‘लकडाउन’ले फेसन डिजाइनरको जागिर खोसिएपछि पेन्टिङ



ओखलढुंगा । महेश श्रेष्ठ व्यावसायिक कलाकार होइनन् । सिद्धिचरण नगरपालिका–११ रामबजारका ३१ वर्षीय श्रेष्ठ फेसन डिजाइनर हुन् । उनका बुवा विश्व श्रेष्ठ साइनबोर्ड पेन्टर हुन् । बुवाका कारण ब्रस चलाउने र रङसँग खेल्ने उनको सानैदेखि आदत बस्यो । त्यही आदतले उनलाई पेन्टिङमा रुचि बढ्यो ।

बेलाबेला उनले कोरेका पेन्टिङ अमेरिकामा बिक्रीका लागि पठाइरहेका थिए । यसपालि आफ्नो कला जिल्लामा देखाउने रहर पलायो । फलस्वरूप १८ वटा पेन्टिङ युगकवि सिद्धिचरण पार्कमा तीन दिनदेखि प्रदर्शनीमा राखेका छन् । पेन्टिङ कला प्रदर्शनी जिल्लामै पहिलोपटक उनैले गरेका हुन् ।

मंगलबारदेखि सुरु प्रदर्शनी शुक्रबार सकिएको छ । ‘सबैजना कला बुझ्ने स्तरका दर्शक हुने कुरा भएन । तैपनि के रहेछ हेरौं भनेर आउनेले हौसला दिइराख्नुभएको छ,’ उनले भने, ‘जिल्लाबाट सुरु मेरो कला प्रदर्शनी केही समयपछि काठमाडौं र विदेशमा समेत गर्ने योजना छ ।’

महेशले साइन्स (विज्ञान) मा दस जोड गरे । फेसन डिजाइनमा स्नातक गरे । व्यवस्थापन संकायमा स्नातकोत्तर गरे । रुचि र पढाइको तालमेल नमिलेकै बेला उनले पेन्सिल आर्टमा डिप्लोमा कोर्स गरे । त्यहीबीचमा उनलाई चार्कोल आर्ट मन पर्यो । केही समय चार्कोल आर्ट सिके । त्यसपछिका सबै गुरु इन्टरनेट बनेको छ । उनका कला मिश्रित छन् ।

रियालिस्टिक (वास्तविक) पोट्रेट, अमूर्त, परम्परागत, समसामयिक सबै किसिमका पेन्टिङ उनले गरेका छन् । युगकवि सिद्धिचरणको पोट्रेट विशेष छ । बुद्ध, शान्ति, ब्रह्मा, मुस्कानजस्ता शीर्षकमा उनले आफ्ना पेन्टिङ कोरेका छन् । गौतम बुद्धले बुद्धत्व प्राप्त गर्ने बेलाको परिकल्पनामा उनले पूर्णिमाको चन्द्रमा र दुब्लो देखिने बुद्धको आकृतिलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन् ।

खुला स्थानमा प्रदर्शनी गरिएकाले दर्शकले पेन्टिङको वास्तविक सौन्दर्य केलाएर हेर्न नसकेको गुनासो छ । ‘बिग स्माइल’ शीर्षकमा उनले कोरेको बालकको थोते मुस्कान हेर्दा जोकोही दर्शकको अनुहारमा हाँसो देखिन्छ । भूकम्पको बेला ‘प्रेइङ ह्यान्डस्’ शीर्षकमा भगवान्लाई जपिरहेको पेन्टिङ कोरे ।

‘म आधुनिकता र आध्यात्मिकताको मिश्रण चाहन्छु । त्यसैले मेरो कलामा त्यसको प्रभाव पर्ने गर्छ । मैले कोरेको ब्रह्मा, शिव र गौतम बुद्ध मेरै आकृतिको हुन सक्छ,’ उनको भनाइ छ, ‘तर, कला पोख्न अवस्था, वातावरण र समयमा भर पर्छ ।’

युगकवि सिद्धिचरण श्रेष्ठको जन्मस्थानमा एकल पेन्टिङ कला प्रदर्शनी गरिरहेका कलाकार महेश श्रेष्ठ । सबै तस्बिर : कुम्भराज राई

कोभिड–१९ पछिको लकडाउनले उनको रोजगारी खोसियो । फेसन डिजाइनरका जागिर खोसिएको अवसर उनले पेन्टिङ कोरेर सदुपयोग गरे । हाल प्रदर्शनीमा राखेका पेन्टिङ सबैभन्दा पुरानो सात वर्षअघि बनाएका हुन् । त्यसमध्ये सबैभन्दा धेरै लकडाउनकै अवधिमा बनाएका हुन् ।

पेन्टिङमै व्यावसायिक हुन सकिने सम्भावना देखेका छन् । अहिले नै व्यावसायिक रूपले लागिहाल्ने सोच छैन । पेन्टिङ बिक्रीका हिसाबले नेपालमा भन्दा विदेशमै बेच्दा फाइदा हुने उनले बताए । तर, विश्व आर्टको नामबाट महेश आफ्ना पेन्टिङ संसारभर चिनाउने सपना भने बुनिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्