आफूलाई लागेको रुघा अरूलाई नसरोस् भन्ने लोभी


आफूलाई लागेको रुघा अरूलाई पनि सर्छ भनेर लोभ गर्ने धनी मानिस बस्थे । ऊ यतिसम्म लोभी थियो कि गोदाममा चामल भए पनि काम गर्नेलाई तीन दिनमा एकपटक घाँसको जाउलोमात्र खान दिन्थ्यो । त्यसो भएपछि नोकरले उसकोमा काम गर्दागर्दै छाड्थे ।

धनी भए पनि ती उनको लोभबारे देशैभरिका मानिसले थाहा पाए । त्यसैले उनको घरमा कमिलासमेत जाँदैनथे । तर, एक दिन गरिबजस्तो देखिने एक भिक्षुको पाइला धनी मानिसको घरअगाडि रोकियो । दुवै आँखा बन्द गरेर निकैबेरसम्म उभिरहेको भिक्षुले मोक्थाक् (कोरियामा बौद्ध धर्मावलम्बी भिक्षुले बजाउने एकप्रकारको काठको सानो ढ्याङ्ग्रो) बजाउन थाल्यो । मोक्थाक् बजाएको आवाज चारैतिर प्रस्टै सुनिन्थ्यो ।

‘धत्तेरी कान खायो बन्द गर । कहाँको मगन्ते अल्छी अर्काको घरअगाडि आएर मोक्थाक् बजाउँछ,’ हतार–हतार गेटनेर आएर धनी मानिस चिच्यायो, ‘एक गेडा चामल नभएर तीन दिनदेखि भोकै छौं । भिक्षा कहाँबाट दिनु । धेरै हल्ला नगर, खुरुक्क गइहाल ।’

धनी मानिसले जतिसुकै गाली गरे पनि भिक्षु हलचल नगरी उभेर मोक्थाक् बजाइरह्यो । धनी मानिसले झन् ठूलो स्वरले भन्यो, ‘टकटकटकटक भात देऊ । टकटकटकटक चामल देऊ । टकटकटकटक पैसा देऊ । नाडी भाँचिनेगरी बजाऊ तर यसरी घुमी–घुमी मागेर खाने अल्छीलाई दिने केही छैन ।’

रिसले चुर भएका धनी मानिसले भिक्षुलाई सताउने विचार गर्यो । उसले गोठमा गएर टोकरीभरि गोबर हालेर भिक्षुको झोलामा राखिदियो । धनी मानिसले अनुरोध गर्यो, ‘भिक्षु भिक्षा दिइसकें । अब जानुहोस् ।’ झोलामा गोबर राखेको देखे पनि विनम्र भएर अभिवादन गरेर भिक्षु त्यहाँबाट हिँडे । भिक्षुलाई सताउँदा रमाइलो लागेकाले धनी मानिस मुसुमुसु हाँस्दै घरभित्र पस्यो । धनी मानिसले भिक्षुलाई अभद्र व्यवहार गरेको धनी मानिसकी बुहारीले देखिरहेकी थिइन् । उनले एक पाथीजति चामल गाग्रीमा राखेर पानी भर्न हिँडेको अभिनय गरेर घरबाट निस्किन् । भिक्षु भने गन्तव्यतर्फ जाँदै थिए ।

भिक्षुज्यू, भिक्षुज्यू । बुहारीले ठूलो स्वरले भिक्षुलाई बोलाइन् । गोबर भरिएको झोला बोकेर हिँडिरहेका भिक्षुले पछाडि फर्केर हेर्यो । स्वाँ–स्वाँ गरी दौडिँदै बुहारी भिक्षुनजिक पुगिन् । उनले भनिन्, ‘माफ गर्नुहोस् भिक्षुज्यू, मेरो ससुराको बदलामा म तपाईंलाई भिक्षा दिन्छु । बिन्ती छ, दया गरेर मेरो ससुरालाई माफी दिनुहोस् ।’

भिक्षुले ससुराका लागि माफी माग्ने बुहारीको अनुहार एकछिनसम्म एकोहोरो हेरिरहे । त्यसपछि मुख खोले, ‘ओम् मणि पेमे हुँ । तिम्रो ससुराको कुकर्म धेरै छन् ।’ भिक्षुज्यू, मेरो ससुराको पापलाई क्षमा गरिदिनुहोस् भन्दै बुहारीले रोइकराइ गरिन् ।

‘तिम्रो ससुराको कुकर्मको फैसला भगवान्ले गरिसक्यो,’ भिक्षुले जवाफ दिए, ‘घरमा आउने विपत्तिबाट अब बच्न सकिँदैन । बरु तिमी घर गएर आफूलाई सबैभन्दा माया लाग्ने तीन चीज लिएर पहाडतिर भाग । घरबाट निस्कने बेला पछाडि फर्केर नहेर्नू ।’

घर फर्कनासाथ बुहारीले भिक्षुको कुरा ससुरालाई सुनाइन् । त्यो सुनेर ससुराले उल्टै बुहारीलाई झपार्न थाले, ‘तैंले के भनेर त्यो अल्छीलाई चामल दिइस् ? तैंले हाम्रो घरबार बर्बाद गर्ने विचार गरेको हो ? हरे, यो घरमा कस्ती बुहारी आइछन् । तेरो मुख पनि हेर्न मन छैन । खुरुक्क गइहाल ।’

ससुराको गाली गरेपछि मन दुखाएकी बुहारीले आँसु झार्दै आफूलाई मूल्यवान् लाग्ने तीन चीज जम्मा गरिन् । सबैभन्दा पहिले आफ्नो बच्चालाई ढाडमा बोकिन् । अनि आमाले दिएको औंठी लगाइन् । त्यसपछि सिलाइसम्बन्धी सामान झोला बोकेर घरबाट निस्किन् ।
बुहारी घरको मूलढोकाबाट निस्कँदै गर्दा आकाशमा कालो बादल मडारिन थाल्यो । दिउँसै रात परेजस्तै भयो । अशुभ होला भन्ठानेर उनी छिटो–छिटो घरअगाडिको पहाडतिर लागिन् । उनी पहाड पुग्नेबित्तिकै मुसलधारे पानी पर्न थाल्यो । कतै केही नदेखिनेगरी पानी पर्यो । तर, उनी भने अगाडि बढिरहिन् । त्यतिबेलै संसारै ध्वस्त बनाउनेगरी चट्याङ परेको आवाज सुनिन् । तर्सेर पछाडि हेरेकी उनले ससुरा (धनी मानिस)को घर दुई चिरा भई जमिनमुनिबाट पानीको फोहोरा निस्केको देखिन् । मुसलधारे पानीले घर पुरियो । क्षणभरमै ठूलो पोखरी बन्यो । त्यसैबेला पछाडि फर्केर हेरेकी बुहारी बच्चा बोकेको अवस्थामै चट्टानमा परिणत भइन् ।

के रे, मेरो कुरा विश्वास लागेन भनेको ? यो सबै सत्य कुरा हो । अहिले पनि त्यो धनी मानिसको गाउँमा गयौ भने उसको घर भत्केर बनेको पोखरी र बच्चा बोकेर पछाडितिर हेरिरहेकी चट्टान बनेकी बुहारी अझै देख्न सकिन्छ रे । तिमी पनि एकपटक त्यहाँ गएर हेर्ने होइन ?

प्रतिक्रिया दिनुहोस्