पूर्वमाननीय बानियाँ भन्छन्– महारानीलाई मदन पुरस्कार अनपेक्षित उपलब्धि


इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार बनाएर लेखेको ‘महारानी’ उपन्यासले २०७६ को मदन पुरस्कार प्राप्त गरेपछि अहिले साहित्यकार बानियाँको चर्चा चुलिएको छ । उनले यसअघि ‘ऐतिहासिक पर्वत राज्य’, ‘खस जाति र कुलपूजा’ र ‘मृत्यु संस्कार मन्थन’ गरी तीन कृति प्रकाशित गरिसकेका छन् । उपन्यास लेख्दाको पृष्ठभूमि, मदन पुरस्कार प्राप्त गरेपछिको अनुभूति र आगामी योजनाबारे ध्रुवसागर शर्माले गरेको कुराकानीको सम्पादित अंश :

२०७६ सालको मदन पुरस्कार तपाईंको उपन्यास ‘महारानी’ले प्राप्त गरेकोमा हार्दिक बधाइ । देशकै प्रतिष्ठित पुरस्कार पाउँदा कस्तो अनुभूति गर्नुभएको छ ?

प्राप्ति आफैंमा सुखकारक विषय हो । त्यसमा पनि अनपेक्षित उपलब्धि हासिल हुनु थप आनन्दको विषय हुने नै भो । तर, मलाई भने उपलब्धिभन्दा मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर लागिरहेको छ ।

त्यस्तो अनुभूतिका कारण के होला ?

लेख्ने कोसिस त गर्दै छु । भविष्यमा पनि प्रयत्न निरन्तर रहनेछ । तर, आफ्नै लेखनशिल्पसँग सन्तुष्ट हुन सकिएको छैन । मेरो भावना र मेरो जानकारीको संयोजन गरेर सुन्दर रचना गर्न मेरो कलमले सक्तैन । मेरो त्यही अनुभूतिले मदन पुरस्कार प्राप्त लेखकको गरिमा गौरव थाम्न सकिन्न कि भन्ने लाग्ने हो । त्यसमाथि म अलि अल्छी छु । घुमफिर गर्न रुच्दैन । अन्तक्र्रिया र संवाद गर्ने बानी पनि छैन ।

उपन्यासमा कलम चलाउने र त्यो पनि ऐतिहासिक विषयवस्तु छान्नुपछाडिको कारण के थियो ?

उपन्यासमा कलम यसअघि पनि चलाउने कोसिस गर्थें । दुर्घटनावश ती लेखोट पाठकका हातसम्म पुग्ने अवसर नपाइकनै मृत्युवरण गर्ने दुर्नियतिको सिकार भए । जहाँसम्म पर्वतको इतिहासलाई विषय बनाउनुका कारण के थियो भन्ने प्रश्न हो, त्यससँग मेरो निजी भावना पनि गाँसिएको छ । चौबीसे राज्य पर्वतको समाजमा ‘आठ हजारका राजा, बाह्र हजारका बानियाँ’ भन्ने लोक कथन जीवित छ । त्यो भनेको तत्कालीन मल्ल राजवंशले आर्जन गरेको आठ हजारमा बानियाँको पाखुरीले १२ हजार घरधुरी थपेको भन्ने अर्थ लाग्छ ।

अर्थात् तत्कालीन पर्वत राज्यको निर्माणमा मेरा पुर्खाको रगत पसिना भिजेको थियो । दुर्भाग्यवश पवर्तको त्यो इतिहास लेखिएन । पर्वत राज्यको अस्तित्व मेटिए पनि म त्यही माटोमा जन्मे हुर्केको मान्छे हुँ । पुर्खाको त्यो माटो, त्यो इतिहासप्रति मेरो मनमा अगाध श्रद्धा र गौरव छ । त्यसैैले त्यही इतिहास उधिन्न विषय चुनिएको हो । अर्को कुरा तथ्य प्रमाणले पुष्टि गर्न नसकिने लोककथनमा बाँचेको इतिहास लिपिबद्ध गर्ने समाजसमक्ष गरेको वाचा पूरा गर्न पनि यो विषय रोजेको हुँ । अर्थात् यो लेखन आवश्यकताको उपज हो ।

उपन्यासमा आन्तरिक सत्ता संघर्ष, अरन्तरदेशीय षड्यन्त्र, द्वन्द्व र त्यसैमा घुनझैं पिसिएकी राजकुमारीको कथा छ । उपन्यासमा परेका ती घटनावली सत्य हुन् ?

तथ्यद्वारा प्रमाणित गर्न सकिने घटना हुन्थे भने इतिहासमै लेखिन्थे । उपन्यास सिर्जना गर्नुपर्ने आवश्यकतै पर्दैनथ्यो । ‘महारानी’ ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास हो । सम्पूर्ण इतिहास होइन । सत्य कुरा कतिमात्रै हो भने घनश्याम मल्लका दुई विमातृक भाइबीच सत्ता संघर्ष चलेको र दाइद्वारा भाइको हत्या भएको कुरा सत्य हो । भद्रिबमको हत्यापछि उनकी रानी बेपत्ता भएको वा पारिएको कुरा पनि सत्य हो । तर, त्यो घटनाको प्रत्यक्ष साक्षी छैन । विश्वसनीय भौतिक साक्षी पनि उपलब्ध छैन । त्यही अन्धकारमा रहेको इतिहासको पाटो अर्थात् खाली ठाउँ भर्न कथानक रचना गरिएको हो ।

त्यसो हो भने ‘महारानी’ उपन्यासलाई पाठकले कसरी बुझ्दा ठीक होला त ?

माथि नै भनिसकेको छु कि समाजमा लोककथनका रूपमा बाँचेको कथा–गाथाहरू ऐतिहासिक घटना नै हुन् । समयक्रममा सत्य कुरा कुना पर्दै गयो । त्यसमा अनेक नयाँ फूलबुट्टा थपिए । भरिए । सत्य इतिहास भ्रमपूर्ण कथाको छाँयामा बिलुप्त भयो । ‘महारानी’ उपन्यासले त्यही भ्रमको थुप्रोबाट इतिहास उधिनेर बाहिर निकाल्ने कोसिस गरेको हो । त्यसैले उपन्यासको प्रारम्भमै यो ‘इतिहास पुनर्लेखनको प्रयत्न हो’ भनिएको हो ।

उपन्यासमा वर्णित घटनाजस्तो अपेक्षाकृत कम उमेरकी विश्वप्रभामा रहेको असाधारण त्यागको भावना, घनश्याममा रहेको न्यायप्रियता र सुमन्तको विज्ञताजस्ता विषय पाठकका लागि अलिक अस्वाभाविक लाग्लान् कि भन्ने लागेन ?

मानिसको योग्यता, क्षमता र भावनाको मापदण्ड उमेर हुने होइन । कैयौं मानिसमा असाधारण प्रतिभा हुन्छ । उपन्यासमा वर्णित पात्रहरूको चरित्र अस्वाभाविकजस्तो देखिएको प्रतिक्रिया कतैबाट आएको छैन । स्वभावतः परिस्थितिअनुसार चरित्रमा अलिकता रंगरोगन गरिनु अस्वाभाविक मानिन्छ जस्तो लाग्दैन ।

उपन्यासमा ‘डोली दिने’ प्रथाको चर्चा गरिएको छ । त्यो परम्परा यथार्थ हो कि काल्पनिक ? यथार्थ हो भने यतिखेर किन प्रचलनमा छैन ? कुनै ऐन कानुनद्वारा राज्यले हटाएको पनि देखिँदैन त ?

डोली दिने प्रथा खासगरेर ठकुरी समाजमा रहेको परम्परा हो । त्यसको प्रत्यक्ष साक्षी मेरो पुस्ता छ । त्यो अनौठो विषय पनि होइन । उपयुक्त वरमा आँखा परेपछि जुनसुकै बाबुआमा आफ्नी छोरीको हात थमाउन उत्सुक रहन्छन् । प्रत्यक्ष परोक्ष त्यस्तो पहल हुन्छ । त्यही चलनको औपचारिक नामकरण ‘डोली दिने’ प्रथाका रूपमा भएको हो । ठकुरी समाजले नाम दिएकोमात्र हो । अहिले पनि उमेर पुगेकी छोरीका निमित्त उपयुक्त वर खोज्ने चलन हाम्रो समाजमा विद्यमान छ । अर्को अर्थमा त्यो पनि डोली दिने प्रथाकै निरन्तरता हो ।

‘महारानी’ उपन्यास लेखिएपछि पर्वत राज्यको कथा समाप्त भयो कि त्यसको ‘सिक्वेल’ पनि रचना गर्ने आवश्यकता देख्नुभएको छ ?

ऐतिहासिक पर्वत राज्यको कथा ‘महारानी’मा सम्पूर्ण समेटिएको छैन । कमसेकम पर्वत निर्माण, विस्तार विभाजनसम्मको कथा परेको छ । पर्वतमा मल्ल वंशले शासन गरेको ५०० वर्षमध्येको पछिल्लो ३५० वर्षको इतिहास संक्षिप्तमा आएको छ । अझै १५० वर्ष बाँकी रहन्छ । बाँकी इतिहास आउनेगरी अर्को एउटा उपन्यास लेख्नुपर्ने आवश्यकता अनुभूत गरेको छु । परिणाम भविष्यको हातमा ।

ऐतिहासिक घटनावलीलाई उपन्यासको कथानकमा ढाल्न र समेट्न कत्तिको सजिलो वा अप्ठेरो अनुभव गर्नुभएको छ ?

लेख्नु सजिलो कुरा होइन । कमसेकम मलाई त्यस्तो लाग्दैन । जहाँसम्म ऐतिहासिक उपन्यास लेख्नु सामाजिक विषयवस्तुको उपन्यास लेख्नुजस्तो सजिलो कुरा होइन । घटना, समय, पात्र, विषयवस्तुको निश्चित घेरा र सीमा हुन्छ । निश्चिन्त भएर कल्पनामा मुक्त कलम चलाउन पाइँदैन । सामाजिक उपन्यास घरमै बसेर कल्पना गर्न सकिन्छ । ऐतिहासिक उपन्यासका लागि तथ्यको पनि ख्याल राख्नुपर्ने हुन्छ । सत्यको अन्वेषण अनिवार्य पाटो मानिन्छ ।

‘महारानी’ उपन्यास सिर्जना गर्दाका कठिनाइ के–कस्ता रहे होलान् ?

पहिलो कुरा तत्कालीन खस भाषिकाको खोज गर्नुपर्ने आवश्यकता थियो । पर्वत राज्यकालका सीमित लेखोट उपलब्ध छन् । कैयौं लेखोट ‘डिकोट’ गरिदिने विज्ञको आवश्यकता पर्छ । पाँच सय वर्षको लामो अवधिमा लेखिएका दुई दर्जनभन्दा बढी लेखोटबाट भाषाको नमुना निकाल्नु निकै गाह्रो काम हो । किनकि भाषा निरन्तर विकासशील हुन्छ, परिविर्तनशील हुन्छ । पाँचसय वर्षमा त भाषामा आनको तान फरक परिसक्छ । दुई सय वर्षमै भानुभक्तको रामायणमा प्रयुक्त भएको भाषिका पूर्ण रूपमा विलोप भएको उदाहरण हाम्रासामु साक्षी छ ।

दोस्रो कुरा तत्कालीन समाजका रीतिथिति, परम्परा र संस्कार संस्कृति पहिल्याउनुपर्ने हुन्छ । इतिहासको एउटा तथ्य समातेर त्यसकालको वरिपरि कथा बुन्नुपर्छ । कथा लेखेरमात्रै पुग्दैन, त्यसलाई रुचिकर र विश्वसनीय पनि बनाउनुपर्छ ।

तेस्रो कुरा पर्वतको हकमा नलेखिएको इतिहासभित्र सत्य तथ्यको नजिक पुग्न स्थानीय समाजसँग मात्र होइन, भूगोलसँग पनि घनिभूत अन्तक्र्रिया गर्नुपर्ने हुन्छ । परिचय स्थापित गर्नुपर्छ । मेरो जन्म त्यही भूगोलमा भएको हुनाले अलिकता सुविधा रहने नै भयो ।

भविष्यको साहित्यिक यात्राको योजना के–कस्तो बनाउनुभएको छ ?

अवश्य । मदन पुरस्कारले मलाई थप घोटाउने नै भयोजस्तो लागेको छ । मैले बुताले भ्याएसम्म लेख्नेछु । लेख्नैपर्छ । मेरो लेखन विषयको प्राथमिकतामा भने आफ्नै जन्मभूमि, आफ्नै माटो, आफ्नै समाज र आफ्नै इतिहास हुनेछ । मेरो समाजसँग गाँसिएका दुई/चार कथा मेरो मनभित्र खेलिरहेका छन् । तीमध्ये प्राथमकिता कुन विषयलाई दिने भनेर निर्णय भने गरिसकेको छैन ।

‘महारानी’को प्रकाशनपछि पाठक प्रतिक्रिया कस्तो पाउनुभएको छ ? स्वाभाविक रूपमा अभिव्यक्त हुने सकारात्मक नकारात्मक पाठक प्रतिक्रियाले कस्तो अनुभूति गराउँदोरहेछ ?

लेखकका लागि पाठक प्रतिक्रिया प्रोत्साहनको विषयमात्रै होइन, सच्चिने सच्याउने अवसर पनि हो । लेखन तिखार्ने ओखती पनि हो । परिमार्जित लेखनको गुरु पनि हो । मेरो दुर्भाग्य के रहिदियो भने आलोचनात्मक प्रतिक्रिया पटक्कै आएन ।

प्रतिक्रिया दिनुहोस्