संवत् २०४९ तिर गाउँमा वेदना सहयोगी सांस्कृतिक परिवार महुरे, खिल्कु, खोटाङद्वारा सञ्चालित विविध जनचेतनामूलक सांस्कृतिक गतिविधिबाट गहिरो प्रभाव पार्दै आए पनि ०५६/५७ मा जालपा माध्यमिक विद्यालय नुनथला, खोटाङमा कक्षा ९/१० मा अध्ययन गर्दैगर्दा स्थानीय हवाई मासिक, द्वैमासिक, त्रैमासिक पत्रपत्रिकामा मैले लेखेको गीत प्रकाशन हुन थालेको थियो ।
संवत् ०६२ को विश्व वातावरण दिवसको अवसरमा जालपा मावि नुनथला खोटाङद्वारा आयोजित जिल्लाव्यापी ‘वातावरण’ गीत गायन प्रतियोगितामा मेरो शब्द–रचना र मेरो जीवनकै पहिलो संगीत रहेको ‘न्याउली चरी गाउँछ गीत विरहको भाषैमा, डढेलोले वनै खायो झरी पर्यो आँखैमा’ शीर्षाकृत गीतमा प्रथम स्थान हासिल गर्न सफल र सांगीतिक जीवनको पहिलो सफलता तथा सुरुवात गरेको थिएँ । तत्पश्चात् जिल्लास्तरीय विभिन्न प्रतियोगितामा सहभागी भई विजयी बन्दै आएको थिएँ ।
जुन समयदेखि मेरो गीत–संगीत तथा कलासाहित्य सिर्जनासँग चिनापर्ची हुन थाल्यो, त्यही समयदेखि अग्रज प्रगतिशील स्रष्टाहरू शरद पौडेल, शक्ति बल्लभ, रायन, रामेश, जेबी टुहुरे, जीवन शर्मा, श्याम तमोट, आहुति, हिसन समाल, टेक बलम्पाकी, सुसन मास्के, भागीरथ सुस्लिङ, कुस्मिता दर्लामीहरूका गीत–संगीतमा हुर्कंदै आएकाले मेरो गीत–संगीत सिर्जनाको गर्भ भन्नु नै चेतनामूलक तथा प्रगतिशील गीत–संगीत हुन् भने म गीत–संगीत सिर्जना क्षेत्रमा जुन स्थानमा छु, मलाई यहाँसम्म हुर्काइ–बढाइ, लालनपालन गर्दै, बाटो देखाउँदै सांगीतिक जीवन दिने मुख्य प्रेरणाको स्रोत तथा आदर्श पात्र दाइ हेमविक्रम राईलाई लिन्छु ।
गीत शाब्दिक अर्थमा गाउनका निमित्त सिर्जना गरिएको लयात्मक तथा गेयात्मक पद्य रचना हो । सर्जकको मनोभावबाट जन्मिएको मौलिक विचार हो । दृष्टिकोण होजस्तो लाग्छ ।
गीत–संगीत सिर्जना समाज परिवर्तनका लागि हुनुपर्छ भन्ने बुझाइसाथ ०४९/५० देखि ०६९/७० को करिब दुई दशक समय जनचेतनामूलक तथा समाज परिवर्तनका गीत–संगीत सिर्जना तथा कला प्रस्तुतिमा निरन्तर लागियो तर परिवर्तनका पक्षपोषण गर्ने, सामाजिक जीवनका गीत–संगीत सिर्जना गर्ने कलाकर्मीकै मेरुदण्डमा टेकेर ठुल्ठूला राजनीतिक परिवर्तन भए । सत्ता परिवर्तन भए । राजनेता परिवर्तन भए । तर, राज्यव्यवस्था परिवर्तन नभएका कारण जनताका गीत गाउने कलाकर्मी गुमनाम भएर बस्नुपर्ने अवस्थादेखि आजित भएर, नेपाली गीत–संगीतको प्रतिस्पर्धी बजारमा हामफाल्दै मेरो शब्द–रचना, भीमसेना राईको संगीत तथा राजेशपायल राईको स्वर रहेको ‘जंघार तरी नजानू है आवेशको भुमरीमा, दुःख फुल्ने मेरो घरको सङ्घार तरी नजानू है (बेसक्याम गीतिएल्बम)’ शीर्षाकृत गीत पहिलो आधुनिक गीत रेकर्ड गराई नेपाली व्यावसायिक गीत–संगीतको धारतिर पनि हात हालेको हुँ ।
त्यसपछि भीमसेना राईकै संगीतमा मेलिना राई र सागर संसार राईको स्वरमा ‘आधा जीवन हिँड्दा–हिँड्दै’ शीर्षाकृतको आधुनिक गीत, चर्चित युवा संगीतकार डीआर अटुको संगीतमा नेपालका चर्चित युवा गायकहरू सीडी विजय अधिकारी, मेलिना राई, दीपा लामा, रेवत राई, विक्रम राई, अमृता लिम्बू, रमेश संग्रौला, बबिना किराती र मनीषा राईको सामूहिक स्वरमा ‘नेपाली हुँ भन्ने हाम्रो छाती हुनुपर्छ’ बोलको देशभक्ति गीत रेकर्ड गराएको थिएँ । हालसम्म आफ्नो रचना तथा संगीत रहेको आधुनिक, देशभक्त, बालगीत गरेर १० वटा गीत रेकर्डिङ भइसकेका छन् भने १०/१२ गीत रेकर्डिङ तयारीमा छन् ।
गीत लेखन, संगीत, गायन, संगीत संयोजन, वाद्यवादन फरक–फरक विधा हुन् । तैपनि एउटा सुन्दर गीत बन्न यी सबै तत्वको अनिवार्य तादात्म्यता मिलेमा मात्रै एउटा असल गीतको सिर्जना हुन्छजस्तो लाग्छ । संगीत गीतको प्राण हो, गायन दीर्घायु हो भने संगीत संयोजन दीर्घायु जीवनको साजसज्जा हो ।
आफ्नो मनोभावना, सामाजिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक, प्राकृतिक क्षेत्रले आफ्नो दैनिक जीवनयापनमा पारेका प्रभावलाई टिपेरै गीत–संगीत सिर्जना गर्ने गर्छु ।
गीतिलेखन भावना वा विचार गर्नुृ हो । यसलाई संगृहित गरी अन्य पाठक वा सर्जकमाझ पुर्याउँदै सुरक्षित गर्नु हो भने संगीतबद्ध तथा लयबद्ध गरी गायनलाई अडियो, भिडियोका माध्यमबाट सिर्जना पस्कनु सिर्जनामार्फत सन्देश दिनु हो । मनोरञ्जन दिनु हो । सिर्जनालाई जीवन्त बनाउनु हो । र, आत्मसन्तुष्टि लिनु हो ।
गीत लेख्दा सन्तान जन्माएजस्तै लाग्ने र संगीतबद्ध गरी कुशल गायकको स्वरमा रेकर्ड गराई आमश्रोता दर्शकमाझ ल्याउँदा आफ्नो सन्तानले उच्च सफलता प्राप्त गरेझैं आनन्द लाग्छ ।
आजसम्म गीत–संगीतको र वाद्यवादनको औपचारिक शिक्षा नलिए पनि आफ्नो रुचि, संगत, भोगाइ, परिकल्पना र भावनाका आधारमा आफूले जानेका, बुझेका, भोगेका र अनुभव गरेका विषयलाई सिर्जना पस्कनेक्रममा आफूले बुझेका जिन्दगीका यथार्थलाई टिपेर गीत–संगीतको माध्यमबाट आमदर्शक, श्रोतामाझ मेरो शब्द तथा संगीत राजु कार्कीको संगीत संयोजन र चर्चित गायक कृष्णभक्त राईको स्वरमा स्टुडियो किङको अफिसियल युटुब च्यानलमार्फत ‘जिन्दगी’ बोलको गीत बजारमा ल्याएको छु ।
पेसाले शिक्षणमा आबद्ध भए पनि गीत–संगीत, कला–साहित्यबाट अलग हुन सक्ने अवस्थामा छैन ।
गीतकारको संक्षिप्त परिचय
नाम : नवीनकिशोर राई
साहित्यिक नाम : नवीन सङ्घर्ष
श्रीमती : हदी ममता
बुवा : दीपककुमार राई
आमा : सरस्वती राई
जन्म : २०४२/०८/०५
स्थायी ठेगाना : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला, खोटाङ
हाल : सामाजिक शिक्षक, सिर्जनशील जनता माध्यमिक विद्यालय, चौरी देउराली गाउँपालिका–७ मादनकुँडारी, काभ्रेपलाञ्चोक