निर्वाचनमा व्यक्त गरेको ८० प्रतिशत प्रतिबद्धता पूरा


‘लोभमुक्त भए मुलुककै सुन्दर र समृद्ध नगर बनाउन सकिन्छ,’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका नगर उपप्रमुख वीणादेवी राईको भनाइ छ, ‘डरमुक्त भए लोभीपापी डराउँछन् । लोभ र डरमुक्त भएपछि समृद्ध नगर, सुखी नगरवासी बनाउन समय लाग्दैन ।’

स्थानीय तह निर्वाचनमा धेरैले धेरैखालका प्रतिबद्धता व्यक्त गरे होलान् । निर्वाचित जनप्रतिनिधिमध्ये कसले कति प्रतिबद्धता पूरा गरे होलान् ? लेखाजोखा हुने नै छ । तर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका नगर उपप्रमुख राईले मतदातासमक्ष इन्द्रेणी सपना देखाइन् । पाँचवर्षे कार्यकालमा आफूले गर्न सक्ने कामबारे प्रतिबद्धता जनाइन् । नभन्दै निर्वाचित भएको चार वर्ष पुग्दा ८० प्रतिशत प्रतिबद्धता पूरा गरेको दाबी गर्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका नगर उपप्रमुख वीणादेवी राईसँग तुवाचुङ डटकमका लागि दीपेन्द्र राईसँगको कुराकानीको सम्पादित अंश :

 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको चार वर्ष पुग्नै लाग्यो । स्थानीय तह निर्वाचनताका नगरवासी मतदातासमक्ष व्यक्त गर्नुभएको प्रतिबद्धता कति प्रतिशत पूरा गर्नुभयो ?

स्थानीय तह निर्वाचनताका मतदातालाई इन्द्रेणी सपना देखाएकी थिइनँ । पार्टीले तयार पारेको घोषणापत्रअनुसार जनमत मागेकी थिएँ । घोषणापत्रअनुसार मतदातालाई पाँच वर्षभित्र यो–यो काम गर्न सक्छु भनेर विश्वास दिलाएकी थिएँ । त्यहीअनुसार काम भएका छन् । प्रतिशतकै आधारमा भन्ने हो भने तपाईंसँग कुराकानी भइरहेको अवस्थासम्म ८० प्रतिशत काम पूरा भएका छन् ।

विश्वव्यापी कोरोना महामारीले पछिल्लो समय भनेजस्तो काम गर्न सकेनौं । तर, कार्यकाल पूरा गर्दैगर्दा घोषणापत्र पल्टाएर हेर्ने हो भने १०० प्रतिशत काम पूरा हुनेछ । त्यतिमात्रै होइन, घोषणापत्रमा नसमेटिएका ‘एजेन्डा’मा समेत काम भएका छन् ।

चार वर्षमा ८० प्रतिशत प्रतिबद्धता पूरा गर्न कसरी सम्भव हुँदोरहेछ ?

नगरवासीले दिएको जनमत र विश्वासलाई प्राथमिकतामा राख्दा हामीलाई काम गर्न उत्प्रेरणा मिलेको हो । जनमतप्रति उत्तरदायी हुने हो भने काम गर्न सम्भव हुँदोरहेछ नि ।

यसो भनिरहँदा जनप्रतिनिधिले गर्ने कार्यसम्पादनका लागि बजेट अपरिहार्य हुन्छ । पहाडी क्षेत्रको नगरपालिका भएकाले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आन्तरिक आयस्रोत छैन । प्रदेश र संघबाट प्राप्त बजेट र अनुदानमा भर पर्नुपर्ने हुन्छ । विशेष अनुदान, समपूरक अनुदानबाहेक अतिरिक्त बजेट जुटाउने मामिलामा लागिपर्यौं । मिहिनेत गर्यौं । प्रदेश र संघसँगको पहुँचका कारणले नगरका लागि धेरैभन्दा धेरै बजेट र कार्यक्रम पार्न सफल भयौं । त्यसैले कार्यकालको चौथो वर्षसम्म आइपुग्दा ८० प्रतिशत काम गर्न सफल भएका हौं ।

चार वर्षमा पूरा भएका ८० प्रतिशत प्रतिबद्धताप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

पूरा गरेका प्रतिबद्धताप्रति सन्तुष्ट रहे पनि गर्न बाँकी काम धेरै छन् । म आफूमात्रै भएर हुँदैन, नगरवासीसमेत सन्तुष्ट हुनुपर्यो । हुनुहुन्छ भन्नेमा विश्वस्त छु ।

विभिन्न शीर्षकमा विभिन्न पालिकाका जनप्रतिनिधिसँग भेटघाट हुन्छ । आ–आफ्ना पालिकाले सम्पादन गरेको कामबारे चर्चा–परिचर्चा, छलफल हुने नै भए । आजसम्म जो–जोसँग कुराकानी गर्नुभयो, त्यसका आधारमा कसले गरेको काम बढी होलान् ?

पहाडी क्षेत्रका पालिकामध्ये दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका अग्रपंक्तिमा रहेको दाबीसाथ भन्न सक्छु । मैले दाबीमात्रै गरेको होइन, हामीले गरेको कामले बोलेको छ ।

प्रसंगवश विभिन्न पालिकाका जनप्रतिनिधिसँगको भेटघाटमा समीक्षा गर्दा पनि हाम्रो पालिकाले सम्पादन गरेको काम निकै अगाडि रहेछ ।

दरबार नपुगे पनि सिंहचाहिँ गाउँ–गाउँ पुगेको भनाइ चर्चित छ । यो भनाइमा वास्तविकता छ कि छैन ?

समाजमा विभिन्न प्रकृतिका मानिसको बसोवास हुन्छ । उनीहरूका विचार, सोचाइ, तर्क भिन्नभिन्न हुने नै भए । हिजो विकास निर्माणका लागि काठमाडौंमा रहेको सिंहदरबार पुग्नुपथ्र्यो । आज दैलामै सरकार छ । घर–आँगनमा सिंहदरबार पुगेको छ । अपवादबाहेक काठमाडौंको सिंहदरबारसँग भर पर्नुपर्नेले घर–आँगनकै सिंहदरबारबाट काम फत्ते गरेका छन् । त्यसैले प्रश्नमा जोडिएको भनाइसँग सहमत छैन ।

स्थानीय पूर्वधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रत्येक सांसदलाई ६ करोड रुपैयाँ उपलब्ध गराइएको छ । सांसदले पाउने त्यो सुविधाबाट स्थानीय तह सरकारलाई फाइदा छ कि बेफाइदा ?

अन्य पालिकाबारेमा भन्न नसके पनि हाम्रो पालिकालाई सघाउ पुगेको छ । बजेट अभावमा हामीले बनाएका कतिपय अधुरा योजना, कार्यक्रमलाई संसदीय कोषबाट आउने बजेटबाट पूरा गर्न सहज भएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा १५ वडा छन् । १५ वडामा विविधिता हुने नै भए । त्यसो भए नगरलाई चिनाउने आधार के–के छन् ?

हामीले पर्यटनलाई विशेष जोड दिएका थियौं । छौं । नगरका १०/११ वटा पर्यटकीय स्थल प्रवद्र्धनमा लागेका छौं । हामीले हिजोजस्तै सदरमुकामको ‘चार्म’ फर्काउन त सक्दैनौं तर पर्यटन प्रवद्र्धन गर्दै छिमेकी पालिकावासीलाई सदरमुकामको पालिकासम्म पुग्न आकर्षित गर्ने ध्याउन्नमा छौं ।

पर्यटनसँगै कृषिमा जोड दिएका छौं । हामी निर्वाचित भइसकेपछि कृषिमा थुप्रै काम भएका छन् । हामीले अर्गानिक नगरपालिका बनाउने घोषणामात्रै होइन, आधारसमेत तय गरेका छौं । त्यसमध्ये एउटा आधार हो– कम्पोस्ट प्लान्ट ।

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको बाहुलीबाट कम्पोस्ट प्लान्ट उद्घाटन भइसकेको छ । नगरपालिकाले सोल्मामा निर्माण गरेको कम्पोस्ट प्लान्ट उदाहरणीय छ । हामीले कम्पोस्ट प्लान्ट निर्माण गरेपछि छिमेकी जिल्लाका विभिन्न पालिकाबाट सोधीखोजी हुने गरेको भने कतिपय पालिकाले हामीले निर्माण गरेकोजस्तै कम्पोस्ट प्लान्ट निर्माणकार्य थालिसकेका छन् ।

शिक्षामा पनि रहरलाग्दो र भरलाग्दो काम भएका छन् ।

पछिल्लो समय सदरमुकाम सुनसान बन्दै गएको छ । सदरमुकामवासी व्यवसायीका समस्या सम्बोधन कसरी गर्न सकिएला ?

आधार थुप्रै छन् । त्यसमध्ये शिक्षा पनि एक हुन सक्छ । पालिकाका सामुदायिक विद्यालयका पठनपाठन गुणस्तरीण बनाउन ढिला गर्न हुँदैन । छिमेकी पालिकाका कतिपय अभिभावक छोराछोरी पढाउन सदरमुकाममै डेरा गरी बसेका छन् । सदरमुकाममा रहेको एकमात्रै दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययन गर्न विद्यार्थीलाई आकर्षित गर्ने उपाय खोजी गर्नुपर्छ । गर्दै छौं । जिल्लाका विभिन्न पालिकावासी विद्यार्थीलाई सहर–बजारभन्दा आफ्नै जिल्ला सदरमुकामका क्याम्पसमा उच्च शिक्षा हासिल गराउन लोभ्याउनुपर्नेछ । त्यस्तो वातावरण सिर्जना गर्नुपर्छ । यसोमात्रै गर्न सकियो भने सदरमुकामवासीका व्यवसाय धर्मराउँदैन ।

हिजो र आजको सदरमुकाममा आकाश पातालको फरक छ । अपवादबाहेक सदरमुकामबाट हुने काम पालिकामै हुन्छन् । तसर्थ, सदरमुकाम केही सुनसानजस्तो देखिनु स्वाभाविकै हो । हामीले रोजेको, खोजेको संघीयताले हाम्रै व्यवसाय धराशयी बन्यो भन्ने व्यवसायीको बुझाइ छ । र, हो पनि ।

व्यवसायीलाई हिजो चिन्ता थिएन । आज अवस्था त्यस्तो छैन । यातायात सुविधा भएपछि कामविशेषले सदरमुकाम आएका सेवाग्राही काम पूरा गरेपछि घरै फर्कन्छन् । सदरमुकामवासी व्यवसायीलाई हिजोको तरिकाले व्यवसाय चलाउन गाह्रो छ । उनीहरू स्वयम् सचेत हुनुपर्छ । व्यावसायिक ज्ञान र कला हुनैपर्छ । त्यसलाई दृष्टिगत गर्दै सदमुकामका होटल व्यवसायीलाई तालिमको व्यवस्था गरेका थियौं । उनीहरूले तालिममा सिकेका ज्ञान व्यवहारमा ल्याउनुपर्नेछ । छिमेकी पालिका हलेसी तुवाचुङमा त्रिधार्मिक (धाम) हलेसी रहेको छ । हलेसी आइपुगेका दर्शनार्थीलाई सदरमुकामसम्म एकपटक पुगुँ न त भन्ने वातावरण व्यवसायीले पनि बनाउनुपर्नेछ । त्यसका लागि उनीहरूको पनि हात हुन सक्छ ।

नगरवासीको जीवनस्तर उकास्ने अल्पकालीन र दीर्घकालीन योजना के–के होलान् ?

नगरवासीको जीवनस्तर उकास्ने सन्दर्भमा सर्वप्रथम कृषिलाई अघि सारेका छौं । नगरले ‘आफ्नो गाउँ, कृषिमा निर्भर बनौं’ भन्ने नीति पास गरेको छ । त्यसको नतिजासमेत देखिइसकेको छ । गतको वर्षदेखि हाम्रो पालिकाबाट खसी, बाख्रा, बंगुर बाहिर जिल्ला निर्यात भइरहेका छन् । यो सुखद पक्ष हो ।

व्यवसायी बनेर आर्थिक समृद्धि गर्छु भन्नेलाई नगरले कृषि, पशुपालनलगायतको पकेट क्षेत्र बनाएर अनुदान दिँदै आएको छ । व्यवसायी बन्न प्रोत्साहित गरेका छौं । आधुनिक बंगुरपालन गर्नेको मिहिनेत हेर्दा कम्ती खुसी लाग्दैन । त्यतिमात्रै होइन, लिची, केरा, आल्चा, किवी, कागती, एबोकाडो पकेट क्षेत्र बनाएर कृषिमा लाग्न प्रेरित गरेका छौं । नगरवासी युवा कृषिमा जोडिएको देख्दा नगरवासीको जीवनस्तर उकास्ने अल्पकालीन र दीर्घकालीन योजना कृषि नै मुख्य हुन सक्छ भन्ने ठम्याइ छ ।

तपाईं दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको न्यायिक समिति संयोजक हुनुहुन्छ । संयोजकसमक्ष न्याय माग्ने महिला कि पुरुषका बढी आउलान् ?

अहिलेसम्म हेर्दा महिला नै बढी छन् । त्यसो हुनुमा सचेतनाले काम गरेको छ । महिलाले मसँग कानुन, समाज, महिला अधिकारकर्मी, स्थानीय सरकार छ भन्ने ज्ञान भएकाले आफूलाई अप्ठ्यारो पर्नसाथ न्यायिक समितिसँग गुहार मागिहाल्छन् ।

यसो भन्दै गर्दा समाजमा महिलामात्रै पीडित छन् भनेर मलाई पटक्कै विश्वास छैन । पुरुष पनि सम्बन्धित परिवार र समाजबाट पीडित छन् । पुरुषप्रधान समाज भएकाले पुरुषले म पीडामा छु है भनेर खुलिहाल्दैनन् ।

 

न्यायिक समितिमा परेका निवेदनमध्ये प्रतिशतका आधारमा कति किनारा लागे होलान् ?

चालु आर्थिक वर्षमा नगन्य होलान् । विगतका आर्थिक वर्षहरूमा ९० प्रतिशत समस्या न्यायिक समितिले समाधान गरेको थियो । न्यायिक समितिले ‘विनविन’को अवस्थामा न्याय दिने हो । त्यसका लागि मेलमिलाप केन्द्र र मेलमिलापकर्ताको अतुलनीय भूमिका छ । समितिको अधिकार क्षेत्रभित्र र बाहिरका १० प्रतिशतले अदालतको ढोका ढकढक्याउन पुग्छन् ।

तपाईंले परिकल्पना गरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका कस्तो हो ?

दिक्तेल रूपाकोट मझुवागढीलाई मुलुककै सुन्दर र समृद्ध बनाउने सपना छ । नगर उपप्रमुखको पद अस्थायी हो । हामीले थालेका कामलाई संस्थागत गर्दै भोलि आउने जनप्रतिनिधिले लोभ र डरमुक्त भएर काम गरेमा मुलुककै सुन्दर र समृद्ध नगर बनाउन समय लाग्दैन ।

लोभमुक्त भए नगर बनाउन सकिन्छ । डरमुक्त भए लोभीहरू डराउँछन् । त्यत्ति भए समृद्ध नगर, सुखी नगरवासी बनाउने सपना साकार हुनेछ ।

निर्वाचनताका र निर्वाचित भएपछि नगरका गाउँ–गाउँ पुग्नुभयो । नगरवासीलाई खुसी र सुखी बनाउने के गर्नुपर्दोरहेछ ?

सबैका आ–आफ्नै माग र चाहना हुन्छन् । कतिपयले स्थानीय सरकार आएपछि सबै–सबै गरिदिन्छन् भन्ठानेका हुन्छन् । कतिपयले चाहिँ स–साना सहयोग पाउँदा पनि असाध्यै खुसी देखिन्छन् । पुस्तौंदेखि कुवाका पानी खानेलाई सम्बन्धित गाउँठाउँको केन्द्रमा पानीट्याङ्की बनाइदिँदा खुसी हुन्छन् । सिँचाइका लागि पोखरी, टनेल वा पाइपमात्रै उपलब्ध गराउँदा तरकारी किसानका अनुहारमा करोडौं सहयोग पाएकोभन्दा बढी खुसी देखिन्छ ।

गाउँठाउँमा पाँच लाखको योजना तथा कार्यक्रम पर्यो भने खुसीले तीन हात उफ्रन्छन् भने सदरमुकाम वा बजारआसपासमा ५ करोडको बजेट पार्दासमेत सामान्य ठान्छन् । तसर्थ, खुसी र सुखी बन्ने बनाउनेभन्दा सम्बन्धित नगरवासीको सोचाइमा भर पर्ने रहेछ ।

नगरका गौरवका पाँच योजनाबारे सुनाइदिनुहोस् न ?

दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बन्न लागेको यलम्बर पार्कलाई नगरको गौरवको योजना ठानेका छौं । ३३ करोड रुपैयाँको साना सहरी खानेपानी आयोजना पनि गौरवको योजनामा पर्छ । सो आयोजनाले दिक्तेल बजारवासीको खानेपानी समस्या पूर्ति गरेको छ । दिक्तेल रूपाकोट मझुवागढी–२ सोल्मामा निर्मित कम्पोस्ट प्लान्ट तथा नमुना कृषि केन्द्र पनि गौरवकै योजना हुन् । बगरेभन्ज्याङमा मानवनिर्मित ताल र पेनटावर पनि नगरको गौरवकै योजना हो ।

प्रतिक्रिया दिनुहोस्