपादित गर्ने आदिम पुर्खा छाम्पानाम् थिए भनेर जानकार बुज्रुकहरू सृष्टिको इतिहास बताउँछन् । तर समयचक्रको गति, आधुनिकताको ताप र हिजोआजको मानसिकता परिवर्तन भएकाले सक्कली इतिहास विलुप्त हुँदै गएको हो । पिल्मोको उँधौली बुल् (सावन) महिनादेखि सुरु हुन्छ । पिल्मो भाषा (इरिङ्)मा छेकुनाम् दोनाम् भनिन्छ अनि उँभौली लोनाप्पा (माघ)देखि सुरु हुन्छ । पिल्मो भाषा (इरिङ्)मा बुकुनाम् किमुनाम् भन्छ । संवत् अथवा नयाँ वर्ष खान्दिरी (असोज) मा बदलिन्छ । यो समयलाई पिल्मो भाषा (इरिङ्)मा खान्दिरिपी दोङ् फाये भनिन्छ । पिल्मो जातिमा तोस्, पितृकार्य, पूजाआजा साथै कुनै कार्य विधिवत् रूपले गर्दा समय बयान नगरी हुँदैन । समयको पुकारा नितान्त आवश्यक हुन्छ । त्यसैले पिल्मो जातिका बुज्रुकले आफ्नो भाषाको समयचक्रको नाम ध्यानपूर्वक थाहा गरिराख्छन् ।

आदिमकालमा प्रतिस्थापित गरिएको तोस्खम् देतेलमा अवस्थित तोस्खम् हो, जो अहिले साझा तोस्खम् रहेको छ भनेर पिल्मो जातिका जानकार पुर्खाहरू बताउँछन् । तत्पश्चात् चोङ्किदोमा स्थापित गरिएको थियो । देतेल र चोङ्किदोमा स्थापित तोस्खम् छाम्पानामको मृत्युपश्चात् पिल्मो जातिको थोप् नामक पुर्खाले पुज्ने गरेको इतिहास आजका पुर्खाहरू बताउँछन् । किरातकालमा थोप् देतेलबाट बसाइँ सरेर साध्दीको देनाम बसोवास गर्न पुगेको थियो । साध्दीको देनाममा बसोवास गर्दा थोपले देतेल् र चोङ्किदोमा अवस्थित दुवै तोस् एकैदिन पुज्ने गथ्र्याे । थोप् पुर्खाले पुनः आफ्नो वासस्थान परिवर्तन गर्दा साध्दीको देनामबाट हुङ्ग्योउ (हुङ्गाखोला)पारि नाम्लु पुगेका थिए । नाम्लु नामाकरण थोपले नै गरेका थिए भनेर जानकार पुर्खा बताउँछन् । तोस् पुज्ने समयमा थोप् नाम्लुबाट देतेल् पुग्ने गर्थे, जो पिल्मो जातिको एकमात्र तोस् पुजारी (तोस् नोक्छो) थिए ।

समय बित्दै जाँदा हुङ्ग्योउ (हुङ्गाखोला)को पानी बग्ने किनारको जमिन खिएर खोला खहरिएर साँघुरियो र जँघार तरेर खोला वारपार गर्न सम्भव भएन । हुङ्ग्योउ (हुङ्गाखोला) साँघुरिएर जँघार तर्न नसक्ने भएपछि वारिको मानिस वारि पारिको मानिस पारि हुनु पुगे । प्राकृतिक कारणले पिल्मो समाज दुई इलाकामा छुट्टिन बाध्या बन्यो । त्यस घटनापछि देतेल् र चोङ्किदोमा प्रतिस्थापित तोस्खम् पुगेर तोस् पूजा गर्न थोप् असमर्थ हुन पुग्यो । हुङ्ग्योउ (हुङ्गाखोला) साँघुरिएर तर्न नसकेको घटनाले दाजुभाइ वारिको वारि र पारिको पारि हुन पुगेपछि आपसमा भेट हुन सकेन । थोप् पुर्खा समस्त पिल्मो जातिको तोस् नोक्छो (तोस् पुजारी) भएकाले तत्पश्चात् थोपले नाम्लु पुच्छरमा तोस्खम् स्थापना गरेर पुज्ने सुरुवात गरेको थियो । एउटा चाखलाग्दो ऐतिहासिक कहानीअनुसार थोप् छुट्टिएर नाम्लु जाने समयमा छाम्पानाम् पिल्मो जातिको आदिम पुर्खाले निर्माण गरेर पुजेको एक जोडी सेकपुङ् (अर्नाको सिङबाट बनाएको पुङ)मध्ये एउटा देतेलमा पिल्मोवास्लाई दिएर एउटा नाम्लु थोप् पिल्मोको तोस् नोक्छो पुर्खाले हिस्सास्वरूप लगे । त्यही पुङ् होछासोले चोचोलु लगेर तोस् पुज्न थाले । समय बित्दै पुस्तान्तरण हुँदै जाँदा नाम्लु पुछारमा स्थापित तोस्खम् नाम्लु डाँडामा सार्ने सामाजिक निर्णय भएर त्यसताकाका नाम्लुवासी पुर्खाले तोस्खम् सार्यो । थोप्को सन्तान आपसमा विभाजन हुँदा एक भाइको सन्तान (होछासोका सन्तान) नाम्लुबाट बसाइँ सरेर चोचोलु पुगेको थियो । नाम्लुबाट चोचोलु बसोवास गर्न पुगेको वंशले चोचोलुमा तोस्खम् स्थापना गरेर देउराम थरको नोक्छो (तोस् पुजारी)ले पुज्न सुरुवात गरेको थियो । चोचोलुमा स्थापित तोस् वर्तमान अवस्थासम्म पुज्दै आइरहेको छ । नाम्लु डाँडामा अवस्थित तोस्खम् पहिरोका कारणले पुनः स्थानान्तर गरेर वास्दोवाको देवामा प्रतिस्थापित गरेको छ । जुन तोस्खम् आजपर्यन्त पुजिरहेको छ । नाम्लु पुछारमा तोस्खम् स्थापित गरिएको समयमा उसको रोक्थुमा पनि तोस्खम् स्थापित गरिएको थियो । वास्दोवा र रोक्थु दुवै स्थानको तोस्खम् एकै दिनमा नाम्लुको तोस् नोक्छोले नै पुज्ने सांस्कृतिक परम्परा आजसम्म चलिआएको छ । बिहान नाम्लुमा पुजेर बेलुकी रोक्थुमा पुज्ने पिल्मो जातिको सांस्कृतिक परम्परा छ । चोचोलुमा पुजिने तोस्खम् पुजारीको मृत्युपश्चात् मृतक पुजारीका नाममा एउटा चेप्टो लामो ढुंगा ठड्याउने प्रचलन रहिआएको छ । ठड्याउने गरिएको ढुंगाको गन्तीबाट अहिलेसम्म कति जना चोचोलुका तोस् नोक्छो (पुजारी) संसारबाट देह त्यागेर परलोक परमधाम गए भन्ने स्पष्ट बुझ्न सकिन्छ ।

ठड्याउने गरिएको ढुंगा एक सांकेतिक रूपमा तोस् पुजारीको सम्मान साथै धेरै अर्थ लाग्ने पारम्परिक मौलिक सभ्यताको बहुमूल्य प्रतीक हो । धेरै वर्ष पहिला चोचोलुबाट देउराम थरका पुर्खा फेदी सिल्बासको, भोजपुर बसाइँ सरेर जाँदा चोचोलुको एउटा तोस्लुङ (योङ्खोलु) लगेर फेदी सिल्बास्कोमा तोस्खम् स्थापित गरेको मौखिक इतिहास यदाकदा सुन्न पाइन्छ । त्यही तोस्लुङ (योङ्खोलु) आज पनि फेदी सिल्बास्कोमा स्थापित तोस्खममा देउराम थरले नै पुज्छ । इतिहास र जीवन्त परम्पराले पुष्टि गर्छ । किरात पिल्मो जातिमा तोस् पूजाले कति ठूलो सांस्कृतिक, धार्मिक र आध्यात्मिक महत्व बोकेको छ भनेर । प्रकृति र पितृ दुई ‘प’को आस्थामा सदैव रमेर जीवन्त रहने पिल्मो ‘प’ जाति हो । अतः यस पारम्परिक महान् चाडबाट ‘प्रकृति पितृ पिल्मो’को अलौकिक सम्बन्घ छर्लंग बुझ्न सकिन्छ । पिल्मो जाति संसारको सनातन हुन् । कारण प्रकृति अनि ब्रह्माण्डको हरेक वस्तुमा ईश्वरको वास रहेको मान्यता राख्छ । प्रकृति र पितृलाई पूजा–अर्चना अनि वन्दना गर्ने किरात सभ्यतामा पर्ने एक विशेष आदिम जाति हुन्– पिल्मो ।

एमबीबीएस (बमयु), एमडी (मायु), एमआईपीएचए (कोलकाता)
पासिङ छिर्माखा, सुक्खिम, भारत

आभार :
पिल्मो खुलुरिप्सु, साखुम्बुछा, नोक्छो, अग्रज, बुज्रुक र सबै सहयोगीलाई मेरो आन्तरिक हृदयबाट कोटी–कोटी नमन गर्छु । यो इतिहास लिखित रूपमा ल्याउन पूर्ण सहयोग गरेर जाति उत्थानलाई ठूलो टेवा पुर्याउनुभएकोमा ।

प्रतिक्रिया दिनुहोस्