जसपा नेतृत्वदेखि, नेता–कार्यकर्ता सबैले बुझौं, काल पर्खाउनीमात्रै नगरौं


जसपा नेपालका नालीबेली

संवत् २०६९ सालताकाको कुरा हो । त्यसताका पंक्तिकार दुबईमा चर्को घामसँग सिंगौरी खेलिरहेका थिए । नेपालको राजनीतिमा घामको आकार खुम्चँदै गए पनि ताप भने चर्कै थियो । कारण– प्रतिगामी तत्वको चलखेल, नश्लवादी चिन्तन र विदेशीका स्वार्थ । पाँचवर्षे कसरतपछि लगभग बनिसकेको अग्रगामी संविधान, संविधानसभाका सभासद्मध्ये दुईतिहाइभन्दा धेरैले हस्ताक्षर गरी नेतृत्वलाई नेपालको संविधान घोषणा गर भन्दा पनि नगरी संविधानसभा नै विघटन गरेर विश्व इतिहासमै कलंकित काम भयो । हो– त्यति नै बेला नेकपा एमालेभित्र उपाध्यक्ष अशोककुमार राईलगायतले धर्मनिरपेक्षता, समानुपातिक, समावेशी, एकल पहिचान र संघीयताको मुद्दा जोडदार उठाए । तर, नेतृत्वले बेवास्ता गरे । बरु कारबाही गर्ने बारम्बार धम्की दिइरहे ।

त्यसपछि अग्रगामी विचार समूह बनाई विभिन्न सल्लाह, सुझाव दबाब दिँदासमेत नसुनिएपछि ०६९ असोज १८ गते सो समूहले वैकल्पिक राजनीतिक शक्ति तेस्रो ध्रुवको बनाउने संकल्पसाथ पार्टी परित्याग गरे । आफूसम्बद्ध पार्टीभित्र रहेको असन्तुष्टिबीच नेपाली जनताका पक्षमा लडिरहेका नेताहरूको विभिन्न चरणका वार्ता, छलफल, सहमति र एकताबाट एकल पहिचानसहितको संघीय समाजवाद सिद्धान्त बोकेको संघीय समाजवादी पार्टी नेपाल ०६९ मंसिर ६ गते घोषणा भयो । लगत्तै देशैभरि र विदेशमा समेत पार्टी निर्माणमा सुनौलो लहर आएको थियो । त्यही लहरमा जुद्ध ढाक्रे (ससपा विधान मस्यौदा समिति सहलेखक एवम् कांग्रेस तथा प्रजातान्त्रिक धारको नेतृत्व गरी ससपा नेपालको संस्थापक नेता, उहाँलाई म माया गरेर दाइ भन्छु)ज्यूको सिफारिसमा मैले संघीय सांस्कृतिक महासंघ केन्द्रीय समिति सदस्यको भूमिकामा रही जनतामा विचार सम्प्रेषण गर्न थालें । पार्टी निर्माणकै क्रममा एक वर्ष नपुग्दै दोस्रो संविधानसभा ०७० मंसिर ४ गते भएको निर्वाचन सामना गर्नुपर्यो । त्यसमाथि स्थापित तर प्रतिगमनकारी र यथास्थितिवादी नश्लीय चिन्तन बोकेका दल र तिनका नेतृत्वले छरेका भ्रमले गर्दा पार्टीले प्रत्यक्षतर्फ सिट जित्न सकेन । तर, मतदाताले समानुपातिकतर्फ भने पाँच सिट दिएरै छाडे ।

नेपालको विभिन्न राजनीतिक गतिविधि र क्रान्तिमा कहीं न कहीं जोडिँदै, छुट्दै फेरि राजनीतिक संघर्षले नै स्थापित नेता उपेन्द्र यादव हुन् । ०५४ मा यादव नेतृत्वमा गठित एनजीओ मधेसी जनअधिकार फोरमको ०६० मा मोरङको विराटनगरमा भएको पहिलो महाधिवेशनले राजतन्त्रको विरोधमा आन्दोलन गर्ने निर्णय गर्यो । ०६२/६३ को जनआन्दोलनको सफलतापछि ०६३ माघ २ गते मधेस आन्दोलन सुरु भयो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसँग ०६४ फागुन १६ गते आठबुँदे सहमति भयो । मधेस आन्दोलनको मुख्य उपलब्धि भनेकै अन्तरिम संविधानमा संघीयता शब्दले प्रवेश पायो । त्यसको मुख्य श्रेय तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल हाल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जान्छ । ०६४ को संविधानसभा चुनावअघि मात्र फोरम एउटा राजनीतिक दलका रूपमा निर्वाचन आयोगमा दर्ता भयो । त्यो चुनावमा प्रत्यक्ष ३० र समानुपातिकतर्फ २२ गरी ५२ सिट जितेर संविधानसभाको चौथो ठूलो दल बन्यो । तर, ०७० मंसिर ४ गते भएको दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष दुई र समानुपातिकतर्फ आठ सिटमा खुम्चनुपर्यो ।

मविन्द्र राई ‘साइँलाखुइँ’

यसैगरी, खस समावेशी राष्ट्रिय पार्टी पनि एक राजनीतिक दल थियो । पार्टी अध्यक्ष युवराज कार्की थिए । यसले संविधानसभा निर्वाचन ०७० मा भाग लियो । उक्त निर्वाचनमा सो दलको चुनाव चिह्न ढाल (तरवार) थियो । खस समावेशी राष्ट्रिय पार्टीले दोस्रो संविधानसभा निर्वाचन ०७० मा प्रत्यक्षतर्फ कुल ६ हजार ३५ मत प्राप्त गरेको थियो भने समानुपातिकतर्फ १५ हजार २२५ मत प्राप्त गर्यो ।

०७२ जेठ ३० गते तत्कालीन तीन पार्टीका तीन महासचिवद्वारा हस्ताक्षरित पार्टी एकीकरण भयो । सो विज्ञप्तिमा यस्तो लेखिएको थियो– ‘अब देशमा नयाँ वैकल्पिक राष्ट्रिय शक्तिको आवश्यकता भएको छ । यही अभिभारा पूरा गर्न मधेसी जनअधिकार फोरम, नेपाल, संघीय समाजवादी पार्टी, नेपाल र खस समावेशी राष्ट्रिय पार्टीबीच पार्टी एकीकरण गर्ने निर्णय भएको छ । यस पार्टीले संघीय समाजवादलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात् गरी देशलाई समृद्धिको दिशामा लैजानेछ । संघीय शासन प्रणाली भएको समाजवादी व्यवस्थाले केन्द्रमा रहेको शासन सत्तालाई प्रदेश तथा स्थानीय निकायमा बाँडफाँट गर्नुका साथै जनतालाई आर्थिक समृद्धिको दिशामा लैजानेछ । जनता राजनीतिक रूपले सत्ताको मालिक भएरमात्र हुँदैन, आर्थिक रूपले पनि समृद्धशाली हुनुपर्छ । संघीय समाजवादले संघीयतालाई उत्पीडित राष्ट्रियताको पहिचान र अधिकार, बहुराष्ट्रिय राज्यको प्रवद्र्धन, मुलुकको भौगोलिक अखण्डता र स्वाधीनताका आधारका रूपमा र समाजवादी लोकतन्त्रलाई राजनीतिक, आर्थिक पद्धतिका रूपमा विकास गर्नेछ । यस व्यवस्थामा जनताले राजनीतिक रूपमा स्वतन्त्रता र आर्थिक रूपमा समानताको अनुभव गर्नेछन् । त्यसैले श्रमजीवी वर्ग र उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने नयाँ ढंगको राष्ट्रिय चरित्रको पार्टीका रूपमा एउटा क्रान्तिकारी राजनीतिक पार्टी निर्माण आजको आवश्यकता हो । यस्तो आवश्यकता अनुभूत गरी ऐतिहासिक मधेस जनविद्रोहबाट आफ्नोे गौरवपूर्ण इतिहास बनाएको मधेसी जनअधिकार फोरम, नेपाल, नेपालको राजनीतिमा उदीयमान संघीय समाजवादी पार्टी, नेपाल तथा खस आन्दोलनको पृष्ठभूमिबाट स्थापित खस समावेशी राष्ट्रिय पार्टीबीच पार्टी एकीकरण गर्ने निर्णय गरेका छौं । यसमा सहमति हुने अन्य राजनीतिक शक्तिलाई पनि यस एकीकरण प्रक्रियामा सामेल हुन हार्दिक अनुरोध गर्दछौं ।’ पार्टीको नाम ‘संघीय समाजवादी फोरम नेपाल’ थियो ।

त्यसपछि नयाँ शक्ति पार्टीसँग एकता गरी समाजवादी पार्टी नेपाल बन्यो । पछि राजपासँग एकता गरी जसपा नेपाल बन्यो । पार्टी एकता फुल्न खोजे पनि फक्राउन सकेन ।

बिराइरहेका बाटा

(१) संविधानसभा विघटन हुनबित्तिकै नयाँ आन्दोलनसहित वृहत् पार्टी निर्माण गरिए पनि सुस्त गतिमा छ महिनापछि मात्र ससपा नेपाल पार्टी निर्माण गर्नु ।

(२) ससपा बन्दा देश–विदेशमा ससपाको लहर थियो, त्यसलाई नेतृत्वले नेतृत्व दिन नसक्नु ।

(३) मुख्य पहिचानको मुद्दा, सिद्धान्त र अधिकारलाई प्रशिक्षण दिई ‘क्लियर’ बुझेपछि मात्र संगठन अघि बढाउनुपथ्र्यो । विधान र घोषणापत्र सही हुँदाहुँदै पनि ‘कास्ट’ र ‘नेसन’ नबुझी यथास्थितिवादी पार्टीहरूकै ढाँचामा हो–हल्लाकै भरमै सांगठनिक विधि र पद्धतिविना पार्टी बनाउन खोज्नु ।

(४) अरू पार्टीसँग एकता नगरी सिद्धान्तअनुसार व्यवहारमै जनताको काम गर्न नसक्नु । किनकि नेताहरू भित्र्याएरभन्दा जनताको काम गर्दा पार्टी बन्थ्यो ।

(५) पार्टी एकताको औचित्य जनतालाई बुझाउन नसक्नु ।

(६) मधेस आन्दोलनका वास्तविक योद्धा नचिन्नु । नेतृत्वकर्तामा दम्भ धेरै हुनु ।

(७) पार्टी एकतापछि पनि समावेशी र समानुपातिकको नाममा जातीय क्लस्टर, भौगोलिक भाग खोज्नु र पूर्वपार्टीकै हैसियतमा हिसाब गरी–गरी भागबन्डा खोजिरहनु ।

(८) अधिकांशले शीर्ष नेतावरिपरि घुमेर मनमौजी कुरा लगाइरहनु । उनीहरूलाई नै ठूला पद दिई नेता बनाइनु ।

(९) प्रायःले फेसबुके संगठन गरी नेतृत्वलाई देखाए । त्यही कुरा ‘हो’ भनी नेतृत्व मख्ख पर्नु ।

(१०) समय बित्दै जाँदा पनि असली कार्यकर्तालाई शीर्ष नेताले एक कल फोन नगर्नु । असली नेता र कार्यकर्ता चिनेर मूल्यांकन नहुनु ।

(११) व्यक्तिगत पदलोलुपतामा झगडा गरिरहनु । आफू असल, संगठक, विद्वान्, जुझारु र काम गर्ने, अरूचाहिँ झारपात भन्ने संकुचित व्यवहार विकास हुनु ।

(१२) नेतृत्वले सुको खर्च नगर्नु, ‘भिजन’ नबनाउनु, कार्यकर्ता भगवान् भरोसामा रहनु ।

(१३) विधानलाई आफूअनुकूल धोती लगाउनु । अक्षरमा वैकल्पिक, व्यवहारमा पुरानै तरिका अवलम्बन गर्नु ।

(१४) नजितेको ठाउँका कुरा छोडौं तर जितेको ठाउँ (विशेष मधेस प्रदेश)मा एउटा मोडेल सुन्न/देख्न नपाउनु/नसक्नु ।

(१५) जितेका सांसद, मन्त्री कहिले उता कहिले यता गरेर नेतृत्वकै जरा उखेल्न खोज्नु । त्यसबेला नेतृत्वको भाँती नपुग्नु ।

(१६) जिम्मेवार नेताले विभिन्न नयाँ कुरा राखी पार्टीमा भित्र्याएका कार्यकर्ताको बेवास्ता गरी आफ्नो दुनो सोझ्याउन पार्टी परित्याग गर्नु र अर्को पार्टीमा प्रवेश गरिरहनु ।

(१७) जमात देखेर भाषण गर्न चाहने तर मिहीन ढंगले जनतालाई बुझाउन नचाहनु । भाषणको नयाँ–नयाँ खेती गरिरहनु ।

(१८) कांग्रेस, एमाले र माओवादी पार्टीले लगाएको गलत आरोपको खण्डन गर्नु साटो उनीहरूसँगै पालैपालो मिलेर सत्ताभोग गर्नु ।

(१९) मन्त्री हुँदा जनप्रिय काम नगर्नु । गाउँ, सहर जगाउँदै जनताको जल्दोबल्दो समस्याको समाधान गर्न नखोज्नु ।

(२०) शीर्षनेता आफ्नै विचार, नीति र सिद्धान्तमा विश्वस्त नहुनु । कार्यकर्तासँग विभिन्न नेताको कुरा गरी गुट बनाउनु । यो वा त्यो नभए पार्टी छाड्छु भनिरहनु । यो पार्टी काम लाग्दैन, नेतृत्व ठीक छैन भनेर कुरा काटिरहनु ।

पार्टीको विधानमा विचार, नीति, सिद्धान्त, लक्ष्य प्रस्ट र उद्देश्य सुन्दर छन् । तर, जसपा नेपालका सबै नेताको स्थिति हेर्दा गन्तव्यहीन यात्रुझैं देखिन्छन् । हिजो कार्यकर्ता र जनतालाई पढाउँदा आफूले बोलेका कुरा आफैंले कुल्चेर बाटो मोडेको र मोड्नेवाला देखिन्छ । हाँगो बस्ने चरीलाई डालीको विश्वास नलागेपछि भुँइ झर्न सक्छ । हैट ! बाटो गलत रहेछ भनेर अर्को बाटो लाग्नेहरू लागेकै छन् । कोही ठिकै त होला, जहाँ पुगिन्छ त्यहीं बसौँला भन्ने पनि नभएका होइनन् । एक थरी ‘छोराछोरी र परिवारको भविष्य बिगारी चियाको नाश गरेर बकमफुसे गफमा आयु घटाइरहेका छन् ।

यसरी बन्छ र ! नयाँ वैकल्पिक राजनीतिक शक्ति ? नेतृत्वदेखि, नेता तथा कार्यकर्ता सबैले बुझौं, काल पर्खाउनीमात्रै नगरौं ।

प्रतिक्रिया दिनुहोस्